Monday, April 24, 2017

हातहतियार खरखजाना मुद्दामा चरम बेथिति कसुर ठहरिएको सजाय भन्दा वढी भुक्तान, १० बर्ष देखिको मुद्दाहरु फैसला हुन सकेन

जिल्ला प्रशासन कार्यालय धनुषा ।
अजय अनुरागी
जनकपुरधाम............
१७ भदौ २०६९ मा जनकपुर १६ स्थित पुल चौकमा राति ८ बजेको समयमा सडकमा हिँडिरहेका धबौली ६ का बब्लु मण्डललाई प्रहरीले रोकि शरीरको तलासी गर्दा कटुवा पेस्तोल १ थान बरामद भएको थियो । १ बर्ष अगाडी भारतको सितामढीबाट ५ सय रुपैयाँमा उक्त अवैध हतियार किनेको बयान सहित प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजानाको मुद्दा दर्ता गर्यो । प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायको इजलासले ५ असोज २०६९ मा महोत्तरीको जलेश्वर स्थित कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो । त्यसपछि धनुषा जिल्ला अदालतका न्यायाधीश ऋषि प्रसाद अधिकारीको इजलासले १३ फागुन २०७२ मा मण्डललाई कसुरवार ठहर गर्यो । केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२ ले साविकको सजायलाई घटाई ६ महिना देखि १ बर्षसम्मको कैदको सजाय हुने भनि संशोधन भएकोले सोही संशोधित दफा २०(२) अनुसार प्रतिवादी बब्लु मण्डललाई एक बर्षको कैदको सजाय हुने र बरामद पेस्तोल जफ्त हुने अदालतले फैसला गर्यो ।
एक जना प्रतिवादीसँग बरामद हतियार ।
एक बर्षको कैद सजाय मात्र ठहर भएका बब्लु १७ भदौ २०६९ देखि प्रहरी हिरासतमा रहि ५ असोज २०६९ को आदेशबाट जलेश्वर कारागार भित्र थुनामा थिए । अदालतले सजाय ठहर गर्दा सम्म बब्लुले ३ बर्ष ६ महिना जति कैद सजाय भुक्तान गरिसकेका छन् । यसरी हेर्ने हो भने सम्बन्धित निकायको लापरवाहीका कारण हातहतियार तथा खरखजाना मुद्दामा १ देखि ३ बर्षसम्म विगतमा कैद र हाल १ बर्षसम्मको कैद सजाय व्यवस्था मात्र रहेपनि प्रतिवादीहरु वढी नै सजाय भुक्तान गर्नुपर्ने बाध्यता रहेको छ । न्याय निरुपण गर्ने निकायहरुले समयमा नै फैसला नगरेपछि अभियूक्त वा कसुरदारहरुले वढी नै सजाय भुक्तान गर्नु परिरहेको छ । जबकी त्यस बापत पीडित हुनेहरुले राज्यबाट कुनै पनि किसिमको क्षतिपुर्ती पाईरहेको छैन ।
हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार हातहतियार तथा खरखजाना मुद्दा हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरिएको थियो । त्यस अनुसार कसैले तोप वा मेसिनगन तयार गर्ने वा मर्मत गर्ने, आफुसाथ राख्ने वा अन्य स्थानमा राख्ने वा राख्न लगाउने, एक रुपबाट अर्को रुपमा परिणत गर्ने, बेच्ने वा विक्रीको लागि दिने वा राख्ने कसुर ठहर भएपछि ३ बर्ष देखि ७ बर्षसम्म कैद वा ६० हजार देखि १ लाख २५ हजार रुपैयाँसम्म  जरिवाना वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ । अन्यथा अवैध हतियार सन्दर्भमा १ देखि ३ बर्षसम्म कैद वा २० हजार देखि ६० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । सोही अनुसार प्रमुख जिल्ला अधिकारीले हातहतियार तथा खरखजाना मुद्दामा फैसला गर्ने गरेका थिए ।
विगतको अभ्यासमा के देखियो भने प्रमुख जिल्ला अधिकारीहरुले हातहतियार तथा खरखजाना मुद्दामा थुनछेक प्रयोजन तर्फ आफ्नो विवेकको प्रयोग गरी धरौटीमा वा तारेखमा वा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने भनेर आदेश त एकातर्फ दिने गरेका छन् भने अर्को तर्फ उक्त आदेशलाई फैसलामा रुपान्तरण गरी मुद्दाको किनारा लगाउने काम गरेको पाइएको छैन । जसले गर्दा धनुषामा के देखिन्छ भने एका तर्फ कोही प्रतिवादी थुनामा छन् भने बास्तविक सजाय पाउनुपर्ने भन्दा धेरै वढी सम्म थुनिएका छन् । र, पनि मुद्दाको किनारा लागेको छैन । अर्को तर्फ प्रजिअले धरौटीमा वा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्नू भनि आदेश दिएका छन् भने अन्तिम किनारा लाग्दा दण्ड वा सजायको फैसला अदालतबाट भएको अवस्थामा ती अपराधिहरु फरार हुने गरेका छन् ।
३ असोज २०७२ मा नेपालको संविधान जारी भएपछि १ बर्ष भन्दा माथिको कैद हुने मुद्दा अदालतको अधिकार क्षेत्र भित्र पर्ने भनेर कानुनमा उल्लेख भएपछि जिल्ला प्रशासन कार्यालय धनुषामा २०६३ साल देखिकै थन्किएका हातहतियार तथा खरखजाना र केही सार्वजनिक अपराधका मुद्दा अन्तरगतका सम्पुर्ण मिसिलहरु धनुषा जिल्ला अदालतमा पठाइयो । धनुषा जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाबाट २ पुष २०७२ मा कुल ४ सय २५ थान मुद्दाहरु अदालतमा पठाइएको थियो । जस अन्तरगत ३ सय ६३ वटा मुद्दाहरु केही सार्वजनिक अपराधका थिए भने ६२ थान मुद्दाहरु हातहतियार तथा खरखजानाका मुद्दाहरु थिए । ६ बैशाख २०७४ सम्मको अभिलेख अनुसार धनुषा जिल्ला अदालतले केही सार्वजनिक अपराधका मुद्दाहरु लगभग फैसला गरी किनारा लगाईसकेको छ भने ६२ मध्ये २७ वटा हातहतियार तथा खरखजाना मुद्दाको फैसला गरी किनारा लगाएको छ भने ३५ थान मुद्दाहरु अझै पनि अदालतमा विचाराधिन रहेको छ ।
विचाराधिन मुद्दाको कहिले टुङ्गो लाग्ने ?
बब्लु मण्डललाई १ बर्षको कैद सजाय फैसला गरेको धनुषा जिल्ला अदालतको ठहर । तर, उनले करिब साढे ३ बर्ष
भन्दा वढी सजाय भुक्तान गर्नुपर्यो ।
२४ फागुन २०६३ मा धनुषाको तुल्सी गाविस १ स्थित केही व्यक्तिहरुले खुकुरी तथा भरुवा बन्दुक देखाई आफ्नो साथबाट १७ हजार ८ सय ४४ रुपैयाँ नगद लुटी फरार भएको भनेर गोविन्द काफ्लेले प्रहरीमा उजुरी दिए । प्रहरीले खोजी गर्दै जाँदा उक्त घटनाका अभियूक्तहरु तुल्सी १ का दानबहादुर थापा मगर र मदन कुमार दर्लानलाई पक्राउ गरे । घटनामा प्रयोग गरिएको भरुवा बन्दुक र सिकाडिया डाँडा भन्ने जंगल भित्र रहेको सखुवाको रुख मुनि लुकाईछिपाई राखेको अवस्थामा भरुवा बन्दुक प्रहरीले बरामद गर्यो ।
रहजनी चोरी मुद्दा अन्तरगत धनुषा जिल्ला अदालतका न्यायाधीश भिमकुमार ओझाको इजलासबाट १३ अषाढ २०६३ मा जनही ५ सय धरौटी लिई तारेखमा राखि मुद्दाको पुुर्पक्ष गर्ने र हातहतियार खरखजाना मुद्दामा प्रहरी मार्फत जिल्ला प्रशासन कार्यालय धनुषामा कारवाहीका लागि पठाईदिने आदेश भयो । तर, धरौटी नराखिएकोले दुवै जना प्रतिवादीलाई १४ अषाढ २०६३ मा महोत्तरीको जलेश्वर कारागार स्थित थुनामा पठाइयो । त्यसपछि धनुषा जिल्ला अदालतको न्यायाधीश प्रेम बहादुर केसीको इजलासबाट रहजनी चोरीमा दुवै जनालाई कसुरवार ठहर गरी जनही २ महिना कैद र ३० हजार जरिवानाको फैसला भयो । दुवै जना पहिले देखि नै थुनामा रहि सजाय भुक्तान गरिसकेकाले कैद मुक्त गरियो । त्यसपछि पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय राघव लाल वैद्य र गिरी राज पौड्यालको संयूक्त इजलासले पनि सुरुको अदालतको फैसलालाई नै सदर गर्यो ।
यता १२ अषाढ २०६३ मा हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत जिल्ला प्रशासन कार्यालय धनुषामा ती दुवै जना विरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो । तर, उक्त मुद्दामा उनीहरुलाई उपस्थित गराईदिन भनेर जिल्ला प्रशासनले जलेश्वर कारागार शाखालाई २२ कार्तिक २०६३, ४ मंसिर २०६८ र २५ अषाढ २०७० मा गरी विभिन्न मितिमा थुनुवा पठाई मुद्दाको किनारा गर्न पत्राचार गरेको पाइन्छ । तर, उपस्थित गराइएन । त्यसपछि उक्त मुद्दा धनुषा जिल्ला अदालतमा गयो । अदालतले पनि १० कार्तिक २०७३, २६ मंसिर २०७३ र ४ पुष २०७३ मा प्रतिवादीहरुलाई झिकाई बयान गर्न पत्राचार गरेको छ । ती प्रतिवादीहरु हालसम्म फरार छन् र हालसम्म उक्त मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
७ अषाढ २०६४ मा प्रहरी निरीक्षक जयन्त थापाको टोलीे गस्ती खटेको थियो । राति ८ बजेको समयमा उक्त टोली धनुषाको धबौली ३ स्थित सडकमा पुग्दा भारत तर्फबाट ज२प ५३८ नम्बरको मोटरसाईकलमा चढी ३ जना आईरहेको देखेपछि प्रहरीलाई शंका लाग्यो । शंका लागेपछि शरीरको खानतलासी गर्दा माचिझिट्कहिया ६ बस्ने सुभाष यादवको पाइन्ट भित्र कम्मरमा १२ बोरको गोली फिट हुने कटुवा पेस्तोल १ थान, सोको गोली १ थान र एसएलआरको गोली १ थान बरामद गरेको थियो ।
 धनुषा प्रहरीले पक्राउ परेका सुभाष यादवसँगै बल्हासघारा ५ का मनोज कुमार मण्डल र माचिझिट्कहिया ५ का लालबाबु मण्डल गरी तिनै जना विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्यो । प्रमुख जिल्ला अधिकारीले १४ अषाढ २०६४ मा १२ हजार धरौटीमा रिहा गरी तारेखमा मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो । तर, पछि उक्त मुद्दा धनुषा जिल्ला अदालतमा पुग्दा न्यायाधीश केशव प्रसाद अधिकारीको इजलासले १ मंसिर २०७३ मा हातहतियार तथा खरखजाना मुद्दामा जनही ३ बर्ष कैद सजायको फैसला भयो । अदालतले कैद फैसला गरेपनि उनीहरु हालसम्म फरार छन् ।
३१ जेष्ठ २०६४ मा राति अन्दाजी पौने १० बजेको समयमा सर्लाही ५ तथा हाल जनकपुर ६ स्थित संजिव कुमार साहको डेरा कोठामा केही मानिसहरु हातहतियार सहित बसेको छ, विशेष सुत्रबाट प्राप्त जानकारी अनुसार उक्त कोठामा खानतलासी गर्दा पारस राउत, सुमित चौहान, जितेन्द्र पासवान फेला परे । कोठा भित्र लुकाईराखेको सिक्सर पेस्तोल १ थान, गोली ४ थान र हातमा लगाउने फलामको फाईटर १ थान प्रहरीले बरामद गरे । सिरहा महेशपुर तथा हाल जनकपुर ९ बस्ने चार्जर भन्ने जितेन्द्र पासवान र जनकपुर १ बस्ने शिवदास भन्ने शंकर दास विरुद्ध प्रहरीले सरकारी वकिल मार्फत जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार खरखजाना मुद्दा दर्ता गरे ।
आर्थिक बर्ष २०७३÷०७४ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले हातहतियार तथा खरखजाना मुद्दामा
थुनछेक प्रयोजनमा प्रायः थुनामा राखि मुद्दाको पुर्पक्ष
गर्ने भनि गर्ने गरेको आदेशहरु ।
उक्त मुद्दामा प्रमुख जिल्ला अधिकारी रामशरण चिमौरियाले ८ अषाढ २०६४ मा जितेन्द्र पासवानलाई २० हजार धरौटीमा र शिवशंकर दासलाई १३ कार्तिक २०६४ मा २२ हजार धरौटीमा तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरे । ती दुवै जना प्रतिवादीहरु धरौटीमा रिहा भएपनि हालसम्म मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
२६ अषाढ २०६४ मा जनकपुर नगरपालिका ७ स्थित भ्रमरपुरा चौकमा जनकपुर नगरपालिका १ बस्ने सुनिल कुमार ठाकुरलाई प्रहरीले १२ बोरको नलकटुवा बन्दुक १ थान, गोली १ थान र दाव नभएको खुकुरी २ थान बरामद गरी पक्राउ गरेको थियो । सोही दिन अन्दाजी राति साढे ७ बजेको समयमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य ज्वाला सिंहको निर्देशनमा म समेत भई होम प्रसाद विमलीलाई ज्यान मार्ने मनसायले गोली प्रहार गरेको हो । म पक्राउ पर्दा उक्त हतियार बरामद भएको हो भन्ने सुनिल ठाकुरले प्रहरीमा बयान गरेका थिए । २६ अषाढ २०६४ मै राजन मुक्ति भन्ने रंजित झा, सुर्यदेव सिंह भन्ने श्रीचन महतो, मनोज दास भन्ने चुल्हवा दास, सुनिल कुमार ठाकुर, शिवदास भन्ने शंकर दास समेत मिली मलाई घेराउ गरी टाउकोमा गोली प्रहार गरेको भन्ने घाईते रहेको होम प्रसाद विमलीले कागज गरेका थिए । त्यसपछि सबैला ९ बस्ने मनोज दास भन्ने चुल्हवा दासलाई प्रहरीले फेला पारी नलकटुवा पेस्तोल १ थान र थ्रिनट थ्रि को गोली १ थान सहित पक्राउ गरी धनुषा जिल्ला  अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्दा अदालतबाट १ हजार धरौटी राखि तारेखमा रिहा भए ।
हातहतियार तथा खरखजाना मुद्दामा प्रमुख जिल्ला अधिकारी रामशरण चिमौरियाले २८ साउन २०६४ मा चुल्हवा दासलाई र २१ भदौ २०६५ मा सुनिल ठाकुरलाई ५÷५ हजार धरौटी लिई तारेखमा रिहा गरे । तर, हालसम्म पनि उक्त मुद्दाको किनारा नलागेको अवस्थामा धनुषा जिल्ला अदालतमा विचाराधिन रहेको छ ।
१३ पुष २०६४ मा धनुषाको ठाढी झिझा ५ स्थित प्रहरी कर्मचारीले २ वटा मोटरसाईकलको पिछा गर्दा मोटरसाईकलमा चढेका ४ जना मानिसहरु मध्ये ३ जना भाग्ने सफल भए । ठाढी झिझा ८ बस्ने शत्रुधन पासवान मोटरसाईकल छाडी भाग्न खोज्दा प्रहरीले उसलाई पक्राउ गरी मोटरसाईकलको तलासी गर्दा कटुवा पेस्तोल १ थान, रातो रंगको स्पेशल लेखिएको गोली ४ थान सहित प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले शत्रुधन सँगै सर्लाही नेत्रगंज १ बस्ने कारी पासवान, राजु पासवान र धनुषाको दुहवी ५ बस्ने राजाराम पासवान गरी ४ जना विरुद्ध २६ बैशाख २०६४ मा सरकारी वकिल मार्फत जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरे । २७ बैशाख २०६४ मा धनुषाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद रेग्मीले शत्रुधन पासवानलाई २० हजार धरौटीमा तारेख दिई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिए । अन्य फरार प्रतिवादीहरुको हकमा कानुन बमोजिम म्याद जारी गर्ने आदेश समेत गरे । त्यसपछि फरार रहेका प्रतिवादीहरु हालसम्म पक्राउ परेका छैनन् र धरौटीमा शत्रुधन रहेपनि हालसम्म उक्त मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
१९ जेष्ठ २०६५ मा राति १२ः१५ को समयमा धनुषा बसपिट्टी ५ स्थित रामनारायण मण्डलको घरमा अन्दाजी २०÷२५ जना डाँकाहरुको समुह समेत आई डाँका गरी रामनारायण मण्डललाई गोली हानि हत्या गरेको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा धनुषा प्रहरीले महोत्तरी साँढा ६ का रमेश शर्मा ठाकुरलाई पक्राउ गर्यो । रामनारायण मण्डललाई एसएलआरको गोली फिट हुने कटुवा पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरी मारेको हो, भाग्ने क्रममा मैले प्रयोग गरेको कटुवा पेस्तोल महोत्तरी महदैया तपनपुर ७ का अजय शर्मालाई राख्न दिएको हो, रमेश शर्मा ठाकुरको बयान सहित धनुषा जिल्ला अदालतमा खुन डाँका मुद्दा चलाइयो । खुन डाँका मुद्दामा अदालतबाट धरौटीमा रिहा भएका रमेश शर्मा ठाकुर हातहतियार तथा खरखजाना मुद्दामा समेत धनुषाका प्रमुख जिल्ला अधिकारी रामशरण चिमौरियाले ७ साउन २०६५ मा तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो । धरौटीमा ठाकुर रहेपनि हातहतियार मुद्दा हालसम्म किनारा लागेको छैन । र, धनुषा जिल्ला अदालतमा विचाराधिन छ ।
१२ अषाढ २०६५ मा जनकपुर ४ स्थित राम एकवाल शर्माको घरमा डेरा कोठा लिई जनकपुर नगरपालिका कार्यालयका ओभरसियर जितेन्द्र प्रसाद साहको गोली हानि हत्या गरियो । उक्त घटनामा प्रहरीले लक्ष्मीपुर बगेवा ७ बस्ने कुम्हरौडाका जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका संयोजक राजन मुक्ति भन्ने रंजित झा, गोपालपुर ३ का आकाश मुक्ति भन्ने दिपक यादव र गोपालपुर ३ का पुने यादव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजानाको मुद्दा दर्ता गराए । चन्दा रकम माग गर्दा ओभरसियर साहले चन्दा नदिएको कारण प्रतिवादीहरुले योजना बनाई कार्य विभाजन गरी अवैध हातहतियार पेस्तोल बोकी राति १ः३० को समयमा हत्या गरेको भनि १७ पुष २०७० मा मुद्दा दर्ता गरेको हो । तर, जिल्ला प्रशासन कार्यालय धनुषामा कुनै पनि कारवाही अगाडी वढेन । त्यसपछि धनुषा जिल्ला अदालतमा न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यले प्रतिवादी राजन मुक्तिसँग हातहतियार तथा खरखजाना मुद्दामा बयान लिएपनि हालसम्म उक्त मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
२६ साउन २०६५ मा धनुषाको प्रहरी चौकी ललियाबाट खटिगएको गस्ती टोली हंसपुर कठपुल्ला १ स्थित पुग्दा बाटो ढुकी बसेका डाँकाहरुले गस्ती प्रहरी माथि गोली प्रहार गर्दा प्रहरी सहायक निरीक्षक बैद्यनाथ दासलाई गोली लागि घाईते भए । प्रतिवाद स्वरुप प्रहरीले समेत गोली प्रहार गर्दा  डाँका समुहका मोती पासवानको मृत्यु भयो । अन्य डाँकाहरु फरार भएपनि डाँका मध्येका कुलदीप पासवानलाई प्रहरीले पक्राउ गर्यो । उसको शरीरको खान तलासी गर्दा ३०३ राईफलको गोली २ थान र कटुवा पेस्तोल १ थान बरामद गर्यो ।
प्रहरीले पक्राउ परेका औरही ८ बस्ने कुलदीप पासवान सहित सुगा मधुकरही ५ का शिवविलास पासवान, उसको छोरा शितला पासवान, औरही ८ का रामबाबु पासवान, चल्ठा पासवान, उमेश पासवान, सियानन्द पासवान र औरही ८ कपटौलका मोती पासवान विरुद्ध धनुषा जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्यो । २५ भदौ २०६५ मा धनुषा जिल्ला अदालतका न्यायाधीश हेमराज पन्तको इजलासले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका कुलदीप पासवानलाई तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो ।
अर्को तिर हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारीले  कुलदीपलाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो । ३१ भदौ २०६६ मा पक्राउ परेका सोही मुद्दाका अन्य दुई जना प्रतिवादीहरु रामबाबु पासवान र चल्ठा भन्ने रामपृत पासवानलाई प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो । फेरी सोही मुद्दामा पक्राउ परेका अर्को प्रतिवादी सियानन्द पासवानलाई ११ कार्तिक २०६६ मा प्रमुख जिल्ला अधिकारी बेद बहादुर कार्कीले हातहतियार मुद्दामा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो ।
९ चैत्र २०७३ मा हतियार सहित पक्राउ परेका सशस्त्र समुह
 मधेस राष्ट्र जनतान्त्रिक पार्टीका प्रमोद ठाकुर र रामउदगार यादव ।

त्यसपछि पुनरावेदन अदालत जनकपुरबाट १० बैशाख २०६७ मा रामबाबु पासवान, रामपृत पासवान र सियानन्द पासवान तारेखमा रिहा भए । तर, हातहतियार खरखजाना मुद्दामा  करिब ९ बर्ष देखि महोत्तरीको जलेश्वर कारागारमा थुनामा रहेका कुलदीप पासवान हालसम्म थुनामै छन् । धनुषा जिल्ला अदालतमा अहिले उक्त मुद्दा विचाराधिन छ ।
२ पुष २०६५ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक कुमार पंडितको टोली धनुषाको लक्ष्मिपुर बगेवा ७ बस्ने विद्यानन्द झाको छोरा मनोज कुमार झाको घरमा खानतलासी गर्यो । मनोज मुक्ति भनिने मनोज झा सशस्त्र समुहका राजन मुक्ति समुहका संयोजक राजन मुक्ति भनिने रंजित झाका दाई हुन । राति ३ बजे प्रहरी टोली मनोज झाको घरमा गएर राजन मुक्ति घरमा आएको छ भन्दै खानतलासी गर्दा मनोजको घरबाट टिनको डूाममा लुकाइएको कटुवा पेस्तोल १ थान र सोको गोली १ थान बरामद गरी मनोज झालाई गिरफ्तार गर्याे ।
१३ पुष २०६५ मा तत्कालिन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश दियो । मनोज झा रिहा हुने वित्तिकै भुमिगत भई सशस्त्र समुहमा आवद्ध भए । पछि ३१ जेष्ठ २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माले कसुरवार ठहर गर्दै मनोज झालाई ६० हजार रुपैयाँ जरिवाना ठहर गर्यो । प्रतिवादीले आफ्नो इन्कारीलाई सबुद प्रमाणबाट खण्डन गर्न सक्नु पर्नेमा सो नगरी तोकिएको २५ पुष २०६५ को तारेख गुजारी बसेको देखिएको समेतको आधारमा मनोज झाले कसुर गरेको देखिँदा ६० हजार रुपैयाँ जरिवाना हुने ठहर्छ भनि अदालतले फैसला गर्यो । फैसला भएपछि पनि मनोज झा मुक्तिले हालसम्म उक्त जरिवाना बुझाएको छैन । उनी अहिले पनि बार्ता मार्फत आई अर्धभुमिगत शैलीमा बस्दै आएका छन् ।
३ जेष्ठ २०६६ का दिन विहान ९ः४० को समयमा जयनगरबाट बैदेही हुँदै परवाहा तर्फ आईरहेको रेल गाडी परवाहा १ स्थित क्रिप पुल नजिक आईपुग्दा रेलगाडीको डब्बा नम्बर ९ सय ३४ मा खरखजाना डेटोनेटर समेत प्रयोग गरी ग्यास सिलिन्डर बम विस्फोट गराइयो । उक्त विस्फोटनमा परी रेलमा यात्रा गरिरहेका महिला तथा पुरुष समेत गरी २९ जना यात्रीहरु बमको छर्रा लागी घाईते भएका थिए ।
अखिल तराई मुक्ति मोर्चा गोइत समुहको निर्णय अनुसार उक्त घटना घटाएको हो भनि लक्ष्मीपुर बगेवा ३ का पृथ्वी सिंह भन्ने श्याम यादवले प्रहरीमा बयान कागज गरेका थिए । त्यसपछि धनुषा प्रहरीले श्याम यादवसँगै सिरहाका खुदिराम भन्ने रामनारायण यादव, जनकपुर ३ का शिवहरे भन्ने राजकपुर साह र धनुषाको धनौजी कटैयाको फुलगेन सहनी विरुद्ध ३ कार्तिक २०७० मा जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता गरे । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालयले कुनै पनि किसिमको आदेश वा प्रतिवादीसँग बयान समेत लिएको पाइन्न् । त्यसपछि उक्त मुद्दा धनुषा जिल्ला अदालतमा पुगेपनि हालसम्म उक्त मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
२९ बैशाख २०६६ मा जिल्ला विकास समिति धनुषाका कर्मचारी जिवनाथ चौधरीलाई ११ बजेको समयमा जनकपुरमा गोली प्रहार गरियो । चौधरी घाईते भई उपचार गराई जोगिए । भुमिगत समुहका सदस्यहरुलाई सहयोग नगरेको तथा भुमिगत सदस्यहरुको सुराकी गरेको भन्ने आरोपमा अखिल तराई मुक्ति मोर्चाका गोईत समुहका पोलिट व्यूरो सदस्य समेत रहेका लक्ष्मीपुर बगेवा ३ का पृथ्वी सिंह भन्ने श्याम यादवको योजना र निर्देशनमा जनकपुर ३ का शिवहरे भन्ने राजकपुर साह, सर्लाही मलंगवा १० का मुकेश पंडित र जनकपुर १० का राकेश नेपाली विरुद्ध धनुषा प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषामा हातहतियार तथा खरखजाना मुद्दा दर्ता गराए । धनुषा प्रहरीले श्याम यादवको बयान समेत १५ असोज २०७० मा लिएका थिए । चौधरीलाई हत्या गराउनका लागि हतियार उपलब्ध गराएको यादवको बयान थियो । तर, हालसम्म जिल्ला प्रशासन कार्यालयमा यादवको बयान गराइएको छैन । अन्य प्रतिवादीहरु मुकेश पंडित अर्को ज्यान मुद्दामा अदालतबाट जन्मकैद सजाय पाएर कारागारमा थुनामा छन् भने अर्को प्रतिवादी राकेश नेपालीको भारत विहारको सितामढी जिल्लामा हत्या गरिएको छ । तर, हालसम्म उक्त मुद्दाको किनारा लागेको छैन । धनुषा जिल्ला अदालतमा अहिले पनि उक्त मुद्दा विचाराधिन अवस्थामा रहेको छ ।
२१ साउन २०६७ मा जनकपुर ४ स्थित रुक्मिनि श्रेष्ठको घरमा डेरा गरेर बस्ने श्रीराम यादवको कोठामा खान तलासी गर्दा कोठा भित्र हेंगरमा गम्छाले बाँधेको झुन्डयाइएको अवस्थामा मेड ईन यूएस लेखेको सिक्सर १ थान र गोली ४ थान सहित यादवलाई प्रहरीले पक्राउ गर्यो । हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी डा.कमलेश्वर कुमार सिन्हाले १३ भदौ २०६७ मा तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो । त्यसपछि पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय फनिन्द्र दत्त शर्मा र राजकुमार बमको संयूक्त इजलासबाट ३ चैत्र २०६७ मा प्रतिवादी यादवलाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नु भनि आदेश भयो । त्यसपछि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माले ८ अषाढ २०७३ मा कसुरवार ठहर गरी २० हजार रुपैयाँ जरिवाना गरियो ।
फेरी प्रजिअकै कार्यक्षेत्र
हातहतियार तथा खरखजाना मुद्दा हेर्ने अधिकार अदालतलाई दिएपनि १३ फागुन २०७२ मा केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ प्रमाणीकरण भएपछि हातहतियार तथा खरखजानाको ऐनमा समेत संशोधन भई प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्रमा परेको छ । १ बर्ष भन्दा कम सजाय हुने अपराधहरु हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीले प्राप्त गरेको छ ।
चालु आर्थिक बर्ष २०७३÷०७४ को चैत्र मसान्तसम्ममा धनुषा प्रहरीले ६ थान हातहतियारको मुद्दा दर्ता गरेको छ । २२ साउन २०७३ मा जनकपुर ९ थापा चौकबाट कटुवा पेस्तोल २ थान सहित पौडेश्वर ८ का इलियाकत राईन, सक्रुदिन राईन, मोवारक राईन, मानसिंहपट्टी ४ का रोशन महरा, गोपालपुर ४ का सन्तोष कुमार यादव, धनुषाधाम १ का रुपनारायण यादव, गोपालपुर २ का  चन्देश्वर कुमार यादव र महोत्तरी भ्रमरपुरा ३ का इसाइनुल राईनलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले ६ असोज २०७३ मा सबै प्रतिवादीहरुलाई जलेश्वरको कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका छन् ।
१२ मंसिर २०७० मा पक्राउ गरी ल्याइएका बायाँबाट क्रमशः हथकडीमा पारस मुक्ति भन्ने राम सोभित यादव,
राजन मुक्ति भन्ने रंजित झा र अजय मुक्ति भन्ने
 दिपक कुमार सिंह लाई धनुषा जिल्ला अदालतबाट
 बयान गराई जिल्ला प्रहरी कार्यालय लग्दै प्रहरी ।
फाईल तस्वीर ।
१ बैशाख २०७४ मा जनकपुर ८ रामानन्द चौकस्थितबाट कटुवा पेस्तोल १ थान सहित क्षिरेश्वरनाथ नगरपालिका ११ शान्तिपुरका सिकिन्दर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
२८ फागुन २०७३ मा धनुषाधाम नगरपालिका ७ बाट टोटाबन्दुक १ थान र गोली १ थान सहित धनुषाधाम ७ का महेन्द्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका ७ बस्ने महेन्द्र यादव र सोही टोलका हरि यादव बीच भएको सामान्य बादविवादको क्रममा महेन्द्र यादवले आफ्नो घरमा रहेको अवैध बन्दुकमा गोली(टोटा) लोड गरी हान्न खोजेको अवस्थामा प्रहरी गई पक्राउ गरेको थियो । १०÷११ बर्ष पहिले उक्त हतियार खेतमा फेला पारी लुकाई छिपाई राखेको बयान दिएको थियो । धनुषाका प्रजिअ दिलिप कुमार चापागाईले २ चैत्र २०७३ मा जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेका छन् ।
६ चैत्र २०७३ मा धनुषाको तुल्सी ९ स्थित घरमा लुकाईछिपाई राखेको बन्दुक सहित तुल्सी ९ का भक्त बहादुर थापा मगरलाई पक्राउ गरेको छ । आफ्नो घर जंगल छेउमा रहेकाले जंगली हाति लगायतका जंगली जनावर आई घर भत्काउने तथा बालिनाली नष्ट गर्ने र मान्छे समेत मार्ने गरेका कारण जंगली जनावरलाई तर्साउनका लागि १०÷१२ बर्ष पहिले नै उक्त हतियार कोही कसैलाई जानकारी नदिई आफ्नो घरमा लुकाई छिपाई राखेको प्रजिअ कहाँ मगरले बयान गरेका छन् । २२ चैत्र २०७३ मा प्रजिअ दिलिप कुमार चापागाईले जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेका छन् ।
९ चैत्र २०७३ मा धनुषा प्रहरीले तराइका जिल्लाहरुमा भूमिगत रुपमा सशस्त्र गतिविधि गर्दै आएको मधेस राष्ट्र जनतान्त्रिक पार्टीका दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो ।
भूमिगत समूह मधेस राष्ट्र जनतान्त्रिक पार्टीमा विगत ६ वर्षदेखि धनुषा इन्चार्ज रहेका धनुषा ठाडिझिझा(५ का ३५ वर्षे प्रमोद ठाकुर बडेरी र झटियाही( ७ का ३८वर्षे रामउद्गार यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विषेश प्रहरी टोलीले धनुषाधाम नगरपालिका(९ धारापानी चोकबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । दुबै जना भूमिगत संगठनको नाममा गोली प्रहार गर्ने, बम बिष्फोट गराउने, धाकधम्की दिई चन्दा असुली गर्ने तथा हातहतियार र खरखजना मुद्धाका फरार अभियुक्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रमोद ठाकुर गएको फागुन १ गते सिरहा मिर्चैयामा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलका नेता लालु खानलाई गोली प्रहार गरी घाइते बनाएको   घटनामा फरार थिए ।
ठाकुरको धनुषामा रहेको आफन्तको घरबाट २०६९ जेठ ३० एसएमजी १ वटा, यसमा लाग्ने म्याग्जीन १ वटा, गोली १२ राउण्ड, १२ बोरको कटुवा पेस्तोल तीन वटा, कटुवा पेस्तोल वटा, इटालियन पेस्तोल १ वटा हतियार प्रहरीले बरामद गरी हतियार तथा खरखजना मुद्धामा दायर गरेको थियो । ठाकुरले केही वर्षअघिसम्म घरमा बन्दुक र गोलीको गोदाम बनाएर राख्ने गरेको प्रहरीले बताएको छ ।
यस्तै रामउदगारले २०७० पुस १० गते धनुषाको रघुनाथपुर(४ पचहरवा अन्तर्गतको मध्यमाञ्चल सिँचाई विकास डिभिजन कार्यालयको घरमा हातहतियार सहित कार्यालयका कर्मचारीलाई कुटपिट गरी कार्यालय भवनमा आगो लगाई दुई लाख आठ हजार पाँच सय रुपैयाँ बराबरको धनमाल जलाई क्षति प¥याएर मधेस राष्ट्र जनतान्त्रिक पार्टी प्रवेश गरेको प्रहरीले जनाएको छ ।
्१० चैत्र २०७३ मा धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ स्थित सडकमा सवारी साधन चेक जाँच गर्दा कटुवा पेस्तोल १ थान र गोली २ थान सहित भारत विहार मधुवनी महुवाका शत्रुधन यादव र रविन्द्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
२२ फागुन २०७३ मा गणेशमान चारनाथ नगरपालिका ६ स्थित चिसापानी जंगलको ठाडो खोल्सीमा ३ नाल भरुवा बन्दुक १ थान वेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।
१२ कार्तिक २०७३ मा सबैला नगरपालिका
११ स्थित सुहिल राईनको कोठामा खानतलासी गर्दा कटुवा पेस्तोल १ थान प्रहरीले बरामद गरेका छन् भने राईन फरार रहेका छन् ।
हातहतियार मुद्दामा कमि
मधेसमा जयकृष्ण गोइतले सशस्त्र विद्रोह गरेपछि हातहतियार तथा खरखजानाको मुद्दा तराई मधेसका जिल्लाहरुमा व्यापक रुपमा दर्ता हुन्थ्यो । गोइत हुँदै ज्वाला सिंह, राजन मुक्ति लगायत दर्जनौं समुहहरुले सशस्त्र संगठन संचालन गरेको बेला खास गरी २०६३ साल देखि २०६६÷०६७ सालसम्म हतियारको विगविगी रहेको थियो । प्रत्येक दिन जसो धनुषा, महोत्तरी र सर्लाही लगायतका जिल्लाहरुमा हातहतियार सहित मानिसहरु पक्राउ पर्थे । तर, पछिल्लो समयमा राज्यले सशस्त्र समुहहरुका नाईके सहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर सशस्त्र समुहको संगठनहरु नै ध्वस्त गरिदिएपछि हातहतियार तथा खरखजानाका मुद्दाहरुमा व्यापक कमि आएको छ । धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यका अनुसार अब पछिल्लो समयमा देखिएको हातहतियारको मुद्दामा अत्यधिक कमि आउनुको कारण सशस्त्र समुहहरु ध्वस्त हुनु नै महत्वपुर्ण हो । यद्यपि अवैध हातहतियार बोक्नेहरु छिटफुट रुपमा पक्राउ परिनै रहेका छन् ।
अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६६÷०६७ देखि २०७२÷०७३ सम्म धनुषामा १ सय २६ थान, महोत्तरीमा ४७ थान र सर्लाहीमा ८३ थान हातहतियार तथा खरखजानाका मुद्दाहरु दर्ता भएका छन् । धनुषामा आर्थिक बर्ष २०६६÷०६७ मा ४२ थान, २०६७÷०६८ मा २२ थान, २०६८÷०६९ मा १७ थान, २०६९÷०७० मा १४ थान, २०७०÷०७१ मा ११ थान, २०७१÷०७२ मा १४ थान र २०७२÷०७३ मा ६ थान गरी कुल १ सय २६ थान हातहतियार तथा खरखजानाका मुद्दाहरु दर्ता भएका छन् । त्यसैगरी महोत्तरीमा आर्थिक बर्ष २०६६÷०६७ मा ८ थान, २०६७÷०६८ मा १२ थान, २०६८÷०६९ मा १० थान, २०६९÷०७० मा ६ थान, २०७०÷०७१ मा ८ थान, २०७१÷०७२ मा ५ थान र २०७२÷०७३ मा ६ थान गरी कुल ४५ थान हातहतियार तथा खरखजानाका मुद्दाहरु दर्ता भएका छन् । त्यसैगरी सर्लाहीमा आर्थिक बर्ष २०६६÷०६७ मा १९ थान, २०६७÷०६८ मा १६ थान, २०६८÷०६९ मा १७ थान, २०६९÷०७० मा १५ थान, २०७०÷०७१ मा ८ थान, २०७१÷०७२ मा ७ थान र २०७२÷०७३ मा ५ थान गरी कुल ७७ थान हातहतियार तथा खरखजानाका मुद्दाहरु दर्ता भएका छन् । यसरी हेर्दा क्रमिक रुपले हातहतियार तथा खरखजानाका मुद्दाहरुमा कमि आएको छ ।


२०७४ बैशाख १० गते आईतबार

No comments:

Post a Comment