Tuesday, October 18, 2016

लालकिशोर झा हत्या प्रकरणमा बैकुण्ठलाई किन दिइयो सफाई ?

रत्नसागर मन्दिरका
महन्थ बैकुण्ठ दास बैष्णव ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लाल किशोर झालाई ११ कार्तिक २०६७ मा ५÷६ जनाको समुहमा तीन वटा मोटरसाइकलमा चढिआएको व्यक्तिहरुले विहान ९ बजेको समयमा गोली प्रहार गरी हत्या गरेको थियो । उक्त गोली प्रहारबाट घाइते भएका झालाई उपचारको लागि काठमाण्डौ स्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा लगिएको थियो । आक्रमण गरिएकै दिन दिउँसो पौने २ बजेको समयमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त घटनामा रौकी भन्ने शिवकुमार ठाकुर, विजुली सिंह भन्ने राकेश पाण्डे, सुनिल कुमार अधिकारी यादव, रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दास, भारत विहारका जैसवाल भन्ने मनिष चौधरी, राजन मुक्ति भन्ने रंजित झा र भाष्कर मुक्ति सन्तोष भन्ने दिपक सिंहलाई अभियूक्तको रुपमा धनुषा जिल्ला अदालतमा सरकारी वकिल कार्यालय मार्फत मुद्दा दर्ता गरेको थियो । घटना भएको करिब ६ बर्ष पछि २९ अषाढ २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश ओम कुमार उपाध्यायले फैसला गर्दा घटनाको प्रमुख योजनाकार भनिएका महन्थ बैकुण्ठ दासलाई नै सफाइ दिएपछि जनकपुरमा उक्त फैसलाको सर्वत्र आलोचना तथा टिप्पणी भईरहेको छ । खास गरेर उक्त मुद्दामा अन्य प्रतिवादीहरु शिवकुमार ठाकुरलाई सर्वस्व सहित जन्मकैद, राकेश पाण्डे तथा सुनिल कुमार अधिकारी यादवलाई जन्मकैद, राजन मुक्ति भन्ने रंजित झालाई सफाई दिइएको छ । न्यायाधीश उपाध्यायले गरेको फैसलाको पुर्ण पाठमा के भनिएको छ, जस्ताको तस्तै द एक्सक्लुसिभले प्रकाशित गरेको छ ।

फैसलाको पुर्णपाठ

प्रतिवादीहरु रौकी भन्ने शिवकुमार ठाकुर, विजुली सिंह भन्ने राकेश पाण्डे र सुनिल कुमार अधिकारी यादवले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा सिलसिलेबार रुपमा घटनाको क्रमलाई उल्लेख गरेको देखिएको छ । मौकामा बुझिएका तथा अदालतमा आई बकपत्र गर्ने विवेकानन्द झाले घटनास्थलमा गोली पड्केको आवाज आउनसाथ त्यसतर्फ जाँदा वारदातस्थलबाट प्रतिवादीहरु शिवकुमार ठाकुर, राकेश पाण्डे, सुनिल अधिकारी, मनिष भन्ने व्यक्ति रहेका र शिवकुमारले बन्दुक आफ्नो साथमा कम्मरमा लुकाउँदै दुईवटा मोटरसाइकलबाट चार जना चढी भागी गएका देखेको भनी मौकामा गरेको कागज र अदालतमा गरेको वकपत्रले निज प्रतिवादीहरुको अधिकारप्राप्त अधिकार समक्षको साविती वयान समर्थित भई घटना घटाएको सन्दर्भमा उल्लेख गरेको तथ्य मिल्न समर्थित हुन आई अभियोग दावी निज प्रतिवादीहरुको हकमा खम्विर भएको देखिन आउँछ । जहाँसम्म मौकामा कसुरमा सावित भएको निज प्रतिवादीहरु शिवकुमार ठाकुर, राकेश पाण्डे र सुनिल अधिकारी यादवसमेतको अदालतमा इन्कारी वयान रहेको छ । त्यस तर्फ हेर्दा निजहरुको मौकाको सो वयान स्वतन्त्र प्रमाणबाट खण्डित हुन सकेको मिसिलबाट देखिँदैन भने मौकाको उक्त साविती वयान चश्मदित गवाह विवेकानन्द झाको अदालतको वकपत्र समेतबाट पुष्टि हुन आएको देखिएका छ । यस अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ९(२) ले मौकाको साविती निजहरुको विरुद्ध प्रमाण ग्राहय हुने नै भयो । अतएवः प्रतिवादी शिवकुमार ठाकुर, राकेश पाण्डे र सुनिल कुमार अधिकारी यादवसमेतको हकमा माथि विवेचित तथ्य मृतकको गोली हानी कर्तव्यबाट मृत्यु हुनु, निजहरुले मृतकलाई कर्तव्य गरी मारेकोमा मौकामा सिलसिलेवार साविती बयान गर्नु र सो साविती चश्मदित व्यक्तिको अदालतको बकपत्रबाट समेत समर्थित हुनुले निजहरु कसुरदार होइनन् भन्न मिल्ने अवस्था देखिन आएन ।
प्रतिवादी बैकुण्ठ दासको सन्दर्भमा हेर्दा, मुल अभियोग पत्रसाथ उपस्थित गराइएका अन्य सह(प्रतिवादीहरुको मौकाको वयानमा निजहरुले प्रतिवादी बैकुण्ठ दासलाई पोल गरेको भएपनि निज प्रतिवादी बैकुण्ठ दासको मृतकलाई मार्ने सम्बन्धमा भएको छलफल, योजना तयारी जस्ता क्रियाकलापहरुमा निजको पनि सहभागी भएको भन्न सकेको पाइँदैन । केवल निजले योजना बनाएको, फलानालाई अह्राएको वा भनेको भन्ने जस्ता अपुष्ट भनाईहरु राखेको देखिन्छ । घटनास्थलबाट भाग्दै गरेका प्रतिवादीलाई देख्ने विवेकानन्द झाले बैकुण्ठ दासले लालकिशोर झालाई मार्न योजना बनाई माथी उल्लिखित प्रतिवादीहरुलाई रकम दिई मार्न अह्राई खटाएको भन्ने सुनेको हुँ भनी वकपत्र गरे पनि प्रतिवादी बैकुण्ठ दासको हकमा सुनिसुनाईको उक्त भनाईलाई निर्णायक प्रकृतिको प्रमाण मान्न सकिने अवस्था भएन । जाहेरवालाले बैकुण्ठ  दास, भाष्कर भन्ने सुनिल कुमार अधिकारी यादव र जैसवाल समेत मिली योजनावद्ध रुपमा राकेश पाण्डे, सुनिल  र जैसवाललाई अराई खटाई मार्न लगाएको भनी अनुमानित रुपमा मुल अभियोगको सन्दर्भमा वकपत्र गर्दै गोली लागेपछि छोरीलाई जनकपुर अञ्चल अस्पतालमा र रम्दैयामा उपचार हुँदैन, काठमाण्डौ लैजाउ भनेकोले बैकुण्ठ दासले उपचार गर्न नदिएको आरोप लगाएको सम्म देखिन्छ । परन्तु सुविधासम्पन्न ठाउँमा उपचार गर्न लैजानु भनेको सुझावलाई हत्याको कारण वा संलग्नताको रुपमा चित्रण गर्न सकिँदैन । निज जाहेरवालाले पुरक अभियोगको सन्दर्भमा पुनः वकपत्र गरेको भए पनि प्रमाणित दृष्टिले निजका भनाईहरुले मौलिक प्रमाणको स्थान ग्रहण गर्न सक्ने देखिएन । अतएवः प्रतिवादी बैकुण्ठ दासको हकमा जाहेरवालाको उक्त भनाईबाट निज घटनाका प्रत्यक्षदर्शी नभएको निजको भनाईले प्रष्ट पारेको देखियो ।
पुरक अभियोगमा अभियोजन पक्षले बस्तुस्थिति मुचुल्काका अदालतमा उपस्थित गराइएका भुवन झाले वकपत्र गर्दा बैकुण्ठ दासले रंजित झासँग योजना बनाई पैसा दिई मार्न लगाएको भन्ने कुरा घटना हुँदा सो स्थानमा पुग्दा प्रहरीले सोध्दा सो कुरा सुनेको आधारमा भनेको भन्दै वैकुण्ठ दासलाई चिनेको र अरु प्रतिवादीलाई नचिन्हेको भन्ने उल्लेख गरेको देखिएबाट वादी पक्षका यी प्रमाणका मानिस पनि निजको हकमा बस्तुनिष्ठ प्रमाण भन्ने देखिएन । यसरी अभियोजन पक्षले पेश गरेका प्रमाणका कुनै पनि मानिसहरुले प्रतिवादी वैकुण्ठ दासले मृतकलाई मार्न यो यस ठाउँमा योजना बनाएको यो यस मितिमा यसरी आफुले थाहा पाएको भनी व्यक्त गर्न सकेको नदेखिँदा प्रतिवादी वैकुण्ठ दास उपर अनुमानित रुपमा नै आरोप लगाई कागज तथा वकपत्र गरेको पाइन्छ , जसले निज प्रतिवादी उपरको दावीलाई खम्बिर बनाउन सकेको पाइएन ।
अब पुरक अभियोग सम्बन्धमा हेर्दा, यस मुद्दामा अभियोग पत्र दर्ता भै अदालतमा न्यायिक कारवाही शुरु भैसकेपछि लालकिशोर झालाई गोली प्रहार गरेको घटनामा रौकी भन्ने शिवकुमार ठाकुर, विजुली सिंह भन्ने राकेश पाण्डे, सुनिल कुमार अधिकारी यादव, बैकुण्ठ दास र जैसवाल भन्ने मनिष चौधरी उपरमात्र मुद्दा दायर भएको देखिन आएको भन्दै लालकिशोर झालाई बैकुण्ठ दास र भाष्कर मुक्ति भन्ने दिपक सिंह र राजन मुक्ति भन्ने रंजित झा समेतले योजना बनाई रंजित झाको योजना र निर्देशनमा निजले नै उपलब्ध गराएको कटुवा पेस्तोल प्रयोग गरी निज लालकिशोर झालाई राकेश पाण्डे, सुनिल अधिकारी र शिवकुमार पाण्डे समेत मिली हत्या गरेको हुँदा निज राजन मुक्ति भन्ने रंजित झा र भाष्कर मुक्ति भन्ने दिपक सिंह समेत उपर थप अनुसन्धान गरी पाऊँ भन्ने बेहोराको प्रहरी निरीक्षक गोविन्द पुरी समेतको प्रतिवेदन परेपछि थप अनुसन्धान गरी प्रतिवादीहरु राजन मुक्ति भन्ने रंजित झा, भाष्कर मुक्ति, सन्तोष भन्ने दिपक सिंह समेत उपर मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १,१३ र १३(४) नं.को कसुर अपराध गरेको भन्दै निज प्रतिवादीहरु समेतलाई सोही ऐन र महलको १३(४) नं. बमोजिम सजाय गरी पाऊँ भनी मिति १७ पुष २०७० मा पुरक अभियोग पत्रसमेत पेश भएको देखिन्छ ।
बस्तुतः सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धानको क्रममा वारदातसँग जोडिएर आउने हरेक पहलुको गहिराईसम्म पुगी सम्भव भएसम्म कसुरसँग सम्बन्धित सबै प्रमाणहरु एकैपटक बुझ्नु पर्दछ र प्रमाणले को कसलाई कसुरदार देखाएको छ भन्ने सुनिश्चित गर्नु पर्दछ । हुन त मुलुकी ऐन अदालती  बन्दोबस्तको महलको ८८ नं. मा “नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा फिरादपत्र प्रतिउत्तरपत्र वा बयान सो मुद्दा हेर्ने अड्डामा एक पटक दिईसकेपछि अरु पनि अभियूक्त हुन वा छन् भनी उसै मानिसले पछि थपी लेखिदिएको सदर हुँदैन । प्रहरी प्रतिवेदनको हकमा भने यो बन्देज रहने छैन” भन्ने व्यवस्था गरिएको पाइन्छ । अन्य प्रतिवादीको पनि संलग्नता देखिएमा पुरक अभियोग पत्र दिन सकिने यो व्यवस्था दण्डहीनतालाई रोक्न गरिएको विशेष कानुनी प्रावधान हो । तथापी, जुनसुकै मुद्दामा पनि कानुनमा व्यवस्था छ भन्दैमा अदालतमा दायर भै बिचाराधीन मुद्दाको विषयमा अनुमानित र कल्पित आधारमा प्रतिवादी थप्दै जाने र प्रमाण बुझ्न अनुसन्धान पनि थप गर्दै जाने भन्ने यो व्यवस्था होइन । यो प्रावधानलाई सामान्य रुपमा लिइँदा अनुसन्धानको पक्ष फितलो हुने प्रवल सम्भावना रहने हुँदा यो कानुनी प्रावधानको अंगिकार अन्य प्रतिवादीको पनि कसुरमा संलग्नता रहेको छ भन्ने निश्चयात्मक प्रमाणले देखाएको अवस्थामा गर्नु नै वाञ्छनीय हुन आउँछ ।
त्यस्तै सरकारी मुद्दा सम्बन्धि नियमावली, २०५५ को नियम १४ मा “ऐन बमोजिम दायर भएको मुद्दा सम्बन्धमा प्रहरी वा अरु कसैले सबुद प्रमाण लाइकको कुनै माल, बस्तु वा लिखत फेला पारेमा सम्बन्धित सरकारी वकिल कार्यालयमा दाखिल गर्नु पर्नेछ र सो कार्यालयले पनि त्यस्तो माल वस्तु वा लिखतलाई अदालतमा तुरुन्त पेश गर्नु पर्नेछ” भन्ने व्यवस्था गरेको देखिन्छ । यो व्यवस्था मुद्दाको पुनः अनुसन्धान (चभ(ष्लखभकतष्नबतष्यल या तजभ अबकभ) सँग सम्बन्धित नभै मुद्दा दायर भएपछि भेटिएका प्रमाण पेश गर्ने व्यवस्थासँग सम्बन्धित भएको देखिन्छ । उपरोक्त नियम १५ को व्यवस्थानुसारका प्रमाणहरुले दावीलाई खम्बिर बनाउन सक्छन् । तर व्यक्तिका भनाईको आधारमा इन्साफ गर्नुपर्ने अवस्था रहेका मुद्दाहरुको हकमा एक पटक अनुसन्धान गरी प्रमाणहरु बुझी अदालतमा पेश गरिसकेपछि फेरी सोही कसुरका सम्बन्धमा थप प्रतिवादीको पनि संलग्नता देखिएको भन्दै अन्य मानिसहरु बुझ्दै जाने हो भने पछि बुझिएका प्रमाण र अदालतमा दर्ता भई विचाराधिन रहेको मुद्दामा भएका प्रमाणबीच अन्तरद्वन्द्वको अवस्था उत्पन्न भएमा त्यसले फौजदारी न्याय प्रणालीलाई नै विकलाङ्ग र धरासायी बनाउन सक्ने तर्फ अभियोजन पक्ष सचेत हुन जरुरी छ । त्यसैगरी अदालतमा दर्ता भएको मुद्दामा फेरी अभियोजन पक्षले थप प्रतिवादी भन्दै अनुसन्धान गर्नाले कतै प्रतिशोधात्मक भावनाले त ग्रसित भएको छैन भन्ने प्रश्न पनि उपस्थित हुन सक्ने तर्फ पनि हेक्का राख्नु पर्ने हुन्छ ।
हुन त केही खास गम्भीर प्रकृतिका मुद्दाहरुका कसुरदार विविध कारणले कानुनको दायराबाट उम्किएका वा उम्काइएको हुन सक्छ धम्कीको प्रयोगमार्फत वा अन्य विविध कारणले आफ्नो अनुकुल प्रमाण सिर्जना गरी वा अन्य कारणबाट न्यायलाई दुषित पारी कसुरबाट सफाई पाएको पनि हुन सक्छ । यस्तो स्थिति अनुसन्धानको चरणदेखि फैसलाको चरणसम्म हुन सक्ने विषयलाई नकार्न सकिँदैन । फलतः दण्डहिनताले प्रश्रय पाउने र वास्तविक कसुरदार कानुनी दायराबाट उम्कँदै जाने अवस्थाले प्रोत्साहन पाउने अवथा उत्पन्न हुन जाने हुन्छ । फौजदारी कानुन स्वभावैले कठोर प्रकृतिको कानुन भएको र वैयक्तिक स्वतन्त्रतालाई निश्चित हदसम्म नियन्त्रण गर्ने कानुन पनि भएको कारण फौजदारी कानुन अन्तरगत कारवाही गर्दा उक्त कानुन उल्लंघन भएको प्रष्ट रुपमा देखिनु पर्ने न्यायिक मान्यता रहिआएको छ । त्यसैले फौजदारी कानुन अन्तरगत कारवाही चल्ने कसुरसम्बन्धी मुद्दाहरुमा कोरा अनुमान, आशंका र विश्वास जस्ता अपुष्ट कुराहरुलाई महत्व नदिई वस्तुनिष्ट प्रमाणको खोजी गरिन्छ । यसै मान्यताको आधारमा फौजदारी न्याय प्रणालीमा शंकाको लाभ अभियूक्तले पाउँछ भन्ने सिद्धान्तको विकास भएको पाइन्छ  र हामीले पनि यस सिद्धान्तलाई अनुशरण गरेका छौं । अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन त्यसलाई तथ्ययूक्त बस्तुगत र निश्चयात्मक प्रमाणबाट बादी पक्षले प्रमाणित गराउनु पर्ने दायित्व प्रमाण ऐन २०३१ को दफा २५ ले निर्दिष्ट गरेको परिप्रेक्ष्यमा वादी पक्षले आफ्नो दायित्व पुरा गरेको अवस्था देखिन आउँदैन । माथि प्रकरणमा गरिएका प्रमाणका बिवेचना र तथ्यहरुबाट यी प्रतिवादी बैकुण्ठ दास कसुरदार हुन भन्ने आधार र प्रमाणको अभावको अभाव रहेको देखियो ।
पुरक अभियोग पत्रमा प्रतिवादी कायम गरी अदालतमा उपस्थित गराइएका प्रतिवादी राजन मुक्ति भन्ने रंजित झाको प्रस्तुत मुद्दाको वारदातमा भएको संलग्नता सम्बन्धमा मिसिल प्रमाण हेर्दा, प्रहरी निरीक्षक गोविन्द पुरी समेतको माथि उल्लेख गरिए अनुरुप प्रतिवेदन परेपछि जाहेरवाला पशुपति झाको पुनः जाहेरी पारिएको देखिन्छ । मुल जाहेरीमा यी प्रतिवादीको कुनै संलग्नता नदेखाउनु तर अनुसन्धान भै अदालतमा विचाराधीन अवस्थामा रहेको अवस्थामा खास प्रमाण विना यी प्रतिवादीसमेतको संलग्नता रहेको भन्ने कुरा उल्लेख गरी पुरक जाहेरी दिएको अवस्थाले जाहेरवालाका भनाई मनोगत तथ्यसम्म देखिन आउँछ । यी प्रतिवादी राजन मुक्ति भन्ने रंजित झाको हकमा निज जाहेरवालाको प्रमाणित हैसियत मौलिक प्रकृतिको नरहेको भन्ने माथीको प्रकरणमा विश्लेषण गरिसकिएको नै हुँदा थप विवेचना गरिरहन परेन ।
प्रतिवादी राजन मुक्ति भन्ने रंजित झाको अधिकार प्राप्त अधिकारीसमक्ष भएको भनिएको बयान हेर्दा, निज मृतक लालकिशोर झासँग पटक पटक चन्दा माग गरेको निज लाल किशोर झा र रत्नसागर कुटीका महन्थ वैकुण्ठ दास बीच जग्गा बेचविखन गर्ने सम्बन्धमा वाद विवाद  रिसइवी भई वैकुण्ठ दासले निजलाई हत्या गर्नको लागि वारदात मिति भन्दा १५÷२० दिन पहिले म र भाष्करमुक्ति भन्ने दिपक सिंहसँग सितामढीमा भेटी रु. १० लाखमा सहमति भई तत्काल रु. ७ लाख दिएको र बाँकी काम जैसवाल भन्ने मनिष चौधरीले गर्छ भनि चिनाई दिएका त्यसपछि भाष्कर मुक्तिले शशी मुक्ति भन्ने सुनिल कुमार अधिकारी यादवलाई फोन गरी वैकुण्ठ दासको मानिस जैसवाल भन्ने मनिष चौधरीले देखाएको व्यक्ति लालकिशोर झाको हत्या गर्नु हतियार निज मनिष चौधरीले नै उपलब्ध गराउँछ भनी टेलिफोनबाट आदेश दिएको र मैले तुफेल खानसँग किनि ल्याएको ०.३१५ को गोली लाग्ने हतियार निज जैसवाल भन्ने मनिष चौधरीलाई दिएको मनिष चौधरीले हाम्रो स्थानीय कार्यकर्ता शशी मुक्ति भन्ने सुनिल कुमार अधिकारीसँग भेट गरी राकेश पाण्डे शिवकुमार ठाकुरसमेत एक आपसमा भिठ्ठामोडमा भेटी रकमसमेत लिई मिति ११ कार्तिक २०६७ का दिन निज लालकिशोर झाको हत्या गरिएको भन्ने उल्लेख भएको देखिन्छ । निजले अदालतमा बयान गर्दा मृतक तथा जाहेरवालालाई आफुले नचिनेको निजहरु आफ्नो पार्टीको सदस्य नभएको प्रहरीमा लेखिएको कागजमा मबाट सहिछाप गराएका आफुले कुनै कुरा नलेखाएको आफ्नो पार्टीले लालकिशोर झासँग चन्दा माग नगरेको आफ्नो पार्ठी राजनैतिक पार्टी भै पार्टीसँग हतियार नरहेको, लालकिशोर झालाई मार्नमा पार्टीबाट कुनै योजना नबनेको शिवकुमार ठाकुर, राकेश पाण्डे, सुनिल कुमार अधिकारी, मनिष चौधरी र वैकुण्ठ दासलाई नचिन्हेको, मृतक लालकिशोर झालाई कसले मारेका हुन आफुलाई थाहा नभएको भन्दै कसुरमा इन्कार भएको देखिन्छ ।
यी प्रतिवादी राजन मुक्ति भन्ने रंजित झाको सम्बन्धमा मुल अभियोगको सम्बन्धमा संकलित प्रमाण तथा तथ्यबाट कुनै चर्चा परिचर्चा भएको मिसिलबाट देखिएको छैन । अन्य सह प्रतिवादीहरुले निजलाई पोलसम्म पनि गर्न सकेको देखिँदैन । प्रतिवेदक प्रहरी निरीक्षक गोविन्द पुरीले निज प्रतिवादीको कसुरमा संलग्नता भएको भनी प्रतिवेदन दिएको भए ता पनि निजको वकपत्र भएको देखिँदैन । निजले के कुन आधारमा निज प्रतिवादीको कसुरमा संलग्नता रहेको भन्ने तथ्य उल्लेख गरी प्रतिवेदन दिए भन्ने कुरा नै खुलेको देखिएको छैन । प्रतिवेदक मध्येका प्र.स.नि. किस्मत बहादुर भण्डारीले प्रतिवादी रंजित झाले अधिकार प्राप्त अधिकारी समक्ष दिएको बयानको आधारमा प्रतिवेदन दिएको भनेर वकपत्र गरेको अवस्था भएबाट पुरक अभियोग कुनै खास प्रमाणमा आधारित भएको भन्ने अवस्था नै रहेन । प्रतिवादी राजन मुक्ति भन्ने रंजित झालाई प्रतिवेदन तथा पुरक जाहेरी मुताविक कसुरमा सावित गराई अधिकार प्राप्त अधिकारी समक्ष वयान गराइएको देखिए पनि निजले अदालतमा कसुरमा आफ्नो संलग्नलाई पुर्ण रुपमा इन्कार गरेको अवस्था छ । अदालत बाहिरको साविती वयानको प्रमाणित मुल्य हुुँदै नहुने भन्ने मिल्दैन । तर, त्यस्तो वयान वास्तविक रहेको भन्ने मिसिलका अन्य वस्तुनिष्ठ प्रमाण तथा तथ्यले देखाएको र समर्थन गरेको हुुनुपर्दछ । प्रस्तुत मुद्दाको सन्दर्भमा निज प्रतिवादीको अदालतबाहिरको वयानलाई कुनै पनि वस्तुनिष्ठ प्रमाणले समर्थन गरेको देखिएको छैन । यस अवस्थामा प्रतिवादी रंजित झालाई कसुरदार ठहर गर्नु फौजदारी न्याय सिद्धान्तको विपरित हुने र न्याय र कानुनको दृष्टिले पनि उपयूक्त हुने देखिन आएन । अतएवः सबै प्रतिवादीहरुको हकमा माथि प्रकरणमा गरिएको विवेचना तथा तथ्य र प्रमाणको मुल्याकनबाट प्रतिवादीहरु रौकी भन्ने शिवकुमार ठाकुर, राकेश कुमार पाण्डे र सुनिल कुमार अधिकारी यादवले अभियोग दावी बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आयो । प्रतिवादी बैकुण्ठ दास र राजन मुक्ति भन्ने रंजित झाको प्रस्तुत वारदातमा सम्लग्नता रहेको भन्ने तथ्य पुष्टि हुन नआएकाले निजहरुको हकमा अभियोग दावी खम्बीर हुन सक्ने देखिन आएन ।
अब, तेस्रो तथा अन्तिम प्रश्नका सन्दर्भमा हेर्दा मुल अभियोग र पुरक अभियोगको सन्दर्भमा माथी विवेचना गरिए बमोजिक मौकामा पक्राउ परेका रौकी भन्ने शिवकुमार ठाकुर, विजुली सिंह भन्ने राकेश पाण्डे, सुनिल कुमार अधिकारी यादव पुर्व सल्लाह अनुसार गोली प्रहार गरी मारेकोमा स्वीकारै गरेका निज प्रतिवादीहरुलाई घटनास्थलबाट मोटरसाइकलमा भाग्दै गरेको देख्ने विवेकानन्द झाको मौकाको कागज तथा अदालतमा भएको वकपत्रले निज प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयान समर्थित भएको समेतका मिसिल संलग्न तथ्य प्रमाणहरुबाट निजहरु मृतक लालकिशोर झाको हत्यामा संलग्न भएको तथा त्यस क्रममा प्रतिवादी रौकी भन्ने शिवकुमार ठाकुरले मृतकलाई गोली हान्ने भुमिका निर्वाह गरेको भन्ने देखिन आई माथि प्रकरण दुईमा विवेचना भए अनुरुप अभियोग दावी बमोजिम नै कसुरदार ठहरिएका निजहरुलाई के कति सजाय हुने भन्ने तर्फ अभियोग दावीको मुुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(१) नं. हेर्दा “धार भएको वा नभएको जोखमी हतियार गैहले हानी रोपी घोची ज्यान मारेमा जति जना भै हतियार छाडेको छ उति जना ज्यानमारा ठहर्छन । सर्वस्व सहित जन्म कैद सजाय गर्नुपर्छ ” भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । तसर्थ वारदातमा गोली प्रहार गरी मृतकलाई मारेका प्र्रतिवादी शिवकुमार ठाकुरलाई दावी बमोजिम सर्वस्व सहित जन्म कैद हुने ठहर्छ । त्यस्तै प्रतिवादी सुनिल कुमार अधिकारी यादव र विजुली सिंह भन्ने राकेश पाण्डेले मृतकलाई मार्नमा मोटरसाइकल समेत प्रयोग गरी संयोग पारी दिएको भन्ने पुष्टि हुन आएको अवस्थामा निजहरुलाई के कति सजाय हुने तर्फ निजहरुको हकमा अभियोजन पक्षले लिएको दावी ज्यान सम्बन्धी महलको १३(४) हेर्दा “जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नमा बचन दिनेलाई वा वारदात भैरहेको ठाउँमा गै मार्नालाई संयोग पारिदिना निमित्त मर्ने मानिसको जीउमा हाल हाली पक्री समाती दिनेलाई जन्म कैद गर्नु पर्छ” भन्ने कानुनी व्यवस्था भएको पाइन्छ । निजहरुको हकमा माथि प्रकरण दुईमा विवेचना गरिए अनुरुप अपराधको प्रकृति र भुमिकालाई हेर्दा अभियोग दावी बमोजिम नै उक्त महलको १३(४) नं. बमोजिम जन्म कैद हुने ठहर्छ ।
 प्रतिवादी वैकुण्ठ दास र पुरक अभियोग पत्रमा दावी लिइएका प्रतिवादी राजन मुक्ति भन्ने रंजित झाको हकमा निजहरुको संलग्नतामा मृतक लालकिशोर झाको हत्या भएको भन्ने बस्तुनिष्ठ प्रमाणको मिसिलमा अभावै देखिएकोले ज्यान जस्तो संगिन अपराधमा शंका र अनुमानकै भरमा दिएको जाहेरीको आडमा लगाइएको अभियोग दावी बमोजिम कसुरदार ठहर गरी सजाय गर्नु न्याय र कानुनका दृष्टिले उपयूक्त हुने नदेखिँदा निज प्रतिवादीहरु बैकुण्ठ दास र राजन मुक्ति भन्ने रंजित झाले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ । निज प्रतिवादीहरुको हकमा वादी नेपाल सरकारको अभियोग दावी पुग्न सक्तैन ।
फरार रहेका प्रतिवादीहरु जैसवाल भन्ने मनिष चौधरी भारतीय व्यक्ति भन्ने देखिँदा नेपाल सरहदमा फेला परेका बखत कानुन बमोजिम हुने र अन्य प्रतिवादीहरु भाष्कर मुक्ति, सन्तोष भनिएको दिपक सिंह समेतको हकमा मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको १९० नं. बमोजिम मुल्तवी राखी दिने समेत ठहर्छ ।

२०७३ आश्विन ३० गते आईतबार

No comments:

Post a Comment