Tuesday, October 25, 2016

मधेसी मोर्चाद्वारा चोरी डाँकाको मुद्दा फिर्ताका लागि सिफारिस

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

२६ भदौ २०७२ मा धनुषा इटहर्वा ५ का महेन्द्र सिंहको छोरा बर्ष ३९ को विरेन्द्र कुमार सिंहको घरमा पसेर चोरी डाँका गरी ४ लाख १६ हजार मुल्य बराबरको नगद, जिन्सी, गरगहना तथा लत्ताकपडाहरु लुटेर लगेका अभियूक्तहरु इटहर्वा ५ का रामकृष्ण यादवका छोरा बर्ष २५ को उपेन्द्र यादव, भरोसी यादवको छोरा बर्ष ३८ को शत्रुधन यादव, राम सोभित यादवको छोरा बर्ष २८ को सरोज कुमार यादव, राम लोचन यादवको छोरा बर्ष २६ को दिनेश यादव, जुगेश्वर यादवको छोरा बर्ष ४८ को राम सागर यादव, परमेश्वर मण्डलको छोरा बर्ष १९ को जितेन्द्र मण्डल र रामपृत यादवको छोरा बर्ष ४५ को मिथिलेश यादव गरी कुल ७ जना प्रतिवादीहरुको मुद्दा फिर्ताका लागि संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धन केन्द्रले नेपाल सरकारको गृहमन्त्रालयलाई सिफारिस गरेको छ ।

मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दाहरु फिर्ता लिनका लागि संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय गठबन्धनले नेपाल सरकारको गृहमन्त्रालयलाई गरेको सिफारिसहरुमा कतिपय मुद्दाहरु मधेस आन्दोलनको नभएर अलग्गै आपराधिक घटनाको मुद्दा फिर्ताका लागि समेत सिफारिस गरेको पाइएको छ । मोर्चा तथा गठबन्धन केन्द्रले गरेको सिफारिस मध्ये धनुषाका इटहर्वा ५ का डाका चोरी मुद्दाका अभियूक्तहरु मिथिलेश्वर यादव, शत्रुधन यादव, उपेन्द्र यादव, सरोज कुमार यादव, दिनेश यादव, रामसागर यादव र जितेन्द्र मण्डलको समेत मुद्दा फिर्ता लिन सिफारिस गरिएको छ । धनुषा प्रहरीका अनुसार ती व्यक्तिहरुको मुद्दा विशुद्ध आपराधिक मुद्दा हो । तिनीहरु मध्ये दुई जना पक्राउ परी धनुषा जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि कारागार समेत चलान गरिसकिएको छ । यस्तो अवस्थामा मधेसी मोर्चा वा संघीय गठबन्धनले तिनीहरुको मुद्दा फिर्ताका लागि सिफारिस गरिनु पछाडी ठुलो आर्थिक चलखेल समेत भएको हुनसक्ने आशंका गरिएको छ । यी सातै जनाको मुद्दा फिर्ताका लागि सिफारिस गरिएको नाम यस अघि द एक्सक्लुसिभले नै सार्वजनिक गरेको थियो । त्यसपछि धनुषाका मधेसी मोर्चा तथा संघीय गठबन्धन पनि आश्चर्य चकित भएका थिए । तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहका अनुसार इटहर्वाका डाँका मुद्दाका अभियूक्तहरुको मुद्दा फिर्ता लिने गरिएको सिफारिस सार्वजनिक भएपछि म आफै काठमाण्डौ गएर खोजी गर्दा संघीय गठबन्धन केन्द्रले मुद्दा फिर्ताका लागि नेपाल सरकार समक्ष सिफारिस गरेको मैले पनि पाएँ । तर, त्यो मुद्दा फिर्ताका लागि सिफारिस कहाँबाट र कसरी भएको हो भन्ने कुरा पत्ता लगाउन सकिनँ । जहाँसम्म धनुषा मोर्चाको वा गठबन्धनको सवाल हो मेरो जानकारी अनुसार स्थानीय स्तरबाट तिनीहरुको मुद्दा फिर्ताका लागि सिफारिस गरिएको छैन । साह थप्छन्, “द एक्सक्लुसिभले यो कुरा सार्वजनिक गरेर राम्रो काम गरेको छ । मलाई लाग्छ मधेस आन्दोलनलाई बदनाम गराउनका लागि षड्यन्त्र तहत ती मुद्दाहरु चोरबाटोबाट छिराइएको हुन सक्छ । मैले केन्द्रलाई प्रष्ट रुपमा ती मुद्दाहरु फिर्ता हुनुहुन्न, त्यो मुद्दा मधेस आन्दोलनसँग जोडिएकै छैन । रहयो कुरा त्यसको खोजी नीतिको भने चाँडै स्थानीय स्तरमा मोर्चा तथा गठबन्धनको बैठकमा यो कुरा उठाइने छ ।”
के हो घटना ?
इटहर्वा गाविस ५ बस्ने महेन्द्र सिंहको छोरा बर्ष ३९ को विरेन्द्र कुमार सिंहले दिएको जाहेरी अनुसार तिनीहरुले आएर घरमा चोरी डाका गरी सम्पति लुटेर गएको अभियोग लगाइएको छ । २६ भदौ २०७२ मा अन्दाजी ११ बजेको समयमा ती व्यक्तिहरुले आ आफनो हातहातमा लाठी लिई आई घर भित्र जवरजस्ती प्रवेश गरी घरमा रहेका गरगहना, नगद, लत्ताकपडा, फर्निचर समेत जवरजस्ती लिन थाल्दा घरमा रहेकी हजुरआमा सुमिन्त्रा देवीले रोक्ने प्रयास गर्दा निज वृद्ध हजुरआमालाई कुटपिट गरी घरबाट जवरजस्ती निकाला गरी घरभित्र रहेका सामानहरु सम्पुर्ण लिई बाहिर निस्कन लाग्दा आफु विरेन्द्र कुमार सिंह समेतले थापा पाई दगुर्दै बचाउको लागि आउँदा ती प्रतिवादीहरु मध्येका एक जनाले बल्ल आएछ, आज मेरो हैसियत थापा पाउनेछ भन्दै तिनीहरुले बोकेको सामान तल राखि आफुलाई जवरजस्ती धकेली, घरका सामानहरु तोडफोड गर्दै जवरजस्ती चोरी गरी गई गाउँ समाजका स्थानीय व्यक्तिहरुले समेत हल्लाखल्ला सुनि आएको भएपनि ति प्रतिवादीहरुको आपराधिक तान्डव देखि अगाडी वढ्ने साहस गर्न सकेका थिएनन्, जाहेरीमा उल्लेख छ । २ लाख २७ हजार रुपैयाँ नगदी, बाकसमा रहेको सुनको गरगहना दुई तोलाको मुल्य १ लाख १० हजार रुपैयाँ, ग्यास चुल्हा र सिलिन्डर, चदराको बाकस दुई थान, बाकसमा भएको साडी १५ थान, बाकसमा रहेको पेटीकोट १० थान, बाकसमा भएको ४० भरीको हसुली एक थान, चाँदीको १४ भरीको पायल दुई थान गरी कुल ४ लाख १६ हजार बराबर मुल्यको नगद, जिन्सी तथा गरगहना र लत्ताकपडाहरु लुटेर लगेको आरोप लगाइएको छ ।
उक्त घटनामा प्रहरीले प्रतिवादीहरु उपेन्द्र कुमार यादव र शत्रुधन यादवलाई पक्राउ गरी अनुसन्धान गर्दा कसुर स्वीकार गरेको देखिन्छ । चोरी गरी लगेका सामानहरु मध्ये नगद रु. २ लाख २७ हजार मध्येबाट ३२ हजार ४ सय २८ का दरले बाँडफाँड गरी खाई मासी सकेको तथा अन्य गरगहना, जिन्सी तथा लत्ताकपडाहरु फरार रहेका प्रतिवादीहरुसँगै होला भन्ने व्यहोराको बयान  प्रतिवादी उपेन्द्र कुमार यादवले अधिकार प्राप्त अधिकारी समक्ष गरेको पाइन्छ । सोही प्रकृतिको बयान अर्को प्रतिवादी शत्रुधन यादवले पनि प्रहरी समक्ष गरेको पाइन्छ ।
धनुषा जिल्ला अदालतले थुनछेक मुद्दामा १९ फागुन २०७२ का दिन धनुषा जिल्ला अदालतका न्यायाधीश ऋषि अधिकारीले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको पाइन्छ । उक्त मुद्दाको अहिलेसम्म फैसला नभएको भएपनि ती प्रतिवादीहरुलाई चोरी भएको गरगहना, धनमालको विगो रु. ४ लाख १६ हजार प्रतिवादीहरुबाट दिलाई भराई पाऊ तथा चोरीको महलको एक नम्बरको छ नम्बर अनुसारको कसुर अपराध गरेको हुँदा सोही ऐनको १४(४), १०(३) र २१ नम्बर बमोजिम कारवाही गराउन भन्दै अभियोग माग दावी गरिएको छ ।
आन्दोलनलाई बदनाम गराउने षड्यन्त्र
यस अघि पनि धनुषाको मोर्चा तथा गठबन्धनको बैठकबाट जघन्य अपराधको मुद्दामा अभियूक्त रहेका राम विनोद यादव, चनरदिप यादव, जोगेन्द्र महतो कोइरी, शुभनारायण यादव, राम सुन्दर यादव, नागेश्वर साह, प्रमोद कुमार पुर्वे, कल्याणी देवी यादव लगायत सात जनाको मुद्दा फिर्ताका लागि केन्द्रीय गठबन्धनमा सिफारिस गरिएको थियो । उक्त सिफारिसमा तत्कालिन संघीय गठबन्धनका संयोजक तथा राष्टिूय मधेस समाजवादी पार्टीका अध्यक्ष देवकृष्ण मण्डलको हस्ताक्षर थियो । पछि मोर्चा तथा गठबन्धनका अन्य नेताहरुले आफुहरुले सिफारिस नगरेको प्रष्टिकरण दिएपनि मण्डल भने सबैको सहमतिमा सिफारिस गरिएको बताएको थियो । यद्यपि उक्त सिफारिसलाई केन्द्रिय संघीय गठबन्धनले नै फिर्ता गरेको भएपनि उक्त घटनाको छानविन तथा अनुसन्धान गरी सत्य तथ्य के भएको थियो भन्ने कुरा बाहिर आउन सकेको छैन । अर्को तर्फ केन्द्रिय गठबन्धनले नै धनुषाका अन्य डाँका मुद्दाका अभियूक्तहरुको मुद्दा फिर्ताका लागि गृहमन्त्रालय समक्ष गरेको सिफारिसले अर्को ठुलो प्रश्न खडा गरेको छ । मोर्चा तथा गठबन्धनका त्यस्ता गतिविधिहरुले अहिले मधेस आन्दोलनलाई बदनाम मात्र गरेको छैन, अधिकार प्राप्तिका लागि आफ्नो ज्यानको आहुति दिने ती सहिदहरुको सहादतलाई समेत अपमान हुने काम मधेसी मोर्चा तथा संघीय गठबन्धनका नेताहरुद्वारा भएकाले जनतासँग माफी माग्दै सत्य तथ्य बाहिर ल्याउनु पर्ने स्थानीय नागरिकहरुको माग रहेको छ ।
मधेस आन्दोलनका दौरान राजनीतिक कारणले लगाइएका मुद्दाहरु वा आन्दोलनका क्रममा भएको प्रदर्शनको क्रममा राज्यद्वारा लगाइएका मुद्दाहरु फिर्ताका लागि सिफारिस गरिनु र त्यसका लागि अड्नु राम्रो काम भएपनि यस्ता गलत कुराहरुको मुद्दा फिर्ताका लागि मोर्चाले सिफारिस गर्नु अत्यन्तै दुःखद रहेको आन्दोलनमा सहभागी आन्दोलनकारीहरुको भनाई छ । मोर्चाका नेताहरुले चाहे स्थानीय स्तरमा होस वा केन्द्रिय स्तरमा जो सुकैले पनि मधेस आन्दोलन बाहेक आपराधिक घटनाहरुको मुद्दा फिर्ताका लागि सिफारिस गरिनु पछाडी व्यापक आर्थिक लेनदेन भएको हुन सक्ने, जातिय प्रभावमा परेर सिफारिस भएको हुन सक्ने, आउँदो समयमा भोट व्याङ्कको राजनीति गर्नका लागि सिफारिस गरिएको हुन सक्ने वा सत्ता पक्षद्वारा आन्दोलनलाई बदनाम गराउन चलखेल भएको हुन सक्ने लगायतका कारणहरु हुन सक्ने भएकाले बास्तविक सत्य तथ्य के हो त्यसको अनुसन्धान गरी जनता समक्ष राख्नु मधेसी मोर्चा तथा संघीय गठबन्धनको दायित्व र जिम्मेवारी दुवै रहेको स्थानीयवासीहरु बताउँछन् ।




२०७३ कार्तिक ०७ गते आईतबार

No comments:

Post a Comment