Tuesday, October 18, 2016

भारतीय राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणलाई लिएर तयारी सुरु

भारतीय राष्ट्रपति प्रणव मुखर्जी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतीय राष्टूपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरधाम आई जानकी मन्दिरको दर्शन गर्ने तथा अन्य कार्यक्रमहरुमा सहभागी हुने लगभग पक्का भएको छ । नेपालको राष्टूपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीन दिन नेपाल भ्रमणमा आउन लागेका मुखर्जीले जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गर्नुका साथै जानकी मन्दिरमै आयोजना गरिने नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । यसका अतिरिक्त हुलाकी सडक अन्तरगत जनकपुर यदुकुहा सडक निर्माणका लागि राष्टूपति मुखर्जीेले सिलान्यास समेत गर्ने तय भएको भौतिक योजना तथा पुर्वाधार यातायात मन्त्री रमेश लेखकलाई उद्धृत गर्दै नेपाली कांग्रेसका नेता तथा सांसद रामकृष्ण यादवले जानकारी दिएका छन् । राष्टूपति मुखर्जी आगामी कातिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म नेपाल भ्रमणमा आउँदैछन् । १८ गते जनकपुरधाम आउने उनको कार्यक्रम तय भएको बताइएको छ ।
प्रारम्भिक तयारी सुरु
भारतीय राष्टूपति मुखर्जीको आसन्न जनकपुर भ्रमणलाई लिएर जिल्ला प्रशासन कार्यालय धनुषाले तयारी सुरु गरेको छ । त्यसका लागि ३० असोजमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले सर्वपक्षिय बैठक डाकेका छन् । उक्त बैठकबाट उनको सुरक्षा अवस्था, स्वागत सत्कार तथा विभिन्न कार्यक्रम र त्यसका रुट निर्धारण देखि विभिन्न पक्षको बारे निर्णय लिइने बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमनि आचार्यका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमण तय भईसकेको हुनाले काठमाण्डौ र विरगञ्जबाट आएका भारतीय टोलीहरुसँग छलफल भएको र जानकी मन्दिर दर्शन र एउटा सडकको सिलान्यासको कार्यक्रम तय भएको छ । प्रहरी उपरीक्षक आचार्यका अनुसार प्रारम्भिक तयारी सुरु गरिएको भएपनि अब तयारीले तिब्रता पाउनेछन् । खास गरी उनको सुरक्षाका तयारीमा धनुषा प्रहरी अब वढी केन्द्रित हुनेछ ।
जनकपुर उपमहानगरपालिका कार्यालयले राष्टूपति मुखर्जीलाई स्वागत, सम्मान तथा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको भएपनि अहिले नै तय भने भईसकेको छैन । उपमहानगरपालिकाका इन्जिनियर विरेन्द्र यादवका अनुसार विगत देखि चलिआएको परम्परा अनुसार भारतीय प्रधानमन्त्री वा राष्टूपति देखि उच्च स्तरका भ्रमण हुँदा जनकपुरमा जनकपुर नगरपालिकाको मेयरले नागरिक अभिनन्दन गर्दै आएको छ । तर, स्थानीय निकायको निर्वाचन लामो समय देखि नभएर जनप्रतिनिधि विहिन रहेको अवस्थामा उपमहानगरपालिकाको कार्यालयका कार्यकारी अधिकृतले नागरिक अभिनन्दन गर्ने छ । तर, त्यसको टुङ्गो भने सर्वपक्षिय बैठकबाट मात्र हुनेछन् । यादवका अनुसार उपमहानगरपालिका कार्यालयले राष्टूपति मुखर्जीको भ्रमणका क्रममा तय गरिने रुटमा सडकको सरसफाई, मर्मत सम्भार तथा स्वागतद्वारहरु निर्माण गरिनेछन् ।
अरु कार्यक्रमहरु अहिले सार्वजनिक नभएपनि जानकी मन्दिरमा पुजा गर्ने कार्यक्रम तय भईसकेका कारण जानकी मन्दिरले पनि तयारी सुरु गरेको छ । त्यसका लागि भारतीय राजदुतावास तथा विरगञ्ज स्थित महाबाणिज्यदुतावासका अधिकारी तथा कर्मचारीहरु आई जानकी मन्दिरको निरीक्षण गरेर समेत गईसकेका छन् । जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास बैष्णवका अनुसार राष्टूपति मुखर्जी आउँदा मन्दिरमा विशेष पूजा गरिनेछ र त्यसको तयारी समेत सुरु गरिएको छ । यसका अतिरिक्त जानकी मन्दिरले राष्टूपति मुखर्जीलाई मायाको चिनो स्वरुप जानकी मन्दिरको प्रतिक समेत प्रदान गर्नेछ ।
यसअघि २०७१ मा नेपालमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जनकपुर आई जानकी मन्दिरको दर्शन गर्न चाहेका थिए । तर नेपाल सरकारले सुरक्षाको कारण देखाउँदै उनको भ्रमण रद्द गरेको थियो ।
जानकी दर्शन गर्ने भारतीय भिआईपीहरुको इतिहास
Add caption
भारतका पुर्व राष्टूपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंह, भारतका पुर्व प्रधानमन्त्री चन्द्रशेखर, अटल विहारी बाजपेयी, विश्व हिन्दु परिषदका अध्यक्ष अशोक सिंघल लगायतका व्यक्तिहरुले जानकी माताको दर्शन गरिसकेका छन् । यसका अतिरिक्त योग गुरु स्वामी रामदेव, चारवटै पिठहरु जगरनाथपुरी, कान्छीकोटी, काशीवद्रीका आश्रमका शंकराचार्यहरु, रामानन्दाचार्य, लगायतका साधुहरुले समेत जानकी मन्दिरको दर्शन गरिसकेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनाए । २५ जुलाई १९७७ देखि २५ जुलाई १९८२ सम्म भारतको राष्टूपति रहेका निलम संजिवा रेड्डी राष्टूपति रहेकै बेला जनकपुरको जानकी मन्दिर दर्शन गरेका थिए । जनकपुर विमान स्थलमा ओर्लने वित्तिकै उनले आफुले लगाएको खुट्टाको जुत्ता खोली जनकपुरको माटो उठाई टाउकोमा टिका लगाएका थिए । उनलाई स्वागत गर्न जनकपुरबाट हजारौं मानिसहरु विमान स्थल पुगेका थिए । विमान स्थल देखि जानकी मन्दिरसम्म स्थानीयवासीहरुले लाईन लागेर उनलाई स्वागत अभिनन्दन गरेका थिए । स्वागतका लागि हजारौं व्यक्तिहरुको भिडलाई देखेपछि उनी केही दुरीसम्म स्थानीयवासीहरु सँगसँगै पैदल नै हिंडेका थिए । जानकी मन्दिरको दर्शन गरेपछि उपस्थित हजारौं व्यक्तिहरुको सामु जानकी मन्दिरमा आउने तिर्थालुहरुको लागि एउटा धर्मशाला निर्माणका लागि भारत सरकारले अनुदान दिने घोषणा गरेका थिए । तर, भारत एउटा धर्म निरपेक्ष राष्टू रहेका कारण कुनै खास धर्मका लागि अनुदान दिन गाह्रो भएपछि तत्कालिन प्रधानमन्त्रि पिभी नरसिंहा रावलाई जसरी पनि व्यवस्था गर्न उनले आग्रह गरेका थिए । रेड्डी आन्ध्रप्रदेशको पहिलो मुख्य मन्त्रि समेत भएका कारण प्रधानमन्त्रि रावलाई आन्ध्रप्रदेशको तिरुमल तिरुपति देवस्थानम टूस्ट मार्फत रकम दिलाइएको राराब क्याम्पस जनकपुरका तत्कालिन क्याम्पस प्रमुख प्राध्यापक  महेन्द्र नारायण मिश्र बताउँछन् । उक्त धर्मशाला अहिले बृहत्तर जनकपुर विकास क्षेत्र परिषदको मातहतमा यात्री निवासको नाउँले परिचित छ । त्यसैगरी रेड्डीको कार्यकाल समाप्त भएपछि २५ जुलाई १९८२ देखि २५ जुलाई १९८७ सम्म भारतको राष्टूपति रहेका ज्ञानी जेल सिंह पनि राष्टूपति रहेकै बेला जनकपुरको जानकी मन्दिरमा पुजा अर्चना गरेका थिए ।
विक्रम सम्बत २०४९ सालमा भारतको लोकसभामा विपक्षी दलका नेता रहेका अटल विहारी बाजपेयी जनकपुर आई जानकी मन्दिरको दर्शन गरेका थिए । बाजपेयी जनकपुरमा एक रात बसेका पनि थिए । जानकी मन्दिरको दर्शन गरी उपस्थित भीडलाई सम्बोधन गर्दा ठुलो हावाहुरी र पानी पनि पर्न थालेपछि मान्छेहरु ओत लाग्न अन्यत्र जानै लाग्दा बाजपेयीले हिन्दीमा भनेका थिए कि यो शरीर कागजको होइन कि पानीले भिजेपछि गलिहाल्छ । उनको उक्त अभिव्यक्तिपछि सबै मान्छे पानीमा भिज्दै बाजपेयीको कुरा सुनेका थिए । त्यतिबेला जानकी मन्दिरमै इन्जिनियर सत्य नारायण साहको अध्यक्षतामा गठन गरिएको मिथिला सांस्कृतिक केन्द्रमा गई मिथिला संस्कृति बारे उनलाई जानकारी गराइएको थियो । बाजपेयीलाई सिक्किको परालबाट बनेको सिल्प हाथी र केही उपहार सामग्रीहरु दिएर सम्मान गरिएको थियो । मिथिला लोकाचित्र र लोक सिल्प नेपालको मिथिलाञ्चलमा पनि बन्ने गरेको कुराबाट आफु धेरै हर्षित भएको र त्यसलाई व्यवसायिक रुप दिनुपर्ने बाजपेयीले बताएका थिए । बाजपेयी जनकपुर चुरोट कारखानाको गेस्ट हाउसमा एक रात बसेका थिए ।


२०७३ आश्विन ३० गते आईतबार

No comments:

Post a Comment