Monday, May 22, 2017

दाईभाईको झगडामा ‘पञ्चले यसरी गरे बेईमानी’

पीडित गंगा प्रसाद दास कथबनिया ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपालीमा एउटा भनाई छ, भाई फुटे गवार लुटे । हो, यो भनाई विलकुलै सावित भएको छ धनुषाको मानसिंहपट्टी गाउँमा । मानसिंहपट्टी गाविस ५ बस्ने ३ जना दाजुभाईको झगडामा पञ्चायत गर्नका लागि गएका पञ्चहरु नै बेईमान भएको दृष्टान्त सार्वजनिक भएको छ । पञ्च भनेको तटस्थ भई निर्णय दिनुपर्ने हो । पीडितहरुको भनाईलाई सुनेपछि न्याय दिने काम गाउँ घरमा पञ्चहरुले गर्ने भएकै कारण पञ्चलाई परमेश्वर पनि भन्ने गरिन्छ । तर, पञ्चायत गर्ने पञ्चहरुको नै नियत खराब भएपछि पीडित थप पीडित हुने निश्चित छ ।
धनुषाको मानसिंहपट्टी गाविस वडा नं. ५ बस्ने विश्वनाथ दासको ३ जना छोराहरु रामसागर दास कथबनिया, सौदागर दास कथवनिया र गंगा प्रसाद दास कथवनिया बीच अशंबण्डालाई लिएर विवाद भयो । कान्छो भाई गंगा प्रसाद दासलाई इज्जत आमद अनुसार दाजुहरु रामसागर दास र सौदागर दासले खान लाउन नदिई अंश दिन समेत इनकार गरेको भन्दै गंगा प्रसाद साहले धनुषा जिल्ला अदालतमा २०६१ सालमा अंशको मुद्दा दर्ता गरे । १० पुष २०६३ मा धनुषा जिल्ला अदालतले बादी दावी बमोजिम ४ भागको एक भाग अंश पाउने ठहर गर्दै फैसला गर्यो । बुवाको मृत्यु भईसकेपनि आमा जिवित नै रहेका कारण आमा समेतलाई एक भाग र तीन दाजुभाईलाई एक एक भाग दिने भनेर फैसला गरिएको थियो । उक्त फैसला उपर रामसागर दासले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा समेत २१ असोज २०६६ मा सुरु फैसला सदर हुने भनि ठहर गरेको थियो । अदालतको फैसला अनुसार आमा सहित तीनै जना दाजुभाईले जग्गा बण्डा छुट्याई बसोवास गरिरहेको छ ।
तर, उक्त अंश मुद्दा अदालतमा कारवाही यूक्त रहँदाकै अवस्थामा गाउँमै एक आपसमा बसी मिलापत्र गर्न पटक पटक समाजमा छलफल गरिएको थियो । गंगा प्रसादका अनुसार उसको दाजु रामप्रसादले महत्वपुर्ण जग्गाहरुबाट अंश नदिने भनेर अडान राखेकै कारण तीन जना अंशियार दाजुभाईहरु बीच मिलापत्र हुन सकिरहेको थिएन । सोही क्रममा अंश मुद्दा फैसला भई बण्डाको कारवाही जारी रहेको बखत मानसिंह पट्टी ४ का छिमेकी गाउँहरु मनहरपुर, तेतरिया भगवानपट्टी, ओसरा, पौडेश्वर, कनकपट्टी लगायतका गाउँहरुबाट भद्रभलाादमीहरुलाई छलफलका लागि बोलाइएको थियो । कनकपट्टी बजार व्यवस्थापन समितिको हवनमा बोलाइएको उक्त बैठकमा यी सबै गाउँका व्यक्तिहरुलाई सर्वसम्मत पञ्च भलादमीको रुपमा मानिएको थियो । छलफलका क्रममा तीनै जना दाजुभाईले पञ्च भलादमीद्वारा गरिने निर्णयको अवज्ञा नगरुन भन्ने उद्देश्यले तीनै जना दाजुभाईहरुबाट पञ्च भलादमीकै नाउँमा कपाली तमसुक बनाई एक जना पञ्च भलादमीको जिम्मामा राख्ने प्रस्ताव रामसागर दासले राखेका थिए । उक्त प्रस्तावलाई बाँकी दुई दाजुभाईले पनि स्वीकार गरे । त्यसपछि कनकपट्टी गाविस वडा नं. ४ मा बस्ने लेखनदास श्रीनारायण पासवानले तीनै जना दाजुभाईहरुबाट क्रमशः रु. ३०÷३० लाखको अलग अलग तीनवटा कपाली तमसुक तयार गरी सहि छाप गराइयो । रामसागर दासले पञ्च बनाइएका जिवछ यादवको नाउँमा, सौदागर दासले पौडेश्वरका विनोद दास (जो उनका भान्जा पनि थिए) को नाउँमा र गंगा प्रसाद दासले राजविराजका कुलो चौधरीको नाउँमा कपाली तमसुक बनाए । तीनै जनाले बनाएको कपाली तमसुक कनकपट्टी १ का परमेश्वर यादवको जिम्मामा राखियो । तर, गंगा प्रसादले गरेको तमसुकमा जिवछ यादवलाई धनि बनाइएको थियो ।
तमसुक धनि बन्ने तथा तमसुक जिम्मा लिने व्यक्तिहरु गाउँ समाजकै भद्रभलादमीहरु रहेका कारण सर्तनामा गरी बनाइएको कागजको दुरुपयोग होला भनेर कसैले सोचेका पनि थिएन । मेलमिलापको लागि छलफल हुँदा जनकपुरको घर जग्गा कुनै हालतमा अंश नदिने भनेपछि अदालतबाट फैसला भई बण्डा गरिएको थियो । अदालतबाट बण्डा छुटिसकेपछि गंगा प्रसादको तमसुक जिम्मा लिने परमेश्वर यादवलाई अब मेरो तमसुक फिर्ता दिनुस भनेर गंगा प्रसादले भन्न जाँदा कपाली घरमा अलपत्र परेको छ, आज भोलीमा खोजेर फिर्ता दिउँला भन्दै परमेश्वरले आलटाल गर्न थाले । जब परमेश्वरले कपाली तमसुक फिर्ता दिन मानेनन् अनि गंगा प्रसादले कपाली तमसुक फिर्ता दिलाई पाऊँ भन्दै धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गरे । पञ्चको रुपमा बस्नेहरु तथा अंशीयारहरुलाई विपक्षी बनाउँदै उनले मुद्दा दर्ता गरे । दाईहरु रामसागर दास, सौदागर दास र पञ्चहरु कनकपट्टी ५ का जिवछ यादव, कनकपट्टी ८ का बालबोध यादव, कनकपट्टी १ का परमेश्वर यादव, मानसिंह पट्टी ५ का सतनाम यादव, मानसिंह पट्टी सुर्यदेव यादव, रामप्रसाद यादव, किशोरी यादव, गंगा मण्डल, सुरेन्द्र साह, उतिम मण्डल, ब्रम्हदेव कापर, अशेश्वर यादव, सुभद्र यादव, लक्ष्मण यादव र उमाशंकर साह लाई विपक्षी बनाउँदै कपाली तमसुक फिर्ता दिलाई पाऊँ भन्दै धनुषा जिल्ला अदालतमा गंगा प्रसादले मुद्दा दर्ता गरे ।
अचम्म पार्ने कुरा के हो भने अर्को तर्फ कपाली तमसुक अनुसार लेनदेनको रकम फिर्ता गराई पाउँ भन्दै कनकपट्टी ५ का जिवछ यादवले गंगा प्रसादको विरुद्धमा धनुषा जिल्ला अदालतमा लेनदेन मुद्दा दर्ता गरे । दाईभाईका बीच मिलापत्रका लागि शर्तनामाका रुपमा बनाइएको कपाली तमसुकलाई दुरुपयोग गर्दै जिवछ यादवले उल्टै मुद्दा दर्ता गरेका थिए । गंगा प्रसादले घर खर्च गर्न घर सारैमा साँवा रु. ३० लाख कर्जा लिई साँवा ब्याज मिति २०६७ साल असोज मसान्त भित्र चुक्ता गर्ने गरी १० बैशाख २०६७ मा कपाली तमसुक गरिदिएको भाखा भित्र मेरो साँवा व्याज केही नबुझाएको हुँदा गंगा प्रसादबाट साँवा व्याज, कोर्ट फि र विगो भरिभराउ हुँदा सम्मको ब्याजसमेत भराई पाउँ भन्दै जिवछले रकम असुलीका लागि उल्टै मुद्दा गरे । धनुषा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायको इजलासले उक्त मुद्दामा कपाली तमसुक बमोजिम साँवा रु. ३० लाख र सोको बार्षिक सैकडा १० प्रतिशतले हुने व्याज समेत प्रतिवादी गंगा प्रसादबाट भरि पाउने ठहर्छ भन्दै ६अषाढ २०७१ मा फैसला सुनायो ।
यसरी हेर्ने हो भने तीन दाजु भाईको आपसी अंश झगडा मिलाउनका लागि पञ्च बनेका र पञ्चको नाउँमा अंश मुद्दाको जरियाबाट बनेको कागज सुरक्षण बापतको कागजलाई पञ्चको नियतमा बेईमानी आएपछि कसरी त्यसको दुरुपयोग गर्ने गरिएको छ भन्ने कुराको पुष्टि भएको छ । पञ्चबाट पीडित भएका गंगा प्रसादले धनुषा अदातलको उक्त फैसला विरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन भने गरेको छ ।
 पीडित गंगा प्रसाद भन्छन,“ मेलमिलाप चलिरहेकै बेला कपाली तमसुक बनाइएको एक महिना पछि पञ्चहरुले हामी तिनै जना दाजुभाईहरुसँग अदालतमा मुद्दा दर्ता गर्न १५ हजार रुपैयाँ लाग्ने भनेपछि हामी तिनै जना दाजुभाईले ५÷५ हजार रुपैयाँ दिएका थियौं । त्यो रुपैयाँ पञ्च उतिम मण्डलको जिम्मा लगाइएको थियो । तर, फेरी ४÷५ महिना पछि अदालतमा मुद्दाको मिलापत्र गर्नका लागि ८० हजार रुपैयाँ लाग्ने भनेर मसँग माग्न आउँदा तपाईहरुलाई नदिएर अदालतमै दिन्छु भनेर भनेपछि उनीहरु रिसाएका थिए । त्यसपछि पञ्चको कुरा मान्दैनस् भन्दै कर्जा नलिई शर्तनामाको रुपमा मात्रै बनाइएको कपाली तमसुकलाई लिएर अदालतमा मुद्दा गरिदिए ।” अब आफुले कर्जा नै नलिएको र तिनै जना दाजुभाई बीच अंशबण्डा समेत भई बसिरहेको अवस्थामा कपाली तमसुक फिर्ता माग्न जाँदा गाविसका पुर्व अध्यक्ष समेत रहेका जिवछ यादवले अदालतमा मुद्दा गरी मैले नलिएको पैसा कसरी दिने भन्दै गंगा प्रसाद भन्छन,“ गाउँ घरमा पञ्चहरुले दाईभाईको झगडामा कसरी खेल्छन् हेर्नुस । ममाथि पञ्चहरुले अन्याय गरेको छ । त्यो अन्यायलाई अदालतले पनि सम्बोधन गर्न सकेन । अब मैले लिँदै नलिएको पैसा किन फिर्ता गर्नु पर्यो ? मैले न्याय पाउन अब के गर्नुपर्छ ?”
यसरी हेर्ने हो भने गाउँ घरमा पञ्च बनेर पञ्चायत गर्नेहरुले गाउँ घरका सोझा साझा जनतालाई कसरी ठग्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, गंगा प्रसादको घटना । के गंगा प्रसादले न्याय पाउनु पर्दैन ? पञ्च बनेर ठगि गर्ने त्यस्ता पञ्चहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्दैन ? गाउँ घरमा कतिदिन सम्म सोझा साझा नागरिकहरुले त्यस्ता ठग पाखण्डी पञ्चहरुको शिकार भईरहनु पर्छ ?

२०७४ जेष्ठ ०७ गते आईतबार

No comments:

Post a Comment