Tuesday, April 11, 2017

जनकपुरमा एम्बुलेन्सको दुरुपयोग

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरमा संचालित एम्बुलेन्सहरु मध्ये कतिपय एम्बुलेन्स संचालकहरुले विरामी ओसारपोसार गर्नु भन्दा अन्य कामका लागि प्रयोग गर्ने गरेको पाइएको छ ।  विरामी मात्र ओसारपोसार गर्नुको साटो यात्रुहरुलाई ओसार पोसार गर्ने, एक ठाउँबाट विरामीलाई गन्तव्यसम्म लगेर पनि फर्किने बेलामा विरामी ल्याउन्ुको साटो मानिसको शव ल्याउने जस्ता कामहरु गर्दै आईरहेका छन् । यतिमात्र होइन निर्धारित दर रेट भन्दा बढी रकम असुल गर्ने काम गरिएको छ । यसका अतिरिक्त अन्य मालसामानहरु ढुवानी गर्ने, तस्करी गर्ने जस्ता दु्रुपयोग भइरहेको छ । कतिपय एम्बुलेन्स संचालकहरुले एम्बुलेन्स आधिकारिक रुपमा दर्ता नै नगरी संचालन गरिरहेका छन् । एम्बुलेन्समा हुनुपर्ने आवश्यक उपकरणहरु नभएपनि एम्बुलेन्स चलाईरहेको पाइन्छ ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरु जस्तै अस्पताल, जनस्वास्थ्य, नर्सिङ्ग होम लगायत ५० बेडको अस्पताल संचालन गर्ने संस्थाहरुले विरामीहरुलाई ओसारपसार गर्नका लागि अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स संचालन गर्ने अनुमति पाएका हुन्छन् । जुन संस्थाले आफ्नो विधानमै ५ बर्षसम्म स्वास्थ्य क्षेत्रमा काम गरिसकेको होस वा विधानमा किटान गरेरै स्वास्थ्य क्षेत्रमा काम गर्ने भनेर लेखेको हुन्छ त्यस्ता संस्थाले पनि एम्बुलेन्स संचालन गर्ने अनुमति पाएका हुन्छन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सदस्य सचिव तथा नेपाल रेडक्रस धनुषाका सभापति, जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट, जिल्ला प्रहरी कार्यालयका प्रमुख सदस्य रहने गरी एम्बुलेन्स संचालन व्यवस्थापन समिति धनुषामा गठन गरिएको छ । कुनै पनि संस्थाले एम्बुलेन्स संचालन गर्नका लागि उक्त समितिमा निवेदन दिँदा निवेदन पास भईसकेपछि एम्बुलेन्स किन्नका लागि दातृ निकायबाट होस वा नेपाल सरकारबाट किन नहोस स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिन्छ । त्यसपछि स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयलाई पठाई सकेपछि अर्थ मन्त्रालयले भन्सार कार्यालयमा सहुलियत दरमा १ देखि २ प्रतिशत सम्मको भन्सार करमा मात्रै एम्बुलेन्स किन्नका लागि अनुमति दिने गर्छन् । यसरी एम्बुलेन्स किन्दा २० देखि २५ लाख रुपैयाँसम्म पर्ने सवारी साधन ८ लाख   सम्ममा किन्न सकिन्छ ।
एम्बुलेन्स किनेर आईसकेपछि नेपाल रेडक्रस धनुषा र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता गराउनु पर्दछ । एम्बुलेन्स संचालन व्यवस्थापन समितिले पास गरेको एम्बुलेन्सको दर रेट अनुसार चलाउनु पर्दछ । एम्बुलेन्स संचालन गरेको प्रत्येक महिनाको प्रतिवेदन रेडक्रस र जनस्वास्थ्यमा बुझाउनु पर्दछ । जुन स्थानको लागि एम्बुलेन्स दर्ता गरिएको हो त्यही स्थानबाट मात्र एम्बुलेन्स संचालन गर्नुपर्दछ । एम्बुलेन्स संचालक तथा एम्बुलेन्सका चालकको मोवाईल वा टेलिफोन नम्बर सार्वजनिक गरिनुपर्दछ । चालक नियूक्त गर्दा कम्तिमा ५ बर्षको सवारी चालकको अनुभव हुनुपर्दछ । उक्त चालकले प्राथमिक उपचारको तालिम लिएको हुनुपर्दछ । आँखा परिक्षण तत्काल गराएको हुनुपर्दछ र मायालु स्वभावको हुनुपर्दछ । सेवा दिए बापत विरामीलाई रसिद दिनुपर्दछ । 
एम्बुलेन्स भित्र आवश्यक उपकरणहरु जस्तै प्राथमिक उपचारको बाकस, अक्सिजन सिलिन्डर, स्लाईन स्टयान्ड सहित सवारी साधनको मेकानिकल परीक्षण गराएको हुनुपर्दछ ।
धनुषामा आधिकारीक एम्बुलेन्स
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा तथा नेपाल रेडक्रस धनुषामा दर्ता गरिएका एम्बुलेन्सहरु ३२ वटा मात्र छन् । लालिगुराँस यूवा क्लव गोदार, हेल्थपोस्ट गोदार, हेल्थ पोस्ट ढल्केवर, लालगढ कुष्ठरोग अस्पताल, हिमालय यूवा क्लव नक्टाझिझ, रामशरण स्मृति प्रतिष्ठान सपही, राधा देवी स्मृति महेन्द्रनगर, मुस्लिम समाज जनकपुर, जनकपुर उपमहानगरपालिकाको कार्यालय, सहिद सरोज कोइराला मेमोरियल जनकपुर, सहिद स्मृति प्रतिष्ठान जनकपुर ११, सहिद स्मृति प्रतिष्ठान जनकपुर ४, मिथिला यूवा क्लव जनकपुर, गणेश यूवा कमिटि जनकपुर आदिद्वारा संचालित एम्बुलेन्स आधिकारिक रुपमा दर्ता गरिएका छन् ।
त्यसैगरी महाविर यूवा कमिटि जनकपुर, मिथिला विकास केन्द्र तिनकौरिया, बजरंग यूवा कमिटि झटियाही, दनुवार जागरण समिति धनुषाधाम, थारु कल्याण समिति जनकपुरधाम, धनुषा अस्पताल जनकपुर, जनकपुर सिटी अस्पताल, जानकी हेल्थ केयर सेन्टर प्रा.लि., मिथिला विकास जनकपुर ७, केयर मेडिकल सेन्टर जनकपुर, रामानन्द यूवा क्लव जनकपुर, मारवाडी सेवा समिति, नेपाल शिक्षक संघ धनुषा, नेश्नल हेल्थ सेन्टर विरेन्द्र बजार, माँ भागवत पुराण यूवा समिति भिमवाण, श्रृजनशिल यूवा समिति विरेन्द्र बजार,जनकपुर अञ्चल अस्पताल, नेपाल रेडक्रस धनुषा, हेल्थ पोष्ट फुलगामा, हेल्थ पोष्ट बहेडाबेला, हेल्थ पोष्ट घोडघास र जानकी मेडिकल कलेज रमदैयाद्वारा संचालित एम्बुलेन्स आधिकारिक रुपमा दर्ता गरिएका छन् ।




२०७३ चैत्र २७ गते आईतबार

No comments:

Post a Comment