Monday, May 22, 2017

औषधि पसलमा अनुगमन र कारवाहीले ल्याएको भुईँचालो

जनकपुरको औषधि पसलहरुमा अनुगमन गर्दै औषधि व्यवस्था विभागका टोली ।
अजय अनुरागी
जनकपुरधाम............
लामो समय देखि संचालन अनुमति नलिएका औषधि पसलहरुमा बल्ल आएर कारवाहीको प्रक्रिया अघि वढेको छ । जनकपुरमा अवैधानिक तरिकाले बर्षौं देखि औषधि पसलहरु संचालनमा रहेको भएपनि सम्बन्धित निकायले कारवाही नगरेका कारण अवैध पसलहरुको संख्या बढ्दै गएको थियो । औषधि व्यवस्था विभाग विरगञ्ज शाखा कार्यालयबाट फार्मेसी अधिकृत विजय साहको अगुवाईमा फार्मेसी अधिकृतहरु डा.चन्देश्वर यादव, डा.सलिम, दिपेन्द्र साह, समन्तु दास, शिवशंकर ठाकुर सहित ७ सदस्यीय अनुगमन टोलीले धनुषामा अनुगमन गरी कारवाहीको प्रक्रिया अगाडी वढाएको छ । २ जेष्ठबाट औषधि पसलहरुमा अनुगमन थालेको उक्त टोलीले जनकपुरमा संचालित ७ वटा औषधि पसलहरुलाई तालाबन्द गरी सिलबन्दी समेत गरेको छ । अनुगमन टोली जनकपुरमा आएर अनुगमन थालेकै दिन देखि जनकपुरका अधिकांश अवैध औषधि पसलेहरुले आआफ्नो औषधि पसलहरु बन्द गरेर भागेका छन् । जसकारणले गर्दा अनुगमनमा समेत समस्या उत्पन्न भएको अनुगमन टोलीका इन्चार्ज विजय साह बताउँछन् । जनकपुरको वकिल टोल स्थित कृष्णा मेडिकल हल, अस्पताल रोड स्थित सरिता फार्मेसी, अस्पताल रोडमै विना नामको एउटा औषधि पसल, माँ भगवती मेडिकल सेन्टर, मनिष मेडिकल हल, जनकपुरको पुल चौक स्थित गायत्री मेडिकल हल र जनसेवा मेडिकल हलमा अनुगमन टोलीले ताला लगाई सिलबन्दी गरेको छ । कृष्णा मेडिकल हलमा प्रतिबन्धित औषधि पाईनुका साथै दर्ता नभएको पाइयो । सरिता फार्मेसी पनि औषधि व्यवस्था विभागबाट दर्ता नगराई संचालनमा रहेको तथा औषधिहरुको खरिद विक्री तथा वितरणको बिल समेत नभएको पाइयो । अस्पताल रोडमै नाम नै नभएको एउटा पसल जसमा अजय यादव भन्ने प्रतिनिधि रहेको औषधि पसलमा दर्ता नभएको तथा कुनै पनि किसिमको कागजात अनुगमनका क्रममा देखाउन नसकेको पाइयो । माँ भगवती मेडिकल सेन्टरमा पनि दर्ता अनुमति नरहेको पाइयो । मनिष मेडिकल हलमा अनुगमन गर्दा पसल दर्ता नभएको, केही प्रतिबन्धित औषधिहरु समेत फेला परेको पाइयो । शम्भु साहले संचालन गरेको जनसेवा स्वास्तिक क्लिनिकमा त के पाइयो भने एक त पसल दर्ता नगरी संचालनमा थियो भने अर्को तर्फ औषधि पसलमा किराना पसलका सामग्रीहरु विक्री गरेको पाइएको थियो । किराना पसल हो कि औषधि पसल छुट्याउनै गाह्रो परेको उक्त पसलमा पनि अनुगमन टोलीले सिलबन्दी गरेको छ । गायत्री मेडिकल हल र जनसेवा मेडिकल हलमा समेत दर्ता प्रमाण पत्र नभएको र प्रतिबन्धित औषधिहरु फेला परेको कारण आठवटै औषधि पसलहरुमा सिलबन्दी गरी कारवाही प्रक्रिया अगाडी वढाइएको फार्मेसी अधिकृत विजय साहले बताएका छन् ।
अनुगमन टोलीले जनकपुर १६ स्थित श्रीनारायण दास तत्माले संचालन गरेको राम गोविन्द्र मेडिकल हलमा  अनुगमन गर्दा जानकी मेडिकल कलेज भित्र रहेको फार्मेसी ठाउँ सारी नगरी संचालन गरेको, नार्कोटिक र साईक्रोटोफिक औषधिहरुको विक्री वितरण गरेको भएपनि त्यसको उचित रेकर्ड नराखेको पाइयो । धनुषाको लक्ष्मीपुर गाविस ५ कुम्हरौरामा शिवचन्द्र झाले संचालन गरेको कृष्णा मेडिकल हलमा के देखियो भने एलोपेथिक, आयूर्वेदिकको दर्ता गराएपनि भेटेरिनरीको औषधिहरु पनि संगसँगै राखिएको थियो । उक्त पसलमा नार्कोटिक र साईक्रोटोफिक औषधिहरुको विक्री वितरण गरेको रेकर्ड नराखिएको, एबोर्सन किटको रेकर्ड नराखिनुका साथै भ्याक्सिनहरु समेत उचित तापक्रममा संचय नगरेको पाइयो । लक्ष्मीपुर बगेवा ७ मा कृष्ण चन्द्र झाले संचालन गरेको केयर मेडिसिनमा व्यवसायी राजेश कुमार झा अनुपस्थित रहेको पाइयो । एकै ठाउँमा भेटनरी, आयूर्वेदिक र एलोपेथिक औषधिहरु संचय गरी बेचेको र दर्ता गरिएको प्रमाण पत्र नविकरण नभएको पाइएको थियो । त्यसैगरी लक्ष्मीनिया ७ स्थित डा.जितेन्द्र यादवले संचालन गरेको देव पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरमा दर्ता नभएको औषधि पसल रहेको र प्रतिनिधिद्वारा पसल संचालन गरेको पाइयो ।
लक्ष्मीनिया ८ मा जगदीश मिश्रले संचालन गरेको मिश्रा मेडिकल फार्मेसी समेत दर्ता नभएको र औषधि विक्री वितरण गरेको पाइयो । जनकपुर ६ मा रामविनय पंडितले संचालन गरेको अमित मेडिकल हल पनि दर्ता नभएको पसलको रुपमा पाइनुका साथै नार्कोटिक एण्ड साइकोटोपिक औषधिहरु विक्री वितरण गरेपनि त्यसको अभिलेख नराखेको पाइयो । धनुषाको घोडघास ७ स्थित गंगा प्रसाद मण्डलले संचालन गरेको प्रिन्सी फार्मेसी जनकपुर ४ मा अनुगमन गर्दा म्याद नाघेको केही औषधिको उचित भण्डारण नगरिनुका साथै नार्कोटिक एण्ड साइकोटोपिक औषधिहरु विक्री वितरण गरेपनि त्यसको अभिलेख नराखेको पाइयो । यसका अतिरिक्त उक्त पसलमा प्राइस कन्टूोलमा परेको एरिस्टोसिलिन क्याप्सुल संचय गरेको पाइयो । थोक पसलको रुपमा दर्ता प्रमाण पत्र लिएको भएपनि खुद्रा कारोबार गरेको पाइयो ।
जनकपुरको औषधि पसलहरुमा अनुगमन गर्दै औषधि व्यवस्था विभागका टोली ।
महोत्तरी रघुनाथपुर ८ का रामजप्पु यादवले जनकपुर १६ मा संचालन गरेको जनकपुर मेडिकल स्टोरमा औषधि विक्री वितरणको बिल नियमित नदिएको र रेफ्रिजिरेटरमा उचित तापक्रम नभएको पाइएको थियो । जनकपुर ६ का वृजमोहन प्रसाद साहले संचालन गरेको हनुमान मेडिकल हलमा लागु तथा मनोटिूपल औषधिहरु राखेको भएपनि अभिलेख संचालन नगरेको, औषधि विक्री गर्दा ग्राहकलाई विक्री बिल नदिने गरेको पाइएको थियो ।
त्यसैगरी जनकपुर १० का अशोक चौधरीले संचालन गरेको चौधरी मेडिकल हल विना दर्ता कै संचालनमा रहेको पाइयो । लागु तथा मनोटिूपल औषधिहरु राखेको भएपनि अभिलेख संचालन नगरेको, फुड सप्लीमेन्ट समेत पसलमै संचय गरेर राखेको पाइयो । जनकपुर ४ रामनाथ प्रसाद साहले संचालन गरेको माँ सितला मेडिसिनमा पनि औषधि विक्री वितरण गर्दा ग्राहकलाई नियमित बिल नदिएको, सरसफाई गरी तथा स्थानमा औषधि राखि व्यवस्थापन नगरेको पाइयो ।

धनुषा गिद्धा ३ का जितनारायण महतोद्वारा जनकपुर ७ अस्पताल रोडमा संचालित भवानी फार्मेसीमा अनुगमन टोलीले अनुगमन गर्दा व्यवसायी अनुपस्थित भएको अवस्थामा औषधि विक्री वितरण गरेको पाइएको थियो । नार्कोटिक औषधिहरुको अभिलेख नराखिएको तथा दर्ता प्रमाण पत्रको नविकरण समेत नभएको पाइएको थियो । त्यसैगरी धनुषा मानसिंह पट्टी ४ का सरुण कुमार यादवले जनकपुर ९ मा संचालन गरेको सुमित फार्मेसीमा समेत व्यवसायी अनुपस्थित रहेको पाइयो । औषधि पसल व्यवस्थित नदेखिएको, एउटै कोठामा औषधि पसल र ल्याव समेत संचालन गरेको पाइयो । धनुषा विन्धीका उमाशंकर साहले संचालन गरेको उमा मेडिकल हलमा अनुगमन गर्दा म्याद नाघेका औषधिहरु फेला परेको थियो । दर्ता नभएको उक्त पसलले प्रतिबन्धित औषधिहरु संचय गर्नुका साथै रेफ्रिजिरेटरको अवस्था राम्रो नभएको पाइएको थियो । रेफ्रिजिरटरमा जुस, पानी, औषधि सबै एकैसाथ राखेको पाइएको थियो ।
अनुगमन टोली ।
लक्ष्मीपुर बगेवा ५ मा उमेश यादवद्वारा संचालित आरएम मेडिसिन फार्मेसी पसल दर्ता नभएको पाइयो । पसलमा म्याद नाघेको औषधिहरु संचय गरिनुका साथै पसलमा औषधि विक्री गर्न राखिएको प्रतिनिधिलाई औषधि सम्बन्धि केही पनि ज्ञान नभएको पाइयो । लागु औषधिको बिल नभएको पाइएको थियो । लक्ष्मीपुर बगेवा ९ का रामचन्द्र यादवद्वारा जनकपुर २५ मा संचालित नरेन्द्र मेडिकल हलमा अनुगमन टोलीले अनुगमन गर्दा एलोपेथिक पसलको रुपमा दर्ता अनुमति प्रमाण पत्र रहेको भएपनि उक्त पसलमा भेटनरीको औषधिहरु पनि सँगै राखेर संचय गरी विक्री वितरण गरेको पाइयो । यसका अतिरिक्त उक्त पसलले ग्राहकहरुलाई औषधि विक्री वितरण गर्दा विक्री बिल समेत नदिने गरेको पाइयो ।

श्याम सर्जिकलमा अनुगमन गर्दा केही मात्रामा विना बिलकै रियल डिन नामका औषधिहरु पाइयो । मुख्य कुरा के थियो भने ती औषधिहरुको मुल्य दर मार्करले मेटिएको पाइएको थियो । जानकी आँखा अस्पताल रोडमा चश्मा पसलहरुमा समेत औषधि राखेर विक्री वितरण गरेको पाइएको थियो । राम मन्दिरको पछाडी रहेका आयूर्वेदिक पसलहरुमा औषधिहरु बाहेक पतंजलीका खाद्यय बस्तुहरु विस्कुट, पिठो, साबुन, सेम्पु लगायतका सामग्रीहरु विक्री वितरण गरेको पाइएको थियो । स्वस्तिक ओम आयूर्वेदिक फार्मेसी स्वस्तिक प्रसाद पोखरेलको नाउँमा आयूर्वेदिक औषधि पसल संचालन गर्ने दर्ता प्रमाण पत्र रहेकोमा एलोपेथिक औषधिहरु समेत बेच्ने गरेको पाइयो ।
अनुगमन गर्दा नेपालमा प्रतिबन्धित रहेको सेटिूजिन ट्यावलेट, पोरस जिवन, जेनेभ्रा १०० एमजी, पोलोबेट जिएम लगायतका औषधिहरु कतिपय औषधि पसलमा बजावते र्याकमा डिसप्लेमा राखेर विक्री गरेको पाइयो । यसका अतिरिक्त अधिकांश औषधि पसलहरुमा सरसफाईको अभाव, खानेकुराहरु पनि औषधि पसल र रेफ्रिजिरेटरमा पाइनुका साथै कुनै पनि औषधि पसलहरुमा डस्टविन समेत नपाइएको अनुगमन टोलीका सदस्य डा.चन्देश्वर यादवले बताएका छन् ।
कस्तो कारवाही हुने ?
औषधि ऐनमा व्यवस्था भए अनुसार औषधिको विक्री वितरण गर्ने व्यक्तिले आफ्नो नाम र पसल वा फर्म औषधि व्यवस्था विभागमा तोकिए बमोजिम दर्ता गराई तोकिएको दस्तुर तिरी प्रमाण पत्र लिनु पर्ने छ । प्रमाण पत्र लिएको व्यक्तिले मात्र दर्ता भएको औषधि विक्री वितरण गर्नुपर्ने छ । सुरुमा पाएको दर्ता प्रमाण पत्रको अवधि २ बर्षसम्म मात्र रहनेछ । म्याद नाघेको ३५ दिन भित्र प्रमाण पत्रको तोकिएको दस्तुर तिरी प्रत्येक बर्षको लागि नविकरण गराउनु पर्नेछ । नविकरण नगराएको प्रमाण पत्र स्वतः रद्द हुनेछ ।
विभिन्न समुह वा उपसमुहमा विभाजन गरिएका औषधि चिकित्सकको प्रेस्कृप्सन विना कसैले औषधि विक्री वितरण गर्नु हुँदैन । त्यस्तो औषधि चिकित्सकको पे्रस्कृप्सन बमोजिम विक्री वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले विक्री वितरण गर्नुपर्ने हुन्छ । व्यवसायी बाहेक अरुले त्यस्तो औषधि विक्री वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायकको वा व्यवसायीको उपस्थिती अनिवार्य हुनुपर्दछ । तर, कानुनमा ती प्रावधानहरु हुँदा हुँदै जनकपुरमा दर्ता नभएका औषधि पसलेहरुले औषधि विक्री वितरण गर्दै आएको थियो । अहिले सिलबन्दी गरिएका पसलहरुलाई औषधि ऐन बमोजिम पसल बन्द गरिएको र दर्ता प्रमाण पत्र लिए औषधि पसल संचालन हुने अन्यथा ती सबै औषधिहरु जफत गरिने अनुगमन टोलीका इन्चार्ज विजय साहले बताएका छन् । यसका अतिरिक्त आफैले पसल बन्द गरेर भागेका पसलेहरुको समेत सूची बनाई ऐन बमोजिम कारवाही प्रक्रिया अगाडी वढाउने साहले बताएका छन् ।
अनुगमनको साइड इफेक्ट
जयश्याम सर्जिकल स्टोर्समा पाइएको
औषधिको मुल्य सूचि मेटाइएको थियो ।
अनुगमनका कारण अधिकांश अवैध औषधि पसलहरु बन्द भएपछि अत्यावश्यक औषधिहरुको बजारमा अभाव देखिएको छ । खास गरेर औषधि व्यवस्था विभागमा  दर्ता नभएको औषधिहरु पनि त्यस्ता पसलहरुमा खुलेयाम विक्री वितरण भईरहेको थियो । तर, अहिले ती पसलहरु बन्द भएपछि अत्यावश्यक लाईफ सेभिङ् डूग्सहरुको अभाव भएपछि रोगीहरु मर्कामा पर्न थालेका छन् । जस्तै इपिलेप्सी रोगीका लागि आवश्यक पर्ने औषधिहरु गार्डिनल एम्पुल, एस्टेमेटिल एम्पुल, एटूोपेन औषधिहरु अहिले उपलब्ध हुन सकिरहेको छैन । ती औषधिहरु नेपालमा प्रतिबन्धित रहेपनि भारतबाट किनेर ल्याइएका वा तस्करी गरी ल्याइएका ती औषधिहरु व्ल्याकमा जनकपुरमा विक्री हुने गथर््यो । २५ रुपैयाँ भारतीय मुल्यमा पाईने त्यस्ता औषधि जनकपुरमा ५ सय देखि १ हजार रुपैयाँ सम्ममा विक्री हुने गथर््यो । जीवन रक्षाका लागि ती औषधिहरु आवश्यक रहेका कारण रोगीहरु महँगो मुल्यमा किन्न बाध्य रहेपनि अहिले ती औषधिहरु उपलब्ध नहुँदा रोगीहरु अलपत्र परेका छन् ।
जनकपुर आसपासका मानिसहरु प्रायः भारतमा गएर उपचार गराउँछन् । भारतमा उपचार गर्ने चिकित्सकले भारतीय कम्पनीका औषधिहरु लेख्ने गर्छन् । ती रोगी फर्केपछि आफ्नो डोज अनुसार औषधि जनकपुरको औषधि पसलहरुमा किन्न जाने कारण औषधि व्यवसायीहरुले ग्राहकहरुको अनुरोधमा नेपालमा दर्ता नभएका औषधिहरु ल्याई महँगो मुल्यमा बेचिरहेका हुन्छन् । ग्राहकहरु पनि आफ्नो सहजताका लागि चर्को मुल्य तिर्न पनि सहमत भएका हुन्छन् ।
जनकपुर अञ्चल औषधि व्यवसायी संघका अनुसार धनुषामा १ सय ९५, महोत्तरीमा १सय, सिन्धुली र सर्लाहीमा १ सय ७३ गरी करिब ५ सय जति औषधि पसलहरु औषधि व्यवस्था विभागबाट औषधि पसल संचालन गर्न दर्ता प्रमाण पत्र लिएको अभिलेख रहेको छ । संघका महासचिव प्रमोद अग्रवालका अनुसार जनकपुर अञ्चलमा करिब १५ सय देखि २ हजार सम्मको संख्यामा विना दर्ता औषधि पसलहरु अवैध रुपमा संचालित छन् । अनुगमन टोलीले अनुगमन गरी अवैध औषधि पसलहरुलाई कारवाहीको दायरामा ल्याउनु सराहनिय काम भएपनि अवैध पसलेहरुलाई दर्ता प्राप्तिका लागि अवसर समेत प्रदान गरी व्यवस्थित गरिनुपर्ने अग्रवाल बताउँछन् ।
स्थानीय प्रशासनद्वारा विगतको अनुगमन
२६ पुष २०७३ मा सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको संयोजकत्वमा गठित संयूक्त अनुगमन समितिले जनकपुर सहर भित्र रहेका स्वास्थ्य क्षेत्रका औषधि पसल, क्लिनिक, ल्याब, अस्पताल लगायतको अनुगमन गर्दा अनुगमनका क्रममा विना दर्ता संचालित रहेका अस्पताल, नर्सिङ होम, क्लिनिक तथा औषधि पसलहरुमा तालाबन्दी गरी कारवाही प्रक्रिया अगाडी वढाएको थियो । अनुगमनको क्रममा केही औषधि पसलहरुमा छापामारी गरीरहँदा सबै औषधि व्यवसायीहरुले धमाधम आफ्नो औषधि पसल बन्द गर्दै भागाभाग भए । त्यसपछि राजेश गिरी मुर्दाबाद, जिल्ला प्रशासन कार्यालय मुर्दाबाद सहितको नाराबाजी पनि भयो । अनुगमनकै क्रममा दर्ता भएको औषधि पसलहरुमा केही त्रुटि देखिएपछि अनुगमन समितिले ४÷५ वटा दर्ता भएका औषधि पसलमा पनि तालाबन्दी गर्यो ।
अनुगमनमा तालाबन्दी गरिसकेपछि अबैध तरिकाले संचालित व्यवसायीहरुलाई कारवाही गर्ने कुनै पनि हालतमाा पछि नहटने अभिव्यक्ति दिएर जनकपुरबासी सामु गिरी लोकप्रिय बनेका थिए । त्यही इस्यूलाई लिएर औषधि व्यवसायीहरुलाई बदनाम गराउने, आतंकित पार्ने, अनुगमनका क्रममा औषधि व्यवसायीलाई प्रतिनिधित्व नगराएको भन्दै गिरीको निलम्बन सहित औषधि व्यवसायीहरु आन्दोलित भएका थिए । अनुगमन टोलीले कारवाही गर्दा नेपाल औषधि व्यवसायी संघ जनकपुर अञ्चल शाखाले ४ सुत्रिय माग राख्दै २७ गते देखि जनकपुरका सम्पुर्ण औषधि पसलहरु बन्द गरी अनुगमनको विरोध जनाएका थिए ।
सहायक प्रजिअ राजेश गिरीको निलम्बन, ओरिएनटेशन कोर्षको तालिमको पुनःसंचालन, अनुगमनको नाममा गरिएको तालाबन्दीको पुनारावृति नहोस भन्दै औषधि व्यवसायीहरुले औषधि पसलहरु बन्द गरी विरोध जनाईरहेका थिए । औषधि व्यवसायीहरु संघर्षमा ओर्लिएको भोली पल्टै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई र सहायक प्रमुख जिल्ला अधिकारी पछि हटेका थिए । दर्ता भएको औषधि पसलहरुमा अनुगमन टोलीले लगाएको ताला प्रहरीलाई पठाएर जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.गौराङ्ग मिश्रको रोहवरमा ताला खोलाइएको थियो ।
तर, त्यहाँ अनुगमन समितिले थाहा नै नपाउने गरी विना दर्ता अस्पताल रोडमा संचालित रहेका आर्या होस्पिटलमा लगाइएको ताला पनि खोलिएको थियो । अनुगमन टोलीका संयोजक राजेश गिरीका अनुसार अनुगमन टोलीका कुनै पनि सदस्यलाई जानकारी नै नदिई त्यो आर्या हस्पिटल कसरी खोलियो, कसको निर्देशनमा खोलियो भनेर प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईसँग प्रश्न गर्दा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदानन्द देवको आदेशमा खोलिएको कुरा बाहिर आएको थियो । स्वास्थ्य मन्त्रालयले फागुन मसान्तसम्म दर्ता गर्न परिपत्र गरे अनुसार आफुले आर्या होस्पिटल तथा डा.रामनरेश पंडित लगायतको क्लिनिकको ताला खोलाएको देवले अनुगमन समितिको बैठकमा   बोलेको गिरीले बताएका थिए । ३ दिनसम्म औषधि पसलहरु बन्द रहेपछि प्रशासनले विना कारवाही ५ सुत्रिय सम्झौता गरेपछि औषधि व्यवसायीहरुले औषधि पसल खोलेका थिए । २ माघ २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईको अध्यक्षतामा धनुषाका एसपी लालमनि आचार्य, सहायक प्रजिअ राजेश गिरी, जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.गौराङ्ग मिश्र, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका कार्यालय प्रमुख सच्चिदानन्द देव, आन्तरिक राजश्व कार्यालय जनकपुरका सुवर्ण कोइराला, नापतौल कार्यालयका विरेन्द्र उपाध्याय, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाल खाद्य संस्थानका संजु रानी, उपभोक्ता मञ्चका रेणु झा, नापतौल कार्यालयका मुकुन्द चौधरी, औषधि व्यवसायी धनुषाका अध्यक्ष सत्यनारायण साह, महासचिव प्रमोद अग्रवाल सहित करिब ३० जनाको उपस्थितिमा ५ सुत्रिय सम्झौता भएको थियो ।
सम्झौता पहिलो बुँदामा अनुगमनको क्रममा केही औषधि पसल, क्लिनिक, ल्याब, अस्पताल लगायतका व्यवसायीहरु विधिवत रुपमा दर्ता भएता पनि नविकरण नभएका, सम्बन्धित आधिकारिक व्यक्ति पसलमा नबसेका, खरिद तथा बिल नराखेका जस्ता त्रुटिहरु देखिएकाले सो त्रुटिहरुलाई यथासम्भव छिट्टै कानुनी व्यवस्था अनुसार नेपाल औषधि व्यवसायी संघ धनुषा, औषधि व्यवस्था विभाग शाखा कार्यालय विरगञ्ज तथा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले नियमित गराउने र सो को जानकारी सम्बन्धित निकाय र जिल्ला प्रशासन बजार अनुगमन समितिमा गराउने निर्णय गरियो ।
त्यस्तै दोस्रो बुँदामा औषधि व्यवस्था विभागबाट प्रमाण पत्र नलिई व्यवसाय संचालन गरिरहेका स्वास्थ्य सम्बन्धि व्यवसायीहरुको ओरिएनटेशन तालिमको व्यवस्थाको लागि औषधि व्यवसायी संघको माग अनुसार जिलला प्रशासन कार्यालयले स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो । त्यसैगरी तेस्रो बुँदामा अनुगमनको क्रममा रितपुर्वक संचालन नभई बन्द गरिएका तथा आफै बन्द गरेका व्यवसायीका लागि ३ महिनाको अवधि दिई रितपुर्वक संचालनको व्यवस्था औषधि व्यवस्था विभागले गर्ने र त्यसका लागि अञ्चल औषधि व्यवसायी संघको समन्वय र सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने निर्णय गरियो ।
चौथो बुँदामा औषधि व्यवस्थापन सम्बन्धि काम कारवाही गर्न गराउन औषधि व्यवस्था विभागको शाखा कार्यालय विरगञ्जमा रहि कार्य हुन व्यवसायीहरुलाई असुविधा भएकाले सो निकायलाई कम्तिमा व्यवसाय दर्ता, नविकरण लगायतको कार्य गर्न जनकपुरमा तत्काल घुम्ती शिविरको व्यवस्था मिलाई दिन जिल्ला प्रशासन कार्यालय मार्फत औषधि व्यवस्था विभागमा पत्राचार गर्ने निर्णय गरियो । पाँचौं बुँदामा अनुगमन गर्दा सबै पक्षको मानमर्यादाको सम्मान गर्दै अनुगमन आचारसंहिता बनाई यो अनुगमनको क्रमलाई निरन्तरता दिने निर्णय गरियो ।


२०७४ जेष्ठ ०७ गते आईतबार

No comments:

Post a Comment