Tuesday, October 25, 2016

जानकी मन्दिरलाई विश्व सम्पदाको सूचिमा सूचिकृत गराउन नेपाल सरकार उदासिन

अजय अनुरागी
जनकपुरधाम............
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जनकपुरधामको जानकी मन्दिरलाई हालसम्म विश्व सम्पदा स्थलको रुपमा सूचिकृत गराउन सकिएको छैन । नेपाल सरकारको पुर्वाग्रहका कारण त्यसो हुन सकेको छैन । नेपाल सरकारले त्यसका लागि खासै पहलकदमी नगर्दा प्रक्रियामा ढिलासुस्ती आएको देखिन्छ । हुन त नेपाल सरकारले सन् २००८ मै जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउनका लागि प्रस्ताव गरेको भएपनि हालसम्म प्रक्रिया दु्रत गतिमा अगाडी वढ्न सकेको छैन ।
नेपाल सरकारले उदार मन नदेखाएपछि स्थानीय स्तरमा नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउनु पर्छ भन्ने पहलकदमी लिनुका साथै अभियान नै चलाइएको छ । मिथिला संस्कृति संरक्षण सम्बद्र्ध अभियान तथा पर्यटन प्रवद्र्धनका लागि पनि भोर नेपाल नामक गैरसरकारी संस्थाका संयोजक राजकुमार महतोले त्यसको पहलकदमी लिएपछि अहिले एउटा अभियान नै चलेको पाइन्छ । १ अक्टुवर २०१४, दशैको फुलपातीका दिन देखि जानकी मन्दिरको प्राङ्गनमा नै स्टल राखि दुई महिनासम्म हस्ताक्षर अभियान संचालन गरिएको थियो । त्यसका अतिरिक्त काठमाण्डौ लगायत देशका विभिन्न स्थानहरु र अनलाईन मार्फत विदेशबाट पनि चलाइएको एक बर्षसम्मको हस्ताक्षर अभियानबाट करिब ६५ हजार मानिसले हस्ताक्षर गरेर जानकी मन्दिरलाई विश्व सम्पदा सूचिको रुपमा सूचिकृत गर्न हस्ताक्षर गरेको पाइन्छ । हस्ताक्षर अभियानका संयोजक समेत रहेका महतोका अनुसार उक्त ६५ हजार हस्ताक्षरमा कुनै पनि व्यक्तिको नाम दोहोरिएको छैन ।
हस्ताक्षर अभियान सम्पन्न भईसकेपछि नेपाल सरकारको पुरातत्व विभागलाई हस्तानान्तरण गरिएको थियो । पुरातत्व विभागले पनि नामाङ्कन फाइल दर्ताका लागि प्रक्रिया अगाडी बढाउने लिखित प्रतिवद्धता जनाइसकेको छ । सन् २०१६ मार्चमा त्यसका लागि जनकपुरमा सरोकारबाला निकायहरुलाई राखेर वृहत अन्तरक्रिया समेत गरिसकिएको छ । अन्तरक्रियाबाट जनकपुरबासीले जानकी मन्दिरलाई विश्व सम्पदा सुचिको रुपमा सूचिकृत गराउन जनकपुरबासीले गर्नुपर्ने काम जस्तै जानकी मन्दिर वरपरको क्षेत्रलाई खाली गर्ने, जानकी मन्दिर वरपरको घरको उचाई मापदण्ड अनुसार राख्ने जस्ता प्रतिवद्धताहरु व्यक्त गरिसकेका छन् ।
 १३ असोज २०७३ मा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालय, पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखा प्रमुख  सुरेश  श्रेष्ठ, अनुसन्धान अधिकृत मिलन लामा र भोर तथा मिथिला संस्कृति सम्पदा संरक्षण प्रवर्दन अभियानको प्रतिनिधिहरु बिच  सम्पन्न बैठकबाट जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचिकृत गराउनकोलागि नोमिनेशन फाइल तयारीको कार्य अगाडी बढाउने विषयमा नोमिनेशन फाइल तयारीकोलागि अगामी कदमको रुपमा मुख्य तिन कार्यहरु गर्ने तय भएको छ ।
पहिलो पुरातत्व विभाग, स्थानीय निकायहरु र अभियान सहितको कुशल र प्रभावकारी कार्य समन्वय समिती जनकपुरधाममा गठन गर्ने, दोस्रो जानकी मन्दिरलाई विश्व सम्पदा स्थलमा सुचिकृत गराउन नोमिनेशन फाइल तयारीकोलागि स्थानीय निकाय र सरोकारवालाहरुले सिमाना निर्धारण गर्ने र तेस्रो जानकी मन्दिर लगायत जनकपुर क्षेत्रलाई संरक्षित मोनुमेन्टस क्षेत्रको रुपमा घोषणा गराउन व्यापक पहल गर्ने उक्त बैठकबाट निर्णय समेत गरिएको छ ।
अब ती कार्यहरु केही महिना भित्रै सम्पन्न गरिसकेपछि यूनेसको विश्व सम्पदा समितिका टोलीहरु जनकपुर आई प्राविधिक अध्ययन गरी प्रतिवेदन बुझाउने छन् । उक्त  प्रतिवेदन पेश भईसकेपछि त्यसको पुनरावलोकन गरिनेछ । र, सिफारिस भएको दुई बर्षसम्ममा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिको रुपमा सूचिकृत गराउन सकिने सपना साकार हुन सक्छ भन्दै महतो भन्छन,“ त्यो कार्य शव्दमा भनिए जतिकै सजिलो पनि छैन, त्यसका लागि नेपाल सरकारको पुरातत्व विभागले काम गर्नुपर्दछ, नेपाल सरकारले मन्त्रि परिषदको बैठकबाट निर्णय गराउन सक्नुपर्दछ । र, सबैभन्दा ठुलो कुरा जनकपुरबासीले त्यसका लागि आधार र मापदण्ड बनाउन त्याग गर्न सक्नु पर्छ ।”
सबैभन्दा खुशीको कुरा के हो भने विश्व सम्पदाको सूचिमा पर्नका लागि आवश्यक १० मापदण्ड मध्ये कुनै एउटा मापदण्ड भएपनि सूचिकृत गराउन सकिन्छ । तर, जनकपुरको प्लस प्वाइन्ट के हो भने जनकपुरमा एउटा मात्र नभएर सात वटा मापदण्ड पुरा भएको अवस्थामा जनकपुरको जानकी मन्दिर मात्र होइन सिंगो जनकपुरलाई नै विश्व सम्पदा सूचिको रुपमा सूचिकृत गराउन सकिने सम्भावना प्रवल रहेको हुँदा कतिसम्मको सिमानालाई विश्व सम्पदाको दायरा भित्र राख्ने त्यसबारे जनकपुरवासीले निर्णय गर्न सक्नु पर्ने अभियन्ता महतो बताउँछन् ।
यदि विश्व सम्पदा सूचिमा जनकपुर वा जानकी मन्दिर सूचिकृत भयो भने विश्व भरीका पर्यटकहरुले पर्यटन गर्दा काठमाण्डौ, पोखरा जस्तै जनकपुरलाई पनि पर्यटन गन्तव्यको रुपमा लिनेछन् र जनकपुर समृद्ध हुनेछन् । सबैभन्दा वढी महत्वपुर्ण कुरा के हो भने ऐतिहासिक, पौरातात्विक तथा सांस्कृतिक महत्व बोकेका धरोहरहरु, मठमन्दिरहरु, पोखरीहरुको मौलिक रुपमा सम्पदाको रुपमा सदाका लागि सुरक्षित गर्न सकिन्छ । तर, त्यसका लागि नेपाल सरकारले उच्च प्राथमिकतामा लिनु पर्दछ । त्यसको लागि सबैभन्दा पहिले विश्व सम्पदामा पर्ने बस्तुहरुको पहिचान गरी नेपाल सरकारले संरक्षित क्षेत्र घोषणा गर्नुपर्दछ । संरक्षित क्षेत्र घोषणा नभईकन विश्व सम्पदा सुचिमा पार्न सकिन्न । त्यसका लागि नेपाल सरकारले मन्त्रिपरिषदको बैठकबाट संरक्षित क्षेत्र घोषणा गर्नुपर्दछ ।
नेपालमा रहेका विश्व सम्पदा क्षेत्रहरु
युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा (सांस्कृतिक र प्राकृतिक) लाई सूचीकृत गरिएका छन् । सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौँ उपत्यकाभित्रका सात स्मारक क्षेत्र (तीन वटा ऐतिहासिक दरवार, दुई वटा बौद्ध स्तुप र दुई वटा हिन्दू मन्दिर स्मारक) र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्टिूय निकुञ्ज रहेका छन्। उपत्यकाका ती सम्पदालाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।
१. काठमाडौँ दरवार क्षेत्र – यो क्षेत्र काठमाडौँ नगरको मध्यमा छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा महत्वपूर्ण स्मारकमा तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत मुख्य आकर्षणका स्मारक हुन् ।
२. पाटन दरवार क्षेत्र – कलाको शहरका रूपमा परिचित पाटन दरवार क्षेत्रमा रहेका स्मारक अधिकांश १६ औँ देखि १८ औँ शताब्दीसम्म निर्माण गरिएका हुन् । प्रायः राजा सिद्धिनरसिंह, श्रीनिवास र योगनरेन्द्र मल्लले निर्माण गर्न लगाएका थिए । मूलचोक, सुन्दरीचोक, मणिकेशवनारायण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वरलगायतका मुख्य आकर्षणका क्षेत्र हुन् । ढुङ्गाबाट निर्मित कृष्ण मन्दिरको वरिपरि रामायण र महाभारतका दृश्य कुँदिएका छन् ।
३. भक्तपुर दरवार क्षेत्र – भक्तपुरको मुख्य नगर राजा आनन्ददेवले स्थापना गर्न लगाएको गोपालराज वंशावलीमा उल्लेख छ । तैपनि यो शहर लिच्छविकालीन हुनसक्ने अनुमानसमेत गरिएको छ । सिंहद्वार, स्वर्णद्वार, चारधाम, ५५ झ्याले दरवार, तौमडी, न्यातपोल मन्दिर, दत्तात्रेय मन्दिर, पूजारीमठ आदि हेर्न लायक छन् । यहाँका प्रमुख स्मारकमा सिंहद्वार, स्वर्णद्वार, चारधाम, पचपन्न झ्याले दरबार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पूजारी मठ, भूपतेन्द्र मल्लको सालिक आदि रहेका छन् । यहाँको पचपन्न झ्याले दरबार त राजा यक्ष मल्लको समयमा सन् १४२७ मा बनेको र सत्रौं शताब्दीमा आएर राजा भूपतेन्द्र मल्लका पालामा पुनर्निर्माण गरिएको हो । कला सङ्ग्रहालय यहाँको अर्को उल्लेख थलो हो ।
४. पशुपतिनाथको मन्दिर – विश्वभरिका हिन्दूको पवित्रस्थलका रूपमा रहेको पशुपतिनाथ मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । भारतको चार धामको दर्शनपछि पशुपतिनाथको दर्शन गरेमात्र चारधामको दर्शन पूरा हुने मान्यता रहेको सो मन्दिर राजा भूपालेन्द्र मल्लले निर्माण गर्न लगाएको मानिन्छ ।
५. स्वयम्भूनाथ – काठमाडौँ उपत्यकाको पश्चिमतर्फको पद्मकण्ठ गिरि पहाडको थुम्कोमा रहेको स्वयम्भूनाथ अति प्रसिद्ध बौद्ध मन्दिर र चैत्य हो । ३६० वटा खुड्किलो पार गरेपछि स्वयम्भूनाथको महाचैत्यमा पुग्न सकिन्छ । लिच्छविकालमा निर्माण गरिएको स्वयम्भू क्षेत्रमा थप्रै स्तुप छन् ।
६. बौद्धनाथ – काठमाडौँको बौद्धमा रहेको ३६ मिटर अग्लो बौद्धनाथ स्तूप दक्षिण एसियाकै ठूला स्तूपमध्ये एक हो । मण्डल आकारमा रहेको बौद्धनाथ स्तुपको निर्माण पाँचौं शताब्दीमा भएको हो । आठौँ शताब्दीमा यसको जीर्णोद्धार गरिएको थियो । पाँचौ शताब्दीमा अर्थात् लिच्छविकालमा निर्माण गरिएको बौद्धनाथ निर्माण गर्दा १२ वर्ष लागेको बताइन्छ ।
७. चाँगुनारायण मन्दिर – भगवान विष्णुको मन्दिरका रूपमा रहेको चाँगुनारायणको निर्माणका बारेमा आजसम्म पनि तथ्य फेला पर्न सकेको छैन । विष्णुको मन्दिरको रूपमा रहेको चाँगुनारायणको निर्माण चौथौ शताब्दीमा भएको बताइन्छ । यहाँ रहेको शिलालेखले यो मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिरमध्ये एक रहेको जनाउँछ । यहाँका प्रस्तर, काष्ठ तथा धातुकला उदाहरणीय छन् । यहाँका उल्लेख्य कलामा विश्वरूप, विष्णु विक्रान्त, नरसिंह विष्णु आदि रहेका छन् ।
८. लुम्बिनी – ईशापूर्व ६२३ मा बुद्ध जन्मिएको स्थल । काठमाडौंबाट करिब तीन सय किलोमिटर दक्षिण(पश्चिममा अवस्थित लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर, अशोक स्तम्भ, शाक्य पुष्करिणी तलाउ आदि रहेका छन् । यहाँ विभिन्न मित्रराष्टूले बौद्ध स्तूप निर्माण गरेका छन् । यहाँ सङ्ग्रहालय र अनुसन्धान केन्द्र पनि रहेको छ ।
९. चितवन राष्टिूय निकुञ्ज – सन् १९७३ मा स्थापित यो निकुञ्जमा वन्यजन्तु तथा सयौँ प्रजातिका वनस्पतिको अवलोकन गर्न सकिन्छ । तराईको समथर मैदानमा रहेको यो राष्टिूय निकुञ्ज नेपालकै पहिलो राष्टिूय निकुञ्ज हो । ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज एसियाकै संरक्षित क्षेत्रमध्ये एकको रूपमा रहेको छ । वनस्पति तथा वन्यजन्तुका निकै सम्पन्न चितवन राष्टिूय निकुञ्ज पाटेबाघ, एक सिङ्गे गैंडा, घडियाल गोही आदि जस्ता दुर्लभ जनावरको महत्वपूर्ण वासस्थलको रूपमा रहेको छ ।
१०. सगरमाथा राष्टिूय निकुञ्ज – सन् १९७६ मा स्थापित पूर्वी नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यस निकुञ्ज क्षेत्रमा विश्वकै सर्वाच्च शिखर सगरमाथा पनि छ । यसै निकुञ्जभित्र छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चो ओयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिम चुचुराहरू पर्दछन् । कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, झारल आदि यहाँका मुख्य वन्यजन्तु हुन् ।
संयुक्त राष्टू सङ्घिय अङ्ग युनेस्को द्वारा बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ । यूनेस्कोले कुनै पनि राष्टूको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर) धरोहरहरुलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समिति द्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वाधानमा गर्दछ । यस कार्यक्रमको उद्देश्य विश्वको यस्तो स्थलहरुलाई सूचीबद्ध गर्ने तथा संरक्षित गर्ने हुन्छ जुन विश्व संस्कृतिको दृष्टिले मानवताको लागि महत्वपूर्ण हुन्छ । केहि खास परिस्थितिमा यस्तो सम्पदाहरुलाई यस समिति द्वारा आर्थिक सहयोग पनि प्रदान गर्ने गरिन्छ । सन् २०१३ सम्ममा १६० राष्टूका ९८१ क्षेत्रलाई विश्व सम्पदाका रूपमा सूचीकृत गरिएको छ जसमा ७५९ सांस्कृतिक, १९३ प्राकृतिक र २९ मिश्रत रहेका छन् ।प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ तर अन्तर्राष्टिूय समुदायको हितमा पनि यहि बेश हुन्छ कि आउने पिढीलाई तथा मनावताको हितको लागि पनि यस्ता विशेष सम्पदाको संरक्षण गरियोस । तथापि पुरै विश्व समुदायलाई यसको संरक्षणको जिम्मेवारी रहन्छ ।
नामाङ्कन प्रक्रिया
कुनै पनि देशले सर्वप्रथम आफ्नो महत्वपूर्ण सांस्कृतिक र प्राकृतिक सम्पदाको एउटा सूची बनाउनु पर्ने हुन्छ । यसलाई प्रारम्भिक सूची पनि भन्ने गरिन्छ । यो आवश्यक छ, किन भने त्यो राष्टूले यस्तो कुनै सम्पदालाई नामाङ्कन नगरोस जसको नाम त्यस सुचिमा पहिले देखि नै सम्मलित छैन अर्को त्यस राष्टूले यस सुचि मध्ये कुनै सम्पदालाई चयन गरेर नामाङ्कन फाइलमा हाल्न सक्छ । विश्व सम्पदा समितिले कुनै पनि राष्टूलाई फाइल बनाउदा चाहिएको सल्लाह तथा सहयोग गर्ने कार्य गर्दछ ।
त्यस फाइललाई स्वतन्त्र रुपले दुई संगठनहरु अन्तर्राष्टिूय स्मारक तथा स्थल परिषद तथा विश्व संरक्षण संघद्वारा मुल्यांकन गर्ने गरिन्छ । यस संस्थाहरुले पछी विश्व सम्पदा समितिलाई सूचीको सिफारिश पठाउछ । समितिको बैठक वर्षमा एक पटक हुन्छ जसमा नामांकित सम्पदालाई विश्व सम्पदा सूचीमा राख्ने अथवा नराख्ने भन्ने बिषयमा निर्णय गर्ने गरिन्छ । जानकारी अपुग भएको अवस्थामा यस समितिले आफ्नो निर्णयलाई सुरक्षित राख्दछ । युनेस्कोले कुनै पनि सम्पदालाई सूचीमा सुचिकृत गर्न १० मापदण्ड बनाएको छ जसमध्ये सुचिकृत हुन कम्तीमा एउटा मापदण्ड पुरा गर्नु पर्दछ ।

नेपालले सन् १९९६ र त्यसपछिका वर्षमा गरी अहिलेसम्म १५ वटा विभिन्न सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसमक्ष आग्रह गरेको छ ।
 यी सम्पदाका बारेमा भने निर्णय हुन बाँकी छ । नेपालद्वारा प्रस्तावित सम्पदा हुन ः

१. पनौतीको मध्यकालीन वास्तुकला क्षेत्र ( (सन् १९९६)
२. प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिरौलाकोट ( (सन् १९९६)
३. मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला ( (सन् १९९६)
४. गोरखास्थित मध्यकालीन दरबार क्षेत्र ( (सन् १९९६)
५. रामग्राम ( (सन् १९९६)
६. खोकना ( (सन् १९९६)
७. लो मान्थाङ ( (सन् २००८)
८. बज्रयोगिनी र साँखुका प्रारम्भिक बस्ती ( (सन् २००८)
९. कीर्तिपुरको मध्यकालीन वस्ती ( (सन् २००८)
१०. रूरू क्षेत्रको ऋषिकेश हाता ( (सन् २००८)
११. नुवाकोट दरबार क्षेत्र ( (सन् २००८)
१२. रामजानकी मन्दिर, जनकपुर ( (सन् २००८)
१३. तानसेनको मध्यकालीन नगर ( (सन् २००८)
१४. सिंजा उपत्यका ( (सन् २००८)
१५. दैलेखेको भुर्ती मन्दिर क्षेत्र ( (सन् २००८)




२०७३ कार्तिक ०७ गते आईतबार

No comments:

Post a Comment