Monday, May 22, 2017

यसरी हुन्थ्यो जनकपुरमा एकै दिनमा करोडौंको ‘अवैध हुन्डी कारोबार’

५५ लाख रुपैयाँ सहित पक्राउ परेका
५ जना अवैध हुन्डी कारोबारीका अभियूक्तहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरमा अवैध हुन्डी कारोबार गर्दै आएका कारोवारीलाई कारोबार गरिरहेकै अवस्थामा धनुषा प्रहरीले रंगेहात पक्राउ गर्न सफल भएको छ । कारोबार गरिरहेको ५ जनालाई ५५ लाख रुपैयाँ सहित पक्राउ गरिएपछि धनुषामा लामो समय देखि चल्दै आएको अबैध हुन्डी कारोवारको पर्दाफास भएको छ ।
धनुषा रघुनाथपुर ४ का ३७ बर्षिय महादेव राउत, ३४ बर्षिय विष्णुदेव राउत, सबैला नगरपालिका २ का विन्देश्वर राउत, एकराही १ का २० बर्षिय अरुण दास र रघुनाथपुर ४ का २० बर्षिय रोशन कुमार महरालाई ३ जेष्ठ २०७४ मा धनुषा प्रहरीले पक्राउ  गरेको हो । पक्राउ गरिएका विष्णुदेव राउतबाट २६ लाख ६४ हजार २ सय रुपैयाँ, विन्देश्वर राउतबाट ३ लाख ७३ हजार रुपैयाँ, अरुण दासबाट ११ लाख रुपैयाँ र रोशन कुमार महराबाट १४ लाख रुपैयाँ गरी कुल ५५ लाख ३७ हजार २ सय रुपैयाँ नगद बरामद गरेको छ । यसका अतिरिक्त धनुषा प्रहरीले ५ थान ल्यापटप, १० थान मोवाईल र तिनीहरुको फाईल तथा डायरी समेत बरामद गरी आवश्यक कानुनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर बुझाइएको धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवले बताएका छन् ।
कसरी परे पक्राउ ?
जनकपुरमा अवैध हुन्डी कारोबार संचालन भईरहेको सूचना धनुषा प्रहरीले एक बर्ष अघि नै प्राप्त गरिसकेका थिए । तर, कारोवार गरिरहेकै अवस्थामा प्रमाणहरु सहित रंगेहात फेला पार्न कठिन भईरहेको थियो, धनुषा प्रहरीलाई । किनभने अवैध रकम बरामद नहुनजेलसम्म कारवाही प्रक्रिया अगाडी वढाउन किन पनि कठिन थियो भने पक्राउ परे पनि तत्कालै रिहा हुन सक्नेथियो । धनुषामा उत्तम राज जोशी एसपी रहेको बेला अवैध सुन चाँदी तस्करहरुलाई अवैध सुनचाँदी तथा रकम सहित पक्राउ गर्न सफल भएपनि अवैध हुन्डी कारोवारी भनेर कसैलाई यस अघिसम्म धनुषामा कारवाही गर्न नसकिएकोले पनि धनुषा प्रहरीका लागि यो विषय नयाँ र चुनौतिपुर्ण पनि थियो । त्यसैले धनुषाका एसपी लालमनि आचार्यले क्राईम ब्रान्चमा काम गर्ने सादा पोशाकका सई जयलाल यादव र असई किस्मत भण्डारीलाई विशेष  रुपमा खटाएको थियो ।
 १ बर्ष देखि सुराक पत्ता लगाईरहेको धनुषा प्रहरीले पछिल्लो एक सप्ताह देखि ती कारोबार गर्ने कारोवारीहरुमाथि निगरानी बढाएको थियो । पछिल्लो एक सप्ताहमा भरपर्दो जानकारी प्राप्त भएपछि थप पुष्टि हुने आधारहरु देखिन थालेपछि निरन्तर एक सप्ताह देखि तिनीहरुले कारोबार गर्ने विभिन्न ठाउँमा निगरानी बढाउन थालिएको थियो । तिनीहरुले कारोबार गर्ने तरिका, कहाँबाट रकम निकाल्छन्, कसलाई कुन ठाउँमा कसरी कति कति रकमहरु हस्तान्तरण गर्दछन्, कारोबारका लागि कारोवारीले खटाएका कर्मचारीहरुको मुभमेन्ट कस्तो छ, तिनीहरुको बस्ने ठाउँ सेल्टर कहाँ छन् आदि विषयहरु माथि छानविन गरी धनुषा प्रहरीको उक्त टोलीले विशेष निगरानी गर्न थाल्यो । तिनीहरुको हरेक गतिविधिको सुक्ष्म अवलोकन तथा निगरानी पश्चात ३ जेष्ठ २०७४ मा जनकपुरको भानु चौक स्थित राष्टिूय बाणिज्य बैंकको भवन मुनि गल्लीबाट अवैध हुन्डीको कारोवार गर्ने कामदार धनुषाको एकराहीका अरुण दासलाई प्रहरीले अवैध रकम सहित पक्राउ गर्यो ।
 प्रहरीको अनुसन्धान टोलीका सदस्य समेत रहेका प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीका अनुसार अरुणलाई पक्राउ गर्दा हामी धेरै सचेत थियौं । किनभने हामी माथि पनि ती गिरोहका मानिसहरुले बाहिरबाट निगरानी गरेको हुन सक्छ र उ पक्राउ परेपछि अन्य गिरोह सचेत हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर ‘एण्टी कभर्ड’ शैलीमा पक्राउ गरियो । करिब साढे ४ बजे तिर अरुणलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि ल्याइयो । अरुणसँग गरिएको अनुसन्धानबाट विभिन्न स्थानमा रहेका अन्य ४ जना मानिसहरुको नाउँ खुलेपछि बाँकी चारै जनालाई पक्राउ गर्न विभिन्न स्थानमा रहेका प्रहरीहरुलाई जानकारी दिएर एकै समय एकैसाथ सबै जनाको घरमा खानतलासी गरी पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको टोलीले विष्णु देव राउतको घरमा, जिल्लाबाट गएको टोलीले पुल चौकमा, रेल्वे प्रहरीबाट गएको टोलीले वकिल टोलबाट महादेव राउत, विष्णु देव राउत, विन्देश्वर राउत, रोशन कुमार महरालाई  पक्राउ गर्न सफल भयो ।
कसको भुमिका के ?
 
पत्रकार सम्मेलनमा धनुषाका डिएसपी मनोज यादव तथा प्रहरी निरीक्षकहरु ।
पक्राउ परेका पाँचै जनासँग गरिएको बयानबाट तिनीहरुले अबैध हुन्डीको कारोबार गरिरहेको प्रमाणित भयो । महादेव राउत र विष्णु देव राउत  दाजु भाई हुन । विन्देश्वर राउत ती दाजुभाईका बहिनी ज्वाँई हुन । विष्णु देव राउत कारोबारको सबै व्यवस्था मिलाउने काम गर्थे । मलेसियाबाट नेपाल आउने जाने गर्थे । विजनेस भिसा भएका कारण महिनामा २÷३ पटक नेपालबाट मलेसिया उनी जाने आउने गर्थे । मलेसियामा जानकी इम्पेक्स नामको एउटा संस्था स्थापना गरी मलेसियामा काम गर्ने नेपाली नागरिकहरुबाट रकम संकलन गर्ने तथा विन्देश्वर राउतसँग मिलेर मलेसियन रकम मलेसियामा विक्री वितरण गर्ने कार्य गर्दथे । नेपालमा भाईबर तथा म्यासेन्जरमा क कसलाई कति रकम दिनुपर्ने हो भन्ने सूचि सहितको विवरण मलेसियाबाट पठाइन्थ्यो । नेपालमा काम गर्ने कर्मचारीहरुलाई खटाई घर घरमा पुर्याउने तथा मनिटूान्सफरको माध्यमबाट देशका अन्य जिल्लाहरुमा समेत रकम पठाउने काम महादेव राउतले  नेपालमा गरिरहेका थिए ।
महादेव राउत आफ्ना भाई विष्णु देव राउतको सम्पुर्ण कामको जिम्मेवारी हेर्ने गर्थे । सम्पुर्ण कारोबारको विवरण राख्ने र विष्णु देव राउतले राखेका कर्मचारीलाई रकम लैजाने र ल्याउने कार्यमा अरुण दास र रोशन कुमार महरालाई खटाई रकम बुझाउने काम गर्थे । विन्देश्वर राउत भने विष्णुदेव राउतसँग मिलेर मलेसियन रकमलाई मलेसियामा साट्ने तथा मलेसियामा विक्री वितरण कार्य गर्ने, नेपालमा भाईबर तथा म्यासेजमा आएको रकम मनिटूान्सफरको माध्यमबाट रकम नेपालभर  पठाउन सबैलामा निजले संचालन गरेको विभास मनिटूान्सफरको प्रयोग गर्थे । विष्णु देव र विन्देश्वरको बीचमा मलेसियाबाट पाउनु पर्ने रकम प्राप्त गरेपछि साट्ने, पैसा पठाउनका लागि सेटलमेन्ट गर्ने काम बखुवी निर्वाह गरिरहेका थिए ।
विष्णु देव राउत र महादेव राउतले खटाएका कर्मचारीहरु अरुण दास र रोशन कुमार महराले विन्देश्वर राउत र महादेव राउतले दिन भनेको मान्छेहरुलाई रकम सम्बन्धित स्थानमा पुर्याउने, दिन भनिएको मानिसहरुको एकाउन्टमा रकम जम्मा गरिदिने काम गर्थे ।
प्रहरीले गरेको अनुसन्धानबाट के देखिएको छ भने नेपालमा काम गर्ने म्यानपावर कम्पनीहरुले मलेसियामा तिर्नुपर्ने रकम नेपालमा दिने र उनीहरुले त्यहाँ म्यानपावरका मानिसहरुलाई मलेसियामा बुझाउने गर्थे । उताबाट आउने रकम ७५ देखि ८० प्रतिशत हुन्थ्यो भने यताबाट मलेसियामा बुझाउनुपर्ने रकम २० देखि २५ प्रतिशत मात्र हुन्थ्यो ।
नेपालमा कसरी गरिन्थ्यो कारोबार ?
बैदेशिक रोजगारीका शिलशिलामा मलेसियामा रहेका नेपाली कामदारहरुले नेपालमा पैसा पठाउनका लागि कमिशन अत्यन्तै कम तिर्नुपर्ने लालचमा आएर यिनीहरु मार्फत पैसा पठाउने गर्थे । नेपालमा मनिटूान्सफरहरुको पसलमा गई रकम दिनुपर्ने मानिसहरुलाई बोलाई रकम दिने गर्थे । कतिपयलाई विभिन्न बैंकको वेटिङ्ग रुममा बोलाएर पैसा दिने गर्थे । कतिपय बैंकका गल्लीमा रहेका पार्किङमा बोलाई मानिसलाई पैसा दिने गरिन्थ्यो । यसका अतिरिक्त बजारका विभिन्न चौकहरु,पान पसलहरुमा बोलाई पैसा दिने गरिन्थ्यो । अहिले उनीहरुको अफ सिजन थियो । प्रायः अंग्रेजी महिनाको १ तारेख देखि १४ तारेखसम्म बढी कारोबार हुने गर्दछ । एक दिनमा ८० लाख देखि १ करोड रुपैयाँसम्म कारोबार हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीले बताएका छन् ।
इन्टरनेटमा आधारित संजाल
मलेसिया देखि नेपालसम्म संचालन गर्दै आएको उक्त हुन्डी कारोबारमा उनीहरुले इन्टरनेटमा आधारित संजाल खडा गरेका थिए । भाईबर र म्यासेन्जर मार्फत नै उनीहरुले सूचना आदान प्रदान गर्थे । नेपालमा खटाइएका कर्मचारीलाई १० देखि ५ बजेसम्म मोवाईलमा अनलाईन राखिन्थ्यो । बाँकी ३ जना मुख्य कारोबारीहरु चौविसै घण्टा अनलाईन हुने गर्थे । भाईबर, वाट्सएस र म्यासेन्जरको अत्यधिक प्रयोग गर्थे । पैसा दिनुपर्ने मानिसको नाम, फोटो र रकमबारे सूचना भाईबर र म्यासेन्जर मार्फत दिने गरिन्थ्यो । जनकपुरमा पैसा दिनुपर्ने मानिसहरुलाई विभिन्न ठाउँमा बोलाई दिने गरिन्थ्यो भने देशका अन्य जिल्लाका मानिसहरुलाई रकम दिनुपर्दा विन्देश्वर राउतले सबैलामा संचालन गरेको विभास मनिटूान्सफर र विष्णुदेवले महेन्द्रनगरमा संचालन गरेको ताल मनिटूान्सफर मार्फत रकम पठाउने गर्थे ।
    मनिटूान्सफर मार्फत कपिलबस्तु, दांग, सिन्धुली, रामेछाप, मोरंग लगायतका विभिन्न जिल्लाहरुमा मलेसियाबाट आएको रकम पठाइएको पाइएको छ । आफ्नै मनिटूान्सफर मार्फत रकम मात्रै पठाउँदा करोडौंको कारोवार किन वढी भईरहेको छ भनेर शंका लाग्न सक्ने र सम्बन्धित निकायले अनुसन्धान समेत गर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै ती कारोवारीहरुले जनकपुरका अन्य मनिटूान्सफर मार्फतहरु पनि रकमको लेनदेन गर्ने गर्थे ।

२०७४ जेष्ठ ०७ गते आईतबार

No comments:

Post a Comment