Sunday, April 5, 2015

सक्कियो योगनारायणको ‘राज योग’

योगनारायण यादव ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेकपा एमालेका बैकल्पिक पोलिट व्यूरो सदस्य योगनारायण यादव अहिले नेपाल प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका छन् । उनलाई पक्राउ गर्न धनुषा प्रहरी र काठमाण्डौको प्रहरी चौतर्फी खोज तलास र सर्च अभियानमा जुटेका छन् । ८ चैत्र २०७१ अघिसम्म एउटा राज नेताको रुपमा पहिचान बनाएका यादव अहिले हत्या मुद्दाको अभियुक्त बनेका छन् ।
वैकल्पिक पोलिटब्यूरो सदस्य यादवकै योजना र रोहवरमा धनुषाको सबैला नगरपालिका वडा नंं. १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति चयनको विषयलाई लिएर स्थानीयलाई हत्या गरिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषामा बुधबार ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा दर्ता गरिएको हो । 
घटना भएलगतै यादव सम्पर्क बाहिर रहेको जनाइएको छ । चैत ८ गते राति साढे ७ बजे सबैला नगरपालिका वडा नं. १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति चुनावमा कसरी प्रस्तुत हुने सम्बन्धी भइरहेको छलफलमा यादव नेतृत्वको समूहले आक्रमण गरेको थियो ।
उनकै निर्देशनमा आपूmहरुमाथि आक्रमण भएको एमाले सबैला गाउँ इकाइ कमिटी अध्यक्ष एवं पुर्व गाविस अध्यक्ष रामवली साहसहित घटनाका घाइतेहरुले बताए । आक्रमणमा परि गम्भिर घाइते भएका स्थानीय रामसेवक राउत गडेरीको उपचारका लागि काठमाडौं लग्दै गर्दा बाटैमा मृत्यु भएको थियो भने रामप्रकाश यादवको गोली हानी रहस्मय तरिकाले हत्या गरिएको थियो । घटनामा १२ जना भन्दा बढि घाईते भएका थिए । रामप्रकाश यादवको हत्या कसरी भयो भन्ने रहस्य अहिले पनि यथावत छ ।
एमाले नेताहरु श्रीप्रसाद साह, शत्रुधन महत्तो सँगै योगनारायण यादव (दायाँ) ।
१८ चैत्रमा यादव विरुद्ध जिल्ला प्रहरी धनुषामा सिकिल देवी र श्याम किशोर साहले कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरे पछि उनी प्रहरीको वान्टेड सूचिमा परेका छन् । गत चैत्र ८ मा सबैलामा रामसेवक राउत गडेरीलाई हत्या गरेको तथा आक्रमणमा परी १ दर्जन जति मानिस घाइते भएपछि यादवलाई प्रमुख अभियुक्त बनाइएको छ । यादवसँगै चिनिएका २४ जना विरुद्ध किटानी जाहेरी र नचिनेका २० जना गरी कुल ४४ जना विरुद्ध उक्त मुद्दा दर्ता भएको छ । ३ सय ३ नम्बर दर्ता रहेको उक्त मुद्दामा यादव सँगै उनका भाईहरु र उनका सहयोगी नेता तथा कार्यकर्ताहरु पनि अभियुक्तको सूचिमा परेका छन् ।
एमालेको सबैला गाउँ इकाई कमिटिका सदस्य तथा संगठित सदस्य रहेका योगनारायणका भाई महेन्द्र यादव  र अर्को भाई जगदीश यादव (यूवा संघ अञ्चल कमिटिका सदस्य) विरुद्ध पनि किटानी जाहेरी परेको स्रोतको भनाई छ । त्यसैगरी उक्त मुद्दामा नेकपा एमालेको धनुषा जिल्ला कमिटिका सचिव लक्ष्मीनारायण यादवका विरुद्ध मुद्दा दायर गरिएको बताइन्छ । धनुषाको कजरारमौल घर भएका लक्ष्मीनारायण योग नारायणको दाहिने हातको रुपमा चिनिन्छन् । त्यसैगरी धनुषाका गोदारका अच्छेलाल महत्तो (एमालेको जनकपुर अञ्चल समितिका पुर्व सदस्य तथा सचिव), सबैला मुसहरी टोल वडा नं. १ का महेश यादव, लाल विहारी यादव, भुवनेश्वर यादव, सिताशरण यादव, मखनाहाको जिवछ यादव, झटियाहीको दुर्गा साह र देवलाल मण्डल विरुद्ध पनि किटानी जाहेरी परेको बताइन्छ । सिताशरण यादव नेकपा एमालेको सबैला गाउँ इकाई कमिटिका पुर्व अध्यक्ष तथा क्षेत्र नं. ६ का क्षेत्रिय कमिटि सदस्य पनि हुन । त्यसैगरी जिवछ यादव क्षेत्रिय कमिटिका सदस्य, दुर्गा साह भर्खरै सम्पन्न भएको एमालेको जिल्ला अधिवेशनबाट बैकल्पिक सदस्य चुनिएका थिए । देवलाल मण्डल यूवा संघको क्षेत्र नं. ६ को क्षेत्रिय अध्यक्ष र इन्चार्ज पनि हुन । सबैलाका रामबाबु यादव विरुद्ध पनि मुद्दा परेको बताइन्छ ।
सबैलामा भएको हत्या काण्डको अनुसन्धान गर्न गठित छानविन समितिका संयोजक समेत रहेका डिएसपी कृष्ण प्रसाई उक्त मुद्दाको जाहेरी दर्ता भएको भएपनि कतिजना विरुद्ध किटानी जाहेरी परेको बताउन चाहेनन् । घटनाको अनुसन्धान धेरै नजिक सम्म आईसकेको र दोषी जो कोही भएपनि पक्राउ गरी कानुनको दायरामा ल्याउन धनुषा प्रहरी सक्रिय रहेको भन्दै डिएसपी प्रसाई भन्छन,“ घटनाको अभियुक्त लगभग पहिचान भईसकेको छ । ती अभियुक्तहरुलाई पक्राउ गर्नको लागि जिल्ला जिल्लामा प्रहरी परिचालन भईसकेको छ ।”
स्रोतका अनुसार योगनारायणलाई पक्राउ गर्न काठमाण्डौको सिआईवी टोलीले काठमाण्डौमा भाडामा बस्ने गरेको योगनारायणको कोठामा सादा पोशाकमा दुई पटक छापा समेत मारिसकेको छ । तर, प्रहरी रित्तै हात फर्किनु प¥यो । हुन त योगनारायणलाई आफ्नो समात्न प्रहरीले ठुलै जाल नविछाएको पनि होइन । योगनारायणका तिनवटै मोवाइलको स्वीच अफ भएपछि प्रहरीले योगनारायणको भाईको सालोलाई काठमाण्डौमा पक्राउ गरे । स्रोतका अनुसार योगनारायण उनीसँग मोवाईल सम्पर्कमा थिए । जब उनलाई पक्राउ गरेर प्रहरीले योगनारायणलाई फोन लगाउन भन्यो तब उनले डायल गर्ने र काटि दिने गरेपछि योगनारायणले संकेत पाएको र फरार भएको पनि बताइन्छ । तर, यी सबै कुराहरुको प्रहरीले पुष्टि गरेको छैन ।

होली खेल्दै एमाले नेताहरुसँग 
योगनारायण यादव बायाँबाट तेस्रो र धनुषा सचिव 
लक्ष्मीनारायण यादव दायाँबाट दोस्रो ।
संयोग कस्तो हो भने जुन दिन सबैलामा उक्त घटना भयो त्यसको भोली पल्टै नेकपा एमालेका महासचिव इश्वर पोखरेलले योगनारायणलाई एमालेको जनकपुर अञ्चल इन्चार्जमा प्रस्ताव गरेका थिए । पछि उक्त प्रस्ताव पास पनि भयो ।
एमाले भित्रको समिकरण
योगनारायण यादव एमालेको अध्यक्ष केपी शर्मा ओली गुटका नेता हुन । गृहमन्त्री बामदेव गौतम पनि ओली गुटकै भएका कारण योगनारायणलाई केही पनि नहुने अडकल चलिरहँदा बामदेवले योगनारायणलाई पक्राउ गर्न भनेर प्रहरीलाई निर्देशन दिएको स्रोतको दावी छ । किनभने बामदेव गौतम सँग एमालेका धनुषाका नेता रघुविर महासेठ अत्यन्त निकट मानिन्छन् । योगनारायणलाई अञ्चल इन्चार्ज नियूक्त गरिएको घटनालाई हेर्ने हो भने महासचिव इश्वर पोखरेल र अध्यक्ष ओलीको पनि योगनारायण निकट भएको मानिन्छ । भर्खर मात्र सम्पन्न भएको एमालेको जिल्ला अधिवेशनमा महासचिव पोखरेल आउनु र सर्वसम्मति गराएर जानुले पनि योगनारायण र महासचिव पोखरेल बीचको निकट सम्बन्धलाई पुष्टि गर्छ । तर, यादव महासेठ खेमामा नभएका कारण गृहमन्त्री बामदेव गौतमबाट पाउनु पर्ने सहयोग उनले पाउन सकिरहेका छैनन् ।
अर्को तर्फ माधव नेपाल खेमामा बैकल्पिक पोलिट व्यूरो सदस्य शत्रुधन महत्तो, सभाषद सितल झा, रामअवतार पासवान, नेताहरु यदुवंश झा, रत्नेश्वरलाल गोइत, राजकुमार यादव, योगेन्द्र यादव, गंगाराम यादव, लगायतका नेताहरु भने घटनाको सत्य तथ्य उजागर हुनुपर्ने र दोषी छुटाउन नहुने र निर्दोषलाई फसाउन नहुने पक्षमा देखिन्छन् । १८ चैत्रमा एमाले धनुषाको जिल्ला कार्य समितिको वैठक वसी दोषीलाई कारवाही गरिनुपर्ने तर निर्दोषलाई फसाउन नहुने भन्दै सबैला घटनाको राजनीतिक र प्रशासनिक दुवै स्तरमा छानविन हुनुपर्ने निर्णय गरेका छन् । एमाले धनुषा जिल्ला कमिटिका सदस्य राजकुमार यादव भन्छन,“ सबैला घटनामा योगनारायण यादवको कुनै पनि संलग्नता छैन । विपक्षी राजनीतिक दलहरुले उक्त गाउँ र सबैला क्षेत्र नं. ६ मा एमालेको वर्चश्व नै सिध्याउनको लागि योगनारायण सँगै  उक्त क्षेत्रका एमालेका नेताहरु र खास गरी योगनारायणका निकट भएका नेताहरुलाई फसाउने काम गरिएको छ । हाम्रो कार्यकर्ताको पनि हत्या भएको छ । त्यसको कुनै छानविन अगाडी वढीरहेको छैन ।” योगनारायण यादव किन सम्पर्क विहिन बनेका छन् भन्ने सबालमा राजकुमार यादव भन्छन,“ अहिले एमाले भित्र ठुलो धक्का पुगेको छ । विपतीको समय आएको छ । सबैलाका सबै कार्यकर्ताहरु भागाभाग छन् । हाम्रा परिवारहरु भयत्रासमा बाँचीरहेका छन् । हुन सक्छ योगनारायण पार्टीको जिम्मेवार नेता भएकाले उनलाई पार्टीले कहिँ काममा खटाएका होलान त्यसैले उनी सम्पर्कमा नआएको हुन सक्छ ।”
योगनारायण फस्दा एमाले भित्रै रघुविर महासेठ पक्षका किशोरी महत्तोको वर्चस्व स्थापित हुने बताइन्छ । सबैलाको गाउँ इकाई कमिटि, क्षेत्र नं.६ को क्षेत्रिय कमिटि र जिल्ला कमिटिका पदाधिकारीहरु उक्त मुद्दामा परेपछि असंतुष्ट पक्षको वर्चस्व स्थापित हुन सक्छ । यस अघिका जिल्ला अध्यक्ष हरिनारायण महत्तोले क्षेत्र नं.६ का पुर्व क्षेत्रिय इन्चार्ज समेत रहेका किशोरी महत्तोलाई प्रत्यक्ष तर्फ संविधानसभाको चुनावमा सिफारिस गरेको भएपनि योगनारायणले टिकट पाएका थिए । यदि योगनारायण जेल गयो भने रघुनाथपुर घर भएका किशोरी महत्तोको लागि अवको बाटो खुल्ला हुने अनुमान लगाइएको छ ।
योगनारायणको राजनीतिक यात्रा
योग नारायण यादवको जन्म बि.सं. २०२२ साल भदौ २१ गते सबैला गाविस, धनुषामा भएको हो । उनको बुबाको नाम रामलखन यादव र आमाको नाम फूलोदेवि यादव हो । यादवले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । एक सामान्य किसान परिवारमा जन्मिएका यादव तीन दाजुभाई छन् भने उनको दुई वटा आमा रहेको बताइन्छ । जेटीएको रुपमा उनी सरकारी जागिरमा पर्सामा कार्यरत रहँदा उनी विद्यार्थीलाई होम ट्यूसन समेत पढाउँथे । ट्यूसन पढाउँदै गर्दा एक जना छात्रासँग उनको प्रेम प¥यो । विवाहित हुँदा हुँदै योगनारायण आफ्नै छात्राको प्रेममा परेपछि उक्त छात्रालाई लिएर त्यहाँबाट भागे । जागिर छोडेर भागेपछि  आफ्नी प्रेमिका सविता यादवसँग उनले विहे गरे । उनको कान्छी श्रीमति सविता अहिले पनि धनुषा जिल्ला कमिटिको सदस्य छन् । उनका तीन छोरा छन् । जेठी श्रीमतिकी छोरा अहिले एमबिविएस पढदैछन् भने कान्छी श्रीमतिबाट भएको दुई छोराहरु मध्ये माइलो अमेरिकामा पढ्न गएका छन् भने कान्छो काठमाण्डौमै टेन प्लस टु पढिरहेका छन् । जेठी श्रीमतिलाई जनकपुरको आप्mनै घरमा राख्ने गरेका छन् भने कान्छी श्रीमतिलाई काठमाण्डौमा भाडाको कोठामा राख्ने गरेका छन् ।
 जब उनी दोस्रो विहे गरेर बेरोजगार भए त्यतिबेला उनी घर फर्केर व्यापार सुरु गर्न थाले । आलु र धानको व्यापार गर्दा उनी जिरी, चरिकोट देखि पश्चिमको नेपालगंजसम्म व्यापार गर्न थाले । २०४६ सालको आन्दोलनको समयताका धनुषाका औरहीका राजकुमार मण्डलसँग उनको सम्पर्क भयो । मण्डलले योगनारायणलाई संगठित सदस्यता दिलाए । आन्दोलन पछि भएको प्रथम निर्वाचनमा रामचन्द्र झालाई जिताउन योगनारायण यादव सक्रिय हुँदै आफ्नो पुरै शक्ति लगाउँछन् । चुनाव प्रचार प्रसारका क्रममा योगनारायण यादव कुटाई पनि खान्छन तर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसकी लिला कोइराला निर्वाचित हुन्छन भने रामचन्द्र झा पराजित हुन्छन् । झाको विश्वास जित्दै गएका यादवलाई यादवले राजनीतिक संरक्षण दिनुका साथै प्रशिक्षण समेत दिएर नेता बनाउँछन् । यतिसम्म कि यादव झाको सेकेन्डमेनको रुपमा समेत स्थापित हुँदै जाँदा २०५६ सालमा आफुले बनाएको क्षेत्र नं.२ योगनारायणलाई दिएर झा १ नम्बर क्षेत्रमा जान्छन् । यादव उक्त चुनावमा लिला कोइरालालाई पराजित गर्दै सांसदमा निर्वाचित हुन्छन् ।
तर, २०६४ सालमा सम्पन्न संविधानसभाको निर्वाचनबाट निर्वाचित रामचन्द्र झा स्थानीय विकास मन्त्री बनेपछि विकासका लागि छुट्याएको रकममा योगनारायण यादवले काम नगरी भ्रष्टाचार गरी जनकपुरमा घर किनेपछि झा यादवसँग असन्तुष्ट भई यादवलाई किनारा लगाएका थिए । झाले किनारा लगाएपछि यादव महासेठ खेमामा प्रवेश गरी महासेठलाई बलियो बनाउँदै जिल्ला अधिवेशनमा महासेठ खेमाका हरिनारायण महत्तोलाई निर्वाचित गराउन ठुलो भुमिका निर्वाह गरेका थिए । यतिसम्म आउँदा जिल्लाको राजनीतिमा पार्टी भित्र यादव ठुलो शक्ति बनिसकेका थिए । यादव जुन खेमामा हुन्थे त्यो खेमा बहुमतमा हुन्थ्यो । तर, जब महासेठ खेमामा योगनारायणको राजनीतिक प्रोटोकलको मानमर्दन गरी महासेठले आफ्नै श्रीमति जुली महत्तोलाई अगाडी बढाउन खोज्यो, यादव फेरी असन्तुष्ट हुँदै उक्त खेमाबाट बाहिरिए ।
    यसरी पार्टी भित्र उनी वैकल्पिक केन्द्रिय कमिटि सदस्य हुँदै अहिले पोलिट व्युरो सदस्य सम्म पुगेका छन् । ०४७ सालदेखि नेकपा एमालेको युवा संगठन प्ररायु संघको सबैला गाउँको अध्यक्ष भएर राजनीति सुरु गरेका यादव २०४८ सालमा सबैला गाविसको नेकपा एमालेको सचिव, २०४९ मा इलाका सचिव भएका यादव २०५० सालमा नेकपा एमाले जिल्ला समिटी सदस्य भएका थिए । त्यसैगरी २०५६ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका यादव २०५८ सालमा नेकपा एमालेको धनुषा जिल्ला सचिव, २०६५ सालदेखि नेकपा एमालेको केन्द्रिय सदस्य रहेका यादव २०६६ देखि महोत्तरी जिल्लाको नेकपा एमाले सचिव अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।  पछिल्लो दुवै संविधानसभाको चुनावमा उनी लडे  पनि   पराजित भएका छन् ।

२०७१ चैत्र २२ गते आईतबार

No comments:

Post a Comment