Thursday, September 10, 2015

पहिचान, स्वाभिमान र अधिकारको लागि मधेसी जनताको ‘मुक्ति या मृत्युको आन्दोलन’

पहिचान र स्वाभिमानको रक्षाको लागि १६ भदौमा जनकपुरमा निकालिएको धोती जुलुसमा 
सदभावनाका नेता तथा कार्यकर्ताहरु ।
अजय अनुरागी
जनकपुरधाम............
संघीयतामा सीमांकनको विषयलाई लिएर जारी आन्दोलनमा २६ जनाले ज्यान गुमाएका छन् । झडपका क्रममा करिब चार सय भन्दा वढी जना घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १५ आन्दोलनकारी, ९ प्रहरी र एक नाबालक र एक सर्बसाधारणको आन्दोलनका क्रममा मृत्यु भएको छ । मंगलबार रुपन्देहीमा एक व्यक्तिको शव भेटिएको छ । तर, सो शव आन्दोलनकारीको हो वा अन्यको भन्ने खुलेको छैन ।  विभिन्न ठाउँमा भएका झडपका क्रममा करिब २ सय प्रहरी घाइते भएका छन् । आन्दोलनकारीतर्फ २ सय भन्दा वढी मानिस घाइते भएको प्रहरीले जनाएको छ ।

प्रमुख दलले संघीयतामा ६ प्रदेशको सीमांकनको टुंगो लगाए लगत्तै मध्यपश्चिममा आन्दोलन चर्किएको थियो । मध्यपश्चिम टुक्रयाइएको भन्दै आन्दोलनकारीले नेताहरूको घरमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाउँदा गत २५ साउनमा सुर्खेतमा तीनजनाको मृत्यु भएको थियो । ३१ साउनमा जुम्लामा पनि प्रहरीले गोली चलाउँदा एक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । मध्यपश्चिमसँगसँगै मधेसमा आन्दोलन चर्कियो । दलहरूले ४ भदौमा ६ बाट ७ प्रदेशमा जाने निर्णय गरी मध्यपश्चिमलाई यथावत् राखेपछि मध्यपश्चिमको आन्दोलन रोकियो । तर, मधेसमा निरन्तर बन्द र आन्दोलन चलिरहेको छ । तराईमा आन्दोलन उग्र हुँदै गएपछि शान्तिसुरक्षामा सेनालाई समेत स्थानीय प्रशासनको मातहतमा खटाउन थालिएको छ ।

मधेसको हरेक जिल्लामा मधेसी जनता राज्यसँग विद्रोह गरिरहेका छन् । शान्तिपुर्ण आन्दोलनमा होमिएका मधेसी जनता राज्यको संयन्त्र मानिएका प्रहरीको लाठि प्रहार, अश्रुग्यास प्रहार, गोली प्रहार लगायतको दमनलाई सहेर आफ्नो अधिकारको खोजी गरिरहेका छन् । बन्दुकको गोलीको जवाफ जनताले ढुङ्गामुढाले दिईरहेका छन् ।
जनकपुरको भानु चौकमा प्रदर्शनकारीहरुले प्रहरीलाई नै निषेध गरेको पाइन्छ ।
अधिकार र पहिचानका लागि जनता सडकमा ओर्लिएका बेला राज्य बन्दुकको बलमा आन्दोलनलाई दवाउन प्रयासरत रहेको देखिन्छ । तराई मधेसमा नागरिकको ज्यान गईरहेको बेला सरकार उक्त मागलाई सम्बोधन गर्नुको साटो कुम्भकरणको निद्रामा सुतेको देखिन्छ । आन्दोलनरत पक्षहरुका जायज मागलाई सम्बोधन गरेर आन्दोलन मत्थर गर्नुको साटो सेनालाई परिचालन गरेर, प्रहरीलाई बन्दुकको गोली हानी दवाउन खोज्दा आन्दोलन झन भयावह हुँदै गईरहेको छ । राज्य संचालन गर्ने शासक पक्षका नेताहरु झन् असम्बेदनशिल भईदिँदा घाउमा मलहम लगाउनुको साटो नुन छर्किने काम भईरहेको छ ।
नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौला, नेता तथा अर्थ मन्त्री रामशरण महत, एमाओवादी प्रवक्ता दिनानाथ शर्मा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखि शिर्षस्थ नेताहरुले मधेसको जारी आन्दोलनलाई बार्ताका मार्फत सम्बोधन गर्ने ठाउँमा मधेस आन्दोलन औचित्यहिन र बेतुकको आन्दोलन भनेर मधेस आन्दोलनलाई फेरी पनि अपमान गर्ने काम गरेका छन् ।

किन भईरहेको छ आन्दोलन
 नेपालको कुल भु भागको २३ प्रतिशत अर्थात ३४ हजार १९ बर्ग किलोमिटर क्षेत्रफल मधेसको रहेको छ । पुर्व देखि पश्चिममा गरी मधेस क्षेत्रको लम्बाई ५ सय माईल र उत्तर दक्षिणको चौडाई सरदर २० माईल रहेको छ । मधेसमा निर्माण भईसकेको पुरै मधेस छिचोल्ने पुर्व पश्चिम राजमार्गको लम्बाई १ हजार १ सय किलोमिटर छ । मधेसको आधा भन्दा वढी जनसंख्या रहेको मधेसी समुदाय माथि खस शासक बर्गले सधै उपनिवेश कायम राखेको पाइन्छ । विगतमा राणाहरु, राजाहरु र अहिले खस शासक वर्गहरुले मधेसका जनतालाई शोषण गरेर उपनिवेश कायम गरेको पाइन्छ । त्यसकारण उपनिवेशबाट मुक्तिको लागि अहिलेको मधेस आन्दोलनलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘मृत्यु या मुक्ति’ को आन्दोलन भनिरहेका छन् ।

 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन,“ अहिलेको जारी मधेस आन्दोलन ऐतिहासिक आन्दोलन हो । विभेद, उपनिवेशबाट मुक्तिका लागि मधेसी जनताले मुक्ति या मृत्यु मध्ये कुनै एक लक्ष्य हासिल गर्ने उद्देश्यले आन्दोलनमा सहभागी भएका छन् । मधेसी जनताले प्रहरीको गोली खाएर मृत्यु रोजिरहेका छन् भने अव मधेसको मुक्ति विना आन्दोलन रोकिने छैन ।” त्यसैगरी मोर्चाका अर्को घटक सदभावना पार्टीका अध्यक्ष  राजेन्द्र महत्तो भन्छन,“ यो वारपारको आन्दोलन हो र यसलाई हामीले अन्तिम आन्दोलनको रुपमा लिनुपर्छ । संविधानसभाबाट विगतको सहमतिअनुसार संविधान निर्माण गराउन यो आन्दोलन गरिएको हो ।”

मधेस प्रदेशका लागि आन्दोलन
पुर्वमा झापा देखि पश्चिममा कञ्चनपुरसम्मको भुभागलाई मधेस भन्ने गरिएको छ । सम्पुर्ण मधेसलाई एउटै प्रादेशिक मान्यता दिइनुपर्दछ भन्ने मधेसी मोर्चाको अवधारणा हो । तसर्थ जातीय हैन, क्षेत्रीय आधारमा (भुगोलमा आधारित) नै प्रदेश बन्नुपर्दछ । आजसम्म खस शासक तथा पर्वते राज्य व्यवस्थाबाट नियोजित आन्तरिक औपनिवेशिकताको आधारमा पुरै मधेसलाई, मधेसबासीलाई शोषणमा पारिएको हुँदा ‘एक मधेस एक प्रदेश’ को नारा २०६३÷०६४ मा भएको दुई पटकको मधेस विद्रोहको नाराको रुपमा मुखरित भएको थियो । राजनीतिक क्षतिपुर्तीका लागि अग्राधिकार सहित प्रस्ताव गरिएको स्वायत्त प्रदेशको संरचना हो मधेस प्रदेश ।

 स्वायत्त मधेस प्रदेश किन ?
औपनिवेशिकरणको अन्तयका लागि मधेसीको सर्बाधिक महत्वपुर्ण मुद्दा नै ‘स्वशासन’को स्थापना गर्नु हो । मधेसको लागि स्वशासन भनेको ‘आन्तरिक औपनिवेशिकताको अन्तय सहितको स्वायत्त शासन’ हो । साधारण अर्थमा आफ्ना हितका खातिर आफुले कानुनको तर्जुमा गरी आफ्नो शासनको निर्धारण गर्न पाउनु नै स्वायत्तता हो । मधेसी समुदायको राजनीतिक नेतृत्व कायम हुने संरचनायुक्त मधेस प्रदेश खोजिएको हो । जसमा आफ्नै लोक प्रशासन, आफ्नै न्यायपालिका, आफ्नै प्रहरी संयन्त्र, आफ्नै स्वतन्त्र अर्थ नीति र आफ्नै काम काजको भाषा खोजिएको हो । 

    तर, अहिले प्रस्तावित ६ देखि ७ प्रदेश सम्मको खाकामा मधेस प्रदेशलाई टुक्रा टुक्रामा विभाजन गरि विगतकै औपनिवेशिकता लादन खोजिएको कारण अन्तिम तथा निर्णायक आन्दोलन भईरहेको नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य राजीव झा बताउँछन् । 

    हुन त विगतका मधेस आन्दोलनमा उठेका समग्र मधेस एक स्वायत्त प्रदेशको नारालाई थारुहरुको आन्दोलनले खण्डित गरेको थियो । त्यसबेला थारु समुदायले आफुहरु मधेसी होइन आदिवासी रहेको बताएका थिए । अन्ततः मधेसी समुदाय विभाजित भएका थिए । तर, अहिले थारुहरुले समेत मधेसी र थारु भाई भाईको संज्ञा दिँदै आन्दोलित छन् । अर्थात अहिले मधेसी र थारुहरुको आन्दोलनको ऐजेण्डा भनेको झापा देखि चितवनसम्मको मधेस प्रदेश र चितवन देखि कञ्चनपुरसम्मको थरुहट प्रदेश गरी मधेसमा मोटामोटी दुई प्रदेशको माग अहिलेको जारी आन्दोलनबाट मुखरित भएको पाइन्छ ।

स्वाभिमान र पहिचानको आन्दोलन
नेकपा एमाले यो देशको दोस्रो ठुलो पार्टी हो । सत्ता साझेदारको प्रमुख घटकको रुपमा रहेको एमाले अहिले मधेस र मधेसी जनताको भावना विपरित हिँडिरहेको छ । सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको हातमा रहेपनि सत्ताको बागडोर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै सम्हालिरहेको राजनीतिक जानकारहरु बताउँछन् ।     अहिले संविधान  जारी भए बन्ने नयाँ सरकारको नेतृत्व ओलीले नै पाउने निश्चित छ । त्यसकारण जसरी पनि संविधान जारी होस भन्ने उद्देश्य एमालेले लिएको प्रष्ट बुझिन्छ । तर, जारी आन्दोलनका कारण उनको प्रधानमन्त्री बन्ने चाहनामा तुसारापात भईरहँदा एमाले आन्दोलन प्रति आक्रामक बनेको देखिन्छ ।

नेकपा एमालेका पुर्व अध्यक्ष तथा देशको पुर्व प्रधानमन्त्री समेत भईसकेका झलनाथ खनालले एउटा रेडियो अन्तरवार्तामा मधेसलाई के धोती प्रदेश बनाईदिने त भनेर व्यङ्ग गरेका थिए । धोती मधेसमा मधेसी जनताले लगाउने पोशाक हो । 

    प्रधानमन्त्री समेत भईसकेका खनालले एउटा सिंगो समुदायलाई नै लक्षित गरेर हेला गर्नुले यो देश कता जाने हो भन्न सकिन्न । तर, खनाललाई पनि जवाफ दिँदै मधेसी जनताले स गौरबका साथ धोती जुलुस निकालेर हो, स्वायत्त मधेस धोती प्रदेश देउ भन्ने नारा लगाएका थिए । १७ भदौमा जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले धोती जुलुसलाई स्वाभिमानको जुलुस भनेका थिए । 

    सदभावना धनुषाका अध्यक्ष संजय सिंह भन्छन,“ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसीलाई आफ्नो प्रदेश खोज्न भारतको उत्तर प्रदेश तथा विहार जाउ भनेर मधेसीलाई यो देशबाट विस्थापन गर्न खोजेको प्रष्ट भएको थियो । अहिले फेरी सोही पार्टीका बरिष्ठ नेता खनालले मधेसीको पहिचान र स्वाभिमानलाई लल्कारेका छन्, यसको परिणाम मधेसी जनताले सडकमा धोती जुलुस  निकालेर  दिईसकेका छन् ।”
पार्टी अध्यक्ष केपी ओलीले एमालेका कार्यलयमा आगजनी गर्ने र नेता सभादका घरमा आक्रमण गर्नेलाई सम्झाउन र सम्झाउदा नमाने ठेगान गलाउन चेतावनी निर्देशन दिएका छन् । एमालेको भातृसंगठन युवा संघका महासचिव राजिव पहारीले बिहीबार विज्ञप्ति जारी गरी पार्टी अध्यक्ष केप ओली,तथा नेताहरु माधव नेपाल, झलनाथ खनाल, सत्यनारायण मण्डल, बैजनाथ चौधरी लगायतको नामै किटेर धम्की दिनेहरुलाई नछाड्ने जनाएका छन् ।

                            जारी आन्दोलनमा ज्यान गुमाउनेहरुको विवरण

२५ साउन ः सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागी टीकाराम गौतम, यामबहादुर बिसी र गोपालसिंह रजवारको मृत्यु । मृतकहरूलाई सहिद घोषणा र पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमतिपछि ३२ साउनमा मात्र आफन्तले शव बुझेर दाह संस्कार गरे ।
१ भदौ ः सप्तरीको भारदहमा प्रहरीको गोलीले राजेन्द्र (राजीव) राउतको मृत्यु । सात दिनपछि राज्यले सहिद घोषणा गरेपछि राउतका परिवारले शव बुझेर दाह संस्कार गरेका थिए ।
३ भदौ ः बन्दको प्रतिकारका क्रममा प्रहरीको गोलीबाट भैरहवाको दण्डखोलामा दुर्गेश यादव, सुनील यादव र सुधीराम यादवको मृत्यु ।
६ भदौ ः कर्णाली आन्दोलनका क्रममा ३१ साउनमा घाइते भएका हरिबहादुर कुँवरको उपचारको क्रममा काठमाडौंमा मृत्यु ।
७ भदौ ः रौतहटको बिपी चोकमा प्रहरीको गोलीबाट रामकिशोर ठाकुरको मृत्यु ।
७ भदौ ः थरुहट संघर्ष समितिका कार्यकर्ताद्वारा टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम विष्ट र केशवराज बोहरा, जवानहरू लोकेन्द्र चन्द र लक्ष्मण खड्का, सशस्त्र प्रहरीका हवल्दारद्वय रामबिहारी ठाकुर र ललित साउद मारिए । गोलीको छर्रा लागेर दुई वर्षीय टेकबहादुर साउदको पनि मृत्यु भयो ।
१४ भदौ ः आन्दोलनका क्रममा प्रहरीसँग झडप हुादा वीरगन्जमा दिलीप चौरसियाको मृत्यु ।
१५ भदौ ः कफ्र्यु उल्लंघन गर्दा प्रहरीको गोलीबाट वीरगन्जमा मनियारी भवानीपुरका धर्मराज सिंह, बहुअरी नौतनका दीनानाथ साह, भोला साह र सोहन साह कलवारको मृत्यु । बाराको कलैया रंगपुरका हिफाजत मियाँको मृत्यु । १८ भदौमा राज्यले उनीहरुलाई सहिद घोषणा गरेपछि १९ भदौमा मृतकका आफन्तहरुले शव बुझेर दाह संस्कार गरे ।
१८ भदौ ः बर्दियाको मैनापोखरमा बन्द आब्हानकर्ता र प्रहरीबीच भएको झडपमा गोली लागेर नेपाल प्रहरीका हवल्दार देबबहादुर पाण्डेको मृत्यु  ।
१८ भदौ ः नेपालगंज–कोहलपुर सडक खण्डको गनापुरको पिप्रहवा चोकमा बन्दकर्ताले गुडिरहेको भे.५.प ४२५० नम्बरको मोटरसाइकलमाथि ढुंगा प्रहार गर्दा मोटरसाइकलका चालक नौवस्ता–२ का २२ वर्षीय परम सिंहको मृत्यु भएको छ । प्रहरीका अनुसार उपचारका लागि कोहलपुर अस्पताल तर्फ लग्दै गर्दा बाटोमा उनको मृत्यु भएको हो ।





२०७२ भाद्र २० गते आईतबार

No comments:

Post a Comment