Tuesday, August 11, 2015

जानकी मेडिकल कलेजको ‘पोस्टमार्टम’


दिर्घकालिन समाधानको माग गर्दै केही साता अघि 
जानकी मेडिकल कलेजका छात्राहरुले जनकपुरमा गरेको प्रदर्शन ।
अजय अनुरागी
जनकपुरधाम............

आफ्नो भविष्यका लागि टालटुले होइन दिर्घकालिन समाधान पाउनुपर्छ भनेर जनकपुरको रमदैया स्थित जानकी मेडिकल कलेजका छात्र छात्राहरुले गरेको जनकपुर देखि काठमाण्डौ सम्मको आन्दोलनले प्रतिफल दिएको छ । नयाँ व्यवस्थापन चयन संगै कलेजमा लामो समय देखि बन्द रहेको पठन पाठन र अस्पताल समेत सुचारु हुनुले समस्या समाधान होला भन्ने विद्यार्थीहरुमा आशा पलाएको छ भने नयाँ व्यवस्थापन माथि भरोसा गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेका छन् । झन् संसदीय टोलीले स्थलगत अध्ययन गरिदिँदा विद्यार्थी सँगै शिक्षक कर्मचारीहरुमा समेत भरोसा जागेको छ ।

एमबिबिएस पढ्नका लागि मैले २५ लाख रुपैयाँ शुल्क तिरेर नामाङ्कन गराएको थिएँ । प्रथम बर्ष र द्धितिय बर्षमा बेसिक कोर्ष पढाई हुन्छ । त्यो दुई वर्षको पढाई धेरै राम्रो त थिएन तर धेरै नराम्रो पनि थिएन । जे होस ठिक ठिकै रह्यो दुई वर्ष । तेस्रो बर्षको अन्तिममा आउँदा हाम्रो कलेजको पढाई पुरै खस्किँदै गयो । चौथो वर्षमा आउँदा बर्षमा मात्र दुई महिना पढाई भयो । कोर्ष कम्पलिट भएको थिएन । जाँच कसरी दिने भन्ने कुरा आयो । त्यसपछि दुई तिन महिनामा नै कोर्ष कम्पिलिट गर्ने व्यवस्थापनले प्रपञ्च रच्यो । पुष माघमा चौथो बर्षको जाँच भयो । जसो तसो जाँच दिइयो । अहिले म फाइनल इयरमा छु । 

माघ देखि अषाढ सम्म ६ महिना पढाई नै भएको छैन । अहिले भर्खर साउनमा आएर क्लास सुरु भएको छ । त्यो पनि नयाँ म्यानेजमेन्ट आएपछि । फेरी, यो म्यानेजमेन्ट पनि आधिकारिक हो कि होइन भन्ने शंका वढेको छ । किनभने यसअघि पनि थुपै्र मानिसहरु एक आध महिनाका लागि म्यानेजमेन्ट बनेर आए र गए । पढाई भएपनि नभएपनि जाँच दिनै पर्छ । यो बर्षको जाँच यहाँ हुन्छ कि हुँदैन भन्ने डर समेत सताएको छ । किनभने यस बर्षको मौका परीक्षा सारियो । चितवन मेडिकल कलेजमा परीक्षा लिइयो । तर जेहोस अहिले पढाई त सुरु भएको छ । हाम्रो पोस्टिङ पनि होस् । किनभने पोस्टिङ भएन भने हामीले विरामी जाँच्ने कुरा सिक्ने कसरी ? कोइ यहाँ छात्रवृतिमा पढ्न आएका छन् भने कोही महँगो शुल्क तिरेर पढ्न आएका छन् । अहिले अस्पताल खुले पनि विरामी आईरहेका छैनन् । चिकित्सा पेशामा सैद्धान्तिक ज्ञान संगसँगै प्राक्टिकल ज्ञान पनि अत्यन्त आवश्यक छ । यी सबै भनाई धनुषाको रमदैया भवाडी स्थित जानकी मेडिकल कलेजका फाइनल इयरका छात्र रंजन थापाको हो । ललितपुर घर भएका रंजन योग्य र दक्ष डाक्टर बन्ने सपना लिएर यस कलेजमा पढ्न आए । तर, विगत दुईबर्ष देखि उनको पढाई एक किसिमले पुरापुरी अवरुद्ध भएको छ । यो कलेजमा पढ्ने तेस्रो, चौथो र फाइनल इयरका लगभग लगभग सबै विद्यार्थीहरुले त्यस्तै गुनासो प्रकट गरेका थिए । 

जानकी मेडिकल कलेजमा अनुगमन गर्दै व्यवस्थापिका संसदको संसदीय टोली ।

चौथो बर्षका छात्र सच्चिदा नन्द चौधरी भन्छन,“ यहाँ हाम्रो टर्मिनल इक्जाम कहिल्यै हुँदैन । इक्यूपमेन्टहरु केही छैनन् । प्राक्टिकल नै नहुने हो भने हामी कस्तो चिकित्सक बन्ने छौं । हामी त यहाँ दक्ष चिकित्सक न बन्न आएको हो । तर, व्यवस्थापनको कमजोरीका कारण हाम्रो भविष्य नै अन्धकारमय भएको छ ।”थर्ड इयरका छात्र रोविन कुमार यादव भन्छन,“ विगत १०÷११ महिना देखि हाम्रो पढाई अवरुद्ध थियो । पढ्नुपर्ने हामी विद्यार्थी हाम्रै पढाईको लागि काठमाण्डौको सिंहदरवार देखि धनुषाको जिल्ला प्रशासन कार्यालय सम्म आन्दोलन गर्नु परेको छ । यहाँ शिक्षक छैनन्, फयाकल्टी मेम्बर छैनन् । उपकरणहरु छैनन् । विरामी छैनन् । हामी डाक्टर बन्ने हो भन्ने कुराको अब विश्वासै लाग्दैन ।”

यसरी हेर्ने हो भने उक्त मेडिकल कलेजका करिब ३१७ जना विद्यार्थीहरु आफ्नो भविष्यका लागि चिन्तित छन् । त्यहाँका विद्यार्थी मात्र होइन, उक्त कलेजमा कार्यरत करिब ४ सय ५० जना जति शिक्षक तथा कर्मचारीहरु समेत आफ्नो भविष्यलाई लिएर चिन्तित छन् । तर, तिनीहरुले गुमाईसकेको आश नयाँ व्यवस्थापन आएपछि फेरी जागेको छ । विद्यार्थी, चिकित्सक, शिक्षक, कर्मचारी र स्थानीय समुदायको समेत विश्वास जागेको छ । भरोसा गरेर हेरौं भन्ने कुरा सबैमा पलाएको छ । किनभने नयाँ व्यवस्थापन आएपछि शिक्षक कर्मचारीहरुको बाँकी रहेको तलब मध्ये ३ महिनाको तलब एक मुष्ठ खुवाएका छन् । र, प्रत्येक महिना चालु महिनाको तलब सँगै पछिल्लो एक महिनाको तलब समेत खुवाउने व्यवस्थापनले आश्वासन दिएपछि कर्मचारीहरुमा पहिलेकै जस्तो जोश जाँगर पलाएको छ । उक्त शिक्षण अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.रामनारायण मण्डल भन्छन,“ सबै भन्दा ठुलो समस्या भनेको तलब थियो । तलब नै भुक्तिानी नहुने भएपछि एक किसिमले कलेज आधिकारिक रुपमा बन्द नभएपनि बन्द नै थियो ।”  पुरानो व्यवस्थापनमा रहेका सदस्यहरु बीच आपसी मनमोटाव र द्वन्द्वका कारण कलेज धरापमा परेको हो ।

नयाँ व्यवस्थापन आएपछि तत्काल समस्या समाधान भएपनि
 दिर्घकालिन समाधान हुनेमा भने विद्यार्थीहरुको शंका 
अहिले पनि कायमै रहेको पाइन्छ ।

पछिल्लो व्यवस्थापनहरुको आपसी द्वन्द्व र कलहका कारण संस्था धरापमा परेपछि विद्यार्थीहरुको भविष्य समेत अप्ठ्यारोमा परेको थियो । व्यवस्थापन फेरिएपनि समस्याहरु सामाधान हुँदैन्थ्यो । तर, नयाँ व्यवस्थापन आएपछि पहिलेको परिदृष्य र अहिलेको परिदृष्यमा भिन्नता आएको छ । मेसु मण्डल भन्छन,“ अहिलेको नयाँ म्यानेजमेन्टमा विश्वास गर्ने वातावरण किन पनि छ भने उहाँहरुले ८७ प्रतिशत सेयर कम्पनी रजिष्टूारबाट पास गराएर आधिकारिक बनेर आउनु भएको छ । तिन महिनाको तलब पनि खुवाउनु भएको छ । र, नयाँ व्यवस्थापनमा मेडिकल क्षेत्रमा काम गरेका अनुभवि व्यक्तिको सहभागिता पनि भएकाले अब काम गर्ने बातावरण बनेको छ ।” 

लामो समय सम्म पठन पाठन बन्द भएपछि पछिल्लो सलेवस पुरा गर्नका लागि समेत नयाँ प्लान अनुसार काम सुरु भईसकेको भन्दै कलेजका प्रिन्सिपल डा.विवेका नन्द झा भन्छन,“ दशै देखि छठसम्मको विदा काटेर बाँकी रहेको १५ सप्ताहमा थियोरी क्लास कभर गर्ने योजना बनाएका छौं । त्यसका लागि उपलब्ध भएका फ्याकल्टीबाट पढाउने छौं र अपुग भएका फ्याकल्टीहरुलाई भिजिटिङ्ग लेक्चरर बनाएर पढाउने छौं । त्यसका लागि भ्याकेन्सी समेत आह्वान गरिसकिएको छ ।” त्यसैगरी फाइनल इयरका विद्यार्थीहरुको पोस्टिङका लागि विहान र बेलुका गरेर दुई सिफ्टमा पोस्टिङ गरिने बताइएको छ । यदि आफ्नो अस्पतालमा विरामी आएन भने जनकपुर अञ्चल अस्पतालमा पठाएर क्लिनिकल एक्सपोजर दिलाउने छौं भन्दै प्रिन्सिपल झा भन्छन,“ लामो समय देखि बन्द रहेको जनकपुर र यहाँको  हाम्रो अस्पताल भर्खर खुलेको छ । विरामीहरु कम संख्यामा आईरहेका छन् । त्यसकारण जनकपुर अञ्चल अस्पतालसँग हाम्रो पहिले पनि सम्झौता अनुसार विद्यार्थी पठाए झैं यस बर्ष पनि पठाइने छ ।” 

यति हुँदा हुँदै पनि केही कर्मचारीहरुमा अझै पनि शंका यथावत छ । उक्त कलेजका डेन्टल सर्जन डा.राम स्नेही साह भन्छन,“ व्यवस्थापन आए गए, आउँछन् जान्छन् तर त्यो सँग हाम्रो सरोकार छैन । हाम्रो सरोकार के हो भने हामी १२ बर्ष देखि यहाँ काम गरिरहेका छौं तर, हाम्रो जागिरको सुरक्षा सुनिश्चित गरिएको छैन । अहिलेसम्म दुई जना कर्मचारी मात्र स्थायी भएका छन् । तसर्थ हामी यहाँ सुरक्षित छैनौं । व्यवस्थापनले हाम्रो जागिरको स्थायीत्व प्रदान गर्न सक्नु पर्दछ ।”

इन्टेकको समस्या
उक्त मेडिकल कलेजमा अहिले नयाँ विद्यार्थी भर्ना लिन बन्द गराइएको छ । २०५६÷०५७ सालमा दर्ता भएको रामजानकी हेल्थ फाउण्डेशन प्रा.लि. अन्तरगतको भगिनी संस्था हो जानकी मेडिकल कलेज । २०६० साल देखि एमबिबिएसमा ६० जना विद्यार्थीलाई भर्ना लिएर उक्त कलेजको पठन पाठन सुरु भएको थियो । २०६३ सम्म विद्यार्थी संख्या ६० कोटा रहेको उक्त कलेजको कोटा २०६४ सालमा बढाएर ७५ पु¥याइयो । फेरी २०६५ मा १ सय कोटा दिइयो । २०६८ साल सम्म तीन बर्ष उक्त कलेजले प्रति बर्ष १ सय सिट कोटामा पाए । तर, कलेजको पुर्वाधार नपुगेको भन्दै कोटा संख्या घटाएर ८० मा पु¥याइयो । फेरी २०७० सालमा कोटा शुन्य गरियो । एकातर्फ कलेजले नयाँ भर्नाका लागि विद्यार्थीहरुसँग शुल्क असुली गरिसकेको थियो भने अर्को तर्फ नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेको प्रतिवेदनको आधारमा आईओएमले कोटा निल ग¥यो । त्यसपछि मेडिकल कलेजले पुनरावेदन अदालत पाटनमा मुद्दा गरेपछि पुनः ८० जना विद्यार्थीको भर्ना २०७० सालमा कलेजले लिन पायो । त्यसपछि २०७१ सालमा पनि कोटा नदिइएपछि अदालतले भने भर्ना प्रक्रियामा रोक लगायो । कलेज बन्द गर्ने वा संचालन गर्ने पक्षमा मत विभाजन भएपछि प्राविधिक कारणले इन्टेक लिन मिल्दैन भनेर पुनरावेदन अदालत पाटनले गरेको अन्तरिम आदेशका कारण २०७१ सालमा विद्यार्थी भर्ना नलिइएको कलेजका कम्पनी सचिव तथा कानुनी सल्लाहकार इन्द्र लुइटेलले जानकारी दिए । कलेजका बरिष्ठ प्रशासक डिएन झा भन्छन,“ पुर्वाधार नभएको अवस्थामा आइओएमले कसरी ६० सिटबाट १ सय सिट सम्म पु¥यायो । पुर्वाधार वढेकै छ, घटेको छैन । जनकपुरमा समेत सिटी अस्पताल संचालन गरिएको छ । तर, एनएमसी र आइओएम मेडिकल माफियाहरुको चलखेलमा परेर  विना तर्क कलेजको कोटा जिरोमा झारेको छ ।”

यति मात्र होइन, यस कलेजको फाइनल इयर पास गरेका ५९ जना विद्यार्थीहरुलाई नेपाल मेडिकल काउन्सिल ऐन विपरित इन्टर्न गर्नका लागि गण्डकी मेडिकल कलेज, पोखरा सारिएको छ । गत अषाढ २ गते देखि उनीहरुलाई त्यहाँ पठाइएको हो । कलेजको प्रशासन हेर्ने सुशिल ठाकुर भन्छन,“ कलेजको इन्टर्न हाम्रो सम्पती हो । उक्त इन्टर्नलाई फिर्ता गर्नुपर्छ । त्यतिबेला अस्पताल चलेको थिएन त्यसैले त्यहाँ पठायो तर, अब यहाँ सबै कुरा सुचारु भईसकेको हुनाले विद्यार्थीहरुलाई यहाँ पठाउनु पर्छ ।” 

उक्त मेडिकल कलेजको परीक्षा केन्द्र जनकपुरमै हुँदा व्यापक चिट चोरी हुने तथा अमर्यादित क्रियाकलापहरु भईरहेको गुनासो बाहिर आएपछि सप्लिमेन्टूी परीक्षाको केन्द्र यस पटक चितवन पठाइएको थियो । ६० जना विद्यार्थीहरुले चितवनमा जाँच दिएको थियो जसमध्ये २५ जना विद्यार्थी उत्तिर्ण भएका छन् । कलेजका प्रिन्सिपल डा. विवेकानन्द झा भन्छन,“ यहाँ धेरै चोरी हुन्छ भनेर परीक्षा केन्द्र सारे । त्यहाँ त चोरी गरेनन् तर पनि ४० प्रतिशत विद्यार्थी पास हुनुले यहाँ चोरी हुँदैन भन्ने कुराको पुष्टि भएको छ । यति मात्र होइन यहाँबाट पास गरेका विद्यार्थीहरु एमडीमा जाँच दिँदा टपर नै हुने गरेका छन् । तसर्थ यहाँ पढाई धेरै राम्रो हुन्छ भन्ने कुराको पुष्टि हुन्छ ।”

नयाँ व्यवस्थापन समुह
उक्त कलेजमा अषाढ ३१ गते देखि आधिकारिक रुपमा नयाँ व्यवस्थापन समुह आएका छन् । कलेजको मुल्य १ अर्ब २ करोडमा विक्री गरिएको छ । जसमध्ये हरिमन लामाले ३२ लाख, हरिकृष्ण भट्चनले २९ लाख ५० हजार ८ सय ६० र धन बहादुर शेरचनले ८ लाख कित्ता सेयर संख्या खरिद गरेका छन् । जुन कि ८७ प्रतिशत सेयर हो । त्यसैगरी सुरिता कुमारी साहले ५ लाख ९५ हजार ८ सय ९३, कामेश्वर साहले ४ लाख ४५ हजार ८ सय ९३ र ललन सिन्हाले ७ हजार ३ सय ५४ कित्ता सेयर आफुसँगै राखेका छन् । तिनीहरु पहिले पनि व्यवस्थापन समितिमा थिए । कामेश्वर साह र सुरिता साह दम्पतीले १२.७६ प्रतिशत र ललन सिन्हाको भागमा ०.२४ प्रतिशत सेयर राखेका छन् । नयाँ व्यवस्थापनमा आएका हरिकृष्ण भट्चन भन्छन,“ कलेजको अहिले अडिट भईरहेको छ । करिब ७० देखि ८० करोड रुपैयाँ दायित्व बाँकी छ । जसमध्ये बैंकको ऋण बापत ४० करोड, शिक्षक तथा कर्मचारीहरुको तलब वापतको १५ करोड, राजश्वको करिब ५ देखि ७ करोड, बजारमा १० देखि ११ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने बाँकी छ । हामी सबै विस्तारै क्लियर गर्ने छौं ।”

पुरानो व्यवस्थापन विरुद्ध ठगि मुद्दा
उक्त कलेजका पुराना संचालकहरु विरुद्ध स्थानीय प्रशासनले ठगि मुद्दा चलाएको छ । खासगरी संचालक ओम प्रकाश पाण्डे, बलराम प्रसाद गुप्ता, कामेश्वर साह, समिर ढुङ्गेल लगायतका पुराना संचालकहरु विरुद्ध विद्यार्थीहरुले गरेको उजुरीको आधारमा ठगि मुद्दा चलाइएको र तिनीहरु विरुद्ध वारन्ट पुर्जी समेत जारी भईसकेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद बाँस्तोलाले जानकारी दिएका छन् ।
 यसअघि जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाएर विद्यार्थी शुल्क असुल गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । विद्यार्थीबाट शुल्क लिएर पठनपाठन नगरेको र पटक(पटक सञ्चालन गर्ने प्रतिबद्धता गरे पनि कार्यान्वयन नगरेको भन्दै शिक्षाले कारबाहीका लागि गृहसँग सहयोग मागेको थियो ।

कलेजका सञ्चालकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले निर्देशन दिएको थियो । त्यही आधारमा शिक्षामन्त्रीस्तरीय निर्णयमा गृहलाई पत्र पठाइएको थियो । मुख्यसचिव लीलामणि पौडेलले समेत शिक्षा सचिवलाई तत्काल व्यवस्थापन र कलेजविरुद्ध कारबाही तत्काल अगाडि बढाउन निर्देशन दिएका थिए । शिक्षा मन्त्रालयको उक्त पत्रपछि विद्यार्थी हालेको उजुरी र अन्य निकायको पत्रका आधारमा जिल्ला प्रशासन कार्यलयले सञ्चालकहरूलाई गिरफ्तार गरेर कारबाही र विद्यार्थीको शुल्क असुली प्रक्रिया सुरु गर्न सक्छ । यसअघि विद्यार्थी जिल्ला प्रशासनमा यस्तो मुद्दा दायर भए पनि मन्त्रालयकै संरक्षणका कारण कारबाही प्रक्रिया अगाडि बढ्न सकेको थिएन । 

समितिले पीडित विद्यार्थीलाई समुचित क्षतिपूर्तिको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । समितिले निर्देशनका क्रममा सम्बन्धित निकायलाई समस्या समाधान गरेर पीडित विद्यार्थीको अध्ययन प्रक्रिया सञ्चालन गरी १० दिनभित्र समितिलाई जानकारी दिन समेत भनेको थियो । सञ्चालकहरूको लापरबाहीका कारण दुई वर्षदेखि नै जानकी मेडिकल कलेज समस्यामा परेका छ । सञ्चालकहरूले सुरुमा विद्यार्थीबाट एकमुष्ठ रकम लिने र पछि सबै रकम बाँडीचुडी लाने, तर कलेज तथा अस्पतालमा कार्यरत कर्मचारीको तलबसमेत नदिने गरेका थिए । दुई वर्षको अवधिमा मुस्किलले ४ महिना मात्रै अस्पताल र पठनपाठन चलेको छ । कर्मचारी र विद्यार्थीले पटक(पटक आन्दोलन गर्दा र नयाँ पक्षले व्यवस्थापन लिन खोज्दा पनि झगडा जारी भएपछि एक वर्षअघि नै आइओएमले सम्बन्धन खारेजी प्रक्रिया सुरु गरेको थियो ।

तर, गत माघमा शिक्षा मन्त्रालयले सञ्चालकमध्येका एक ओपी पाण्डेले एकलौटी किनेको भन्ने पत्रका भरमा सो प्रक्रिया रोकेको थियो । त्यतिबेला पाण्डेले एक साताभित्रै पठनपाठन सञ्चालन गर्ने प्रतिबद्धता गरेका थिए, तर कार्यान्वयन भएन । आइओएमको टोलीले पुनः अनुगमन गरेर कलेज चल्नै नसक्ने निष्कर्षसहित जेठ ७ देखि विद्यार्थीलाई अन्य कलेजमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसपछि १५ गते शिक्षा मन्त्रालयले समेत सूचना जारी गरेर पठनपाठन सञ्चालन नगरे कारबाही गर्ने जनाएको थियो । जानकीका विद्यार्थीले एक महिनाभन्दा लामो समयदेखि राजधानी र जनकपुरमा आन्दोलन गरिरहेका थिए ।

कलेजमा संसदीय टोलीको अनुगमन
जानकी मेडिकल कलेज संचालन गर्न योग्य छ कि छैन भन्ने कुराको अनुसन्धान गर्नका लागि २१ साउनमा व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तरगत गठित संसदीय टोलीको कार्यदलले कलेजको स्थलगत अनुगमन तथा अनुसन्धान गरेको छ । जानकी मेडिकल कलेजको सम्बन्धन तथा संचालन प्रक्रियामा देखिएका समस्या अध्ययन गर्न सभाषद कृष्ण बहादुर छन्तेल थापाको संयोजकत्वमा सभाषदहरु धनबहादुर रायमाझी, उषा यादव, तेज कुमारी पौडेल, लक्ष्मी थापा पासवान र संसद सचिवालयको सह सचिव धु्रव प्रसाद घिमिरे लगायतको टोलीले धनुषाका विभिन्न राजनीतिक दल, कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी, प्रशासन, व्यवस्थापन र स्थानीयवासीहरुसँग छुट्टा छुट्टै अन्तरक्रिया गरी अनुसन्धान गरेका छन् ।  उक्त टोलीले कलेजको कक्षा संचालन भईरहेको अवस्थामा अवलोकन गर्नुका साथै मेडिकल कलेज संचालनका लागि आवश्यक पर्ने पुर्वाधारहरु मापदण्ड अनुसार छन् कि छैनन भन्ने कुराको समेत स्थलगत अध्ययन गरेको थियो । यसका साथै अस्पतालको समेत अवलोकन गरेको थियो । उक्त समितिले अध्ययन र अनुसन्धानबाट आएको जानकारी तथा सत्य तथ्य प्रतिवेदन अनुसार सम्बन्धित निकायलाई निर्देशन दिनेछन् ।

कलेज नसार्न र कोटा दिन संसदीय टोलीलाई आग्रह
संसदीय टोलीले गरेको सबै पक्षसँगको अन्तरक्रियामा सबै जनाले जानकी मेडिकल कलेज जनकपुरमै संचालन हुनुपर्ने र विद्यार्थीको भविष्य सँग खेलवाड गर्ने पुराना संचालकहरु विरुद्ध भ्रष्टाचार, कालाबजारी तथा ठगि मुद्दा चलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न आग्रह गरेका थिए । साथ साथै राजनीतिक दलका प्रतिनिधिहरुले जनकपुरको मुजेलियामा भवनहरु बनिसकेर पनि संचालनमा नआएको मणिपाल मेडिकल कलेज संचालन गराउन पहल गर्न संसदीय टोलीसँग आग्रह गरेका थिए । रमदैया भवाडी गाविसका निवर्तमान गाविस अध्यक्ष सुखदेव यादवले उक्त कलेज जसरी पनि संचालन हुनुपर्ने तथा विद्यार्थीहरुको नयाँ भर्नाका लागि अनुमति दिनुपर्ने बताएका थिए । उक्त कलेज संचालनमा स्थानीय वासीहरुको समेत ठुलो योगदान रहेका हुनाले स्थानीय वासीको मागलाई पुरा गर्न उनीहरुले अनुरोध गरेका थिए । साढे सात विघा जग्गा त्यहाँका किसानहरुले मेडिकल कलेज संचालन हुने नाउँमा १५ हजार रुपैयाँ प्रति कठ्ठाका दरले विक्री गरेका थिए । २०५६ साल मंसिर २० गते मेडिकल कलेजको नाउँमा जग्गा दर्ता गरिएको थियो । त्यसपछि २०५६ साल मंसिर २८ गते कलेजका चियरमेन डा.रामानन्द सिन्हाले सिलान्यास गरेका थिए । भारतको हेदरावादका डा.रेड्डी भन्नेले सुरुमा लगानी गरेका थिए । स्थानीयवासी मकेश्वर यादवका अनुसार हैदरावादका जनार्दन रेड्डीले ८४ लाख रुपैयाँ लगानी गरेर कलेजको सुरुवात गरेका थिए । त्यसपछि ओम प्रकाश पाण्डेले १ करोड ७४ लाख रुपैयाँमा ४९ प्रतिशत सेयर किनेका थिए । बलराम प्रसाद गुप्ताले भवन निर्माणमा लगानी गर्नुका साथै दुईवटा बस दिएर १ करोड रुपैयाँको सेयर प्राप्त गरेका थिए । स्थानीयवासी जगदीस यादव भन्छन,“ सरतसिंह भण्डारी मन्त्री भएको बेला रामानन्द सिन्हाको भाई ललन सिन्हा र भतिजा अशोक सिन्हालाई जवरजस्ती सेयर दिलाउन लगायो । कृष्ण देव यादवले किनेको १ करोडको सेयर कामेश्वर साह र सुरिता साहले १ करोड ८८ लाखमा किनेको थियो । यसरी हेर्ने हो भने जुन सुकै व्यवस्थापन आएपनि यहाँ अस्पताल र कलेज संचालनमा हुँदा मधेसका छात्राहरु समेत एमबिबिएस घरमै पढन पाउँदा ठुलो अवसर प्राप्त भएको हुनाले यो कलेजलाई संचालन गरिदिनका लागि र विद्यार्थी कोटा भर्नाका लागि अनुमति दिन स्थानीयवासी भोला यादवले आग्रह गरे । अहिले ३ सय १७ जना विद्यार्थीहरुमा २ सय जना नेपाली र १ सय १७ जना भारतीय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।


२०७२ श्रावण २४ गते आईतबार

No comments:

Post a Comment