Tuesday, August 23, 2016

प्रेम, समर्पण, सद्भाव र आत्मीयताको पर्व ‘रक्षाबन्धन’

गोपाल बराल
बर्दिवास...........
रक्षाबन्धन (राखी) पर्व नजिकिएसँगै महोतरी जिल्लाका गाउँनगर बस्तीमा पर्वको रौनक बढ्दो देखिदो छ । साउन शुक्ल पूर्णिमाका दिन मनाइने दाजुभाइ तथा दिदीबहिनीबीचको यो भावनात्मक पर्वको अवसरमा जिल्लाका गाउँनगर बस्तीमा पर्वको पूर्वतयारीले रौनक बृद्धि गरेको हो ।
      प्रेम, समर्पण, सद्भाव र आत्मियताको मूलभाव हुने यसपर्वमा महोतरीलगायतका मिथिलाक्षेत्रका प्रत्येक हाटबजारमा रङगीबिरङगी रक्षाबन्धन (राखी) का डोरा  बिक्रीका लागि सजाइएका छन् । प्रत्येकजसो गाउँनगर, हाट पसल र ठूलठूला ब्यापारिक प्रतिष्ठानहरुमा दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धको  भाव समेटिएका गीत गुञ्जन थालेपछि मिथिला नै  यो पर्वमा रङगिएको देखिदो छ ।  साउन शुक्लपक्ष सुरु हुनसँगै दाजुभाइ तथा दिदीबहिनीबीच न्यानो सम्बन्ध दर्शाउने गरी कलात्मक ढङगले तयार गरिएका  रक्षाबन्धन किन्न अहिले प्रत्येकजसो पसलमा चेलीबेटीहरुको भिड नै उर्लेको देखिदो छ । अब दुई दिनपछि आइतबारका दिन मनाइने यो पर्वका लागि जिल्लाका धेरैैजसो ब्यापारिक प्रतिष्ठानले थप आकर्षण थपेका देखिदो छ ।     
 हाट बजारका सबैजसो पसलमा मधुरो स्वरमा गुञ्जिरहेका गीत र फुटपाथदेखि ठूलठूला ब्यापारिक प्रतिष्ठानमा सजाइएका रक्षाबन्धनको डोरा किन्ने नवयौवना मिथिलानी (मिथिलाका नारी) दिदीबहिनीको चहलपहलले मिथिलाको परिवेश नै उमङगित देखिएको छ । जिल्लाका सबैजसो सिनेमाघरमा समेत रक्षाबन्धन पर्वकै कथानक रहेका सिनेमा चलाइएका र सबैजसो हलबाट दिदीबहिनी र दाजुभाईबीच पर्व बिशेषमा हुने भेटको ब्यग्रताका भाव समेटिएका गीतहरु लगातार गुञ्जीरहदा सामान्य बटुवासमेत त्यसको भावमा डुब्दै मिठो कल्पनामा डुब्ने गरेका जिल्लाकै  बदिर्वासका सामाजिक कार्यकर्ता नागदेव यादबको  धारणा छ । बजार हाटमा रक्षाबन्धन किन्न बस्त्रआभुषणले सजिसजाउ भएर निस्केका  मिथिलानीको सघन आउजाउ, प्रत्येक फुटपाथमा सजाएर राखिएका राखी र लगातार मधुरस्वरमा गुञ्जिने दाजुभाइप्रतिको समर्पण र दिदीबहिनीको स्नेहपूर्ण स्पर्शको कल्पनाले शव्दमा सिंगारिएका गीतले जोसुकैलाई तरङगित बनाउने गरेको छ । मिथिला लोकसंस्कृतिको अभिन्न अङग बनेको यो पर्व अन्य धर्मावलम्बीका लागि पनि लोभलाग्दो बन्ने गरेको जलेश्वरका इस्लामधर्मावलम्बी युवा ब्यापारी मोहम्मद रब्बानी बताउनुहुन्छ ।                
 कैयौंजनाको समूहमा आउने मिथिलानीहरु आआफना दाजुभाइका लागि उनीहरुको रोगन (छाला) अनुसार सुहाउने रक्षाबन्धन छानेर लाने गरेका ब्यापारीहरु बताउछन् । समान्यतया समान किन्दा निकै बेरसम्म मोलमोलाई गर्ने आम प्रचलन भए पनि रक्षाबन्धन किन्दा भने कसैले त्यस्तो नगर्ने गरेको ब्यापारीहरुको अनुभव छ । ग्राहक भएर आएका दिदीबहिनीले छानेका रक्षाबन्धन किन्दा उनीहरुले मोलमोलाई नगर्ने भएकाले बिवेक पु¥याएर मूल्य  भनिने गरिएको जिल्लाकै सीतापुर बजारका ब्यापारी शम्भु साहले बताउनुभयो ।            
जिल्लाका बजारका पसलहरुमा पाच÷छ रुपैंयादेखि दुई÷तीनसयसम्मका रक्षाबन्धन (राखी) का डोरा बिक्रीका लागि राखिएका भए पनि मध्यम मूल्यका (प्रतिगोटा १०० रुपैंयासम्मका) राखी बढी बिक्री हुने गरेका ब्यापारीहरु बताउँछन् ।                      
दाजुभाइको रक्षाको कामना एबम् दीर्घजीवनको शुभेच्छा राखेर बाँधिने रक्षाबन्धनको मूल्यमा मोलमोलाई गरिदा उनीहरुप्रतिको समर्पण भावभन्दा रुपंैयाँ पैसाको लालच देखिनेहुँदा ब्यापारीले भनेकै मूल्यमा किन्ने गरेको मिथिलानीहरुको भनाइ छ ।
आफूले होस सम्भालेयता २५ बर्र्षदेखि लगातार दाजुभाइलाई बाँध्न राखी किन्ने गरेको बिगत सम्झदै भङगहा ८ की ३९ बर्षीया कमला गिरीले मूल्यकै कारण कहिल्यै ठगिएको कुरा कल्पनासम्म पनि नगरिएको बताउनुभयो ।            
साउन शुक्लपक्ष सुरु हुनासाथै मन दाजुभाइसँगको मिठो भेटको कल्पनामा डुब्ने गरेको आम मिथिलानी बताउँछन् । अघि सत्ययुगमा दैंत्यराज बलीलाई देवताहरुसँगको युद्धमा जानेबेला बहिनीहरु गङगा र यमुनाले साउन शुक्ल पूर्णिमाका दिन खासबिधिबाट अभिमन्त्रित गरिएको डोरा बाँधी दिनाले सबै युद्धमा उनको जित भएको पौराणिक कथाको आधारमा यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका जानकार बताउँछन् । खासगरी तराई मधेसका मूल बासिन्दा सबै जातजाती समुदायमा उतिकै हर्र्षोेल्लास र प्रेमपूर्ण ढङगले मनाइने यो पर्व अब मधेसमा बसोबास गर्ने पाहाडी समुदायको पनि अभिन्न अङग बनिसकेको बर्दिवास (७ का बासिन्दा श्रीमद्भागवतका ब्याख्याता पण्डित गोपीकृष्ण काफलेको भनाइ छ ।  पर्वबिशेषमा घरघरमा हुने दिदीबहिनीको चहलपहलले दिदीबहिनी नहुने दाजुभाइले नजिकका नातेदार वा कसैलाई दिदीबहिनी मानेर उनीहरुका हातबाट राखी बाँध्ने आम परम्पराले यस पर्वको महत्ता झनै बढाएको जिल्लाका बुद्धिजीवी बताउछन् । पर्वमा बिबाहित दिदीबहिनी माइती आउने वा दाजुभाइलाई आफनै घरमा बोलाउने उतीकै चलन देखिन्छ ।    
 दाजुभाइका हातमा  रक्षाबन्धन बाँधि दिएपछि तिम्रो सधै कल्याण र रक्षा होस्  भन्दै दिदीबहिनीले मिष्टान्न परिकार आफ्ना दाजुभाइलाई ख्वाएपछि दाजुभाइले आफ्ना दिदीबहिनीलाई नयाँ बस्त्र र रुपैंयाँ पैसा दक्षिणास्वरुप दिने मैथिल परम्परा छ । अरु समयमा दिदीबहिनीलाई हेला गर्ने  र कुनै चाहना नदेखाउने पनि पर्वबिशेषमा उनीहरुका हातबाट राखी बाँध्न लालायित देखिनुले पर्वको महत्वलाई चुल्याएको समाजशास्त्रीहरु बताउँछन् । पर्वको रौनक र चहलपहलले दिदीबहिनी नहुनेलाई मन कुड्याउने गरेको देखिने गरेको हुदा  यस्ले लैङगिक समानताका लागिसमेत आम समुदायलाई सकारात्मक सन्देस दिने गरेको जिल्लाको बर्दिवासस्थित सामुदायिक रेडियो दर्पणकी कार्यक्रम सञ्चालिका गीता चिमोरियाको   धारणा छ ।

२०७३ भाद्र ०५ गते आईतबार

No comments:

Post a Comment