Monday, May 22, 2017

छोरी र घर परिवार पाउने पर्खाईमा इन्डोनेशियाली बुहारी

तितिक इस्तियानी (संजना चौधरी) ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
इन्डोनेसियाका एक महिला जनकपुरमा अलपत्र परेकी छिन । तितिक इस्तीयानी नाम गरेको इन्डोनेसियाकी उक्त महिलालाई जनकपुरका संजीव चौधरीले विहे गरेर नेपाल ल्याएर अलपत्र छाडेका छन् । सप्तरी हरिहरपुर गाविस ३ बस्ने नकुल चौधरीका छोरा संजीव चौधरीले करिब १० बर्ष अघि इन्डोनेसियाकी नागरिक तितिक सँग  विहे गरेर नेपाल ल्याएपनि उनलाई घरबाट निकाला गरिदिएपछि तितिक अहिले न्यायका लागि भौतारिरहेकी छिन । नेपाली नागरिक भईसकेकी उनी यहाँ जनकपुरमा एक्लै बस्न बाध्य भएपछि सम्बन्धित सरोकारबालाहरुसँग न्याय दिलाई दिन उनले सबैसँग आग्रह गरेकी छिन् ।
तितिकको कथा
तितिक इन्डोनेसियामा रहेका आफ्ना आमा बुवा तथा भाई बहिनीहरुको परिवार पाल्नका लागि बैदेशिक रोजगारीको सिलशिलामा मलेसिया पुगेकी थिईन । करिब १६ बर्ष सम्म उनले मलेसियामा रोजगार गरेकी थिईन । सप्तरी हरिहरपुर गाविस ३ तथा हाल जनकपुर ७ का बासिन्दा बस्ने नकुल चौधरीका छोरा संजीव चौधरी पनि बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । संजिव र तितिक दुई अलग अलग कम्पनीमा मलेसियामा काम गर्थे । तर त्यहाँ दुवै जनाको प्रेम भयो । संजिव हिन्दु धर्मावलम्बी र तितिक मुस्लिम धर्मावलम्बी थिए । दुई अलग अलग धर्म र देशका नागरिक रहेका ति दुवै जना बीच प्रेम हुनु पनि स्वाभाविक होला । तर, अर्को रमाइलो कुरा के थियो भने तितिक संजिव भन्दा ९ बर्ष जेठी थिईन । तै पनि संजिवले विहे गर्ने तितिक सामु प्रस्ताव राखेका थिए । तिमी नेपालको र म इन्डोनेसियाको, तिमि हिन्दु र म मुस्लिम, विहे गर्ने नै हो भने तिमीले मेरो आमा बुवासँग कुरा गरेर मागेर विहे गर्नुपर्छ, तितिकले संजिवलाई जवाफ दिएका थिए । त्यसपछि संजिवले आफु तिमीसँग विहे गर्न जे पनि गर्न सक्छु भन्दै इन्डोनेसिया जान तयार भए ।
तीन महिनाको भिसा लिएर तितिकसँगै संजिव इन्डोनेसिया पुगे । तितिक मुस्लिम धर्मकी भएकाले मुस्लिम रिवाजमै संजिवसँग उनको इन्डोनेसियामा निकाह भएको थियो । रोचक कुरा के हो भने संजिवले विहे गर्दा धर्म पनि परिवर्तन गरे । प्रेममा परेको संजिवलाई धर्म, देश आदिको बन्धन तोड्न कुनै गाह्रो भएन । हिन्दुबाट मुस्लिम बनेका संजिवको नाम त्यहाँ सरिफ उमर अब्दुल्ला राखियो । निकाह भएपछि संजिव मलेसिया आफ्नो रोजगारमा फर्किए । केही दिन पछि तितिक गर्भवती भईन । एउटा छोरी उनले पाईन । इन्डोनेसियामा जन्मिएका कारण छोरीको नाउ जहरा सयारिफा रामाधानी राखियो । त्यसपछि छोरी लिएर तितिक पनि आफ्नो पति संजिव उर्फ सरिफ कहाँ मलेसिया पुगिन । मलेसियाबाट संजिव आफ्नो श्रीमति तितिक र छोरी जहरालाई लिएर नेपाल फर्किए ।
तितिकको विवाह दर्ता प्रमाण पत्र ।
जनकपुरमा उनको परिवारले सुरुमा आत्मसाथ गर्यो । संजिवका बुवा नकुल चौधरी नापी कार्यालय धनुषामा अमिन पदमा कार्यरत छन् । संजिवको आमा सरस्वती चौधरी हिन्दु धर्मको प्रचारक हुन । उनी शिव चर्चा गर्ने गर्छिन । घर घरमा गएर सरस्वती चौधरी शिव चर्चा गर्न प्रवचन दिने गर्छिन । त्यसकारण तितिकलाई पनि नेपालमा तिनको घर परिवारले अलग्गै नाम दियो । तितिकको नाउँ संजना चौधरी राखियो । छोरीको नाउँ स्वस्तीका चौधरी राखियो । जनकपुरमा उनले फेरी अर्को छोरी पाईन । विनिता चौधरी कान्छी छोरीको नामाकरण गरियो । घर परिवारले उनको नेपाली नागरिकताको प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र र छोरीहरुको जन्मदर्ता समेत बनाईदियो । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट २० जेष्ठ २०६६ मा बैवाहिक सम्बन्ध विवाह दर्ता ऐन २०२८ बमोजिम संजिव कुमार चौधरी र तितिक इस्तियानी (संजना चौधरी) बीचमा विवाह भएको भनि विवाह दर्ता प्रमाण पत्र प्रदान गरियो । जिल्ला प्रशासन कार्यालय सप्तरीले सोही दिन तितिक इस्तियानी (संजना चौधरी)को नाउँमा बैवाहिक अंगिकृत नागरिकता समेत प्रदान गरियो । १६१०३०÷३१० उनको नागरिकता नम्बर हो । सप्तरीको हरिहरपुर गाउँ विकास समितिको कार्यालयबाट ११ पुष २०६४ मा जेठी छोरी स्वस्तीका चौधरी र २० फागुन २०६६ मा कान्छी छोरी विनिता चौधरीको जन्म भएको भनि जन्म दर्ताको प्रमाण पत्र समेत बनाइयो ।

सुरुमा घर परिवारमा उनी खुशीका 
तितिकका श्रीमान संजिव चौधरी ।
साथ घुलमिल भएकी थिईन । तितिकको ससुरा विरामी भएपछि संजिवले उनको ठाउँमा नापी कार्यालय धनुषामा काम गर्न थाले । संजिवले काठमाण्डौमा अमिनको तालिम लिएका थिए । ३ बर्ष पछि उनको बुवा ठिक भएर काम गर्न थाले । त्यसपछि संजिव काम विहिन भए । कामको खोजीका लागि संजिव फेरी काठमाण्डौ गए । यता घरमा श्रीमान नभएपछि सासु सरस्वती चौधरीले तितिकलाई दुख दिन थालिन । घरको सारा काम काज दिनभरी गर्न लगाएपनि उनले कामहरु गर्थिन । तर, तितिकले मुस्लिम धर्म त्याग गरेकी थिईनन् । शिव चर्चाको प्रवचन गर्ने सरस्वती चौधरीको घरमा उनकै वुहारीले कुरान पढ्न थालेपछि उनलाई बर्दास्त हुन सकेन । घरमा कुरान किन पढेको भन्दै सासुले कैची लिएर आफ्नो टाउकोमा हानेपछि आफु घरबाट भागेर काठमाण्डौ श्रीमान संजिव कहाँ पुगेको तितिकले बताईन । काठमाण्डौ पुगेपछि संजिवले तितिकलाई फेरी काठमाण्डौबाट सप्तरीको मलेठमा कान्छी आमा कहाँ पठाई दिए । अर्को तर्फ संजिव लापत्ता भए । अनि मलेठबाट निस्केर तितिकले संजिवलाई खोज्दै जान थाले । तर, उनको अतोपता लागिरहेको थिएन । त्यसै बीच संजिवले कुर्थाकी एउटा आईमाईलाई भगाएर बस्न थाले । त्यो आईमाईको श्रीमान बैदेशिक रोजगारीमा रहेको बेला संजिवले भगाएको थियो । त्यो आईमाई पनि आफ्नो छोरा छोरीलाई छोडेर संजिवसँग भागेर जनकपुर आएका थिए । तर केही महिना पछि त्यो आईमाईको श्रीमान जनकपुर आएपछि आफ्नो श्रीमति खोजी गर्न थाले । संजिवले भगाएकी त्यो आईमाईलाई विराटनगर लगेर राखे । अन्ततः जिल्ला प्रहरी कार्यालय धनुषामा छलफल भएपछि त्यो आईमाईलाई घर फर्काउन धनुषाको कुर्थाका ती मानिस भने सफल भए । आफ्नो छोरा छोरीहरुको भविष्यको लागि कुर्थाका ती मानिसले संजिवसँग भागिसकेकी श्रीमतिलाई घर फर्काए । उता तितिक भने घरबाट निकालिएपछि विभिन्न कामहरु गर्दै आफ्नो जीवन गुजारा गर्न लागिन ।
नेपाली कांग्रेसका नेता रहेका प्रदिप गिरीले सिरहाको लहानमा संचालन गरेको आश्रममा केही महिना काम गरिन । त्यसपछि जनकपुर स्थित डा.केपी सिंहको घरमा भान्सा पकाउने काम गरिन । जनकपुर स्थित विद्यापति बोर्डिङ स्कुलमा समेत केही महिना काम गरिन । यसरी विभिन्न ठाउँमा काम गर्दै छोड्दै जनकपुरमा भाडाको कोठामा उनी बस्न बाध्य भएकी छिन् । सुरुमा धेरै अप्ठयारो भएपछि उनले इन्डोनेशियामा आफ्नो भाईलाई गुहार गरेर १ लाख ५७ हजार रुपैयाँ जनकपुरका एक जना स्वास्थ्यकर्मी मोहम्मद जाहिरको बैंक खातामा झिकाएकी थिईन । त्यो कुरा थाहा पाएपछि सासु ससुराले रकम माग्न थालिन । तर नदिएपछि झन उनीहरु आक्रोशित भएका थिए ।
आफ्ना दुई छोरीहरुलाई तितिकले
विद्यालयमा मात्र भेट्न पाएकी छिन् ।
उनको दुई छोरीहरुसँग बस्न पाउन सकेकी छैनन् । अहिले तितिक आफ्नो दुई छोरीहरुलाई विद्यालयमा मात्र भेट्न पाउने गरेकी छिन् । जनकपुरको प्यारागन स्कुलमा स्वस्तीका ५ कक्षामा र विनिता दुई कक्षामा पढिरहेकी छिन् । तितिकलाई न त श्रीमानले राखेका छन्, न त छोरीहरु नै दिइएको छ । तितिकलाई छोडेर अन्य महिलाहरुसँग अवैध सम्बन्ध बनाई हिँड्ने संजिव जनकपुरकै शिव चौक स्थित जानकी इलेक्टूोनिक्समा काम गर्छन । संजिव पनि आफ्नो घर जाँदैनन् । छोरीहरुलाई हजुर आमा र हजुर बुवाले पालिरहेका छन् । तितिकका अनुसार एक पटक मोवाईलमा एसएमएस पठाएर तिमिलाई तलाक दिएको भनेर भनेपछि सम्पर्क विहिन भएका छन् ।
नापी कार्यालय धनुषामा अमिन पदमा कार्यरत रहेका तितिकको ससुरा नकुल चौधरी बुहारीलाई आफुले नराख्ने बताएका छन् । मैले आफ्ना सम्पतिहरु छोराहरुलाई अंशबण्डा गरेर दिईसकेको छु । उनले यदि आफ्नो हक खोजेका छन् भने आफ्नो श्रीमानबाट लिनुपर्छ, त्यो मेरो जिम्मेवारी होईन भन्दै ससुरा चौधरी पनि तितिकलाई न्याय दिन चाहेका छैनन् । अर्को तर्फ तितिकको श्रीमान संजिव चौधरी पनि आफु कुनै हालतमा तितिकलाई नराख्ने, उनले मसँग तलाक लिने हो र सम्पतिमा अंश लिने हो भने अदालत मार्फत लिनुपर्दछ । म आफ्नो सम्पतिको कुनै पनि अंश दिदिन, संजिवले बताए । तर तितिकका अनुसार उनका ससुराले अंश बण्डा गर्दा धेरै सम्पतिहरु लुकाएको र केही सम्पति मात्र आफ्नो छोराको नाउँमा बण्डा गरेकाले आफुले अंश पाउँदा पनि उचित अंश नपाउने उनले गुनासो गरिन । तितिकका अनुसार उनका सासु ससुरा तथा श्रीमान सबैको चाहना के हो भने मैले आफ्नो छोरीहरुलाई उनीहरुकै जिम्मा छोडेर आफ्नो देश इन्डोनेसिया फर्किउन । तर आफु अब नेपाली नागरिक भएकोले यही संघर्ष गरेर न्याय पाउने आशमा उनी नेपालमा बसिरहेकी छिन् ।
यता तितिक भने आफुले न्याय पाउनु पर्ने भन्दै गुहार गरिरहेकी छिन् । तितिक भन्छिन,“ मेरो पहिलो चाहना आफ्नो श्रीमान र बच्चाहरुसँग जीवन विताउन पाउँ । त्यो पनि नभए भने छोरीहरु आफुले पाउनु पर्छ । श्रीमान यदि मसँग बस्नै नचाहने हो भने श्रीमानले कानुन अनुसार मलाई तलाक दिनुपर्दछ । र, त्यो तलाक पाईसकेपछि कानुन अनुसार मैले पाउनुपर्ने अंश समेत पाउनुपर्छ ।” नेपालमा तितिकको कोई पनि छैन । अरुको घरमा भान्सा पकाई आफ्नो जीवन विताईरहेकी तितिक अदालतमा रुपैयाँको अभावमा मुद्दा  समेत गर्न पाईरहेकी छैनन् ।
चौधरी परिवारका छिमेकमा बस्ने स्थानीय पत्रकार ब्रम्हानन्द ठाकुर पनि तितिक माथि चौधरी परिवारले कुटपिट गरेर घरबाट निकालिदिएको बताउँछन् ।सबै जना मिलेर उनलाई घरबाट निकाली छोरीबाट समेत टाढा पारी अन्याय गरेको ठाकुर बताउँछन् । तितिक एक्लैले संघर्ष गरेर न्याय पाउन कठिन भएकाले महिलाको हक अधिकारका क्षेत्रमा काम गर्ने गैर सरकारी संघ संस्थाहरुले उनलाई कानुनी अधिकार दिलाउन अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।


२०७४ जेष्ठ ०७ गते आईतबार

No comments:

Post a Comment