Wednesday, November 18, 2015

विरगञ्जमा एमाले पार्टी कार्यालयमा आगजनी महोत्तरीबाट लखेटिए एमालेका सांसद


विरगञ्ज स्थित नेकपा एमाले पर्साको पार्टी कार्यालयमा आगजनी गर्नुका साथै फर्निचरहरु समेत संयुक्त लोकतान्त्रिक
 मधेसी मोर्चाका कार्यकर्ताहरुले जलाएका छन् ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनको क्रममा नेकपा एमालेले आफ्ना सांसदहरुलाई मधेसमा पठाएर आफ्नो जमिन बचाउन प्रयास गरेपछि मधेसका विभिन्न जिल्लाहरुबाट एमालेका सांसदहरु लखेटिएका छन् । त्यसैगरी कार्यक्रम मनाउने पार्टी कार्यालयहरुमा मधेसी मोर्चाले आगजनी समेत गरेको पाइएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले शनिबार बिहान नेकपा एमाले पर्साको वीरगञ्ज रामगढवास्थित पार्टी कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले एमालेले मधेस आन्दोलनको विरोधमा केन्द्रको निर्देशन अनुसार अञ्चल स्तरीय चियापान कार्यक्रम आयोजना गरेको भन्दै त्यसको प्रतिकार गरेको बताएका छन् । मोर्चाले एमालेका सभासदहरुले मधेस आन्दोलनको बिरोधमा षड्यन्त्र गरेको र आन्दोलनलाई बद्नाम गराउने उद्देश्यले विभिन्न गतिबिधि गरेको आरोप लगाएर शुक्रबार कार्यक्रम बिथोल्ने चेतावनी दिएको थियो ।
तिहार र छठको अवसरमा एमालेको भातृसगठन युवा सघं पर्साले शनिबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा अञ्चल स्तरीय चियापान कार्यक्रम राखेका थियो । आगजनीपछि चियापान स्थगित भएको छ । मधेस अधिकारका लागि जारी आन्दोलन तुहाउने अभिप्रयायले दीपावलीको मौका छोपेर एमालेका स्थानीय नेता र तराईबाट चुनिएर गएका सांसदहरुले चियापानको नाटक गरेर आन्दोलन भाडने षडयन्त्रमा लागेको  मोर्चाको आरोप छ । मोर्चाका कार्यकर्ताले पार्टी कार्यालयमा आगजनी गरेपछि टायर बालेर प्रदर्शनसमेत गरेका छन् । उनीहरुले पार्टी कार्यालय हातामा रहेका केही थान कुर्सीसमेत नजिकैको सिर्सिया नदीमा फालिदिएका छन् ।
आगजनि पछि नेकपा एमाले पर्साले  तिहार र छठ पर्बको उपलक्ष्यमा वीरगन्जमा  पार्टीले  चियापान कार्यक्रम नभएको जनाएको छ । एमाले पर्साका कार्यलय सचिव गंगा खड्काले पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्ने पार्टीको निर्णय नभएको बताए । पार्टीका युवाहरुको फेसबुक स्टाटसको कारण पार्टी कार्यालयमा अक्रमण भएको खडकाले बताए । उनले भने,‘शुक्रबार पार्टी कार्यालय युवाहरुले सर सफाइ गरेपछि चियापान कार्यक्रम गर्ने फेसबुकमा लेखेको कारण आगजनी भएको हो ।’
महोत्तरीबाट लखेटिए सांसद
नेकपा एमालेका सांसददय राम दयाल मण्डल र दीपनारायण साह आफ्नै गाउँबाट धपाइएका छन् । संविधान लिएर मधेसमा प्रवेश गर्न नेकपा एमालेले आफ्नो सांसदहरुलाई दिएको निर्देशन अनुसार महोत्तरी जिल्लाबाट निर्वाचित उक्त सांसद द्वय तिहारको मौका छोपेर गाउँ आएका थिए । मण्डल आएको सूचना पाए लगत्तै स्थानीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले सांसद मण्डलको घर घेरा उगर्दै नाराबाजी तथा विरोध प्रदर्शन गरेका थिए । सांसदहरुको विरोध भईरहेको देखेपछि महोत्तरीका प्रमुख जिल्ला अधिकार विरेन्द्र यादवले करिब २ सय जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए । आन्दोलनकारीहरुको विरोध प्रदर्शनका कारण सांसद मण्डल बुधबार राति नै प्रहरीको स्कर्टिङमा गाउँ छोडेर भागेका थिए ।
त्यसैगरी अर्को सांसद दीपनारायण साहलाई प्रदर्शनकारीहरुले विहिबार रातिसम्म गाउँ खाली गर्न उर्दी जारी गरेपछि विहिबार राति नै सांसद साह प्रहरी स्कर्टिङमा बर्दिवास भागेका थिए । तराई मधेस सदभावना पार्टीका केन्द्रिय सदस्य समेत रहेका सुरेश पाण्डेका अनुसार मधेस विरोधी पार्टीको रुपमा रहेको नेकपा एमाले राज्य संयन्त्रको सुरक्षाकर्मीलाई प्रयोग गरेर आफ्ना सांसदहरुलाई मधेसमा पठाएको भएपनि मधेसका जनताले ती सांसदहरुलाई लखेटेर मधेसमा तिनीहरुको केही पनि नचल्ने प्रष्ट भएको छ । पाण्डे भन्छन,“ मधेस विरोधी संविधान जारी गरेका मधेस विरोधी पार्टी नेकपा एमालेले ती दुई जना सांसदहरुलाई मधेसमा पठाएर शक्ति परिक्षणका साथै एउटा प्रयोग गरेको थियो । तर, मधेसी जनताले मधेस विरोधी संविधान बनाउने मधेसका गद्दार सांसदहरुलाई आफ्नै गाउँबाट लखेटेर ठुलो पाठ पठाएका छन् ।” स्थानीयवासीहरुका अनुसार ती दुई जना सांसद अहिलेको सरकारमा राज्य मन्त्री वा सहायक मन्त्री पाउनका लागि आफु प्रतिकुल अवस्थामा पनि मधेस गएको भनेर नेतृत्वलाई रिझाउनका लागि आएका हुन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले महोत्तरीबाट एमाओवादी , नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वा्चित तथा सामानुपातिक सांसदहरुलाई बहिस्कार गर्ने नीति अख्तियार गर्दै जिल्ला प्रवेशमा प्रतिबन्ध लगाए पछि तिहार र छठ मान्न गृहजिल्ला आएका सभासदहरु रातारात जिल्ला छाडेका हुन् । आन्दोलनरत मधेसी मोर्चाले जलेश्वरमा वैठकले कांग्रेस एमाले, एमाओवादीका सभासदले तीन महिनादेखि जारी मधेस जनआन्दोलनको क्रममा शहादत प्राप्त गरेका प्रति सम्मान गर्नुको साटो अवमूल्यन गर्दै जनआन्दोलन बिपरीत मधेस विरोधी संविधान लेखनमा भूमिका खेलेको भन्दै मधेस छाडन उर्दी जारी गरेको थियो ।
मधेसी मोर्चाले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसहित नेकाका किरण यादव, सिताराम भण्डारी, संगिता मण्डल एमालेका रामदयाल मण्डल, दिपनारायण साह, रंजना माझी, एमाओवादीका लालेन्द्र मण्डल, अनिता साह सहित नौ सांसदलाई जिल्ला प्रवेशमा प्रतिबन्ध लगाएको हो । महोत्तरीमा कांग्रेसका तीन,एमालेका तीन,माओवादीका तीन, संघीय समाजवादी फोरमका एक तमलोपाका एक, स्वतन्त्र एक, राष्टिूय मधेस समाजवादी पार्टीका दुई गरी १४ सांसद रहेका छन ।
माधव नेपाललाई पनि लखेट्ने
हुन त नेकपा एमालेका नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि संविधानको व्याख्या गर्नका लागि आफ्ना संसदीय क्षेत्र गौर पस्न खोजेका थिए तर उनी चन्द्रनिगाहपुरबाटै फर्किनु परेको थियो । गौरबाट आन्दोलनकारी मोर्चाका नेता तथा कार्यकर्ताहरु चन्द्रनिगाहपुर पुगेपछि झड्प समेत भएको थियो ।
त्यसैगरी माधव नेपाल २९ कार्तिकमा सर्लाहीको हरिपुरमा एउटा सभा गरेर कार्यक्रम आयोजन गर्ने तयारी गरेपछि सर्लाहीको मधेसी मोर्चाले माधव नेपालको कार्यक्रमलाई विथोलेर लखेट्ने चेतावनी दिएका छन् । मोर्चाका सर्लाही संयोजक तथा तमलोपाका सांसद जंगीलाल राय भन्छन,“ माधव नेपालले सर्लाहीको हरिपुरमा २९ देखि ३० गते सम्ममा कार्यक्रम गर्ने भनेर भनिएकोले उक्त कार्यक्रम विथोल्ने मोर्चाले निर्णय नै गरेको छ । उनले हरिपुर, नवलपुर, लालबन्दी, हरिवन, जुन सुकै ठाउँमा कार्यक्रम गरेपनि कार्यक्रम विथोलिने छ ।”
यसरी हेर्ने हो भने मधेसमा जनआधार खस्किदै गएपछि नेकपा एमाले जसरी पनि मधेसमा पुगेर मुठभेड गराई द्वन्द्व गराई साम्प्रदायिक सदभाव विथोल्न हर सम्भव प्रयास गरिरहेको पाइन्छ । हुन त मधेस आन्दोलनलाई दवाउनका लागि र आन्दोलनलाई प्रतिकार गर्नका लागि आन्दोलनको प्रारम्भमै नेकपा एमालेले आफ्नो यूवा संगठन यूवा संघलाई परिचालन गर्न उर्दी नै जारी गरेको थियो । तर, मधेसमा कुनै पनि यूवा संघका कमाण्डरहरु आउन सकेका थिएनन् ।
पिपरामा एमाले परित्याग
महोत्तरी जिल्लाको पिपरा गाविसमा पिपरा गाउँका गाउँ इकाई कमिटिका सम्पुर्ण पदाधिकारीहरु नेकपा एमाले परित्याग गरेका छन् । नेकपा एमाले मधेस विरोधी पार्टी रहेको, मधेस आन्दोलनलाई बन्दुकका माध्यमले दवाउन खोजेको, संविधानमा मधेसको अधिकार दिन नखोजेको भन्दै नेकपा एमाले पिपराका सम्पुर्ण पदाधिकारी संग सँगै पुर्व पदाधिकारीहरु समेतले सामुहिक रुपमै राजिनामा दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महोत्तरी जिल्लाको जिल्ला सदस्य सहित गाउँ कमिटी पिपराका अध्यक्ष लगायतका सय भन्दा बढी कार्यकर्ताहरुले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको सम्बाहक नेकपा एमालेमा २०५१ सालदेखि लागेका जिल्ला कार्यसमिति महोत्तरी सदस्य रामजानकी यादव लगायत सय भन्दा बढीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
निवर्तमान पिपरा गाविस अध्यक्ष एवं जिल्ला कार्यसमिति सदस्य तथा नेकपा एमाले महोत्तरीको खम्बाका रुपमा परिचित रामजानकी यादव, सदस्य निलम यादव, क्षेत्रीय उपाध्यक्ष क्षेत्र नं ३ का विजय साह, गाउ कमिटि सदस्य किशोरी साह, गाउ कमिटी सदस्य कुमार दास, राम एकवाल कापड, राम जीवन कापड, गाउ कमिटी उपाध्यक्ष जिवछ पासवान लगायत सम्पुर्ण पिपरा गाउ कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् ।
नयाँ संविधानमा मधेश र मधेशीहरुलाई आफ्नो अधिकारबाट वन्चित गराउन खसवादीहरुले गरेको प्रयासको पर्दाफास भएको र सत्तास्वार्थका लागि पार्टीको जन्मकालदेखि नै संघीयता विरोधी चित्रबहादुर के.सी., गैरलोकतान्त्रिक कमल थापा जस्ता शक्तीहरुसँगको साँठगाँठको घोर निन्दा गर्दै नयाँ संविधानमा अग्रगामी परिवर्तनको सट्टा पुरातन सोचले मधेशीको हक र अधिकार कुण्ठित गरेकोले पार्टी परित्याग गरिएको विज्ञप्तीमा जनाइएको छ ।
नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य रमन पाण्डेय लगायतको उपस्थितीमा प्रेस विज्ञप्ती सार्वजनिक गर्दै रामजानकी यादव लगायतले अव पार्टीमा कहिल्यै नफर्किने र मधेश तथा मधेशीको हक अधिकार दिलाउन आन्दोलनमा लाग्ने जनाए । यसरी हेर्ने हो भने अब थुपै्र गाउँहरुमा नेकपा एमालेको संगठन नै सखाप हुने अवस्था आईपुगेको छ ।


२०७२ कार्तिक २९ गते आईतबार

No comments:

Post a Comment