Thursday, July 28, 2016

धनुषा प्रहरीको प्रशंसा र आलोचना

अजय अनुरागी
जनकपुरधाम.............
मधेस आन्दोलनका क्रममा धनुषा प्रहरीले तिन जना निर्दोष आन्दोलनकारीहरु नितु यादव, दिलिपयादव र संजय चौधरीलाई गोली प्रहार गरी हत्या गरेपछि धनुषाबासीले धनुषा प्रहरीको सबैभन्दा वढी आलोचना गरेको पाइन्छ । आन्दोलनका दौरान प्रहरीले चलाएको गोली लागेर धनुषामा ३ जनाको मृत्यू हुनुका साथै दर्जनौं घाइते भएका थिए । प्रहरीको गोली लागि मारिएको भएपनि धनुषा प्रहरीले भवित्वय ज्यान अन्तरगत मुद्दा दर्ता गरेको पाइन्छ । आन्दोलनका समय धनुषावासी र धनुषा प्रहरी बीच एक किसिमले पुर्णतः संवाद बन्द भएको थियो । पछि आएर आन्दोलन फिर्ता भएपछि  प्रहरी र नागरिक बीच सम्बन्धको स्थापना भएको हो । संचार उद्यमी अरुण कुमार सिंघानियाको अनुसन्धान गरी अभियूक्तहरुलाई कानुनको दायरामा ल्याएपछि स्थानीयवासीले धनुषा प्रहरीको प्रशंसा गरिरहेको अवस्थामा अन्य थप अभियूक्तहरुलाई कानुनको दायरामा नल्याएको भन्दै स्थानीयवासीले प्रहरीको कामलाई आलोचना पनि गरेको पाइन्छ । त्यसैगरी सबैला हत्या काण्डमा प्रमुख योजनाकारका रुपमा अभियूक्त बनाइएका एमाले नेता योगनारायण यादवलाई पक्राउ गरी कानुनको दायरामा ल्याउँदा स्थानीयवासीले धनुषा प्रहरीलाई किन पनि प्रशंसा गरे भने यादव पक्राउ परेको बेला उनको पार्टीका अध्यक्ष तथा एउटै खेमाका नेता रहेका केपी शर्मा ओली प्रधानमन्त्री थिए । तर पनि उनलाई प्रहरीले पक्राउ  गरेको थियो । त्यसैगरी जानकी मेडिकल कलेजका संचालकहरुलाई प्रहरीले अदालतमा मुद्दा नै नचलाई उन्मुक्ति दिएकोमा धनुषाबासीले प्रहरीका आलोचना गरेका छन् । ४ करोड ७७ लाख ७० हजार रुपैयाँ मेडिकलका विद्यार्थीहरुबाट असुल गरी ठगी गरेको र ८ महिनासम्म अस्पताल बन्द गरी अस्पतालका कर्मचारीहरुको तलब नदिई ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । उक्त घटनामा कलेज संचालकहरु ओम प्रकाश पाण्डे, कामेश्वर साह र समिर ढुङ्गेललाई प्रहरीले पक्राउ गर्नुका साथै अन्य फरार रहेका संचालकहरु अर्चना पाण्डे, हेमता सुवेदी, सुरिता साह र बलराम गुप्तालाई पक्राउ गरी ठगीको कसुरमा माग दावी लिइएको थियो । तर, सरकारी वकिल टेक बहादुर कार्कीले २० जेष्ठ २०७३ मा मुद्दा दर्ता नै नगर्नुपर्ने निर्णय गरेपछि उनीहरुको मुद्दा अदालतसम्म पनि नपुगेर रिहा गरिएको थियो । उक्त फैसलापछि धनुषाबासीले स्थानीय प्रहरीका साथ साथ सरकारी वकिलको पनि आलोचना गरेको पाइन्छ ।
त्यसैगरी धनुषामा वढ्दै गएको तस्करी, कालाबजारी, कृत्रिम अभाव, मिसावट आदिका कारण स्थानीय प्रहरी प्रशासनको आलोचना भईरहेको छ भने ध्वनी प्रदुषण गर्ने डिसे साउण्डलाई नियन्त्रणमा लिइएको प्रयासलाई प्रशंसा गरिएको छ । केही तासका जुवालाई नियन्त्रण गरिएको भएपनि कौउडा साथ र तास सहितको जुवा अझै पनि जिल्लाका विभिन्न ठाउँहरुमा घुम्ती शिविर जस्तै संचालन भईरहँदा आलोचना भएको छ । अवैध मदिरा भठ्ठीहरु संचालित हुँदा अवैध मदिराको विक्री वितरण तथा सेवनको कार्यले बढावा पाईरहँदा धनुषा प्रहरीको आलोचना भइरहेको छ भने गृहमन्त्री समेत भएका माओवादी केन्द्रका नेता रामचन्द्र मण्डल, देवसागर दास जस्तो नेताहरुलाई समेत केही सार्वजनिक अपराधको मुद्दा चलाउँदा धनुषा प्रहरीको प्रशंसा समेत गरिएको छ । त्यसैगरी जानकी मन्दिरमा दर्शन गर्न जनकपुर आएकी राष्ट्रपति विद्या देवी भण्डारीको विरोध गर्दा गर्दै जानकी मन्दिर तोडफोड गरेको आरोपमा प्राचिन स्मारक संरक्षण ऐन अन्तरगत विभिन्न व्यक्तिहरुलाई मुद्दा चलाइँदा मिश्रित प्रतिक्रिया रहेपनि कारवाही नगर्दा हुन्थ्यो भने भनाई अधिकांशको रह्यो ।


२०७३ श्रावण ०९ गते आईतबार

No comments:

Post a Comment