Tuesday, April 11, 2017

सुरक्षित भन्दा असुरक्षित गर्भपतन वढ्दो

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा सुरक्षित भन्दा पनि असुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक बर्ष २०७३÷०७४ को माघ महिनासम्ममा सरकारद्वारा सूचिकृत सरकारी संस्थाहरुमा सुरक्षित गर्भपतन गराउनेको संख्या ५ सय ४९ रहेको छ । जसमध्ये सबैभन्दा वढी जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको मातहतमा रहेको संस्थागत क्लिनिकमा कुल १ सय २८ र जनकपुर अञ्चल अस्पतालमा कुल ९० जनाले सुरक्षित गर्भपतन गराएका छन् ।
त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहामा ६७, प्राथमिक स्वास्थ्य केन्द्र देउरी परवाहामा १८, प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधाममा १७, प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरमा ३७, प्राथमिक स्वास्थ्य केन्द्र सवैलामा २५ जना महिलाहरुले सुरक्षित गर्भपतन गराएका छन् । त्यसैगरी हेल्थ पोस्ट भुचक्रपुरमा २९, हेल्थ पोस्ट देवपुरा रुपैठामा २०, हेल्थ पोस्ट घोडघासमा २२, हेल्थ पोस्ट कुर्थामा १६, हेल्थ पोस्ट तुल्सीमा १५, हेल्थ पोस्ट ढल्केवरमा २८, हेल्थ पोस्ट सपहीमा १०, हेल्थ पोस्ट गोदारमा १०, हेल्थ पोस्ट लक्ष्मीपुर बगेवामा १७ जना महिलाहरुले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले उपलब्ध गराएको छ ।
त्यसैगरी नेपाल सरकारद्वारा सूचिकृत स्वास्थ्य संस्था अन्तरगत रहेको गैरसरकारी संस्था नेपाल परिवार नियोजन संघले चालु आर्थिक बर्षको माघ महिनासम्म करिब ३ सय ५० र मेरी स्टोप्स सेन्टरले करिब ४ सय ५० जनाको सुरक्षित गर्भपतन गरेको छ । यसरी हेर्दा चालु आर्थिक बर्षको माघ महिनासम्ममा कुल १ हजार ३ सय ४९ वटा सरकारी सूचिकृत संस्था मार्फत सुरक्षित गर्भपतन गराइएको छ ।
मुलुकी ऐन ज्यान सम्बन्धि महलको २८ (ख) अनुसार नेपाल सरकारले तोके बमोजिमको प्रक्रिया अपनाई निर्धारित योग्यता पुरा गरेका सूचीकृत स्वास्थ्य संस्थाबाट सूचीकृत स्वास्थ्यकर्मीबाट गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । गर्भपतन गर्ने महिलाको मन्जुरीमा १२ हप्ता सम्मको गर्भ, जवरजस्ती करणी वा बलात्कारबाट रहन गएको १८ हप्ता सम्मको गर्भ (महिलाको बयानको आधारमा) हाडनाता करणीबाट रहन गएको १८ हप्ता सम्मको गर्भ, गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पर्ने भएमा  वा शारीरिक वा मानसिक रुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्मन सक्ने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकको रायमा जुनसुकै अवधिको गर्भ गर्भपतन गर्न सकिने कानुनमा व्यवस्था रहेको छ ।
गर्भवती महिलाको मन्जुरी विना (करकाप, धम्की, ललाईफकाई, झुक्याई वा प्रलोभन देखाई), लिङ्गको पहिचान गरी लिङ्गको आधारमा गर्भपतन गर्न गराउन पाईदैन । त्यस्तो कार्य गरेमा वा भ्रुणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई समेत ३ महिना देखि ६ महिनासम्मको कैद र लिङ्गको आधारमा गर्भपतन गर्ने गराउनेलाई थप १ बर्ष कैद हुने नेपालको कानुनी व्यवस्था रहेको छ । यसका अतिरिक्त सूचिकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले दिएको सेवा गैरकानुनी हो । र, यस्तो गरेमा सेवा प्रदायक सजायको भागिदार हुने कानुनी व्यवस्था रहेको छ ।
के हो सुरक्षित गर्भपतन ?
गर्भबती महिलाको लिखित मन्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधि भित्र रहेर प्रदान गरिने गर्भपतन सेवालाई मात्र सुरक्षित गर्भपतन सेवा भनिन्छ । अन्यथा सूचीकृत नभएका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्रदान गरेको गर्भपतन सेवा गैरकानुनी मानिन्छ । र, यसो भएमा सेवा प्रदायक र सेवाग्राही दुवै कानुन बमोजिम कारवाहीको भागिदार हुन्छन् ।
हाल नेपालमा औषधिको प्रयोगद्वारा र उपकरणको प्रयोगद्वारा गर्भपतन गराईन्छ । गर्भको अवधि ६३ दिन (९ हप्ता) सम्मको भएमा महिलाको इच्छा अनुसार औषधिको प्रयोग गरेर गर्भपतन गराउन सकिन्छ । गर्भको अवधि १२ हप्तासम्म भएमा महिलाको इच्छा अनुसार उपकरणको प्रयोगद्वारा गर्भपतन गराउन सकिन्छ । गर्भको अवधि १२ हप्ता भन्दा वढी भएमा सम्बन्धित कम्तिमा २ जना विशेषज्ञ चिकित्सको राय ‘हाडनाता करणी र बलात्कारबाट रहेको गर्भको हकमा कम्तिमा १ जना विषय विशेषज्ञको राय’ अनुसार महिलाको अनुमतिमा कानुनले तोकेको अवस्थामा मात्र यी दुई मध्ये कुनै एक प्रवृधिद्वारा गर्भपतन गराउन सकिन्छ ।
सुरक्षित भन्दा असुरक्षित गर्भपतन बढी
जनकपुर अञ्चल अस्पतालमा १८ हप्तासम्म र विशेषज्ञ चिकित्सकको राय अनुसार १८ हप्ता भन्दा वढीसम्मको गर्भको गर्भपतन गर्ने गरिन्छ । त्यसैगरी नेपाल सरकारद्वारा सूचीकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुद्वारा ९ हप्तासम्मको गर्भको सुरक्षित गर्भपतन गर्ने गरिन्छ । तर, धनुषाको केशमा हेर्ने हो भने सुचीकृत भन्दा असुचिकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुले असुरक्षित गर्भपतन गर्ने गरेका छन् । नेपालको कानुनले प्रतिबन्ध गरेका ती स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाहरुले मोटो रकम कमाउने उद्देश्यले गर्भपतन गर्ने गर्छन् । जनकपुरको प्रायःजसो स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सकहरुले अवैधानिक तरिकाले गर्भपतन गर्ने गर्छन् । औषधिको प्रयोग गरेर गर्भपतन गर्ने अवस्था भएमा १ देखि ५ हजार रुपैयाँसम्म प्रति क्लाईन्ट ती चिकित्सकहरुले लिने गरेका छन् । त्यसैगरी औजार प्रयोग गरेर गर्नुपर्ने अवस्था रहेमा न्यूनतम ५ हजार देखि अधिकत्तम ३५ हजार रुपैयाँ सम्म प्रति क्लाईन्ट ती चिकित्सकहरुले गर्भपतन बापत लिने गरेका हुन्छन् ।
यसका अतिरिक्त गाउँ घरमा रहेका क्वाकहरु, औषधि पसलेहरुले समेत गर्भपतन गर्ने गर्छन् । कानुन बमोजिम तिनीहरुलाई कारवाही हुनुपर्ने हो । तर, सम्बन्धित निकाय मौन बसिदिँदा त्यस्तो धन्दा फस्टाएको परिवार नियोजन संघका बरिष्ठ शाखा प्रबन्धक रामबहादुर कार्की बताउँछन् । कार्कीका अनुसार परिवार नियोजन संघमा आउने ३५ प्रतिशत क्लाईन्टहरु क्वाकबाट गर्भपतन गराउने र त्यहाँ असुरक्षित भई जटिल भईसकेको अवस्थामा आउने गरेकोले पनि असुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढी रहेको छ । नियम के छ भने सूचीकृत भएको स्वास्थ्य संस्थामा पनि सूचीकृत स्वास्थ्यकर्मीले नै गर्भपतन गर्नुपर्ने हुन्छ ।
अब गर्भपतन निःशुल्क
सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्य विधि निर्देशिका २०७३ ले कार्तिक ३ गते देखि देशैभरी गर्भपतनलाई निशुल्क बनाएको छ । तर, धनुषामा गत पुष देखि मात्र सुरक्षित गर्भपतन निशुल्क भएको हो । सूचीकृत सरकारी स्वास्थ्य संस्थाहरुले यस अघि ५ सय रुपैयाँ प्रति क्लाईन्ट लिने गरेको थियो । त्यसैगरी परिवार नियोजन संघले औषधिद्वारा गर्भपतन गराउँदा रु.५ सय र उपकरणद्वारा गर्भपतन गराउँदा रु. १ हजार प्रति क्लाईन्ट लिने गथर््यो । त्यसैगरी मेरी स्टप सेन्टरले औषधिद्वारा गर्भपतन गराउँदा रु.१ हजार ३ सय र उपकरणद्वारा गर्भपतन गराउँदा रु. १ हजार ९ सय प्रति क्लाईन्ट लिने गथर््यो । रोचक कुरा के छ भने विगतमा पनि कम शुल्क भएको सरकारी स्वास्थ्य संस्थाहरुमा  भन्दा मेरी स्टप्स जस्ता गैरसरकारी संस्थामा बढी सेवा ग्राहीले गर्भपतन गराउने गर्थे ।  मेरी स्टप्स सेन्टर जनकपुरका कार्यक्रम संयोजक सिताशरण प्रसादका अनुसार गर्भपतन गराउन आउने सेवाग्राहीहरु मध्ये कतिपय अविवाहित महिला, बैदेशिक रोजगारमा श्रीमान रहेका तर अवैध सम्बन्धबाट गर्भ ठहरिएका महिलाहरु आजकल वढी आउन थालेका छन् । यसका अतिरिक्त सन्तानको रहर पुरा भएको दम्पतिहरु पनि उल्लेख्य मात्रामा गर्भपतन गराउन आउने गर्छन् ।


२०७३ चैत्र २७ गते आईतबार

No comments:

Post a Comment