Monday, July 25, 2016

धनुषामा समग्रमा अपराधको ग्राफ घटे पनि जधन्य प्रकृतिका अपराधमा आएन कमि

अरुण कुमार सिंघानिया हत्याका मुख्य सुटर मनक लामा ।
अजय अनुरागी
जनकपुरधाम............
पछिल्लो आर्थिक बर्षमा भएको मधेस आन्दोलनका कारण धनुषामा आपराधिक गतिविधिमा कमि आएको पाइन्छ । आर्थिक बर्षको सुरुवातमै अर्थात ३१ साउन देखि भएको मधेस आन्दोलनका दौरान आम हडताल देखि नाकाबन्दिसम्मका कार्यक्रमहरु भएकाले पनि  अपराधको संख्यामा कमि आएको पाइन्छ । आर्थिक बर्ष २०७२÷०७३ मा धनुषामा कुल ५ सय ६८ थान मुद्दा दर्ता भएको छ । जुन कि पछिल्लो आर्थिक बर्षको तुलनामा २४ थान मुद्दाको संख्यामा मात्र कमि आएको पाइन्छ । करिब ६ महिना जति जनजिवन ठप्प रहेको अवस्थामा गतिविधि शुन्य भएको बेला जुन अनुपातमा अपराधको संख्या घट्नु पर्ने हो त्यो भने घटेको छैन ।
आर्थिक बर्ष २०७२÷०७३ मा धनुषामा हत्या अन्तरगत १६ वटा, हत्या प्रयास अन्तरगत १६, लागु औषध अन्तरगत २३, बलात्कार अन्तरगत २१ र बलात्कार प्रयास अन्तरगत ३ थान, हातहतियार तथा खरखजाना अन्तरगत ६ थान मुद्दा दर्ता गरिएको छ । ५ सय ६८ थान मुद्दाहरु मध्ये ३ सय ७७ थान मुद्दाको फर्छयौट गरी १ सय ९१ थान मुद्दाको फर्छयौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यसैगरी ५ सय २१ जना अभियूक्तहरु पक्राउ पर्नुका साथै १ सय ८६ जना अभियूक्तहरु फरार रहेको बताइएको छ ।
बढ्दो जघन्य अपराध
भुमिगत समुहका अध्यक्ष धर्ती सिंह भन्ने चनरदिप यादव ।
पछिल्लो ५ बर्षमा धनुषामा जघन्य अपराधको संख्या बढ्दै गएको पाइन्छ । आर्थिक बर्ष २०६८÷०६९ देखि २०७२÷०७३ सम्मको तथ्याङ्कलाई हेर्ने हो भने कुल ५ सय ९५ थान गम्भीर प्रक्रितिका अपराधहरु दर्ता भएका छन् । पछिल्लो ५ बर्षमा ९१ जनाको हत्या भएको छ भने ९१ जनाको हत्या प्रयास समेत भएको छ । सबैभन्दा वढी चिन्ताको विषय बनेको छ, लागु औषध । लागु औषधमा २ सय ३९ थान मुद्दा दर्ता भएका छन् । त्यसैगरी ५ बर्षमा ५९ जना महिलाहरु बलात्कृत भएकी छन् भने २७ जना महिलाहरुलाई बलात्कारको प्रयास गरिएको छ ।
बढ्दो आत्महत्या
हुन त विश्वभरी नै आत्म हत्या गर्ने संख्या बढीरहेको छ । विश्वभरीमा १५ देखि २९ बर्षको बीचमा मृत्यु हुने दोस्रो ठुलो कारण आत्म हत्या प्रयास मानिएको छ । एक अनुसन्धान अनुसार विश्वभरीमा प्रति बर्ष ८ लाख भन्दा वढी मानिस आत्म हत्या गर्छन ।  प्रति ४० सेकेन्डमा विश्वमा एक व्यक्तिले आत्म हत्या प्रयास गर्छन् । नेपालको राजधानी काठमाण्डौ उपत्यकामा मात्रै आर्थिक बर्ष २०७१÷०७२ मा २ सय ५४ जना झुण्डिएर, १ सय ३० जना विष सेवन गरेर र १६ जना अन्य माध्यम गरी कुल ४ सय जनाले आत्म हत्या गरेका थिए । धनुषामा पछिल्लो ४ बर्षमा कुल ३ सय १० जनाले आत्म हत्या गरेको पाइन्छ । आर्थिक बर्ष २०६९÷०७० देखि २०७२÷०७३ सम्ममा विष सेवन गरेर १ सय ४९ जना, झुन्डिएर १ सय ५२ जना र अन्य किसिमले ९ जनाले आफ्नो ज्यान आफै लिएका छन् । आर्थिक बर्ष २०६९÷०७० मा ७१ जनाले, २०७०÷०७१ मा १०१ जनाले, २०७१÷०७२ मा ६५ जनाले, २०७२÷०७३ मा ७३ जनाले आत्म हत्या गरेको पाइन्छ । यतिको संख्यामा आत्म हत्याको संख्या बढ्नु समाजको लागि राम्रो सुचक होइन ।
लागुऔषधको अपराधमा आएन कमि
लागु औषध चरस सहित पक्राउ परेका तिन जना ।
२१ माघ २०७२ मा जनकपुर उप(महानगरपालिका वडा नं.१० स्थित अञ्चल अस्पताल पछाडी रहेको हरिमोहन साहको घरमा गाँजा खाईरहेको अवस्थामा ९ जना युवाहरूलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको थियो । सो घरको तल्लो तल्लामा जनकपुर उप(महानगरपालिका वडा नं.८ बस्ने अनिल ठाकुरले २ वटा कोठा डेरामा लिएका छन्, सो कोठामा गाँजा भाँङ्ग खाने तथा लागुऔषध दुवर््यसनी गर्ने समुहहरू भेला जम्मा हुने गरेको प्रहरीलाई गोप्य सुचना प्राप्त भएको थियो । सोही सुचनाको आधारमा उक्त घरलाई प्रहरीले निगरानीमा राखेको थियो । उक्त घरको तल्लो तल्लामा युवाहरू भेला जम्मा भएको खबर हुना साथ प्रहरीले उक्त कोठामा छापा मारी ९ जनालाई पक्राउ गरेको थियो । निजहरूले मिनरल वाटरको बोतलमा गाँजा खाना प्रयोग गर्ने चिलिम जस्तो बस्तु उक्त बोतलमा फिट गरी बोतलको पछाडी बनाईएको सानो प्वालवाट धुँवा तानी नसा लिने गरेको देखिएको थियो । दुई वटा बोतल गाँजा चरेश जस्तो देखिने केही कालो पदार्थ,गाँजा चरेश काट्न प्रयोग हुने १ थान चक्कु पनि घटना स्थलवाट बरामद गरिएको थियो । नयाँ र फरक ढङ्गले घरेलु प्रविधिद्धारा नसालु पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानवाट देखिएको थियो ।  पक्राउ पर्नेहरूमा जनकपुरका धर्मेन्द्र गुप्ता,अनुज चौवे,प्रकाश दाहाल,दिपेश दाहाल,राजन साह,अनिल ठाकुर,महोत्तरीका अभिषेक सिंह,विवेक सिंह र उदयपुरका युक्सन गुप्ता रहेका थिए । पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरी कारवाही चलाइएको थियो ।
१८ फागुन २०७२ मा जनकपुर उपमहानगरपालिका ४ स्थित महाविर युवा कमीटीको प्राङ्गणबाट जनकपुर २ बस्ने वर्ष २२ को कुस कुमार साह, बर्ष ३२ को कृष्ण बस्नेतलाई धनुषा प्रहरीले नियन्त्रणमा लिई दुुवै जनालाई तलासी गर्दा कुस कुमार साहको पाइन्टको खल्तीबाट नाईटूाभेट ६ पत्ता (९० पिस) र कृष्ण बस्नेतको पाईटको खल्तीबाट नाईटूभेट १२ पत्ता (१८० पिस) गरी जम्मा १८ पत्तामा (२७० पिस) बरामद गरि निजहरुलाई लागुऔषध मुद्धामा कारवाही चलाएको थियो ।
अंचल प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले बिशेष सूचनाका आधारमा मिति २९ पुष २०७२ मा जनकपुरको रामानन्द चोक नजिकबाट अन्दाजी ४ सय ग्राम अबैध लागु औषध चरेश सहित ३ जना संलग्नहरु लाई पक्राउ गरेको थियो । जनकपुरका ४३ बर्षिय रामबाबु साह, २८ बर्षिय अमरेश कुमार राय र ४० बर्षिय प्रमोद कुमार रायलाई धनुषा प्रहरीले चरेस सहित पक्राउ गरी लागुऔषध मुद्धामा कारवाही चलाएको थियो ।
यसरी हेर्ने हो भने आर्थिक बर्ष २०७२÷०७३ मा लागु औषध सम्बन्धि २३ थान मुद्दाहरु दर्ता गरेका छन् । लागु औषध सेवन गर्नेहरु ३७ जना र बेचविखन गर्ने ६ जना गरी ४३ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही चलाएकोमा धनुषा जिल्ला अदालतले १४ जनालाई जलेश्वर कारागार चलान गरेको छ भने २७ जना धरौटीमा छुटेका छन् । पक्राउ परेका २ जनाको फाइल चालु अवस्थामा रहेको प्रहरीले बताएको छ । लागु औषध गर्नेहरुमा १५ देखि २५ बर्षसम्मको उमेर समुहका २१ जना, २६ देखि ३५ बर्षसम्मको उमेर समुहका १३ जना र ३५ बर्षभन्दा माथिको ३ जना गरी ३७ जना रहेका छन् । त्यसैगरी लागु औषध बेचविखन गर्नेहरुमा १५ देखि २५ बर्षसम्मको उमेर समुहका २ जना, २६ देखि ३५ बर्षसम्मको उमेर समुहका १ जना र ३५ बर्षभन्दा माथिको ३ जना गरी ६ जना रहेका छन् । धनुषामा विगतका आर्थिक बर्ष २०६९÷०७० मा ५९ थान, आर्थिक बर्ष २०७०÷०७१ मा ३९ थान र आर्थिक बर्ष २०७१÷०७२ मा ६२ थान लागु औषधको मुद्दा दर्ता भएको थियो ।
हातहतियार तथा खरखजानामा कमि
हतियार कारोवारी रमेश प्रसाद यादव ।
विगतका बर्षहरुमा तराई मधेसमा भुमिगत समुहहरुको विगविगी बढ्दै जाँदा हातहतियार तथा खरखजाना मुद्दा पनि बढेको थियो । माओवादीको सशस्त्र द्वन्द्व देखि जनतान्त्रिकका समुहहरुले समेत आफ्नो अस्तित्व र प्रभाव बढाउनका लागि साना हतियारको प्रयोग गर्ने देखि लिएर बम विस्फोटन गराउने लगायतका घटनाहरुलाई अन्जाम दिने गर्थे । परिणाम स्वरुप प्रहरीले पनि दिनहँु जसो चेक जाँचका क्रममा अबैध हतियार सहित मानिसहरु पक्राउ गर्थे । तर, अब माओवादी पनि मुलधारमा आईसक्नु र मधेसका भुमिगत सशस्त्र समुहहरु प्रायः ध्वस्त भईसकेको अवस्थामा अवैध हतियार सहित पक्राउ पर्नेहरुको संख्यामा कमि आएको छ ।
धनुषामा आर्थिक बर्ष २०६८÷०६९ मा १७, २०६९÷०७० मा १४, २०७०÷०७१ मा ११, २०७१÷०७२ मा १३ र २०७२÷०७३ मा ६ गरी कुल पाँच बर्षमा ६१ थान हातहतियार तथा खरखजानाको मुद्दा दर्ता भएको पाइन्छ । जबकी २०६२÷०६३ ताका एक बर्षमा मात्रै ५० देखि ६० थानसम्म अवैध हातहतियारको मुद्दा दर्ता हुने गथर््यो ।
हातहतियार बोक्ने परिपाटीमा केही कमि आएको भएपनि कारोवार भने पुर्णतः बन्द भईसकेको छैन । हतियार खरिद, विक्री र उपयोग भईनै रहेका छन् । २ फागुन २०७२ मा धनुषा प्रहरीले अवैध हतियार ३ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको थियो ।
जनकपुर उपमहानगरपालिका वडा न ४ विश्वकर्मा चौकको दक्षिण तर्फको गल्लीमा हातहतियार सहित आउँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले सोही स्थानमा चेक जाँच गर्ने क्रममा पेस्तोल २ थान, पेस्तोलको म्याग्जीन १ थान, गोली २ थान सहित २ जना लाई पक्राउ गरेको थियो । अभियुतm रमेश प्रसाद यादवको घरमा राति खानतलासी गर्दा १ थान पेस्तोल र ७ पिस स्पास्मो टयाव्लेट प्रहरीले बरामद गरेको थियो । उक्त घटनामा प्रहरीले हतियार किन्नका लागि आफै ग्राहक बनी रमेश प्रसाद यादवलाई पक्राउ गर्न अप्रेशन चलाएको थियो । रमेश पहिला पहिला पनि ठुला ठुला हतियारहरुको खरिद विक्री गर्ने काम गर्थे । त्यस्तो कार्यमा बालकहरुलाई उनले प्रयोग गर्थे । हुन त उनी आफुलाई आँखाको डाक्टर भन्दै सामाजिक प्रतिष्ठित व्यक्ति भएको आडमा हतियार खरिद विक्रीको काम गर्ने गर्थे ।
बैंकबाट हराएको एटिएम कार्ड प्रयोग गरेर १ लाख १३ हजार रुपैयाँ निकालेको विषयमा त्यस अघि पनि धनुषा प्रहरीले उक्त घटनाको १ बर्ष अगाडी पक्राउ गरेको थियो । धरौटीमा छुटेका उनी पछि हतियारको कारोवार गर्ने र विभिन्न समुहको नाउँ लिएर पैसा संकलन गर्दै विस्तारै ग्रुप नै खडा गर्ने उनको योजना थियो । लागु पदार्थको समेत सेवनकर्ता भएका कारण उनी लागु पदार्थको समेत कारोवार गर्ने गरेको प्रहरीको भनाई छ ।
जुवा खेल्ने ९ जना पक्राउ खालबाट साढे ५ लाख बरामद
 २४ कार्तिक २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरमा जुवा खेलाउने घरमा छापामारी साढे ५ लाख सहित जुवा खेल्ने ९ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ९ जनाबाट प्रहरीले ५ लाख ४६ हजार ७ सय रुपैया बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको बिशेष प्रहरी टोलीले जनकपुर उपमहानगरपालिका वडा न ७ जिरोमाइल स्थित कामेश्वर शाहको घरमा जुवा खेल भैरहेको अवस्थामा छापा मारेकोे थियो । पक्राउ पर्नेमा घरवेटी सहित धनुषा जनकपुर ७ बस्ने सुुनिल मिश्रा, शिवशंकर शाह, संजय शाह, उमाशंकर साह, राजकुमार शाह, बसन्त पंजियार, महोतरी एकरिया ६ का सलिम मिया, महोतरी बदिया बन्चौरी ७ का सन्ताोष कुमार शाह थिए । त्यसैगरी धनुषा प्रहरीले जनकपुरबाटै तास जुवा खेलिरहेको अर्को समुहलाई १ लाख ९३ हजार रकम सहित पक्राउ गरेको थियो ।
मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ
मोटरसाइकल चोरी गर्ने चार जनाको गिरोह ।
४ कार्तिक २०७२ मा राति अंन्दाजी १ बजेको समयमा जि.धनुषा कुर्था गा.वि.स. वडा नं. ७ बस्ने सन्तोष महासेठको घरबाट ज २ प २५५० न.को मोटरसाइकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको बिशेष टोलीले गोप्य सुराकको आधारमा १७ कार्तिक २०७२ मा जनकपुर वडा नं.१ स्थित राम दुलार महतोले संचालन गरेको कवाड खानाबाट चोरी भएको मोटरसाइकलको चेसिस र ईन्जिन नं. टुटेफुटेको तथा अन्य पार्टपुर्जा समेत टुक्राटुक्रा पारी विक्री गर्न राखेको अवस्थामा बरामद गर्नुका साथै सो मोटरसाइकल चोरीमा संलग्न ४ जना अभियुतmहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो । जनकपुर १ गढी टोलका धिरु भन्ने धिरेन्द्र पाण्डे, संजय साह, राम सुन्दर यादव र मिल्स एरियाका राम दुलार महतोलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु फिल्मी स्टाइलमा मोटरसाइकल चोरी गर्ने गर्थे । चारै जनाले चार किसिमको काम गर्थे । धिरेन्द्र पाण्डेले मोटरसाइकलको लक तोड्ने गर्थे भने संजय साहले पनि लक तोड्नुका साथै मोटरसाइकल ओसारपोसार गर्ने गर्थे । त्यसैगरी राम सुन्दर यादवले मोटरसाइकल चोरी गर्ने तथा विक्री गर्ने र राम दयाल महतोका जिम्मेवारी भने चोरीका मोटरसाइकल काटने र विक्री गर्ने हुन्थ्यो ।
प्रहरी टोली पुरस्कृत
धनुषा लगायत तराईका विभिन्न जिल्लाहरुमा मोटरसाईकल चोरीमा सक्रिय ८ जनाको गिरोहलाई पक्राउ गर्ने तथा चोरी भएका मोटरसाइकल बरामद गर्ने कार्यमा उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रहरी निरीक्षक निरन्जन थापा सहित ११ जनाको टोलिलाई जिल्ला प्रहरी कार्यालय धनुषााले पुरस्कृत गरेको थियो ।
पुरस्कृत हुने अन्य प्रहरी कर्मचारीहरुमा प्रनानि गगन शाही, प्र.स.नि किस्मत बहादुर भण्डारी, प्र.स.नि जयलाल यादव, प्र.स.नि सन्तोष झा, प्र.ह चन्देश्वर यादव, प्र.ह श्याम सिंह, प्र.ह प्रेमशंकर ठाकुर, प्र.ज मोतिलाल पटेल, प्र.ज राजेश्वर यादव र प्र.ज जितेन्द्र यादव रहेका थिए ।




२०७३ श्रावण ०९ गते आईतबार

No comments:

Post a Comment