Thursday, July 21, 2016

धनुषामा सर्प दंशको विगविगी अन्धविश्वासका कारण मृत्यूदर बढ्दो

३० अषाढ २०७३ मा जनकपुर ८ कि रेखा शर्मालाई करैत सर्पले टोकेपछि जनकपुर
 अञ्चल अस्पतालमा उपचार गराउँदै ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिका ८ कि २७ बर्षिय रेखा शर्मालाई ३० अषाढ २०७३को राति करिब १२ बजे तिर आफ्नै घरमा सुतिरहेको बेला बहिरीकरैत नामक सर्पले टोकेको थियो । सुतिरहेको बेलामा खुट्टामा टोकेपछि हेर्दा सर्प रहेको थाहा पाएपछि उनलाई उनका परिवारजनले तुरुन्तै जनकपुर अञ्चल अस्पतालमा भर्ना गराए ।
३० अषाढ मै जनकपुर उपमहानगरपालिका बेंगा शिवपुरका २२ बर्षिय अजय कुमार यादवलाई खुट्टामा एउटा सर्पले टोकेको थियो । तत्कालै उनलाई पनि उपचार गराउनका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गराइयो । गैर विषालु सर्पले टोकेका कारण उनको जिउमा विष लागेन र ३१ अषाढमा उनलाई अस्पतालबाट डिसचार्ज गराइयो ।
३० अषाढमै धनुषाको सिनुरजोडाका ३० बर्षिय रामशरण यादवलाई, धनुषाको एकराहीका २३ बर्षिय धर्मेन्द्र गोइतलाई नचिनेको सर्पले टोकेपछि अहिले उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ ।
यसरी हेर्ने हो भने अहिले कुनै दिन ४ देखि ५ वटा सम्म सर्पले टोकेका विरामीहरु अञ्चल अस्पतालमा भर्ना भईरहेका छन् । गर्मी बढेसँगै बर्षा हुन थालेपछि सर्पहरु आफ्नो बासस्थानबाट बाहिर निस्किएर आफ्नो खानाको खोजीमा तथा प्रजनन गर्नका लागि बाहिर आउन थालेपछि सर्पको शिकार मानिसहरु हुन थालेका छन् । खास गरेर तराई मधेसका मध्य तथा पुर्वी क्षेत्रका जिल्लाहरुमा सर्प दंशको विगविगी बढेको हो । जनकपुर अञ्चल अस्पतालका इमरजेन्सी कक्षमा विगत १० बर्ष देखि कार्यरत चिकित्सक डा.अवधेश कान्त झाका अनुसार अस्पतालमा आउने विरामीहरुमा अधिकांशलाई गैरविषालु सर्पले टोकेको हुन्छ भने कतिपय विरामीहरुलाई विषालु सर्प गोहमन र करैतले पनि टोकेको हुन्छ । समयमै आईसकेका विरामीहरुलाई हामीले उपचार गरेर जोगाउन सफल भईरहेको भएपनि बाटोमै ढिलाई गरेर वा अन्य धामी झाक्री कहाँ गएर आउँदा ढिलाई भएर अस्पतालमा आएपछि कतिपय विरामीलाई जोगाउन नसकिएको हो ।
मिथिला वाइल्ड टूस्ट नामक संस्थाले सर्प दंश सम्बन्धि धनुषा जिल्लामा गरेको अनुसन्धान अनुसार जनकपुर अञ्चल अस्पतालमा आईसकेर उपचारको क्रममा मृत्यू हुने दर अत्यन्तै न्यून छ भने अन्यत्र धामी झाक्री कहाँ गएर उपचार गराउन जाँदा मृत्यू हुने दर अत्यन्तै वढी पाइएको छ । उक्त टूस्टले गरेको ४ बर्षको अनुसन्धानमा सन् २००९÷०१० देखि २०१२÷०१३ सम्ममा धनुषा जिल्लामा मात्रै १४ हजार ७ सय ४७ जनालाई सर्पले टोकेको पाइन्छ । जसमध्ये १ हजार २ सय ६७ जनाको मृत्यु भएको पाइन्छ । अस्पताल वा सशस्त्र प्रहरीको क्याम्पमा पुगेर उपचार गराउँदा मृत्यु दर अत्यन्तै न्यून पाइएको छ भने मदर्शामा गएर उपचार गराउनेहरुको मृत्यु दर धेरै वढी पाइएको छ ।जनकपुर अञ्चल अस्पतालमा १.५३ प्रतिशत, सशस्त्र प्रहरी बल बन्दीपुर क्याम्पमा ०.६७ प्रतिशत र मदर्शाहरुमा १२.८१ प्रतिशत मृत्युदर पाइएको छ ।
सन् २००९ जुलाई देखि सन् २०१३ जुलाईसम्म जनकपुर अञ्चल अस्पतालमा कुल ३ हजार ७९ वटा सर्प दंशका विरामीहरु भर्ना भएकोमा २ हजार ७ सय ४५ जनालाई गैर विषालु सर्पले टोकेको, ३ सय ३६ जनालाई मात्र विषालु सर्पले टोकेको तथा ४७ जना विरामीहरुको अस्पतालमा मृत्यू भएको पाइयो । सन् २००९ मा ४ सय २३ वटा, सन् २०१० मा ४ सय ६८ वटा, सन् २०११ मा ६ सय ७८ वटा र सन् २०१२ मा ४ सय ५७ वटा सर्प दंशका विरामीहरु अस्पतालमा भर्ना भएको उक्त अनुसन्धानले देखाएको छ ।
धनुषाको सोनापराका शत्रुधन महतोको घरबाट गोहमन सर्पलाई जिवितै उद्धार गर्दै मिथिला वाइल्ड लाईफ ट्रस्टका
 संयोजक देवनारायण मण्डल ।
त्यसैगरी धनुषाको बन्दिपुर स्थित सशस्त्र प्रहरीबलको क्याम्पमा उक्त ४ बर्षमा १ हजार ५ सय ९४ जना सर्प दंशका विरामीहरु पुगेकोमा ९२ जनालाई विषालु सर्पले, १ हजार ५ सय २ जनालाई गैर विषालु सर्पले टोकेकोमा कुल १० जनाको उपचारको क्रममा मृत्यु भएको पाइएको छ । ३ सय ७५ देखि ४ सय ३२ जनासम्म सर्प दंशका रोगीहरु उक्त क्याम्पमा प्रतिवर्ष उपचारका लागि पुग्ने गरेको उक्त अनुसन्धानले देखाएको छ ।
त्यसैगरी धनुषाका विभिन्न मदर्शाहरुमा समेत सर्प दंशका रोगीहरु जडीबुट्टीको तथा झारफुकको उपचारका लागि पुग्ने गरेको पाइएको छ । धनुषाको १० वटा मदर्शाहरुमा उक्त टूस्टले गरेको अनुसन्धानबाट के देखिएको छ भने सन् २०१० देखि २०१३ सम्म विगत ४ बर्षमा ९ हजार ४ सय ४७ जना सर्प दंशका विरामीहरु पुगेका पाइन्छन् । जसमध्ये कुल १ हजार २ सय १० जना रोगीहरुको ती मदर्शाहरुमा मृत्यु भएको पाइन्छ । प्रति बर्ष ती १० वटा मदर्शाहरुमा कुल  १ हजार ४ सय ७५ देखि २ हजार ६ सय ८३ जनासम्म सर्प दंशका रोगीहरु पुगेको पाइन्छ । अनुसन्धानमा संलग्न रहेका उक्त टूस्टका संयोजक देवनारायण मण्डल भन्छन,“ हाम्रो समाजमा अहिले पनि मदर्शा तथा धामी झाक्रीहरुले उपचार गर्दा सर्पको विष झारिन्छ भन्ने अन्धविश्वासले धेरै ठुलो जडो गाडेको पाइन्छ । तिनीहरुले उपचार गर्नै सक्दैनन् । झारफुकबाट सर्प दंशको उपचार नै हुँदैन । न त कुनै जडीबुट्टीबाट । त्यसैले त्यहाँ मृत्यु दर १२.८१ प्रतिशत पाइएको छ ।” कतिपय मानिसहरु ठिक भएर ती मदर्शाबाट किन फर्किन्छन भने ती मानिसहरुलाई विषालु सर्पले टोकेको हुँदैन । त्यसकारण मानिसहरुमा अन्ध विश्वास अत्यन्तै वढ्दै गएको मण्डलको बुझाई छ ।
उक्त टूस्टले धनुषाको विभिन्न २५ वटा गाविसहरुमा गरेको सर्वेक्षण अनुसार सन् २०१२ मा ४ सय ८ र सन् २०१३ मा २ सय १९ वटा सर्प दंशका घटनाहरु भएकोमा ६४ जनाको सर्प दंशकै कारण मृत्यु भएको पाइयो । धनुषाको कजरा रमौलमा सबैभन्दा वढी ४२ वटा, नक्टाझिजमा ४१ वटा, ढल्केवरमा ३९ वटा र बालाबाखरमा ३९ वटा सर्प दंशका घटनाहरु देखिएका छन् । ती २५ वटा गाविसहरु मध्ये १८ वटा गाविसहरु पहिले बन जंगल क्षेत्र थिए जो पछि गएर कृषि जन्य क्षेत्र र मानव बसोवासका बस्ती बसाइएका कारण ती गाविसहरुमा विषालु सर्पहरु उल्लेख्य रुपमा पाउने गरिएको छ । ग्रामिण क्षेत्रका अधिकांश मानिसहरु सर्पलाई चिन्न सक्ने ज्ञानको अभाव हुनुका साथै सर्पले टोक्ने वितिकै अस्पतालमा उपचार गराउन जानुको सट्टा मदर्शामा गएर झारफुक गराउने गरेको पाइएको छ ।
दक्षिण एसियाको कुरा गर्ने हो भने भारत, बंगलादेश, नेपाल र पाकिस्तानमा मात्रै कम्तिमा ५० हजार भन्दा बढी मानिसहरु प्रतिवर्ष सर्प दंशका कारण मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार नेपालमा प्रति बर्ष २० हजार जति मानिसहरुलाई सर्पले टोक्ने गरेका छन् भने १ हजार जति मानिसहरु प्रति बर्ष सर्पकै टोकाईकै कारण मृत्युको शिकार हुने गर्छन । प्रति बर्ष सर्प दंशका घटनाहरु बृद्धि भएको पाइएको छ । देशैभरी गरिएको एक अनुसन्धान अनुसार सर्प दंशका कारण नेपालमा प्रति बर्ष प्रति लाखमा १ सय ६२ जनाले ज्यान गुमाईरहेको पाइएको छ । संसारमा लगभग ३ हजार ५ सय भन्दा वढी प्रकारका सर्पहरु रहेका छन् भने भारतमा ३ सय जातीका तथा नेपालमा सर्पको प्रजाती सन्दर्भमा अध्ययन कम भएकोले अहिलेसम्म लगभग ८९ प्रजातीका सर्पहरु पाइएको छ । नेपालमा पाइने सर्पहरु मध्ये करिब १७ प्रजातीका सर्पहरु विषालु रहेको बताइन्छ ।
एउटा अनुसन्धानका अनुसार नेपालको १५ वटा जिल्ला अस्पतालहरुमा गरिएको सर्बेक्षणमा ३ हजार १ सय ८९ वटा सर्प दंशका घटनाहरु पाइयो जसमध्ये १ सय ४४ जनाको मृत्यु भयो । अर्थात सर्प दंशकै कारण समग्रमा मृत्यु हुने दर ४.५ प्रतिशत पाइयो । नेपालमा खास गरेर तराई र भित्रि तराई क्षेत्रका २३ जिल्लाहरुमा सबैभन्दा वढी सर्प दंशको घटनाहरु प्रतिवर्ष हुने गर्छ । अधिकांश विषालु सर्पहरु करिब ७२ प्रतिशत जुन, जुलाई र अगस्त महिना जो कि नेपालमा बर्षातको मौसम हुन्छ, त्यसमा पाउने गरिएको छ ।
सर्प देख्ने वितिकै मानिसहरु भयभित हुने गर्छन । र, मान्छेले चाहे सर्प विषालु होस वा गैर विषालु मार्ने प्रयास गर्छन । धनुषामा खास गरेर करैत, गोहमन, बहिरी करैत, ढोरिया, हरहरा, धामन, दरार, काला नागिन, अजगर लगायतका प्रजातिका सर्पहरु प्रायः पाउने गरिन्छ । सर्प बास्तवमा आलसी जीवको रुपमा मानिन्छ । खाना खान बाहेक अरु कारणले बाहिर नआउने, नघुम्ने भएकाले खाना विना पनि कैयौं दिनसम्म सर्पहरु बाँच्न सक्छन् भन्दै सर्पका जानकार समेत रहेका टूस्टका संयोजक मण्डल भन्छन,“ भारतमा एउटा इन्डियन पाइथन २९ महिनासम्म पनि खाना विना बाँच्ने गरेको छ । सर्पलाई आफ्नो शरीरको तापक्रम मेन्टेन गर्न खाना खर्च गर्न पर्दैन । सर्पको शरीरको ६० देखि ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । बाहिर पानी नपाउने अवस्थामा शरीरको प्रोटिन र फ्याट लिक्विडको रुपमा परिणत भई पानीको अभाव पुरा गर्दछ । न्यूनतम ८ डिग्री सेल्सियस र अधिकतम ४५ डिग्री सेल्सियसको तापक्रमसम्ममा सर्प बाँच्न सक्दछ ।” पोलर रिजन बाहेक सबै क्षेत्रमा सर्पहरु पाइन्छन् । विश्वको सबैभन्दा छोटो सर्प भनेको १५ से.मीको वर्म स्नेक हो भने सबैभन्दा लामो ११ मिटरको रेटिकुलेटेड पाइथन हो । एउटा सर्प औषतमा ३ किलोमिटर देखि ७ किलोमिटर प्रति घण्टाको गतिमा घिस्रिन्छन भने अफ्रिकन म्याम्बा ११ किलोमिटर प्रतिघण्टाको दरले हिँडछन् ।
 सर्पमा भेनम अर्थात सेलिभा (¥याल) को परिवर्तित रुप हो जुन फ्यान्गसको मार्फतले विष दन्तमा वितरित हुन्छन् । उक्त विषको पहिलो प्राथमिकता भनेको सर्पले आफ्नो प्राकृतिक खानाको लागि प्रयोग गर्दछ भने दोस्रो आत्मरक्षाको लागि । त्यसकारण मानिसलाई सर्पले विना कारण टोक्दैन । उसलाई लाग्यो कि मलाई बाधा पुर्याइराखेको छ वा मलाई मार्न खोजिराखेको छ भने मात्र सर्पले आफ्नो विष दन्तलाई प्रयोग गरी टोक्दछन् । त्यसैले सर्पलाई मानिसले मार्नु हुँदैन किनभने पर्यावरणका लागि सर्प धेरै महत्वपुर्ण जिव हो भन्दै मण्डलले धनुषामा धेरै सर्पहरुलाई मार्नबाट जोगाएर जंगलमा जिवित उद्धार गरेका छन् । मिथिला वाइल्ड लाइफ टूस्टले सन् २०१३ को जनवरी देखि सन् २०१४ को अप्रिलसम्ममा धनुषाका विभिन्न क्षेत्रहरुबाट कुल ८ सय २९ वटा सर्पहरुको जिवितै उद्धार गर्न सफल भएका छन् । जसमध्ये ४सय ८६ वटा गैर विषालु, १ सय ८९ वटा विषालु र १ सय ५४ वटा अर्ध विषालु सर्पहरुको उद्धार गरी धनुषाधाम जंगलमा छोडेको टूस्टका संयोजक मण्डल बताउछन् ।

२०७३ श्रावण ०२ गते आईतबार

No comments:

Post a Comment