Monday, July 25, 2016

जनकपुरको सडकमा घस्रेर बाटो हिँड्ने ‘भोलाको दर्दनाक कथा’

शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
शरीरमा झुत्रो लुगा , सानो कपडाको एउटा थैलो , बीच व्यस्त सडकमा बसेको जस्तो । तर यथार्थमा उनी बसेका छैनन् । हिँड्दै, घस्रँदै बाटो काटिरहेछन्, सडकमा । खुट्टाले हैन दुई हातको सहाराले घस्रेर । यसरी उनी प्रायः सडकमा घस्रेर कुनै होटेल अगाडी जान्छन् । खाना माग्छन् । मायालु होटेलबालाहरु खाना दिन्छन् । खान्छन् । फेरी आफ्नै बाटो लाग्छन् । प्रायः उनी जनकपुरकै कुनै न कुनै सडकमा घसे्रर बाटो काटेको देखिन्छन् । उनले खाना बाहेक अरुथोक कसैसंग केहि माग्दैनन् पनि । बाटो हिँड्नेहरु घस्रेको हेर्छन् । फेरी फर्केर आफ्नै गनतव्यमा लाग्छन्, बटुवाहरु । केहि मायालु स्वाभावका मान्छेहरु उनलाई हेरेर दुःखित हुन्छन् । उनीहरु पनि केहि सोच्दै आफ्ना गन्तव्य तिर लम्कन्छन् । बाटो हिँड्नेहरु सबैको आ आफ्नो  गन्तव्य हुन्छ । काँही पुग्ने, काँही बस्ने । वास्तवमा सडकमा घसे्रर हिड्ने ती व्यक्तिको कुनै गन्तव्य छ की छैन ? मनमा प्रश्न उब्जिन सक्छ ।  धेरैलाई त्यो कुरादेखि के सरोकार । तर, खोज्दै जाँदा यस्तो छ उनको दर्दनाक कथा ।
उनको पनि सानो संसार थियो  
आज भन्दा १० वर्ष अघि उनको पनि हाम्रै जस्तो संसार थियो । आमाबुबा , श्रीमान श्रीमती , एउटी छोरीसहितको सानो परिवार । हुन त छोरी र दाईभाईहरु अहिले पनि छन् । उनको नाम हो भोला सहनी । धनुषाको चक्कर २ का रौदी सहनीका ३७ वर्षका छोरा हुन् उनी । भोला ६ दाजुभाई मध्येका बुबाका साहिलो छोरा हुन् । 
यस्तो छ भोलाको अत्यन्तै दर्दनाक कथा
नुहाउँदै भोला ।
बुबाको एक कठ्ठा घडेरी मात्र जाएजथा श्रीसम्पति हो सबै दाजुभाईमा । अत्यन्तै गरिबीको कारण परिवारमा ठुलो संख्या भएपनि परिवार भने आर्थिक मामिलामा निकै दयनीय छ । गरिबीको कारण सबै छोराहरु ज्याला मजदुरी गरी साँझ विहानको छाँक टार्ने गरेका छन् ।  त्यसै मध्येका साहिला भोला पनि त्यसरी नै ज्याला मजदुरी गर्दै विवाह गर्ने उमेरसम्म पार गरे । करिब १३ वर्ष अघि धनुषाकै गोदारका कारी सहिनीकी छोरी सुनिता सहनीसंग उनको विवाह भयो । विवाह पश्चात घरायसी खर्च बढ््यो । जसको कारण गाउँघरमै ज्याला मजदुरी गरेर छाँक टार्नसमेत धौ÷धौ पर्यो । विवाहको एक वर्ष पश्चात नयाँ सदस्यको रुपमा छोरी जन्मिन् । भोलाकी छोरीको नाम रिंकु हो । त्यस पश्चात छोरीको लालन पालन र घरपरिवार सञ्चालनमा आर्थिक समस्याले जटिलता बढ्दै गयो ।
गाउँ घरको ज्याला मजदुरीले घरपरिवार चलाउनसमेत अप्ठ्यारो परेको अवस्थामा छोरी र श्रीमतीको उज्वल भविष्य हेर्न थाले, भोला । झनै छोरी भएपछि अहिले नकमाए छोरीलाई पढाई लेखाई र विवाह कसरी गर्ने , घरपरिवार सञ्चालन कसरी गर्ने भनेर भोलालाई चिन्ता थपिदै गयो । अन्ततः भोला वैदेशिक रोजगारमै आफ्नो परिवारको सुख शान्तिको सपना देखे । र, वैदेशिक रोजगारमा जाने निष्कर्षमा पुगे । विवाहको तीन वर्ष पश्चात पासपोर्ट बनाएर एक जना एजेन्ट मार्फत मलेसिया जाने निधो गरे । गाउँकै एक साहु महाजनसंग ऋण काढेर उनी मलेसियाको एक कम्पनीको कामदारको लागि विदेश उडे ।
कामदारको रुपमा गएको कम्पनीमा पुग्दा ४÷५ महिनासम्म त्यति कमाई भएन । जसोतसो त्यहाँ खान र बस्नेसम्मको कमाई मात्र भयो । ५÷६ महिना पश्चात काम गर्ने कम्पनी नै बन्द भयो । परिणाम स्वरुप बाध्य भएर घर फर्किनु पर्यो । भोलाले वैदेशिक रोजगारमा गएपछि बुनेका र देखेका सबै सपना त्यतिकै चकनाचुर भयो । झनै गरिबीले पिल्सिएका भोलालाई विदेश जाँदा लिएको ऋण कसरी तिर्ने समस्या थपियो ।
घरपरिवार सञ्चालनमा अत्यन्तै कठिनाई सुरु भयो । घरको आर्थिक अवस्था जर्जर हुँदै जाँदा श्रीमती सुनिताले पनि विस्तारै भोलालाई माया गर्न् छाडिन् । 
श्रीमतीले परपुरुषसंग कुलेलाम ठोकिन्
भोला विदेश जाँदा नै श्रीमती सुनिताको अर्का पुरुषसंग हिमछिम बढ्दै गएको थियो । घरायसी समस्या र साहुको ऋणको भारी कसरी तिर्ने भन्ने चिन्ताले भोलाको जिन्दगी तनावमय भईसकेको थियो । झन् श्रीमतीले माया गर्न छाडेपछि उनी झनै मानसिक तनावमा थिए । भोला विदेशबाट फर्केको करिब डेढ वर्ष पश्चात  भोलाकी श्रीमती सुनिता छोरी र श्रीमानको माया मारेर सदाका लागि अर्कै नजदिकीएका जनकपुर विस्पिट्टीका एक पुरुषसंग कुलेलाम ठोकिन् ।
एक त गरिबी , त्यसमाथि विदेश जाँदा लिएको ऋणको चिन्ता , श्रीमती माया गर्न छाडेकी पिडा त्यसमाथि झनै सानो छोरीलाई श्रीमती सुनिताले छाडेर भागेपछि भोला विक्षिप्त अवस्थामा पुगेको स्थानीयहरुको भनाई छ । त्यस पश्चात पिडा खेप्न नसकी भोलाको मानसिक सन्तुलन गुम्यो । एक त त्यतिकै घर परिवारका सबै सदस्यहरु गरिबीको पिडाले पिल्सिएका । काम नगरी छाँक टार्न धौ÷धौ । भाईहरुले आर्थिक अभावको कारण भोलाको उपचार गराउन सकेनन् । मानसिक सन्तुलन गुमेपछि भोला आफ्नो घरमा नबसी भौत्तारिदै बाहिर बाहिर हिँड्न थाले । उनको रेखदेख गर्ने कोहि भएनन् । 
पानीटंकीबाट लड्दा मेरुदण्ड भाँचियो  
भोलाको मानसिक सन्तुलन गुमेको ५÷६ वर्ष पश्चात महोत्तरीको परौल स्थित खानेपानीको टंकीमा चढेको बेला एक्कासी खसेर मेरुदण्ड भाँचेको भनेर बुझिएको कुरा भोलाका भजित राजु सहनीको भनाई छ ।  मेरुदण्ड भाँच्चिदा पनि उनको उपचार हुन सकेन । त्यसपछि विस्तारै भोला यसरी नै सडकमा घिस्रिन थाले । भोलालाई घरमा लग्न पटक पटक घरपरिवारका सदस्यहरुले आग्रह गर्दा पनि आउन नमानेको भतिज राजुको दावी छ । 
यस्तो छ भोलाको दिनचर्या
जनकपुरको सडकमा घस्रेर हिँड्ने भोलाको प्रायः बसाई र खुवाई जनकपुरको शिवचोक र रेल्वे स्टेशनमा हुने गरेको स्थानीयबासिन्दाको भनाई छ । भोलाको साँझको खाना जनकपुरको शिवचोक स्थित जनकपुर नवरंग होटेलले खुवाउने गरेको स्थानीयबासिन्दा बताउँछन् । भोला नियमित रुपमा आफ्नो सरसफाई गर्ने गरेका छन् । उनले आफ्नैै हातले कल चलाएर लुगाफाटोसम्म धुने र नुहाईधुलाई गर्ने गरेको नवरंगकै एक सेक्युरेटी गार्ड झाले सुनाए । नुहाउन र लुगा धुन अरुले कल चलाएर सहयोग गर्न खोज्दा पनि त्यसलाई भोलाले अस्वीकार गरी आफैले गर्ने गरेका छन् । 
अपांगको हकहितको लागि धेरै संघसंस्था रहेपनि पूर्ण रुपमा अपांग भोलालाई आजसम्म कुनै कतैबाट सहयोग भएको छैन । कष्टकर जीवन व्यतित गरिरहेका र सडकमा घस्रेर आफ्नो जिवन विताईरहे पनि भोलामाथि त्यस्तो कुनै संघसंस्थाको नजर पर्न सकेको छैन । न त गाविसबाट अपांगता भएकाहरुले पाउने भत्ता नै पाउँन सकेका छन्, भोलाले । उनलाई सायद एउटा ह्वील साईकल अथवा ह्वील चेयरको व्यवस्था भई दिँदा घस्रेर भन्दा ह्वील साईकलमा हिँड्न सहज हुन्थ्यो होला ।   
भोलाकी छोरी रिंकु मावलीमा पालिँदै
भोलाकी श्रीमती सुनिता अर्का पुरुषसंग भाग्दा र भोलाको मानसिक सन्तुलन गुमेपछि छोरी रिंकु बिचल्लीमा परेकी थिईन् । आमा भागेको केहि दिन पश्चात मावलीले लगेर पालनपोषण गर्दे आएको छ । रिंकु अहिले झण्डै ११ वर्षकी भईसकेकी राजुसहनीको भनाई छ । आमा भाग्दा र बुबाको मानसिक सन्तुलन विग्रिदादेखि रिंकु  अनाथ जस्तै भएकी उनले बताए । मावलीको आर्थिक अवस्था कमजोर भएको कारण रिंकुको जिवन पनि कष्टकर नै वितिरहेको राजुको कथन छ ।     


२०७३ श्रावण ०९ गते आईतबार

No comments:

Post a Comment