Monday, August 19, 2013

शहिद रामवृक्ष यादव ः जनयूद्धको औचित्य र आवश्यकता - किरण कर्ण


किरण कर्ण

राजनीतिक दलहरु अन्यत्रका इच्छा शक्तिहरुबाट संचालन भएकै कारण देशको अवस्था थलिएको हो । वि.सं. २००७ साल भन्दा अघि देखि नै भएको विभिन्न आन्दोलन तथा जनआन्दोलन वा हतियारबद्ध आन्दोलनले राष्टिूय स्वाधीनता अन्यत्रैको पाउँमा दण्डवत्त गरेकैले पनि होला, यो क्रमबद्ध रुपमा ‘राजनीति दासत्व’ निरन्तर रुपमा परम्परागत स्वरुप लिइसकेको छ । राजनीतिक घटनाक्रमले समेत दासत्वको राजनीतिको क्रमभंगको आवश्यकता महसुस गरेको छ । तर हतियारबद्धबाट सुसजित जनयूद्धका योद्धाहरु पनि विदेशीको दासत्वलाई क्रमभंग गर्न सकेनन । बरु कथित क्रान्तिकारीका हिमायती तवरमा झुझारु दलालीकरणलाई प्राथमिकता दिई क्रमबद्धरुपमा लिपीबद्ध गर्न पुगे । विदेशी प्रभुत्वकै शिकार बन्न पुगे र आत्मसमर्पण हुन नै बाध्यता ठाने होला । त्यही प्रतिक्रियावादी कित्तामा पुगे जहाँबाट बाध्यात्मक विद्रोह ठानेका थिए । विद्रोह अधिकार हो भन्थे । आज नेपाली कांग्रेस, र नेकपा एमाले जस्ता दक्षीणपन्थी तथा संशोधनवाद भन्दा पनि चरम प्रतिक्रान्तिका नाइके बन्न पुगेका छन, एमाओवादी । एकीकृत माओवादीकै भाषाको सापटी लिएर भन्नु पर्दा पनि वा उनीहरुकै भाषामा समेत जनयूद्ध भन्छन, (जुन दशवर्ष सम्म सशस्त्र यूद्ध गरेका थिए, ०५२ साल देखि ०६१÷०६२ सम्मको लाई) ।  तर सरकारी भाषामा अहिले सम्म  जनयूद्धलाई सशस्त्र द्वन्द नै भन्ने गरिएको छ । ‘जनयूद्ध’ शव्दलाई समेत एमाओवादीले तिलाञ्जली गर्न पुगे । जबकी माओवादीहरुको भाषामा जनयूद्धलाई स्वर्णिम यूग अर्थात यूग परिवर्तनको रुपमा लिने गरिन्छ ।
    करिब आधा दशक भन्दा बढी बसन्त पार गरिसक्दा समेत जनयूद्धको औचित्य पुष्टि गर्न सकेका छैनन् । आखिर किन र के का लागि गरिएको थियो, जनयूद्ध ? हजारौको बलिदानीले साम्यवाद, जनगणतन्त्र, गणतन्त्र र जनवाद तथा जनतन्त्रका  रक्तपातपुर्ण संघर्ष तत्कालिन नेकपा माओवादीले गरेका थिए । तर संविधानसभाको मागले जनयूद्धलाई तिलाञ्जली गरी पुनः दोश्रो पटक संविधानसभाको चुनावको मुद्दा उठाउन पुगे । आखिर के का लागि ?जबकी संविधानसभा समेत असफल सिद्ध भईसकेका छन् ।
     एमाओवादी विभाजन भई मुख्यतः दुई चिरामा छन । दुवै आफ्नै अस्तित्वमा छन् । मोहन वैद्यको नेतृत्वले पार्टी फुटाउनुको औचित्य भन्दा पनि जनयूद्धको औचित्यलाई पुष्टि गर्न सशक्त आन्दोलनमा छन् । तर एमाओवादी  भने संसदीय व्यवस्थावाला सत्ताको रक्तपिपासु झँै यथास्थितीकै सत्तामा रमाउन उद्धत देखिन्छन । निहित व्यक्तिगत स्वार्थपुर्तीका निम्ति बर्गिय यूद्धलाई तिलाञ्जली दिएर आफ्नै भनिएका कथित हिन्दु धर्मलाई छाडी क्रिस्चैन धर्मालम्बी समेत अवलम्बन गर्न पुगेका छन् । एमाओवादीका वरिष्ठ नेताहरु । एक शव्दमा भन्नु पर्दा एमाओवादी सत्ता प्राप्तीका लागि जस्तोसुकै रक्तपिपासु गर्न सक्छन । किनभने यस भन्दा अघि भएको जनयूद्धले यहि प्रमाणित गरेको छ  । जबकी एमाओवादीकै भाषा सापटी लिएर भन्नु पर्दा उनीहरु जनसत्ताका लागि क्रान्ति गरेका थिए । ८५ प्रतिशत दमित, शोषित, उत्पिडित, लैगिंक उत्पिडन भुमिहिन तथा  विभेद विरुद्ध अन्यायका खिलाफ अधिकार, पहिचान र जनताको शासनका लागि यूद्ध गरेका थिए । तर जनयूद्ध पुर्व नै मास्टर साहेव रामवृक्ष यादवको मृत्यू भइसक्दा समेत कुनै प्रकारको जनसत्ताको पथ सम्म निर्माण गर्न सकेनन्, एमाओवादी । बरु शहिदहरुको स्मृतीमा फुलका गुच्छा चढाउने र रुन्चे स्वरमा स्मरण गरी ‘बाध्यता’ र जनतालाई भ्रमित गर्न खालको शब्दावली इस्तेमाल गरी भावुक बनाउने बाहेक केही गर्न सकेका छैनन ।
    छलकपट र ढाँटको खेती गर्न कटु योग्य मानिएका पुष्पकमल दाहाल प्रचण्ड तत्कालिन जनयूद्धका नाइके स्व. कांग्रेसी गिरिजाप्रसाद कोइरालाको फोटोकपी बन्न पुगेका छन । त्यतिबेला आतंककारी भनिएकाहरु मध्येका आजका पुष्पकमल दाहालले मोहन वैद्य किरण नेतृत्वको माओवादीलाई आतंककारी देख्नु स्वभाविकै होला । किनभने माओवादीले रामवृक्ष यादव सहित हजारौले दिएको बलिदानीको सपना जनगणतन्त्रको हो । ति शहिदहरुको उद्देश्यका निम्ति  अहिले निरन्तर रुपमा माओवादी संघर्षशील छन् ।
    तर एमाओवादी भने शहिद रामवृक्ष यादवका हत्याराहरुसँग मिलेर कथित ४ दलीय सिन्डीकेट कायम गरी जननिर्वाचित सरकारलाई विदेशीको योजनावद्ध तवरले भंग गराई अवैधानिक रुपमा निर्दलिय “  श्रीमान सरकार “ गठन गरे । यी ४ दलीय सिन्डीकेटका कारण देश अहिले थलिएको हो । तर यस चार दलको हैसियत भनेको विदेशीको चाकडी गर्नु बाहेक केही होइन । यी ४ दलले विभिन्न समयमा भन्दै आए “ अब आंशिक रुपमा २० प्रतिशत काम मात्र बाँकी छ,  संघीयता, राज्य पुनः संरचनाका सवाल, क्षेत्र निर्धारण तथा शाशकीय स्वरुपका एजेण्डा सहितका सवालहरुले गर्दा संविधानसभा ओझेलमा परेका थिए । अन्ततः एमाओवादी, नेकपा एमाले, कांग्रेस र मधेसी मोर्चाकै कारणले गर्दा संविधानसभाबाट प्राप्त ८० प्रतिशत उपलब्धी समेत रक्षा गर्न सकेनन । बरु विदेशी प्रभुहरु ग्राएण्ड डिजाइन अनुसार पुनः संविधानसभाको चुनावलाई नै प्रमुख उपलब्धी ठान्न थालेका छन ।
    यी दलहरुले अहिले पनि वि.सं. २००७ सालमा राणा विरोधी आन्दोलनमा विदेशी गुरु पाए । त्यसैगरी २०४६ को आन्दोलनमा प्रजातन्त्रको सट्टा राजा समेत प्राप्त गरे । यसैको निरन्तरता स्वरुप २०५२ को जनयूद्धमा राजा रहितको विदेशी दलाल बन्ने मौका प्राप्त गरे । अब त यस खालका विदेशी नेपाली राजनीतिक शब्दावलीको कोषको विशिष्ट श्रेणीकै अर्थ समेत लिन थालेका छन । किनभने अब यो परम्परा नै बनिसकेको छ । यस्ता खालका परम्परा तोड्नु अर्थात क्रमभंग सधैको लागि क्रमभंगता गरी नयाँ खाल सौहाद्रपुर्ण मैत्री समझदारी गरी समान हैसियत  प्राप्तका लागि समेत नयाँ शिराबाट सम्झौता गर्नू अति अपरिहार्य छ । यसको लागि पनि संघर्षकै आवश्यकता देखिन्छ । अनिमात्र हामीले चाहेको जस्तो नयाँ नेपाल र नेपालमा चाहेको जस्तो संघीयता पुन संरचना क्षेत्र निर्धारण सहितका विषयमा मुद्दामा सहमति वा देश भित्र जनमत लिई ‘जनतन्त्र’ स्थापना गर्नू नै जनताको लागि र यी एमाओवादी सहित ४ दलका लागि वेश हुनेछन ।
    एमाओवादी र माओवादी ः राष्ट्रिय राजनीतिका मुख्य शक्तिका रुपमा उदाएका छन एमाओवादीले कांग्रेस एमाले र मधेसी मोर्चा सहितको दलीय चरित्र बोकेका छन । भने माओवादीले यथास्थितिवादी एवं चरमसशोधनवाद सहितका नवसाम्भ्रान्त तथा दासत्व विरुद्धको जेहाद छेडेको जस्तो देखिएको छ । अर्थात यथास्थितिवादी र परम्परागत सत्ताको नेतृत्व एमाओवादीले गरेका छन । भने सडकको बाघ माओवादी बनेको छ । यस वर्गिय यूद्धको नेतृत्व माओवादीले प्रष्टरुपमा गरिरहेको छ । वर्गिय उपलब्धीले नै देशको भविष्य निर्धारण गर्नेमा माओवादी ढुक्क देखिएका छन । वर्गिय यूद्ध माओवादीले विजयको सुनिश्चितता प्राप्त गर्दा मात्र शहीद रामवृक्ष यादव, उनकी धर्मपत्नी रामकुमारी यादव र छोरा शेखर यादवका सपना पुरा हुने छन । जसको लागि शसक्त आन्दोलन अहिले पनि त्यतिकै आवश्यकता छ । २०५१ सालमा शहिद रामवृक्ष यादव र उनका परिवारले सम्पुर्ण ज्यान आन्दोलनमै खर्चे । अहिले जनयूद्धको औचित्य सावित गर्नू नै शहिद रामवृक्ष यादव, शेखर यादव, रामकुमारी यादव र दोरम्बा काण्डका शहिदहरु तथा सम्पुर्ण शहीदहरु प्रति सच्चा श्रद्धाञ्जली हुने छन ।
    अहिले देशको राजनीति अत्यन्तै जटिल तथा संक्रमणकालिन अवस्थाबाट गुज्रिएको छ । यस्तो अवस्थामा राष्टिूयता र स्वाधीनतालाई रक्षा गरी तत्कालिन संविधानसभाबाट प्राप्त भएको उपलब्धी, जनयूद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्नु नै अपरिहार्य छ । त्यसैगरी आंशिक महत्वपुर्ण बुँदाहरुमा राजनीतिक दलहरु बीच सर्वपक्षीय वार्ता तथा गोलमेच सम्मेलन मार्फत टुंगो लगाउनु नै उपयुक्त देखिन्छ । यसका लागि सिन्डिकेट मार्फत अवैधानिक तरिकाले गठन गरिएको “ श्रीमान सरकार” समेत तत्काल खारेज गरी मुलुकलाई स्वदेशी राजनीति अनुसार नै विदेशी प्रभुत्वहरुको चंगुलबाट मुक्त गराउनु पर्दछ । अनिमात्रै शहिदहरुको सपना पुरा हुने छन र जनयूद्धको औचित्य समेत पुष्टि हुनेछन । यसका लागि एमाओवादी र माओवादी बीच सैद्धान्तिक एकता जरुरी छ । अन्त्यमा शहिद रामवृक्ष यादव र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । अस्तु !

मिति ः २०७०/०५/०२

No comments:

Post a Comment