Thursday, December 17, 2015

मधेस देशको ‘लाइफ लाइन’ हो मधेसलाई सम्बोधन नगरे दुर्घटना हुनसक्छ ः महन्थ ठाकुर

अजय अनुरागी
जनकपुरधाम............
महन्थ ठाकुर हुन त तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय संयोजक हुन । तर, अहिले उनी एउटा पार्टीको नेता भन्दा पनि मधेसकै नेताको रुपमा उदय भएका छन् । आन्दोलन आह्वान गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्णय नै गरेर उनलाई आन्दोलनको सर्बोच्च कमाण्डरको रुपमा घोषणा नगरेपनि उनलाई अघोषित रुपमा मोर्चाले सर्बोच्च कमाण्डरकै रुपमा मानिरहेको सहजै बुझ्न सकिन्छ । त्यो कुरा के बाट पनि बुझ्न सकिन्छ भने मोर्चाले विगतमा गरेको विरोध सभाहरु होस वा मोर्चा सम्मिलित संघीय गठबन्धनद्वारा आयोजित विरोध सभाहरुमा पनि प्रोटोकलका अनुसारले ठाकुर नै अन्तिम बक्ताको रुपमा प्रस्तुत हुने गरेका छन् । त्यसैगरी सरकारले बार्ता गर्नका लागि पनि वा कुनै सम्बाद गर्नका लागि पनि पहिले ठाकुरलाई नै कन्भिन्स गर्न चाहन्छन् । त्यसो हेर्ने हो भने संसदीय सिटको आँकडाले ठाकुर भन्दा उपेन्द्र यादव शक्तिशाली छन् । संसदमा तमलोपा भन्दा बढी सिट संघीय समाजवादी फोरमको रहेको छ । तर, विगतको राजनीतिक अनुभव, उचाई र उनको त्याग तथा बेदाग छविका कारण पनि उनलाई अहिले मधेसमा सर्बमान्य नेताको रुपमा लिने गरिएको छ ।
जनआन्दोलन २०६२÷०६३ को सफलता पश्चात नेपालमा पहिलो पटक पुनसर््थापित प्रतिनिधिसभामा १० बर्ष सशस्त्र जनयूद्ध गरेको तत्कालिन विद्रोही नेकपा माओवादी पहिलो पटक अन्तरिम संसदमा प्रवेश गरेको थियो । जनयूद्ध कालमा संघीयता, स्वायत्तता, पहिचान र गणतन्त्र नै प्रमुख नारा दिएर विद्रोह गरेको माओवादी सम्मिलित नेपाली कांग्रेस, नेकपा एमाले र सदभावना सहितको अन्तरिम संसदबाट अन्तरिम संविधान जारी हुँदा संघीयता समावेश गरिएको थिएन । परिणाम स्वरुप मधेसमा जनविद्रोह भयो । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेसका नयाँ मसिहाका रुपमा उदय भए । जति बेला उक्त विद्रोह भईरहेको थियो त्यतिबेला महन्थ ठाकुर राज्यको प्रतिनिधित्व गर्दै अन्तरिम सरकारमा सहभागी थिए । नेपाली कांग्रेसको कोषाध्यक्ष पदमा आसिन रहेका ठाकुर विज्ञान तथा बातावरण मन्त्रीका हैसियतमा सरकारी बार्ता टोलीका सदस्य थिए । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री रहेको सरकारका शान्ति तथा पुर्ननिर्माण मन्त्री रामचन्द्र पौडेलले २०६४ भदौ २३ गते फोरमका अध्यक्ष उपेन्द्र यादवसँग २२ बुँदे सहमति गरेका थिए । तर, अचानक ठाकुरले किन विद्राह गरे ? कांग्रेसको पदाधिकारी रहेका बेलै उनले किन पार्टी परित्याग गरे त ?
कांग्रेसबाट ठाकुरको विद्रोहका कारण
जनआन्दोलन भए लगत्तै ठाकुर मधेस दौडाहामा निस्केका थिए । पहिले देखि नै मधेसी जनताहरुको ह्दयमा बसेको विद्रोहको भावना जनआन्दोलन सँगै उभ्रिएका थिए । गाउँ गाउँमा आन्दोलन पस्रिएका कारण मानिसहरुमा राजनीतिक चेतनामा समेत अभिबृद्धि भएको थियो । जब उनी मधेसका केही जिल्लाहरुमा भ्रमण गरी जनताका बीच पुगेका थिए तब उनलाई मधेसी जनताहरुको मुडको बारेमा राम्ररी थाहा भयो । तत्कालिन सरकारका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई भेटेर उनले मधेसको तत्कालको मुडको बारेमा राम्ररी अवगत गराएका थिए । उनले भने,‘मधेसका लागि तत्काल केही न केही गर्नुपर्छ । जनताको मुड बदलिएको छ । बर्षौं देखि मधेसी जनताका दविएका आवाजहरु मुखरित भईरहेका छन् । नागरिकता, रोजगारी आदि विषयहरुमा मधेसी जनताले अब खुलेर कुरा गर्न थालिसकेका छन् । त्यसैले मधेसको विषयमा केही न केही सोच्नै पर्ने हुन्छ ।’ हुन त त्यो बेला विद्रोही माओवादी सँग शान्ति सम्झौता पनि पुर्ण हुन सकेको थिएन । अनि कोइरालाले ठाकुरलाई यसरी आश्वासन दिएका थिए,‘ जसरी माओवादीको आन्दोलन ‘वियोन्ड हैन्ड’, ‘ल एण्ड अर्डर’को समस्या भन्दा पछि गएर विद्रोहको रुप लियो त्यसैगरी मधेसको अहिलेको समस्या पनि ‘वियोन्ड हैन्ड’ जान दिनु भएन । म केही न केही तत्कालै गर्छु ।’तर, उनको संकेत थोर बहुत के थियो भने माओवादीबाट विद्रोह गरी सशस्त्र आन्दोलन चलाईरहेका ‘स्पिलिन्ट ग्रुपहरु’ तर्पm थियो । अर्थात भुमिगत भई विद्रोह गरिरहेका जयकृष्ण गोइत, ज्वाला सिंह लगायतका समुहहरु तर्फ थियो । त्यसकारण मधेसको समस्याका तर्फ उनको ध्यानाकर्षण हुन सकेन । जब प्रथम मधेस आन्दोलन सुरु भयो त्यसबेला फेरी पनि ठाकुरले समस्यालाई हेर्नका लागि कोइरालालाई आग्रह गरेका थिए ।  कम्तिमा अहिले रहेका ७२ वा ७४ सांसदहरुलाई बोलाएर केही गर्न गईरहेको छु भनेर कम्तिमा पनि आश्वस्त गर्नुस भनेर प्रधानमन्त्री कोइरालालाई ठाकुरले पुनः ध्यानाकर्षण गराएका थिए । किनभने उनी पनि त्यतिबेला सरकारका मन्त्रि थिए । तर, त्यसो केही पनि हुन सकेन । समस्यालाई सम्बोधन गर्नुको साटो समस्यालाई हल्का ढंगले लिइयो ।
मधेसका जनताले त्यतिबेला पनि कांग्रेसका मधेसी नेताहरुलाई पार्टी परित्याग गरेर आन्दोलनमा सहभागी हुन धेरै ठुलो दवाव दिईरहेको थियो । मधेसी जनताको कठिनाईलाई हेर्नुस । बुझ्नुस र अनुभुति गर्नुस भनेर आन्दोलनरत जनताको ठुलो दवावको कारण ठाकुर अन्ततः पार्टी परित्याग गर्न सफल भए । हुन त बास्तविक यथार्थको अनुभुति उनलाई जनताले धेरै पहिले गराईसकेको थियो । यो कलोनियल रुल जस्तो शासकहरुको व्यवहार, उपनिवेशिक व्यवहार बारे उनी अवगत भईसकेका कारण आफ्नो ‘होम ल्याण्ड’मा आउनु पर्यो । अर्थात विद्रोह गर्नै पर्यो । अहिले पनि उनी आन्दोलनमा लागिपरेका छन् ।
जहाँसम्म मधेसीहरुको आवाज उठाउने सवाल हो त्यो उनले मधेस आन्दोलनमा मात्र नउठाई पार्टी भित्र लामो समय देखि उठाउँदै आएको बताउँछन् । २०४६ सालको जनआन्दोलन पश्चात झापामा सम्पन्न नेपाली कांग्रेसको पहिलो महाधिवेशनमा पनि खुल्ला छलफलको क्रममा मधेसको विषयलाई लिएर प्रस्ताव गरेको उनी सम्झन्छन् । सुरक्षा निकायमा मधेसीहरुको प्रतिनिधित्व नहुनु, सेनामा मधेसी नहुनु, निजामति सेवामा मधेसी नहुनु लगायतका कुराहरु उनले उठाएका थिए । उक्त महाधिवेशनमा तत्कालिन प्रधानमन्त्रीले सोही मञ्चबाट जवाफ पनि दिएका थिए । सरकारी सेवा होस वा सुरक्षा निकाय वा अन्य निकाय त्यसमा मधेसी समुदायको अत्यन्तै न्यून उपस्थिति रहेकोले सरकारले त्यसमा ध्यान दिनेछ भनेर प्रधानमन्त्रीले आश्वस्त पनि पारेका थिए । तर, उनको बोली कहिल्यै पनि व्यवहारमा परिणत हुन सकेन । त्यसैगरी प्रायः जसो मन्त्री परिषदको बैठकहरुमा वा पार्टीको कार्य समितिको बैठकहरुमा यी कुराहरु आफुले जोडदार रुपले उठाउने गरेको ठाकुर अहिले पनि सम्झन्छन्, ‘खासगरी त्यसबेलाका मुस्लिम नेता सेख इद्रिसले आवाज उठाई म तिर हेर्ने गर्थे । तर, सन्तोष जनक परिणाम कहिल्यै आउन सकेन । सँधै के भनिन्थ्यो भने अब जुन सेनाको भर्ती हुन्छ त्यसमा मधेसीलाई लिइन्छ । तर, दुर्भाग्य त्यस्तो कुरा अहिले सम्म हुन सकेको छैन ।’
जुन बेला उनले पार्टी परित्याग गरेर मधेसमा झरेका थिए त्यसबेला थुप्रै मधेसी नेताहरुले विद्रोह गर्ने ठाकुरलाई आश्वासन दिएका थिए । तर, केही नेताहरु मात्र विद्रोह गरेर उनीसँगै आएका थिए । उनी भन्छन,“ हामी विद्रोह गरी जाँदैछौं भन्ने कुरा सबै मधेसी नेताहरुलाई थाहा थियो तर त्यो हरेक नेताको आफ्नो स्वतन्त्रता हुन्छ कि जाने वा नजाने । केही आए, केही आएनन् ।” उनको विचारमा बर्षौ देखि एउटा पार्टीमा जीवन विताईसकेपछि विद्रोह गर्नु सामान्य कुरा पक्कै होइन । त्यसमा पनि राष्टिूय पार्टी परित्याग गर्ने कुरा मान्छेले सोच्नै सक्दैनन्  । खास गरेर ‘पावर अटूयाक्सन’, ‘स्टेटस’को कुरा आदि जस्ता ‘यूनिभर्सल क्यारेक्टर’का कारण ‘पावर, अथोरिटिज’को तर्फ आकर्षण हुन्छ । त्यसकारण पनि त्यस समयमा धेरै नेताहरु नआएको सम्झ्दै उनी भन्छन,“ अहिले पनि समय समयमा ती नेताहरु अभिव्यक्ति भने दिने गरेका छन् । कहिले काँही आवाज र मुद्दाहरु पार्टी भित्र उठान पनि गर्ने गर्छन । तर, सम्बोधन गराउने सवालमा न त कांग्रेसका ती मधेसी नेताहरु अग्रसर भईरहेका छन् र सकि पनि रहेका छैनन् ।”
जतिबेला ठाकुरले पार्टीबाट विद्रोह गरेका थिए त्यतिबेला पार्टीका तत्कालिन सभापति तथा प्रधानमन्त्री समेत रहेका गिरिजा प्रसाद कोइरालाले के भनेका थिए भने नेपाली कांग्रेस भनेको महासागर हो । एक दुई थोपा वा एक दुई गाग्री पानी हराउँदैमा महासागरलाई केही असर पर्दैन । त्यति मात्र होइन उनलाई कांग्रेस भित्रका मधेसी नेताहरुले के भन्ने गर्थे भने सरकारमा गिरिजाबाबुले ठाकुरजीलाई प्रोटोकलको हिसावले मन्त्रालय नदिई ‘पावर लेस इन्फेरियर’ मन्त्रालय विज्ञान तथा प्रविधि मन्त्रालय दिएर ‘ह्यूमिलिएट’ गरेका कारण विद्रोह गरेका हुन । एका तर्फ कांग्रेसका नेताहरुले त्यसो भनिरहेका थिए भने मधेसमा जनताहरुले पनि उनलाई विश्वास गर्न सकिरहेको थिएन । आन्दोलनमा घुसपैठ गराउन गिरिजाबाबुले आफ्नो एजेण्ट बनाएर मधेसमा छिराएको भन्ने आरोप समेत जनताले लगाईरहेका थिए । जहाँसम्म मन्त्रालयको कुरा हो त्यो सवालमा ठाकुर भन्छन,“ मैले कहिल्यै पनि कुनै पदको लागि आकांक्षा व्यक्त गरेको थिइन । पार्टीले जे अवसर दियो मैले सहर्ष स्वीकार गर्दै गएँ । त्यस्तो कहिल्यै मैले माग पनि गरेको थिइन । जहाँसम्म पदको कुरा हो त्यो त अहिले पनि तपाईहरु सुन्नुहुन्छ कि कहिल्यै राष्टूपति त कहिल्यै उपराष्टूपति । यति मात्र होइन प्रधानमन्त्री सम्मको पनि मेरो नाउँको चर्चा गर्ने गर्छन । तर, तपाईले कहिल्यै मलाई हेर्नु भएको छ कि मेरो ती पदहरु प्रति आकर्षण रहेको छ ?”
धनुषाको ढल्केवरमा आयोजित विरोध सभामा मोर्चाका नेताहरु ।
उनको विद्रोहलाई लिएर मधेसका कांग्रेसी नेताहरुले अनौपचारिक कुराकानीहरुमा खिल्ली उडाईरहेको पाइन्छ । कांग्रेस भित्रै रहेको भए रामबरण यादव राष्टूपति नभएर उनलाई नै गिरिजाबाबुले बनाउथे । पार्टी भित्रै रहेको भए उनी प्रधानमन्त्री सम्मका दावेदार हुन्थे । तर, विद्रोह गरिसकेपछि उनको हैसियत राष्टिूय नेताबाट क्षेत्रिय नेताको रुपमा मात्र गिरावट भएको छैन । संविधानसभाको दुई पटकको निर्वाचनमा समेत उनी पराजित भईसकेका छन् । उनले विद्रोह गरेर आफ्नो राजनीतिक करियरलाई नै गुमाईसकेको भनेर कांग्रेसका मधेसी नेताहरुले कुरा काट्ने गर्छन । त्यसो हुँदा साँच्चै उनलाई पश्चाताप भईरहेको छ वा गौरव भन्ने प्रश्नमा उनी भन्छन,“ पश्चातापको त कुरै छैन । मेरो जीवन नै संघर्षमा वितेको छ । अहिले पनि संघर्ष गरिरहेकै छु र अन्तिम स्वाँससम्म पनि मधेसी जनताका लागि संघर्ष गरि नै रहने छु । यसको अर्थ यो होइन कि म अरु मानिसहरुको भलो चाँहदिन । सबैको भलाई होस र मधेसीलाई सम्मानका साथ बाँच्न पाउने अवसर मिलोस् ।” उनी थप्छन्,“ आफ्नै भुमिमा मधेसीलाई गाली गलौज गरिन्छ, भारतीय भनिन्छ, भैया, धोती, खाली बोतल, रद्दीको कागज, गमछाबाला मधेसी भैया आदि शव्दले अपमानजनक व्यवहार गरिन्छ । त्यो बन्द होस् । र, मधेसीलाई पनि सम्मानजनक जीवन जिउने अधिकार र अवसरबाट बञ्चित नगराईयोस् । यही हो मेरो अन्तिम इच्छा । यसैको लागि म संघर्षमा मधेसीको साथ छु ।”
विद्रोह गरे लगत्तै उनले आफ्नो अगुवाईमा तराई मधेस केन्द्रित एउटा पार्टी नै गठन गरे । तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरी मधेसी जनअधिकार फोरम नेपाल र सदभावना पार्टी सम्मिलित संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा पहिलो पटक गठन भएको थियो । उक्त गठनलाई मधेसमा ऐतिहासिक मोर्चा निर्माण भएको  भनियो । पहिले भएको २२ बुँदे सम्झौतालाई कार्यान्वयन गराउनका निम्ति उक्त मोर्चाले दोस्रो पटक मधेस आन्दोलन गरेको थियो ।  जुन राज्यका उनी हिस्सा थिए, जुन पार्टीका उनी पहिले नेता थिए सोही पार्टीका नेताको नेतृत्वमा रहेको राज्य सत्ता विरुद्ध ठाकुर सडकमा विद्रोह गरिरहेका थिए । परिस्थिति फेरिएको थियो । बाध्य भएर राष्टू प्रमुख तथा देशको कार्यकारी प्रमुखको हैसियतमा रहेका गिरिजा प्रसाद कोइरालाले घुँडा टेक्न बाध्य भएका थिए ।
    २०६४ साल फागुन १६ गते कोइरालाले आन्दोलनरत पक्षसँग ८ बुँदे सम्झौता गरी संविधानसभाको निर्वाचन गराएका थिए । अहिले २०७२ साल असोज ३ मा स्वर्गीय गिरिजा प्रसाद कोइरालाका उत्तराधिकारी सुशिल कोइरालाको नेतृत्वमा रहेको सरकारले संविधान जारी समेत गर्यो । तर, विगतमा गरिएका ती ८ बुँदे र २२ बुँदे सम्झौतालाई संविधानमा सम्बोधन नगरिएको भन्दै मधेसी मोर्चा फेरी विगत साढे ३ महिना देखि आन्दोलित छन् । त्यो आन्दोलन र अहिलेको आन्दोलनमा तात्विक रुपमा के भिन्नता छ भन्ने सवालमा अहिलेको आन्दोलनको अघोषित रुपमा सर्बोच्च कमाण्डर समेत रहेका ठाकुर भन्छन,“ कुनै पनि आन्दोलन, आन्दोलन नै हुन्छ । चाहे प्रथम, दोस्रो वा अहिलेको तेस्रो मधेस आन्दोलन नै किन नहोस । तर, अहिलेको आन्दोलनले विगतका आन्दोलनहरुको भन्दा जनताको राजनीतिक चेतनाको स्तर धेरै अगाडी बढी सकेको छ । गाउँ गाउँमा यहाँ सम्म कि बच्चा बच्चामा जय मधेसको भावना विकसित भएको छ । मधेस के हो भन्ने सवालमा मानिसहरु धेरै गम्भीरताका साथ बुझिरहेका छन् पहिलेको आन्दोलनभन्दा अहिलेको आन्दोलनले एउटा स्टेप अगाडी बढाएको छ ।”
‘मधेस’ देशको लाइफ लाइन
 उनी धेरै पहिले देखि एउटा कुरा भन्दै आएका छन् । पानी उत्तरबाट दक्षिण तिर बग्ने गरेको भएपनि जीवन मार्ग दक्षिणबाट उत्तर तर्फ जाने गर्दछ । यदि त्यो जीवन मार्गलाई धेरै बढी तन्काइयो भने भाँचिन पनि सक्छ । त्यही कुरालाई उनले बार्ताको क्रममा सुशिल कोइराला नेतृत्वको सरकार र खड्ग प्रसाद शर्मा ओलीको नेतृत्वको सरकारलाई प्रष्टसँग बुझाईरहेका छन् । यदि त्यसैपनि नेपालको नक्सालाई हेरियो भने मधेस धेरै नै नरम भाग हो । ‘राजनीतिक’ र ‘रणनीतिक’ दुवै दृष्टिकोणले अत्यन्तै नरम भाग पर्दछ । यदि उक्त भु भागमा केही डिस्टरबेन्स हुन्छ भने पुरै नेपाल त्यसबाट प्रभावित हुन्छ । त्यसैले उनी भन्छन,“मैले सरकारलाई बारम्बार यहि कुरा भनिरहेको छु कि यदि तपाईले मधेस नेपालको लाईफ मार्ग हो भन्ने कुरा बुझिरहनु भएको छ भने त्यसलाई सम्बोधन किन गरिरहनु भएको छैन । मधेसमा जे कठिनाईहरु छन् त्यसको समाधान किन गरिरहनु भएको छैन ?”
सम्बन्ध टुट्न सक्छ
तर, नेपाल सरकार मधेस आन्दोलन र मधेसका मुद्दाहरु भन्दा पनि नाकाबन्दी र राजमार्ग अवरुद्धको कुरा मात्र गर्न चाहन्छन् । ठाकुर भन्छन,“ मधेस त डबल नाकाबन्दीमा परेको छ । जे थोरबहुत माल सामानहरु नेपाल भित्रिरहेको छ त्यो सामान सरकारले आफ्नो लागि र काठमाण्डौको जनताको लागि मात्र लग्ने गरेका छन् । त्यसमध्ये मधेसमा कुनै सामान दिईरहेका छैनन् । त्यसैले मधेसका जनताहरु थप मर्कामा परेका छन् ।” यति सम्बेदनशिल अवस्थालाई पनि सरकारले बुझ्नुको साटो मधेसी जनता माथि गोली बर्साइन्छ, महिला, बच्चा, बृद्ध सबै माथि गोली चलाइएको छ । यहाँ सम्म कि अस्पतालमा उपचार गर्ने चिकित्सकहरु (जो निरपेक्ष रुपमा कुनै पनि विरामीलाई स्वतन्त्र रुपमा उपचार गर्छन)लाई पनि प्रहार गरिएको छ । यो दमन, अत्याचार बन्द गर्न नेपाल सरकारलाई पटक पटक भन्दा पनि नसुनिरहेको उनको गुनासो छ । परिचालित सेना फिर्ता बोलाउने सरकारले निर्णय पनि गरेको छ । तर, अहिले आएर फेरी सेना परिचालनको कुरा गरिँदैछ । बल प्रयोग गरेर समाधान गर्ने, राजमार्ग खोलाउने जस्ता कुरा गरिँदैछ । यी सब कुराहरुलाई हेर्दै ठाकुर भन्छन,“ सेना जुन दिन नेपाल सरकारले परिचालन गर्नेछ त्यो दिन हाम्रो परिस्थिति के हुनेछ ? सेना भनेको सार्बभौमसत्ताको प्रतिक हुन्छ । उसलाई यदि सरकारले आफ्नै नागरिकको विरुद्ध परिचालन गर्छ भने हाम्रो आन्दोलन जो अहिलेसम्म शान्तिपुर्ण र अहिंसक छ (अहिले पनि जारी आन्दोलनमा जब जब हतियार सहित बल प्रयोग गरिएको छ तब तब मात्र स्थिति विग्रिएको छ ।), भोली परिस्थिति बदलिने छ । तब सेनाको वा राज्यको नागरिकसँग जुन सम्बन्ध हुन्छ त्यो सम्बन्ध विच्छेद हुन सक्छ । देशको रक्षा गर्ने सेनालाई परिचालन गर्दा नागरिक राज्य र सेना विरुद्ध पनि विद्रोही बन्न सक्छ ।” यदि सेना नेपाल सरकारले परिचालन गरि नै हाल्यो भने जसरी चौकमा रातो बत्ती बल्दा टूाफिक प्रहरीको हाल हुन्छ अर्थात रुक्छ र हरियो बत्ती बलेपछि गाडी मात्र अगाडी वढ्छ, ठीक त्यही हाल पनि नेपाल सेनाको हुनेछ । उनको बुझाईमा अहिलेसम्म मधेसका नागरिकहरु राज्य र सेना सँगको सम्बन्धलाई जोडेर राख्न खोजेपनि पछि दुर्घटना तर्फ जान सक्ने छ ।
बार्ता किन विफल ?
आन्दोेलनको मुख्य विषय भनेको समस्याको सम्बोधन हो । यदि सम्वाद र बार्ता मार्फत नै नेपाल सरकार सम्बोधन गर्न चाहन्छ वा गर्छ भने आन्दोलन स्वतः रोकिन्छ । ठाकुर भन्छन,“ उनीहरुले चाहे जति सुकै दुस्प्रचार गरुन, हामी पनि बार्ता मै विश्वास गर्छौं । किनभने हाम्रो स्कुलिङ पनि लोकतन्त्र कै स्कुलिङ हो । त्यसैले हामी बार्ताबाट कहिल्यै पछाडी हटेका छैनौं । तर, सरकार नै पटक पटक बार्ता स्थगित गरेर हामीलाई बार्ताबाट टाढा धकेल्न खोजेका छन् । तीन प्रमुख दलले साझा धारणा बनाएकै छैनन् ।” बार्ताका क्रममा मधेसका सम्पुर्ण मुद्दाहरु उठाउने गरिएको छ । उनका अनुसार सम्बाद समिति मार्फत र अहिले सम्मको हरेक बार्ता वा विगतको संविधानसभामा पनि मुद्दाहरु उठाउने गरिएको थियो तर जब उनीहरु संख्याको बलमा जबरजस्ती संविधान लागु गर्न खोजे तब देखि संवादमा अवरोध आएको हो ।
वृहत मोर्चा किन बनिरहेको छैन ?
मधेसमा आन्दोलनरत जनता होस वा राजनीति गर्ने शक्तिहरु खास गरेर मधेस केन्द्रित शक्तिहरु, सबैलाई मिलाएर एउटै वृहत मोर्चा बनाई एक साथ झन् संगठित भएर आन्दोलनलाई अगाडी बढाउनु पर्ने धारणा र भावना बन्दै गइरहेको भएपनि त्यसो हुन सकिरहेको छैन । ठाकुरलाई हरेक पार्टीका नेताहरुले सर्बमान्य नेताका रुपमा स्वीकार गरिरहेका छन् । त्यसो हुँदा हुँदै पनि किन वृहत मोर्चा बन्दी हुन नसकेको भन्ने सवालमा उनी भन्छन,“ लोकतन्त्रमा धेरै पार्टी र धेरै विचारहरु हुनुका साथ साथै मत भिन्नताहरु पनि हुन्छन् ।
    तर, सबै जना आन्दोलनमै छौं । मुख्य कुरा के हो भने कोइपनि आन्दोलनको विरुद्धमा छैनन् । तर पनि सबै मिलेर एक साथ संगठित भएर आन्दोलन गर्नका लागि पटक पटक वैठक बसेको छ । कार्यदल समेत बनेको थियो । केही सहमत पनि भए । तर, केही सँग हुन सकेन । अहिले थारु, जनजाती आदिवासीहरुसँग पनि सहकार्य छ । मुस्लिम समुदायसँग सहकार्य छ । पहाडका केही दलहरु सम्मिलित संघीय लोकतान्त्रिक गठबन्धन पनि बनेको छ । तर, बाँकी सँग पनि सहकार्यको प्रयास जारी छ ।”
कुनै हालतमा नझुक्ने
राज्यसँग झुक्ने वा नझुक्ने, सम्झौत ागर्ने वा नगर्ने सवालमा ठाकुर भन्छन,“ सम्झौता पनि दुई खाले हुन्छ । एउटा आत्म सम्पर्ण र अर्को सम्मान जनक लक्ष्य प्राप्ति सहितको सम्झौता । तर, म सबैलाई के आश्वस्त गर्न चाहन्छु भने सबै जना आफ्नो शिर ठाडो पारेर राख्नुस । किनभने सिर ठाडो भयो भने मात्र हमलावरलाई पनि हेर्न सकिन्छ । सिर झुकाउँदा को आफ्नो मित्र वा को आफ्नो शत्रु हो छुट्याउन सकिन्न ।” सिर ठाडो पारेर पनि आफ्नो सम्मान प्राप्त गर्न सकिन्छ । त्यसैले अहिलेको आन्दोलनमा डटेर लाग्नुपर्छ । अहिले राज्यले आफ्नो गल्तीलाई महसुस नगरिरहेको भएपनि उनलाई यो अनुभुति पक्कै भईसकेको छ कि अब मधेसमा संघर्ष छ । संघर्षको समाधान त गर्नै पर्छ ।


२०७२ मंसिर २० गते आईतबार

No comments:

Post a Comment