Tuesday, April 14, 2015

राम्रो करियर छोडेर धनुषाको विद्यालयमा रम्दै

धनुषाको अन्दुपट्टी कटरैत ७ स्थित सरस्वती माविमा श्रमदान गरेर विद्यालयको
 पर्खाल बनाउँदै टिच फर नेपालका फेलोशिपहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अहिलेका यूवा यूवतीहरु उच्च शिक्षा अध्ययन गरिसकेपछि प्रायः ठुलो रकम कमाउन राम्रो करियर रोज्ने गर्छन । तर, हाम्रो देशमा कतिपय यस्ता यूवा यूवतीहरु पनि छन् जसलाई पैसा कमाउनु भन्दा देशका विद्यार्थीहरुलाई एउटा असल जनशक्तिको रुपमा तयार गर्न जस्तो सुकै करियर पनि छोड्न तैयार हुन्छन् । इन्जिनियरिङ पढेका विद्यार्थाीहरु इन्जिनियर बनेर बहुराष्ट्रिय कम्पनीहरुमा काम गर्न रुचाउँछन् । व्यवस्थापन पढेका विद्यार्थीहरु ठुलो ठुलो कम्पनीमा काम गर्न रुचाउँछन् । पत्रकारिता पढेका विद्यार्थीहरु संचार गृहमा पत्रकारितालाई नै आफ्नो करियर बनाउँछन् । अंग्रेजी भाषामा राम्रो दख्खल राख्नेहरु आईएनजिओ वा सरकारी कार्यालयहरुमा वा परराष्ट्र मन्त्रालय तर्फ आफ्नो करियर बनाउँछन् । तर, त्यस्ता केही विद्यार्थीहरुले महत्वकांक्षी करियरलाई त्यागेर धनुषाको सामुदायिक विद्यालयहरुमा १५ हजार प्रति महिना तलबमा पढाउन आउनु भनेको सुन्दा पनि आश्चर्य लाग्न सक्छ । हो, यो कुरा सत्य हो ।
धनुषाको सामुदायिक विद्यालयहरुमा गुणस्तरिय पठन पाठन नहुँदा यहाँका जनशक्ति उत्पादनमा ह्रास भईरहेको बेला ‘टिच फर नेपाल’ नामक गैरसरकारी संस्थाले शिक्षाको गुणस्तर माथि उकाशन शिक्षकहरु पठाउने भएका छन् । धनुषामा संस्थागत (बोर्डिङ) एसएलसी परीक्षाको नतिजा एकातर्फ सतप्रतिशत हुने गरेको छ भने अर्को तर्फ सामुदायिक विद्यालयहरुको नतिजा १५ प्रतिशत पनि नपुगिरहेको बेलामा टिच फर नेपालले धनुषाको पठन पाठनको माहौललाई सुधार्न लागि परेको बताइन्छ । उक्त संस्थाले धनुषाका ६ वटा विद्यालयहरुमा २१  जना शिक्षकहरु पठाएर विद्यार्थीहरुको भविष्य उज्जवल बनाउने सपना लिएको छ । देश र विदेशबाट उच्च शिक्षा अध्ययन गरेर आएका विद्यार्थीहरुलाई छनौट गरी फेलो सिपको रुपमा दुई वर्षको लागि यहि शैक्षिक सत्र २०७२ को बैशाख देखि पठाउने भएको छ । इन्जिनियर, व्यवस्थापन, विज्ञान, पत्रकारिता आदि विषयमा नेपाल र विदेशका ख्याति प्राप्त कलेजहरुबाट उत्तिर्ण भएका विद्यार्थीहरु धनुषामा फेलो सिपका रुपमा काम गर्ने भएका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई गणित, विज्ञान र अंग्रेजी विषय पढाउन उनीहरु आउने छन् ।
धनुषाको अन्दुपट्टी कटरैत ७ स्थित सरस्वती माविमा श्रमदान गरेर विद्यालयको
 पर्खाल बनाउँदै टिच फर नेपालका फेलोशिपहरु ।
मावि सोहनी मुजेलियाका लागि काठमाण्डौ इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङमा स्नातक गरेका प्रतिक घिमिरे, नेशनल ओपेन कलेजबाट फारमेसिमा स्नातक गरेका विनिता सुवेदी र भारतको न्यू होरिजन कलेजबाट स्नातक गरेका अनुभा उप्रेति छनौट भएका छन् । त्यसैगरी जनता उच्च मावि बेल्ही रजौलका लागि इन्जिनियर मिलन दाहाल, पाटन मल्टिपल क्याम्पसबाट विएससी गरेका निकिता थपलिया, भारतबाट ह्युमन रिसोर्स म्यानेजमेन्टमा स्नातक गरेका आस्था भट्टराई छनौट भएका छन् । त्यसैगरी मावि मिथिलेश्वर मौवाहीका लागि इन्जिनियर आकाश ठाकुर, नोबेल कलेजबाट विएससी गरेका रिसिका पोखरेल र विए गरेका स्नेहा बज्राचार्य छनौट भएका छन् । राराब कलेज जनकपुरबाट विए गरेका गोपाल झा, पब्लिक यूथ क्याम्पसबाट विविएस गरेका नारायण अधिकारी, नोबेल कलेजबाट विपिएच गरेका आशिष श्रेष्ठ, अमृत साइन्स क्याम्पसबाट विएससी आइटी गरेका केदार भण्डारी, जेभियर इन्टरनेशनलबाट विए गरेका निहारिका मैनाली र भारतको व्याङ्गलोर विश्वविद्यालयबाट विविएम गरेका माधवी उपाध्याय सरस्वती मावि कटरैत अन्दुपट्टीमा पढाउने छन् । त्यसैगरी उच्च मावि बघचौडाका लागि पुल चौक क्याम्पसबाट विई गरेका वसन्त मोरे, जर्मनीबाट बातावरण व्यवस्थापनमा स्नातक गरेका समी मानन्धर, बंगलादेशबाट विए गरेकी पार्वती श्रेष्ठ पढाउने भएका छन् । त्यसैगरी राजेश्वर निधि उच्च मावि नगराईनका लागि काठमाण्डौबाट विए गरेका अंकुश उप्रेती, भारतबाट जर्नालिज्म एण्ड मास कम्युनिकेशन पढेर आएका प्रभाकर प्रसाद साह र भारतको देल्ही यूनिभर्सिटीबाट विकम गरेका सतिश साहलाई फेलोसिपमा छनौट गरिएको छ ।
उक्त संस्थाले पहिलो ३ वर्षमा हिमाल, पहाड र तराईका १÷१ जिल्लामा काम गर्ने योजना अनुसार ललितपुर, सिन्धुपालचोक र अब धनुषामा काम गर्न थालेका छन् । जिल्ला छनौट गर्दा एसएलसीको नतिजालाई आधार मानेर धनुषालाई पनि छनौट गरिएको भन्दै टिच फर नेपालका विद्यालय सम्बन्ध संयोजक रसायन पौडेल भन्छन,“ धनुषामा नीजि विद्यालयका तुलनामा सामुदायिक विद्यालयको एसएलसी परीक्षाको परिणाम निकै कम देखिएका कारण धनुषा छनौट गरेका हौं । एउटा ठुलो स्कुल खोलेर काम गर्नु भन्दा जिल्लाका विभिन्न विद्यालयहरुमा शिक्षक पठाएर काम गर्दा राम्रो हुने भनेर होस्टेमा हैसे गर्न हामी आईपुगेका छौं ।” पहाडको तुलनामा तराईमा खास गरी धनुषाको ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या धेरै हुने र शिक्षक दरबन्दीको संख्या विद्यार्थी संख्याको तुलनामा कम हुने विद्यालयहरु छनौट गरिएको भन्दै पौडेल भन्छन,“ कक्षा ६ देखि हामीले पढाउने हो । तीन वटा विषय खास गरी गणित, अंग्रेजी र विज्ञानमा स्तरोन्नती गर्न हामी अत्यधिक मिहिनेत गर्नेछौं । जब ती विद्यार्थीहरु एसएलसी पास हुनेछन् तब मात्र कति सुधार भयो भनेर नाप्न सकिने भएपनि तत्काल २ वर्षमा हामीले विद्यार्थीहरुको बेसिक सुधार गरी कम से कम २५ मार्क वढी ल्याउन सक्ने सम्म अवश्य नै बनाउने छौं ।”
श्रमदान गरेर बनाए बिद्यालयको गारो
धनुषाको अन्दुपट्टी कटरैत ७ स्थित सरस्वती माविमा श्रमदान गरेर विद्यालयको
 पर्खाल बनाउँदै टिच फर नेपालका फेलोशिपहरु ।
टिच फर नेपालका ३० प्रज्ञार्र्थीले र प्रतिनिधि समुदायका करीब ४० व्यक्तीहरु सँगमिलेर गत चैत्र ७ गते कतरैत ७,जनकपुर स्थित सरस्वती माध्यमिक विद्यलायमा रहेको बाँसको घेरालाई माटोको गारो लगाएर श्रमदान गरेका छन् ।
माहात्मा गान्धीको बिचार र सर्वाेदय अभियानबाट अभिपे्ररित भई हरेक साल टिच फर नेपालले आफुले काम गर्ने जिल्लाहरुमा श्रमदानको आयोजना गर्ने गरेको छ । श्रमदान टिच फर नेपालका प्रज्ञार्थीहरुले लिने छ हप्ते तालिमको एउटा भाग हो । हरेक बर्ष झै यो साल पनि नयाँ प्रज्ञार्थीले समुदायमा गएर आफ्नो श्रमदान गरेका छन् ।
यो साल जनकपुर साथै ललितपुरमा पनि श्रमदानको आयोजना गरिएको छ । समुदायमा बस्ने बासिन्दाको आफ्नो श्रम र स्थानीयश्रोतको प्रयोगबाट पनि बिकास गर्न सकिन्छ भन्ने जागरण ल्याउनको लागि श्रमदानमा टिच फर नेपालका प्रज्ञार्थीहरु सहभागि भएका हुन् ।
नेपाल तथा नेपाल बाहिरका विश्वाबिद्यालयमा पढेका यि युवाहरु आगामी शैक्षिक सत्र देखि धनुषा जिल्लाका बिशेष गरी जनकपुर वरीपरीका गाउँका छ वटा बिद्यालयहरुमा टिच फर नेपालका प्रज्ञार्थीका रुपमा शिक्षण गर्नु हुनेछ ।
टिच फर नेपालकी तालिम प्रमुख, स्वस्तिका श्रेष्ठ अनुसार श्रमदान तालिमको अभिन्न अगंहो किनभने यसले प्रज्ञार्थीहरुलाई आफु कस्तो समुदायमा जाँदै छु भन्ने कुराको आभास गराउँछ साथै यसले समुदायमा आफुले आफ्नो श्रम खर्च गरेर आफ्नो समुदायमा योगदान गर्न सकिने रहेछ भन्ने कुराको जानकारी गराउँदछ ।
२०१५ का टिच फर नेपाल प्रज्ञार्थीहरूले ललितपुर, सिन्धुपाल्चोक तथा धनुषा जिल्लाका सरकारी विद्यालयमा गई पढाउने छन् । यी मध्ये आधाले २०१३ का प्रज्ञार्थीहरुलाई प्रतिस्थापन गर्ने छन् । टिच फर नेपालले २०१३ देखि ललितपुरका सरकारी विद्यालयहरुमा प्रज्ञार्थीहरुलाई पढाउन फेलोशीप दिएको थियो । साथै २०१४ सालमा सिन्धुपाल चोकमा विस्तार गरेको र यो साल धनुषामा विस्तार गर्ने टिच फर नेपालको योजना छ ।
नयाँ प्रज्ञार्थीहरु १०५५ निवेदकहरुबाट छानिएका हुन् । छानिएका ५७ प्रज्ञार्थीहरु ६ हप्ता लामो तालिम लिएर नयाँ शैक्षिक सत्र देखि ललितपुर,  सिन्धुपालचोक , धनुषाका विभिन्न विद्यालयमा पढाउन जाने छन् ।
    टिच फर नेपालले शैक्षिक असमानता हटाउने प्रतिवद्धता अनुरुप हालसम्म ४९ टिच फर नेपाल फेलो ललितपुर र सिन्धुपाल्चोक स्थित २५ विद्यालयमा पढाउँछन भने अब बैशाख देखि थप ५७ जना फेलोको साथ धनुषा पनि जाने छन र करीब ६००० विद्यार्थीले उत्कृष्ट शिक्षा पाउनेछन् ।
    यसरी समग्रमा हेर्ने हो भने टिच फर नेपालले पठाउने फेलो सिपहरुबाट धनुषाको सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अवश्य नै वृद्धि हुने छ । किनभने अहिले ती विद्यालयका कार्यरत शिक्षकहरु विद्यार्थीहरुको भविष्य भन्दा पनि आफ्नो जागिर मात्र पकाउने काम गरिरहेको बेलामा उच्च शिक्षा अध्ययन गरेर आउने ती यूवा फेलो सिपहरुले कडा मिहिनेत गरे विद्यार्थी, विद्यालयको मात्र नभएर यस जिल्लाको शैक्षिक बातावरण मै ठुलो सुधार आउने अपेक्षा गरिएको छ । प्रायः जसो सामुदायिक विद्यालयहरुमा अदक्ष शिक्षकहरुका कारण पढाई खस्केको अवस्थामा ती फेलो सिपहरुले एउटा सकारात्मक छाप छोड्नु भनेको यो जिल्लाको लागि ठुलो योगदान हुनेछ । सहरमा हुर्केका ती यूवा यूवतीहरुले हिलो र गोबर सहितको लेदोले विद्यालयको पर्खाल निर्माण गर्नुमा नहिचकिच्नुले पनि तिनीहरुको समर्पण र प्रतिवद्धताले यहाँ रहेका अन्य शिक्षकहरुमा पनि केही प्रेरणा जाग्न सके ठुलो कुरा हुने थियो ।


२०७१ चैत्र २९ गते आईतबार

No comments:

Post a Comment