Tuesday, August 11, 2015

फेरिएको ‘जरिनाको जीवन’

नित्यानन्द मण्डल
जनकपुरधाम.......
.....
खेतीबारी, घाँस,दाउरा चुलो चौकामा सीमित रहने गरेकी उनलाई आज( भोलि भ्याई नभ्याई छ ।  विहान उठ्नुदेखि राति सुत्न सम्म कामकै चाङ , चाप र चटारो अनि फिकिर छ उनलाई । कुरा असार महिनाको हो । जतिखेर रमजानको महिना चलिरहेको थियो । उनी पनि रोजा वसेकी थिइन् । अरुको कुरा काट्ने, कुभलो सोच्ने, रिसाउने लगायतका अन्य सम्पूर्ण चराचर जगतका हित विपरित कुनै पनि कुरा नगरी दिनभरि पानी समेत नखाइकन निर्जल्ला अत्यन्त अनुशासनमा रहेर महिनौंसम्म उपवास बस्नुपर्ने भएकोले कुरा गर्न त्यतिखेर उनलाई सहज थिएन । 
स्थानीय हाट बजारमा लटगेनाको पसल थापेकी जरिना खातुन ।

यसपालि असार लाग्दा पनि पानी नपरेकोले चारैतिर सुखा अनि उखरमाउलो गर्मी भएकोले  तराईका फाँट, ग्रामिण सडक र बस्ती हँुदै उनको घरमा पुग्दा उनी सिँगार पेटारका सामाग्रीहरु मिलाउँदै  नमस्कार फर्काइन् । अनि हाँस्दै भनिन्, आउनूस सर, एहि बेंचपर बैसुन, एहि ठाम हावा अवैए हई । काम गर्दै जाँदा असिनपसिन भएका उनी अनुहारमा भएको पसीना आँचरले पुछ्दै चियापानीको आग्रहसँगै हामी आउनुको जिज्ञासा प्रकट गरिन्, हामीले पनि आफ्नो उद्देश्य सहित उनी वारे जान्न चाहेको वताए । सुरुमा रोजाको कारण कुरा गर्न हिचकिच्चाए पनि हाम्रो उद्देश्य र यसको अभिष्ट सुनेर उनी मज्जाले गफिन थालिन् । हामीले उनको विगत खोतल्दै गयौ, उनले पनि रमाउँदै सवै कुरा प्रष्ट सँग राख्दै गईन् । उनी अरु कोही नभएर आफ्नै गाउँ नगरको हाट बजारमा सिँगार पसल थापेर मनग्गै आम्दानी गरिरहेकी जरीना खातुन हुन् ।

सदरमूकाम जनपकपुरधाम भन्दा २० किलो मिटर पर मध्यपूर्वी धनुषाको धनुषाधाम नगरपालिको वार्ड  नं. ३ अन्तर्गत पर्ने तेजनगर गाँउमा ४० बर्षिया खातुन बस्छिन् । उनको २ छोरा र ४ जना छोरी छन् । जेठा छोरा १८ बर्षिय अन्सारुल खान मदरसाको पढाई सकेर वैदेशिक रोजगारीमा सिलाई कटाईको काम गर्छन् भने कान्छा छोरा १७ बर्षिय गुलाव खान  ५ कक्षासम्म सरकारी विद्यालयमा पढेर रोजगारीको सिलसिलामा भारतको मुम्बईमा काम गर्छन् । नाजो, नाजमा, नाजनी तथा खुश्वु ४ जना छोरीको विहे भईसकेका छन्  भने कान्छा छोरा गुलाव खानको पनि विहे भई सकेको छ । र, उनको एक मात्र सन्तान छ । जरीनाका श्रीमान् ५५ बर्षिय मो. इजरायल धनुषाको महेन्द्र नगर सखुवा, सवैला वजारहरुमा खसी बाख्रा खरिदविक्री गर्छन् । उनलाई  खेतीपातिको नाउँमा ४ कठ्ठा जग्गा जमिन छ भने बस्नलाई ५ धुर घडेरी छ ।  त्यसैमा २ वटा तल र २ वटा माथि एलवेस्टर राखिएको स्यानो घर छ उनको । 

उनी मुसलमानमा पनि नट जातिका हुन् । जसको पुस्तैनी पेशा गाँउघरमा डुलेर गोदना गोद्ने, माँग्ने भालुको खेल तमासा देखाएर पैसा कमाउने अनि जीविका चलाउने । न, त उनको माइत न, त उनको ससुरालीमै यी कामहरु गरिए । आफ्ना पूर्वजका पदचिन्ह नपछयाउँदै उनी पनि दफाली श्रृंगारका सामाग्री वेच्ने काम गर्दैआएकी छिन् ।

    पहिला पहिला उनी जनकपुरबाट सामान ल्याएर गाउँघरमा सामानको नाम लिएर जोडले कराउँदै  बेच्ने गर्दथिन । जब म गाउँमा घुमिघुमि बेच्थे, त्यतिबेला गाउँका बच्चाहरु खूवै गिज्याउँथ्यो । उ आयो चुरीवाली । अहिले त त्यही कारोवार अरुहरुले पनि गर्न थालेका छन् । टाउकोमा सारी राख्दै  उनले भनिन्’ आफ्नो गाउँ भन्दा परपरको गाँउहरुमा बेच्थें तर अहिले स्वास्थ्यले साथ नदिएकाले नजिकैको गाउँमा मात्र वेच्ने गरेको छु ।  त्यतिवेला यसबाट केही हँुदैनथ्यो उँटको मुखमा जिराको फोरन ”  बालबच्चा, घरपरिवारलाई धान्नुपर्ने, तिनीहरुको पढाईलिखाई, विहेवारीदेखि लिएर औषधि उपचार खर्च, घर व्यवहार चलाउन, दूई छाक र कर्जो टार्न निकै नै धौ धौ पर्दथ्यो सुनाउदै उनी विगत सझिन पुग्छिन् । श्रीमानको पनि त्यति कमाई हँुदैनथ्यो । यता बेच्ने सामग्रीको जोहो उता बालबच्चाको कचकच दिनभरी परिश्रम गर्दा पनि चैनको  सास फेर्न उतिकै गाह्रोे । 

अहिले विगत १५ बर्षदेखि गाउँघरमा श्रृंगारका सामानहरु दफालीको काम गर्दै आउँदा यसै पेशालाई विस्तार गर्नेक्रममा उनले एलजिसिडीपी कार्यक्रम अन्तर्गत जीविको सुधार कार्यक्रमबाट २० हजार रुपैयाँ कर्जा लिए । त्यो पैसाबाट उनले त्यसैमा चुडी लहठीका आइटम थपेर एउटा आर्कषक श्रृृंगारका पसल चलाउँदै मनग्गै आम्दानी गर्न थालेका छन् । यसले उनको मुहार नै फेरिएको छ । उनको ओठमा हाँसो छ ।

    धनुषाधाममा उनको चलयमान पसल छ । रामायणकालीन अख्यान अनुसार रामले भाँचेको शिवधनुको एक टुक्रा यसै स्थानमा खसेको जनविश्वास छ । धनुष मन्दिरको छेउमै उत्तरतर्फ लाग्ने गर्दछ साप्ताहिक हटिया सप्ताहमा ३ दिन अनि माघ महिनामा मकर मेला पनि जहाँ खूवै नै भीडभाड हुने गर्छ ।  भगवानपुर, तेज नगर लगायतका गाँउका साथै धनुषाधाममा आइतवार, वुधवार तथा शुक्रवार लाग्ने साप्ताहिक हटिया बजारमा त्रिपाल फल्ली ओछयाएर सेनूर, टिकुली, विन्दी लगायतका सम्पूर्ण श्रृंगार प्रसोधनका सामाग्रीहरु बेच्दै आएका छन् उनी । भारतको दक्षिणी सीमावर्ती वजार सुरसण्ड, सितामढी, वासोपट्टी, जयनगरवाट समानहरु  किनेर उनी ल्याउने गर्छन् ।

प्रत्येक वर्ष माघ महिनाको आईतवार र मंगलवार लाग्ने मकर मेलामा नेपाल र दक्षिणी सीमावर्ती भारतीय क्षेत्रका तीर्थालुहरु तथा बजारमा सवैला, रमनगरा, प्रसाही, सरसा, मंगलपुर, काशीपुर लगायतका १० भन्दा वढि गााँउका मानिसहरु दैनिक उपभोग्य सामग्री, तरकारी तेल नुन आदि खरिद विक्री गर्न आउने गर्छन् जसको ध्यान उनको पसलले एक चोटी अवश्य नै तान्छ  । ऐना, काइयो, पाउडर, तेल, सावुन, नेल पालिस, चुँडा, लहठी, टिकुली, रंगविरंगी कपाल बाँध्ने लगायतका हेयर वैण्ड तथा अन्य आकर्षक सौन्दर्य प्रसाधनहरु पसलमा फिजाएको हेरेर त महिलाहरुको मन नै लोभ्याउँछ ।  

    भीडभाडमा पनि हुलका हुल महिलाहरु उनको पसलमा झुम्मिने गर्छन् । पसलमा ओइरिएका महिलाहरु भन्छन् कुनै एउटा आइटम किनेपछि फेरी अर्को किनौ किनौ जस्तो लाग्छ । उनको पसलमा उभिने ठाउँसम्म हँुदैन् । यति मात्र होइन ग्राहकको चापलाई थेग्न समेत उनलाई हम्मे हम्मे परिरहेको हुन्छ । 

यस अघि त्यस्तो पसल थिएन । यसले गर्दा  ईमरजेन्सी जस्तो विहे, छेक्कामा समेत समान्य सौन्दर्यका सामान किन्न जनकपुर जानुपर्ने बाध्यतालाई चिर्दै त्यतिकै झन कुनै कुनै सामान त जनकपुर भन्दा पनि कम मूल्यमा पाइने भएकोले ग्रामिण र स्कुल कलेजका विधार्थीलाई अव चाहिँ सास्ती भोग्नु पर्दैन, उनको कथन छ । बजारको दिनमा सामान किन्नलाई गा्रहकलाई कुर्नु नै पर्ने हुन्छ । आखिर मानिसहरु पनि बजार आएपछि उसको पसलमा केही न केही नलिईकन त्यतिकै घर र्फिर्कदैन, स्थानीयहरु औल्याउँछन् । यही नै  हो उनको पसलको आकर्षण सस्तो पनि टिकाउ पनि । फैशनको दुनियाँमा ग्यारेण्टीको कुनै भरोसा नभएको वेला उनले कतिपय सामानमा ग्यारेण्टी पनि दिने गरेका छन् । यही नै हो उनको विशेषता ।

यतिकैमा उनको घरमा एक जना महिला उभिएर भन्छिन् “हम एगो ऐना लजाउ ?” एक अधवंैसे महिलाले उनलाई सोध्दैछिन् ।“ लजाउन इहो कोनो पुछबाला बात भेलै”। “ पैसा दोसर दिन देव ? ” “नै कोनो वात । लेकिन अग्गिला वजारके पच्छिला सेहो मोन पारिक द देव” उनले जवाफ फर्काइन् । बजार नभएको दिनमा उनको घरमै आउँछन् ग्राहक ।  

सौन्र्दय सामागी्र दिउँसो किन्न लाज मान्ने तराई मधेशका महिलाहरुको भिड त साझ छिपिदै  गएपछि हवात्तै बढ्न थाल्छ ।  आम्दानी हेरी हेरी हुन्छ जस्तै सिजन अर्थात् विहे, व्रतवन्ध, उत्सव, मेलाठेलाका वेला कम्तिमा ३००० हजारदेखि ५०० हजार आम्दानी हुने गरेको वताउँदै गाउँघरमा घुमेर वेच्दा २००० हजार जति आम्दानी हुने गरेको कुरा उनी औंलामा हिसाव जोड्दै भन्छिन् । यसैवाट घरखर्च, पाहुना अतिथीको स्वागत, लेनदेन, सरसापट, औषधिमूलो गरिन्छ भने वीच वीचमा गोस मासु, माछा लगायतका मीठो मसिनो समेत खाइन्छ । र उनी प्रत्येक बजारको दिन ५०० रुपियाँ साना किसान बैंकमा बचत गर्दै आएका छन् । अहिले सम्म उक्त रकम ७० हजार भन्दा माथि भई सकेको उनको अनुमान छ ।

    यतिकैमा सीमित हुँदैन् उनको दिनचर्या । २०६८ सालदेखि अहिलेसम्म उनी नै धनुषाधाम नागरिक सचेतना केन्द्रका संयोजक छिन् ।  सामाजिक परिचालक भुपेन्द्र कुमार मण्डलको सहयोगमा नागरिक सचेतना केन्द्रको बैठकमा उनीहरुले जन्म दर्ता, विवाह दर्ता, मृत्यू दर्ता लगायतका व्यक्तिगत घटना दर्ता, वालविवाहबाट हुने नकारात्मक असर, सरसफाई, शौचालय निर्माण, विकास निर्माण, योजना प्राथमिकीकरण तथा छनौट, गा्रमिण, सामाजिक मूद्धा तथा सरकारी कामकाजको विषयमा जमेर उनीहरु छलफलमा सहभागी हुन्छन् भने भएका निर्णयहरु दत्तचित्त भएर लागू समेत गर्छन् । सामूदायिक परिवार कल्याण संघ, जनकपुरक सहजिकरण तथा धनुषाधाम नगरपालिकाको तत्वाधानमा एलजिसिडीपी दोस्रो मार्फत उनी नेतृत्वको नागरिक सचेतना केन्द्रमा साना पूर्वाधार कार्यक्रम अन्तर्गत तीन लाख पन्ध्र हजार रुपियाँ निकासा गरिएको जसको व्यापक सदूपयोग हुने कुरामा उनी विश्वास दिलाउँछिन् ।

यतिखेर उनका टोलमा ३५ दिनमै जन्मदर्ता गराउनेहरुको सँख्यामा हवात्तै वृद्धि भएको छ भने आफ्ना वालवालिकाको उमेर पुगेपछि मात्र विहे गर्ने सोचको विकास समेत भएको उनी वताउँछिन् । उनी आफै पनि करिव १ लाख रुपैयाँ खर्चेर शौचालय बनाएका छन् । सरसफाईमा पनि टोलवासीले त्यतिकै ध्यान दिन थालेको उनी वताउँछन् । उनी आफ्नो घरायसी, व्यावसायिक कामकाज सकेर वचेको समय सामाजिक गतिबिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाले डाकेको वैठकमा सहभागी हुन्छिन् । नगरपालिकाले डाकेको बैठक तथा नगर परिषद्मा उनले आफ्ना विचार जोडदार रुपमा राख्ने गर्छिन् ।

जहिल्यै पनि आफूहरुले योजना प्राथमिकीकरण तथा छनौट मात्रै तर त्यसको सफल कार्यान्वयन नहुने केवल नेताको योजना लागू हुने विश्वास पलाउँदै गएको वेला उनी नेतृत्वको नागरिक सचेतना केन्द्रले पेश गरेको बसघारा सार्वजनिक दलान, सडक ग्राभेल मध्ये सडक ग्राभेल योजना पारित भएर कार्य समेत भएकोमा स्थानीयहरु हर्षित भएको उनी सुनाउछिन् ।नेपालको कानून अनुसार यहाँको साँचो नागरिक हुनलाई तथा अन्य सरकारी कामकाजका लागि नागरिकता अत्यन्तै महत्वपूर्ण कागजात भएकाले समयमै नागरिकता, मतदाता परिचय पत्र बनाई सक्नुपर्ने सन्देश दिँदै उनी हिँडछिन् ।

अहिले उनलाई यी सामाजिक गतिविधिहरुमा लाग्दा आफूले निकै नै खुशी एवं गौरवान्वित महसुस भएको अनुभव पस्किन्छ्न् उनी । यस्ता कार्यहरुमा लागेर आफूमा वुद्धि पलाएको,गाउँ समाजमा इज्जत तथा सम्मान बढेको बताउँदै तदारुकताका साथ लागे भने अझै अगाडि बढन सकिने विश्वास उनमा छ ।

उनको टोलमा लगभग ५०० घर धुरी छन् अहिले । जसमा दुसाध, मुसहर,मुसलमान, धानुक, चमार लगायतका दलित, जनजाति तथा पछाडि पारिएका जातिहरुको वाहुल्यता छ । यसरी सधैं दलितहरुकै वस्तीमा सकारात्मक सन्देश बाँडदै आएकी जरीना अहिले आफै सरकारी अड्डा आफिस गएर प्रमूख तथा कर्मचारीहरुसँग सरकारी कामकाज गराउन सक्ने भई सकेकी सामाजिक परिचालक मण्डल वताउँछन् ।

स्थानीय निकायको योजना तर्जुमा सम्वन्धि गोष्ठी तथा महिलामा हुने पाठेघरका समस्या सम्वन्धि लगायतका थुप्रै तालिम लिएका उनी काठमाण्डौ, विराटनगरबाट आएका सामाजिक तथा विकास क्षेत्रमा सँलग्न पाहुनाहरुलाई आतिथ्य सत्कार गर्नवाट उनी चुक्दैनन् । आफ्नै घरमा राखेर उनीहरुको लक्षित कार्यमा सहयोग गरेको भन्दै उनी थप्छिन् हाम्रो घरको विचार, व्यवहार तथा आतिथ्य सत्कार गर्दा एक जना पाहुनाले त्यसकै कदर स्वरुप वुहारीलाई सारी पनि उपहारमा दिएको उनी सम्झिछिन् ।

        गाँउको सामाजिक सद्भाव, सौह्रार्दता तथा सहिष्णुता कायम गर्नमा जरीनाले निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा गाँउलेहरु बताउँछन् । त्याग, साधना, संघर्ष,समर्पण, महान अठोट, दृढ संकल्प एवं पूर्ण प्रतिवद्धतका साथ निरन्तर कार्य गर्दै गएमा एक दिन सफलता अवश्य चुम्नेछ भने सन्देश उनी दिन चाहन्छिन् ।


२०७२ श्रावण २४ गते आईतबार

No comments:

Post a Comment