Thursday, July 21, 2016

महन्थ बैकुण्ठ माथि लाग्ने गरेका आरोपहरु

अजय अनुरागी
जनकपुरधाम............
रत्नसागर मन्दिरका महन्थ बैकुण्ठदास बैष्णव जनकपुरमा धेरै विवादास्पद व्यक्ति भएको रुपमा चिनिने गरिन्छ ।  कतिपय मानिसहरुले उनलाई स्थानीय ‘डन’को रुपमा पनि हेर्ने गर्छन् । पेशाले उनी पूजा पाठ गर्ने एउटा धार्मिक व्यक्ति महन्थको रुपमा रहेपनि उनलाई स्थानीय समाजले महन्थको रुपमा भन्दा पनि डनको रुपमा लिने गरेको पाइन्छ । उनी  विरुद्ध विभिन्न समयमा विभिन्न निकायहरुमा विभिन्न आरोपहरुको उजुरीहरु परेको देखिन्छ । भारतीय नागरिक भई नेपाली नागरिकता प्राप्त गरेको, महन्थ भएर अवैध रुपमा गुठी संस्थानका सम्पतिहरु विक्री गरी करोडौं रुपैयाँ आर्जन गरेको आरोपहरु लाग्ने गरेका छन् । पछिल्लो समयमा लाल किशोर झाको हत्याको प्रमुख योजनाकारको रुपमा अभियोग लगाइएको भएपनि धनुषा जिल्ला अदालतबाट २९ अषाढ २०७३ मा उनले सफाई पाएका छन् । यसरी हेर्ने हो भने उनको जीवनमा विवाद र आरोपको लामो श्रृङ्खला रहेको पाइन्छ ।
 भारत विहारको मुझफ्फ्पुर जिल्ला मधेपुर बस्ने राम श्रेष्ठ तिवारीको छोरा बैकुण्ठ तिवारी रहेपनि जनकपुर नगरपालिका वडा नम्बर ८ स्थित रत्नसागर मन्दिरका पुर्व महन्थ राम प्रकाश दास वैष्णवलाई नक्कली पिता बनाई जिल्ला प्रशासन कार्यालय धनुषाबाट बैकुण्ठ तिवारीको नाऊँमा १७ कार्तिक २०५० मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट उनले नागरिकता प्रमाण पत्र प्राप्त गरेको बताइन्छ । भारतको मधेपुराका सरपन्च मुन्द्रिका देवीले प्रमाणित गरेर दिएको बंशावलीको प्रतिलिपीमा भिखारी तिवारीका छोरा राम श्रेष्ठ तिवारी रहेको र राम श्रेष्ठका तिन छोराहरु मध्ये जेठो बैकुण्ठ तिवारी, माइलो अनिल तिवारी र कान्छो अमित तिवारी रहेको उल्लेख छ । धेरैले के प्रश्न उठाउने गरेको छ भने बैकुण्ठ दास बैष्णवले नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा अविवाहित व्यक्ति तथा महन्थ रामप्रकाश दास बैष्णवलाई आफ्नो पिता रहेको बताएका छन् । जब कि रामप्रकाश वैष्णवले आजिवन विवाह नै गरेका छैनन भने उनका छोराहरु कसरी जन्मिए भन्ने प्रश्नको उत्तर हालसम्म आउन सकेको छैन । बैकुण्ठ दास बैष्णवले आफु सँगै आफ्ना सहोदर भाई अनिल तिवारीलाई पनि नेपाली नागरिकता दिलाई भाईको नामबाट जनकपुर वरपरमा जग्गा जमिनहरु जोडेको बताइन्छ ।
रत्नसागर स्थानका महन्थ राम प्रकाश दास बैष्णव जिवित छँदै बैकुण्ठ तिवारीले गुठीका तत्कालिन प्रमुखलाई आफ्नो प्रभावमा पारेर ५ बर्षका लागि मन्दिरको महन्थ बन्न उनी सफल भएका थिए । गुठी संस्थान केन्द्रिय कार्यालयले १३ फागुन २०६० मा उनलाई १ बर्षको परीक्षणकाल समेत बढीमा ५ बर्षको लागि गुठी संस्थान धनुषाले नियूक्ती गरेको देखिन्छ । त्यसपछि उनको म्याद गुठीले थप नगरेको बताइन्छ । मठको श्रीसम्पति अवैध रुपमा बेच विखन गर्न लागेको, बेचिएको जग्गामा बसेको बस्तीको नामाकरण आफ्नै नामबाट बैकुण्ठ नगर कायम गरेको जस्ता अवैध र रत्नसागर मठ लगायत साना स्थानहरुको जग्गा समेत बेच विखन गर्न थालेपछि गुठी संस्थान केन्द्रिय कार्यालयले स्थानीय बासिन्दा र गुठी संस्थान शाखा कार्यालय जनकपुरको उजुरीमा २ कार्तिक २०६९ मा बैकुण्ठलाई मठबाट हटाउन पत्राचार समेत गरेको थियो । तर, सर्बोच्च अदालतमा गुठी संस्थानका विभिन्न पत्रहरुको किर्ते गरी नक्कली नियूक्ती पत्र पेश गरी अदालतलाई झुक्याई आफ्नो महन्थको पद कायम गर्न लगाएको समेत आरोप लाग्ने गरेको छ । यति मात्र होइन गुठी संस्थान केन्द्रिय कार्यालयको निर्देशन अनुसार गुठी संस्थान जनकपुरले त्यसको एक दिन पछि अर्थात ३ कार्तिक २०६९ मा जारी गरिएको पत्रमा महन्थ बैकुण्ठ दास बैष्णवलाई पुर्व महन्थको संज्ञा दिँदै मठको सम्पुर्ण श्रीसम्पति बर बुझारथ गरी ३ दिन भित्र मठ खाली गराईदिने भनि निर्देशन समेत दिएको थियो । तर, महन्थ बैकुण्ठले फेरी सोही मितिमा चलानी नम्बर ३१४ को पत्र किर्ते गरी रत्नसागर मठको काम काज संतोषजनक ढंगले गरेकोले हटाउने सम्बन्धि कारवाही गर्न नहुन केन्द्रिय गुठीको नाममा पत्र बनाएर जालसाजी गर्ने गरेको आरोप समेत उनी माथि लाग्ने गरेको छ । किनभने गुठीको रेकर्ड अनुसार चलानी नम्बर ३१४ नम्बरको पत्र जिल्ला मालपोत कार्यालय धनुषालाई लक्ष्मण मण्डलको नाउँमा जग्गा धनी प्रमाण पुर्जा बनाई दिने भनेर लेखिएको छ ।  मठ खाली गराउन गुठीबाट निर्देशन दिइएपछि उनले अर्को किर्ते जालसाजी गरी तयार गरेको पत्रको आधारमा सर्बोच्च अदालतबाट मठ खाली नगराउन अन्तरिम आदेश जारी गराउन उनी सफल भएको समेत भन्ने गरिएको छ । सर्बोच्च अदालतले बैकुण्ठको पक्षमा जारी गरेको आदेश पत्रमा गुठीले दिएको भनिएको उनको म्याद थप गर्न नपर्ने किर्ते पत्र र ३ कार्तिक २०६९ को चलानी नम्बर ३१४ को किर्ते पत्रलाई नै आधार मानिएको छ । जब कि उक्त दुवै पत्र किर्ते भएकोले गुठीले प्रमाणित गरी सर्बोच्च अदालतमा प्रस्तुत गर्दा पनि सर्बोच्च अदालतले महन्थ बैकुण्ठकै पक्षमा मठ खाली नगराउन भनि अन्तरिम आदेश जारी गराएको पाईन्छ ।
महन्थ बैकुण्ठका अवैधानिक क्रियाकलापहरु प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको पाइन्छ । ६ अषाढ २०६३ देखि विरख कुट्टीको महन्थ रामभद्र दास कालगतिले मरेकोमा निजको चेला वकिल दासले मारेको भनि झुठा जाहेरी दिई प्रहरी प्रशासनलाई मिलाई चेला वकिल दास बैष्णवलाई जेलमा पठाउन लगाई विरख कुट्टी कब्जा गरी उक्त अधिनस्थ जग्गा विक्री गरेको भन्दै धनुषा जिल्ला अदालतमा करिब २८ थान मुद्दा कारवाही यूक्त अवस्थामा रहेको व्यहोरा आयोगमा दिइएको उजुरीमा उल्लेख छ । त्यसैगरी रत्नसागर स्थानको जनकपुर नगरपालिका ८ स्थित करिब ७÷८ विघा जग्गा विक्री गरी बैकुण्ठ नगर भनि आप्mनै नामबाट सो टोलको नामाकरण गरेको आरोप समेत उक्त उजुरीमा लगाइएको छ ।
जनक हजारी विद्या पिठको भोग चलनमा रहेको जनकपुर नगरपालिका ८ स्थित कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर र कित्ता नम्बर २८ को २ विघा ८ कठ्ठा १४ धुर जग्गा गरी करिब अढाई अर्ब रुपैयाँ बराबरको सम्पतिको आफु संरक्षक रहने गरी रत्नसागर कुट्टीको नाउँमा दर्ता गराएपछि जनकपुरका नागरिक समाज र राजनीतिकर्मीहरुले विरोध गरेपछि सो जग्गाहरु उक्त क्याम्पसको नाउँमा पछि फिर्ता भएको थियो ।  रत्नसागर पोखरीको डिलमा रहेको अन्य ससाना मन्दिरहरुलाई बेचेर उनले सखाप गरिसकेको समेत आरोप लाग्ने गरेको छ । रत्नसागर पोखरीको उत्तर तर्फको डिलमा रहेको देरई (बेरही) कुट्टी गुठी मन्दिरका महन्थ जानकी सखी बेपत्ता भएपछि उक्त कुट्टीको महन्थ बैकुण्ठ नै भई उक्त मन्दिरको सम्पुर्ण जग्गा विक्री गरिसकेको तथा रत्नसागर स्थित नै रहेको राधाकृष्ण मन्दिरका महन्थ श्याम देव दासलाई समेतलाई मन्दिरबाट भगाई सो मन्दिरको सम्पुर्ण जग्गा जमिन महन्थ बैकुण्ठले विक्री गरिसकेको आरोप लाग्ने गरेको छ । यति आरोप लाग्दा लाग्दै पनि अकुत सम्पति आर्जन गरेका बैकुण्ठले पैसाको लेनदेनकै भरमा विभिन्न निकायहरुबाट  मुक्ति पाउने गरेको बताईन्छ ।


२०७३ श्रावण ०२ गते आईतबार

No comments:

Post a Comment