Sunday, April 5, 2015

फैसला कार्यान्वयन गर्न अदालतको विशेष अभियान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्ला अदालतले फैसला कार्यान्वयन गर्नका लागि २०७१ कार्तिक १ गते देखि चलाएको विशेष अभियान अन्तरगत दण्ड जरिवाना र कैद असुल गर्न लागेको छ । अदालतले आदेश गरिसक्दा पनि अपराधिहरु खुल्लमखुला समाजमा हिँड्ने गर्दा समाजमा दण्डहिन्ता वढी रहेको जन गुनासो आएपछि अदालतले विशेष अभियान चलाएको हो । उक्त अभियान अन्तरगत फैसला कार्यान्वयनका लागि अदालतमा हालसम्म १ हजार १ सय १७ थान निवेदन दर्ता भएकोमा ३ सय २९ थान फैसला भएको देखिन्छ । अहिलेसम्म धनुषा जिल्ला अदालतमा ७ हजार १ सय २१ वर्ष १० महिना २१ दिन कुल कैदसजाय बाँकी रहेकोमा १९ चैत्र २०७१ सम्ममा अदालतले ३ सय ७८ वर्ष १५ दिन कैद असुल गरेका छन् । त्यसैगरी ७ करोड १२ लाख ५० हजार ५ सय २३ रुपैयाँ जरिवाना असुल उपर गर्नुपर्नेमा अदालतले ५८ लाख ४४ हजार ५ सय १४ रुपैयाँ असुल उपर गरेको छ ।
विशेष अभियान अन्तरगत कार्तिक देखि चैत्र १९ सम्ममा ४१ वर्ष ३ महिना ६ दिन कैद र १६ लाख १२ हजार ६ सय ८४ रुपैयाँ जरिवाना असुल उपर भएको अदालतले जनाएको छ । उक्त कार्यका लागि अदालतको कर्मचारी र प्रहरीहरुको संयुक्त सुराकी टोली बनाई गाउँ गाउँमा दण्ड सजाय र जरिवाना असुल उपर गर्नको लागि खटाइएको धनुषा जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण श्रेष्ठ बताउँछन् । हुन त अहिलेसम्म अदालतमा महिला घरेलु हिंसा सम्बन्धि १२ थान मुद्दा दर्ता भएकोमा ७ थान फर्छौट भई ५ थान बाँकी रहेको छ भने सम्बन्ध विच्छेदको लागि परेको ७६ थान मुद्दा मध्ये ४५ थान फर्छौट भई ३१ थान बाँकी रहेको छ । त्यसैगरी जवरजस्ती करनी मुद्दामा ३८ थान मुद्दा दर्ता भएकोमा १२ थान फर्छौट भई २६ थान फैसला हुन बाँकी रहेको छ । महिला सम्बन्धि मुद्दा अन्तरगत सम्बन्ध विच्छेदकै मुद्दा वढी पर्नुमा अधिकांश पुरुषहरु वैदेशिक रोजगारीमा पुग्नु, महिलाको चेतनाको स्तर वृद्धि हुनु, पुरुषको दवावमा बस्दा हिंसा हुन खोज्ने वा महिलालाई पुरुषले बाईपास गरेर जान खोज्नु वा दाईजो लगायतका विषयहरु प्रमुख कारणको रुपमा रहेको भन्दै श्रेस्तेदार श्रेष्ठ भन्छन,“धनुषा जिल्ला अदालतमा दर्ता हुन आएका सम्बन्ध विच्छेदका मुद्दाहरुमा ९९ प्रतिशत जति केशहरुमा श्रीमान र श्रीमति अलग्गिएर जान्छन् भने अधिकांश घटनामा श्रीमतिहरुले अंश लिएर सम्बन्ध विच्छेद गर्ने गरेका छन् ।”
त्यसैगरी धनुषा जिल्ला अदालतको थुनुवा सम्बन्धिको अभिलेख हेर्दा हालसम्म १ सय ५८ जना थुनुवाहरु रहेकोमा ३ जना विदेशी भारतीय नागरिक, १४ जना महिला र १ सय ४४ पुरुषहरु रहेको अदालतले जनाएको छ । गत वर्षको १ हजार ९ सय २० थान मुद्दा जिम्मेवारी सरेको र चैत्र १९ सम्म १ हजार ९ सय ५६ थान मुद्दा दर्ता भई कुल ३ हजार ८ सय ७६ थान मुद्दा दर्ता भएकोमा हालसम्म अदालतले १ हजार ६ सय ९७ थान मुद्दा फर्छौट गरेको छ । प्रतिशतको आधारमा हेर्ने हो भने ४३.७५ प्रतिशत मुद्दा फर्छौट भएको देखिन्छ । त्यसैगरी २ वर्षसम्म पुगेको मुद्दा संख्या ३ सय ९१ रहेकोमा २ सय १८ थान फर्छौट भई १ सय ७३ थान मुद्दा बाँकी रहेको देखिन्छ । तेस्रो पंचबर्षिय रणनीतिक योजना अन्तरगत २ वर्ष भित्र अदालतले जुनसुकै हालतमा पनि मुद्दा फर्छौट गर्नुपर्ने हुनाले अहिले १८ महिना भन्दा वढी मुद्दा लाग्न नदिने लक्ष्य रहेकोले १८ महिना नाघेको कुल ७ सय २२ थान मुद्दा मध्ये ४ सय ३२ थान मुद्दा फर्छौट भई २ सय ९० थान मुद्दा फर्छौट हुन बाँकी रहेको छ ।
धनुषा जिल्ला अदालतमा कृष्ण बहादुर थापाको अगुवाईमा ६ वटा इजलाश रहेको छ । २०७० साल बैशाखबाट जिल्ला अदालतमा इजलासको संख्या ४ वाट बढाएर ६ वटा गरिएको हो । धनुषामा मुद्दा संख्याको चाप वढी भएकाले इजलासको संख्या बढाइनुका साथै कार्यालय समेत ९ बजे देखि ५ बजेसम्म खुल्ने हुनाले मुद्दा फर्छौटको गति वढेको बताइएको छ । अहिले यो अदालत ग बर्गमा पर्दछ । एउटा इजलासले एक आर्थिक वर्षमा कम्तिमा पनि ६० प्रतिशत मुद्दाको फर्छौट गर्नैपर्ने हुन्छ ।

२०७१ चैत्र २२ गते आईतबार

No comments:

Post a Comment