Tuesday, October 18, 2016

पोस्टर व्वाय पंजियारको पोस्टर राजनीति प्रति मधेसी विद्यार्थी मोर्चाको आपत्ति

अहिले सार्वजनिक स्थानहरुमा झुन्डयाइएको पोस्टर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मेडिकल शिक्षामा विद्यार्थीहरुलाई ४५ प्रतिशत आरक्षण गराउन सफल मधेसी यूथ थिंकट्याङ्कका यूवा नेता विनय पंजियार भन्दै जनकपुरका विभिन्न सार्वजनिक स्थलहरुमा पोस्टर झुन्डयाइएको छ । कुनै बेला स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके राउतको अभियान सँगै जुडेका पंजियार अहिले आफुलाई पोस्टर व्वायको रुपमा जनकपुरमा प्रचारित गराउन खोजेको देखिन्छ ।
मधेसी विद्यार्थीहरुलाई नेपाल सरकारको स्वामित्वमा संचालित हुने त्रिभुवन विश्व विद्यालय र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४५ प्रतिशत आरक्षण गराउन सफल भएको भन्दै आफ्नो प्रचार आफैले गराउन खोजेका पंजियारको हत्कण्डाले संयूक्त लोकतान्त्रिक मधेसी विद्यार्थी मोर्चाका नेताहरु झस्किएका छन् । एक त अहिले ४५ प्रतिशत आरक्षण कार्यान्वयन नै नभएको अवस्था र अर्को तर्फ सर्बोच्च अदालतले गरेको आदेशमा पंजियारको कुनै भुमिका नै नरहेको अवस्थामा प्रचारवाजी गरिएकोमा विद्यार्थी मोर्चाका नेताहरुले आपत्ति जनाएका छन् । समाजवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले आपत्ति जनाउँदै यस्ता गतिविधिले मधेसी विद्यार्थी मोर्चाद्वारा गरिएको आन्दोलनलाई समेत वेवास्ता गरेको छ । उनका अनुसार विगतमा पनि संयूक्त विद्यार्थी मोर्चाले आन्दोलन गरेको थियो र अहिले पनि कार्यान्वयनका लागि निरन्तर संघर्ष गरिरहेको अवस्थामा कुनै एक जना अचानक आएर क्रेडिट लिन खोज्नु भनेको सम्पुर्ण मधेसी विद्यार्थीहरुको आन्दोलनको अपमान समेत हो ।
केही महिना अघि पंजियार जनकपुर आउँदा
 विमान स्थलमा गरिएको स्वागत ।
त्यसैगरी तराई मधेस विद्यार्थी फ्रन्टका केन्द्रिय अध्यक्ष मनिष मिश्रले पनि आपत्ति जनाउँदै पंजियारको आत्म प्रचारवाजी र जस लिने होडलाई बचपनाको संज्ञा दिएका छन् । मिश्र भन्छन,“अदालतमा मुद्दा दर्ता हुनुभन्दा अघि पनि संयूक्त मधेसी विद्यार्थी मोर्चाले नेपालको अन्तरिम संविधान अनुसार विभिन्न विश्व विद्यालयहरुमा समानुपातिक समावेशी सिद्धान्त अनुसार भर्नाका लागि आन्दोलन गरेको थियो । डिनको कार्यालयमा तालाबन्दी गर्नुका साथै आन्दोलनका विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो । अहिले आएर अदालतले निर्देशनात्मक आदेश गरिसकेपछि सर्बोच्च अदालतको उक्त आदेशको कार्यान्वयनका लागि फेरी पनि हामीले आन्दोलनलाई जारी नै राखेका छौं । तर, पंजियारले आफु खुशी एकलौटी ढंगले जस लिन खोज्नु भनेको सम्पुर्ण मधेसी विद्यार्थीहरुलाई गुमराह गर्न खोजेको प्रष्ट हुन्छ । त्यसबाट मधेसका विद्यार्थीहरु सचेत हुनु जरुरी छ ।” त्यसैगरी समाजवादी विद्यार्थी फोरमका केन्द्रिय अध्यक्ष विवेक राय भन्छन,“ पंजियारले जनकपुरमा गरेको गतिविधि प्रति संयूक्त मधेसी विद्यार्थी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । र, त्यस प्रति हामी निन्दा पनि गर्छौं । मधेस आन्दोलनमा सहादत दिने सहिदहरुको बलिदानीबाट अन्तरिम संविधान अनुसार समानुपातिक समावेशी पालना गराउन हामीले गरेको संघर्षमा पंजियारको पनि सहभागिता छ । तर, अहिले आएर मधेसी यूथथिंक ट्याङ्कको नाउमा एक्लै जस लिन खोज्नु गलत हो ।”
सर्बोच्चको निर्देशनात्मक आदेश
८भदौ २०७३ मा सर्बोच्च अदालतको न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र सपना प्रधान मल्लको संयूक्त इजलासले मेडिकल शिक्षामा समानुपातिक समावेशी सिद्धान्तको अनुसार विद्यार्थी भर्नामा आरक्षण सम्बन्धि एउटा ऐतिहासिक आदेश गरेको पाइन्छ । निरज कुमार साह समेत निवेदक भई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विरुद्ध गरिएको उत्प्रेशन मुद्दाको सुनुवाई गर्दै गरिएको आदेशमा के लेखिएको छ भने नेपालको अन्तरिम संविधान २०६३ ले स्वीकार गरेको समावेशिताको सिद्धान्तको कार्यान्वयनको प्रश्न हुँदा र बर्तमान नेपालको संविधानको धारा १८(३), धारा ३८(४) र धारा ४२ ले समानुपातिक समावेशी सिद्धान्तलाई अङ्गिकार गरेको समेत सन्दर्भमा सो कार्यान्वयन आवश्यक हुँदा त्रिभुवन विश्व विद्यालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा उचित समय भित्र आवश्यक कानुनी संरचनाको साथै आवश्यक मापदण्ड समेत तयार गरी तत्पश्चात उक्त विश्व विद्यालय अन्तरगतका अध्ययन संस्थान र क्याम्पसहरु एवम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुन जुन बर्ग र समुहबाट नेपाली विद्यार्थीहरु भर्ना गरिने हो सो सबैमा समानुपातिक समावेशिता कायम गर्नको लागि कानुन निर्माण र कार्यान्वयन गर्ने एवम विद्यार्थी भर्ना लिने दायित्व भएका विपक्षीहरुको नाउँमा सो कार्यहरु गर्न निर्देशनात्मक आदेश जारी गरिएको छ । निवेदकहरुको तर्फबाट अधिवक्ताहरु देवेन्द्र झा, सुरेन्द्र महतो, नारायण झा, दिपेन्द्र झा र नेपाल सरकारको तर्फबाट सह न्यायाधीवक्ता किरण पौडेल, त्रिभुवन विश्व विद्यालयको तर्फबाट अधिवक्ता नारायण खनाल र स्वास्थ्य व्यवसायी परिषदको तर्फबाट दामोदर खड्काले बहस गरेका थिए ।
मुख्य कुरा के थियो भने निवेदकका तर्फबाट बहस गरेकाहरुले निःशुल्क बहस गरेका थिए । बहसकर्ता अधिवक्ता दिपेन्द्र झाका अनुसार मुद्दाको प्रक्रियामा निवेदक, बहसकर्ता अधिवक्ता र न्यायाधीश मात्र पक्ष हुन्छन् । अरु कसैको भुमिका हुँदैन । अहिले जसरी जनकपुरमा सुनिएको छ कि कुनै व्यक्ति विशेषले त्यसको के्रडिट लिन खोजेका छन् त्यो गलत प्रवृति हो । उनको योगदान मुद्दा प्रक्रियामा के हो भने आदेश भएको दिन उनी बहस सुन्न इजलासमा आएका थिए । बरु योगदानको कुरा गर्नु हुन्छ भने समानुपातिक समावेशी सिद्धान्तलाई लागु गराउन, सामाजिक न्यायका लागि संघर्ष गरिरहेका हामी कानुन व्यवसायीहरुले समग्र मधेसी विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर एक पैसा पनि नलिई बहस गरेका छौं ।
कार्यान्वयनका लागि संघर्ष
सर्बोच्च अदालतले निर्देशनात्मक आदेश गरेको भएपनि त्रिवि चिकित्सा शास्त्र शिक्षण अध्ययन संस्थान(शिक्षण अस्पताल) महारजागञ्जमा समावेशी समानुपातिक अवधकारण अनुसार विद्यार्थी भर्नाका लागि आन्दोलन जारी राखेका छन् । आन्दोलनको क्रममा ३ असोजमा संयूक्त विद्यार्थी मोर्चाले शिक्षण अस्पतालमा गई डिनको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । ४ असोजमा दवाव सिर्जनाका लागि जनचेतना सभाको आयोजना गरेका थिए । पछि संघीय समाजवादी विद्यार्थी फोरमको कार्यालयमा बसेको बैठकमा सम्पुर्ण विद्यार्थी संगठनहरु नेविसंघ, अनेरास्वीयू, क्रान्तिकारी लगायतका संगठनले एक्यवद्धता जनाएका थिए । त्यसपछि ७ असोजमा संयूक्त विद्यार्थीहरुको टोलीले त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा.तिर्थराज खान्यालाई भेटेर आदेश कार्यान्वयन गराउन र कानुन बनाउन तथा प्रवेश परीक्षामा आरक्षण निर्धारण गराउन ज्ञापन पत्र बुझाएका थिए । तर, यस बर्ष सम्भव नहुने र आगामी वर्ष देखि कानुन निर्माण गरी आरक्षण लागु गर्ने उपकुलपति खान्याले आश्वासन दिएका थिए ।
यसरी हेर्ने हो भने अहिले लागु नै नभएको अवस्थामा पंजियारले एक्लौटी रुपमा आफ्नो जस लिन खोज्नु भनेको हतारको निर्णय मान्न सकिन्छ । हो, उनी मेडिकल स्टुडेन्ट भएका नाताले उनको पनि भुमिका छ । तर, उनको एक्लै भुमिका छैन । उनी व्यक्ति मात्र हुन । आन्दोलनको अगुवाई र नेतृत्व विद्यार्थी मोर्चाले गरेको छ । त्यसैले मोर्चालाई माइनस गरेर पंजियार अगाडी वढ्नु पछाडीको  रहस्य के हो भोली आगामी दिनमा प्रष्ट हुने नै छ ।  सर्बोच्च अदालतको आदेश आएको केही दिन नवित्दै उनी जनकपुर आउँदा आफ्ना नजिकका विद्यार्थीहरुलाई बोलाएर ठुलै फुलमाला लगाएर सम्मान गर्न लगाएका थिए । त्यसले पनि उनको महत्वाकांक्षा प्रष्ट देखिन्छ । किनभने पंजियारको व्यक्तित्व त्यसैपनि विवादास्पद रहेको छ । कतिपय व्यक्तिहरुको भनाईमा पंजियार डा.सिके राउतको टिममा हुँदा उनी माथि आर्थिक अनियमितता गरेको आरोप लागेपछि उनलाई टिमबाट अलग्यिाइएको हो ।

२०७३ आश्विन ३० गते आईतबार

No comments:

Post a Comment