Tuesday, August 23, 2016

रामविनोद यादव कारागार चलान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्ला अदालतमा ३२ साउन २०७३, मंगलबार एकाएक हाजिर भएका जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्डका अभियुक्त रामविनोद यादवलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । सिंघानियाको हत्या पश्चात लामो समयदेखि फरार रहेर प्रहरीको व्यापक खोजविनको सूचिमा रहेका अभियुक्त यादव मंगलबार एकाएक धनुषा जिल्ला अदालतमा हाजिर भएका थिए ।
धनुषा कनपट्टीका ४५ वर्षिय यादव मंगलवार दिउँसो १ वजे एककासी धनुषा जिल्ला अदालतको ईजलास नं. ५ मा हाजिर भएका थिए । हाजिर पश्चात यादवको तर्फबाट आधिवक्ता चन्द्र किशोर शर्मा मैनाली , विजय ठाकुर र राजेन्द्र दहालले वकालत गरेका थिए भने विपक्षमा सरकारी वकिल टेक बहादुर कार्की र  होम कार्कीले बहस गरेका थिए । अदालतमा यादवले आफु धनुषाका निलम्बित सभासद तथा घटनामा मुख्य योजनाकारको आरोपित  संजय साह र प्रतिवादी ओमप्रकाश यादव बाहेक अरु कसैलाई नचिनेको बताएका थिए । घटना भएका दिन आफु आफ्नो पैत्रिक गाउँ कनकपट्टीमा रहेको तथा उक्त घटनाका अन्य प्रतिवादीहरु र मृतकसँग भेटघाट नभएको अदालतमा बयान गरेका छन् । सिंघानिया हत्या काण्डमा आफु संलग्न नभएको तथा आफुलाई जाहेरवाला लगायत अन्य प्रतिवादीहरुले आफ्नो नाउँ किन पोल गरेको हो भन्ने कुरा आफुलाई समेत थाहा नरहेको राम विनोद यादवले अदालत समक्ष बयान दिएका थिए । आफु निर्दोष छु भनेर साक्षी सबुत प्रमाणको रुपमा राम विनोद यादवले कनकपट्टी १ बस्ने ५५ बर्षिय तिलेश्वर यादव, सोही गाउँका ६२ बर्षिय सुराई यादव, ५० बर्षिय लक्ष्मण यादव र ६० बर्षिय बिन्देश्वर यादवलाई साक्षीको रुपमा प्रस्तुत गरेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले प्रहरीले आफुमाथि ज्यादती गरेको तथा न्याय पाउनका लागि आत्मसम्र्पण गरेको बताए ।
ईजलास नं. ५ का न्यायाधीस डा.राजेन्द्र प्रसाद कुमार आचार्यले प्रतिवादीका विरुद्धमा गरिएका कागजातहरुबाट निजहरुको भुमिका तथा संलग्नताको बारेमा तथ्यहरु खुलेको ती कागजातहरु निजहरुका विरुद्धमा हाल थुनछेकको रोहमा प्रमाण लाग्ने देखिन्छ, निजहरुका भुमिका समेतलाई मध्यनजर गरी यी प्रतिवादीलाई पछि प्रमाणबाट अन्यथा देखिएको अवस्थामा सोही बमोजिम हुने गरी हाल गरे विराएको भन्ने देखिन आएकोले अदालती बन्दोवस्तको ११८ को देहाय २ बमोजिम पुर्पक्षको लागि हाल थुनामा राख्नु भनि आदेश गरेको पाइन्छ । आदेशले अभियुक्त यादवलाई पूर्पक्षको लागि महोत्तरीको जलेश्वर कारागार पठाउने आदेश दिएको अदालतले जनाएको छ ।
अभियुक्त यादव एकाएक अदालतमा हाजिर हुँदा प्रहरी लगायत सर्वसाधारणसमेत आश्चर्य चकित भएका थिए । अहिले पुनः सञ्चार उद्यमी सिंघानिया हत्याकाण्ड चर्चाको विषय बनेको छ । जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंहानियाको वि.स.२०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुरको शिवचोकमा गोली प्रहार गरी  हत्या भएको थियो ।
 यस अघि गत बैशाख १४ गते धनुषा जिल्ला अदालतले सिंहानिया हत्याकाण्डमा संलग्न रहेको आरोपमा  तीन जना अभियुक्तलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । भने अन्य तीन जना अभियुक्तलाई धरौटी राखी साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।  सिंघानिया हत्याको मुख्य योजनाकार रहेको अभियोग लागेका धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित एवं निलम्बित सांसद संजय कुमार साहको अदालतमा बयान हुने कार्य बाँकी नै रहेको छ । उनी अन्य घटना जनकपुर बम काण्डमा थुनामा कारागारमा छन् । त्यस्तै सिंघानिया हत्याको सुटर एवं हतियार व्यवस्थापनको अभियोग लागेका तराईमा शसस्त्र गतिविधी गर्दै आएका कथित जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप र  सोहि घटनामा संलग्न रहेको अभियोगमा एकलाल सहनीलाईसमेत थुनामा छन् । सुटर मनक लामा समेत थुनामा छन् ।
त्यस्तै अन्य घटनामा संलग्न अभियु्क्तहरु ओमप्रकाश यादवलाई २ लाख रुपैँया र रामकरण यादवलाई ५० हजार रुपैँया धरौटीमा तारेखमा रिहा गर्न आदेश भएको जनाएको छ । यस्तै सिंघानिया हत्या घट्नामा संलग्न भनिएका मुकेश चौधरीलाई यस घट्नामा २० रुपैँया धरौटीमा रिहा गर्न आदालत आदेश दिएको छ । चौधरी वि.स. २०६९ बैशाख १८ गते जनकपुरको रामानन्दचोकमा पाँच जनाको ज्यान जाने गरी भएको बमकाण्डको मुख्य अभियुक्तको रुपमा पक्राउ परी थुनामै रहेका छन् ।  हत्यामा संलग्न मुख्य सुटर मनक लामा गत जेष्ठ महिनामा पक्राउ पररी थुनामा छन् ।
त्यसैगरी उक्त घटनाका अर्का प्रतिवादी धनुषा भरतपुर ९ का २६ बर्षिय अंसी राइनलाई समेत १७ साउन २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासले कारागारमा पुर्पक्षको लागि थुनामा राख्न पठाउनु भनि आदेश गरेको थियो । राइनलाई अन्य मुद्दामा कारागार कार्यालय सिन्धुलीमा पहिले देखि नै अन्य मुद्दामा थुनामा रहेको अवस्थामा सिंघानिया हत्या काण्डमा पनि प्रहरीले अदालतमा उपस्थित गराई बयान लिएको थियो ।
गत चैत १७ गते सिंघानिया हत्या पश्चात फरार रही शसस्त्र गतिविधि गर्दै आएका चन्द्रदीप यादव पक्राउ परेपछि प्रहरीले अनुसन्धान तिव्र रुपमा बढाएको थियो । उनीहरुको बयानको आधारमा प्रहरीले गत चैत २४ गते थुनामै रहेका सद्भावना पार्टीका उपाध्यक्षसमेत रहेका संजय साह नै सिंघानिया हत्याकाण्डको मुख्य योजनाकार बनाई मुद्दा दायर गरेको थियो । त्यही बेलादेखि अदालतमा अरुण सिंघानिया हत्याकाण्डको विषयमा निरन्तर वयान चल्दै आएको थियो । 
त्यसबेला यस घटनामा आफ्नो संलग्नता नरहेको भन्दै निलम्बित सांसद संजय साह गएको चैत २३ गतेदेखि नै उच्च न्यायिक आयोग छानविनको माग गर्दै थुनामे   आमरण अन्शनमा बसेका थिए ।  
रामविनोद यादव अदालतमा हाजिर भएपछि फेरी जनकपुरमा अरुण सिंहानिया हत्याकाण्ड चर्चामा आएको छ । रामविनोद यदव संजय साहका निकटतम् व्यक्ति मानिन्छ ।

२०७३ भाद्र ०५ गते आईतबार

No comments:

Post a Comment