Tuesday, March 10, 2015

यस्तो छ सभाषदहरुको १ करोडको योजना

अजय अनुरागी
जनकपुरधाम............
निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम  अन्तरगत धनुषाको ७ वटै निर्वाचन क्षेत्रका लागि १÷१ करोड  गरी कुल ७ करोड रुपैयाँको विकासका योजना यस क्षेत्रका सभाषदहरुले प्रस्तुत गरेका छन् । सुशिल कोइरालाको नेतृत्वमा रहेको वर्तमान सरकारले देशभरीकै २ सय ४० वटा निर्वाचन क्षेत्रमा पुर्वाधार विकासका लागि ल्याएको विशेष कार्यक्रम अन्तरगत धनुषाका कुल २७ जना सभाषदहरुले आ(आफ्नो क्षेत्रका लागि विकासको योजना प्रस्तुत गरेका छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट निर्वाचित सभाषदहरुको संयोजकत्वमा उक्त क्षेत्रमा रहने समानुपातिक सभाषदहरुलाई समावेश गरी निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम समिति बनाइएको छ ।
१ करोड बजेट रहेको उक्त योजनामा न्युनत्तम रु. ७ लाखको एउटा योजना र बढीमा १० वटासम्म योजना राख्न सकिने मापदण्ड रहेको निर्वाचन क्षेत्र पुर्वाधार विशेष विकास समितिमा सभाषदहरुका बाहेक धनुषाका स्थानीय विकास अधिकारी, जिल्ला प्राविधिक कार्यालयका प्रमुख, विषयगत कार्यालयका अन्तरगत खानेपानी डिभिजनका प्रमुख सदस्य रहेका छन् । यसका अतिरिक्त निर्वाचन क्षेत्रमा पर्ने नगरपालिका वा उपमहानगरपालिकाका कार्यकारी अधिकृत समेत उक्त समितिको सदस्य छन् । जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारीले तोकेको अधिकृत स्तरको कर्मचारी सदस्य सचिव रहने प्रावधान अनुसार धनुषामा विजय यादव सदस्य सचिव छन् ।
उक्त समितिले निर्माण गर्ने पुर्वाधारका कार्यक्रम तथा योजनाहरुको अनुगमन गर्नका लागि अनुगमन समिति समेत बनाउने प्रावधान छ । समितिमा रहेका सभाषद यदि उक्त अनुगमन समितिमा बस्न चाहन्छन् भने संसदीय विकास कोषको रकम १५ लाखको कम्तिमा ५० प्रतिशत लगानी गरिनुपर्ने र समानुपातिक सभाषदका लागि ४० प्रतिशत लगानी गर्नुपर्ने मापदण्ड बनाइएको छ । हरेक निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ जेष्ठ सभाषदको संयोजकत्वमा अनुगमन समिति बनाउने प्रावधान छ ।
१ करोड एउटा निर्वाचन क्षेत्रको लागि रकम छुट्याइएको भएपनि १.५ प्रतिशत अर्थात रु.१ लाख ५० हजार जिविसले कन्टिजेन्सी खर्च वापत लिने गरेको छ ।
धनुषामा कुन क्षेत्रमा कस्तो योजना ?
निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्तरगत रु. १ करोडको
 योजना छनौट गर्दै एमाओवादीका सभाषद रामसिंह यादव ।
धनुषामा कुल ७ वटा निर्वाचन क्षेत्र रहेका छन् । २७ जना सभाषदहरुले प्रस्तुत गरेको उक्त योजनालाई हेर्दा धनुषा क्षेत्र नं. ३ मा मात्र एउटा ठोस योजना प्रस्तुत भएको देखिन्छ । सबैभन्दा वढी १० वटा योजना क्षेत्र नं. ७ मा रहेको छ । संसदीय विकास कोष रकम जस्तै यस कार्यक्रममा पनि सभाषदहरुले सडक माटो ग्राभलमै अधिकांश योजना छनौट गरेको पाइन्छ भने विगतको जस्तै सामुदायिक भवन निर्माणलाई प्राथमिकता दिइएको छ ।
धनुषाको क्षेत्र नं. १ मा निर्वाचित नेपाली कांग्रेसका सभाषद दिनेश प्रसैलाको संयोजकत्वमा समानुपातिक सभाषद मुक्ता कुमारी यादव र राप्रपाका समानुपातिक सभाषद लक्ष्मी थापा पासवान सम्मिलित समितिले ७ वटा योजना प्रस्तुत गरेका छन् । बल्हा सघारा गाविसको दुर्गामन्दिर देखि बरेरवा, टरिया, लक्कड, सिंग्याही मडान सम्म बाटो ग्राभल गर्नका लागि रु.१५ लाख, विसरभोरा गाविसको नाथपट्टी चौक देखि सोनापारा चौक हुँदै डुमरिया चौकसम्म बाटो ग्राभलका लागि रु.१५ लाख, विजुलिया मोड देखि माचीमंगराहा नाथपट्टी सडकसम्म बाटो ग्राभलका लागि रु. १५ लाख, षतोखर गाविसको कुशमाहा देखि खरिहानी मरतैया नदि हुँदै हौवाही यदुकुहा सम्म बाटो ग्राभलका लागि रु.१५ लाख, गाविस बालाबाखर वार्ड नं. १ बेमर्खी देखि चिरैया लवका टोल, मतौना चौकसम्म बाटो ग्राभलका लागि रु. १५ लाख, बल्हागोठ गाविस देखि बल्हाकठाल, पतनुका हुँदै लगमासम्म बाटो ग्राभलका लागि रु. १५ लाख र बल्हागोठ कवरगाह देखि लवटोली हुँदै खजुरी स्टेशन, काली मन्दिर पछाडी बाटो खजुरी चन्हासम्म ग्राभलका लागि रु.१० लाख गरि कुल ७ वटा योजनामा रु. १ करोडको सडक निर्माणका लागि उक्त समितिले विकासको योजना प्रस्तुत गरेका छन् ।
निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रम अन्तरगत रु. १ करोडको
 योजना छनौट गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रि विमलेन्द्र निधि ।
त्यसैगरी धनुषाको निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका निर्वाचित सभाषद रामकृष्ण यादवको संयोजकत्वमा एमालेका समानुपातिक सभाषदद्वय शितल झा र रामअवतार पासवान सम्मिलित समितिले कुल ५ वटा योजनाका लागि रु. १ करोडको योजना प्रस्तुत गरेका छन् । उक्त समितिले पछि निर्णय गरे बमोजिम हुने भनी खुल्ला दिशामुक्त कार्यक्रमको लागि रु. ७ लाखको योजना प्रस्तुत गरेका छन् । त्यसैगरी रकम नखुलाइएको भएपनि कपटौल वडा नं.७,८ र ९, विक्रमपुर ५ र ६ हुँदै भराख परवाहासम्मको लागि सडक ग्राभलको योजना प्रस्तुत गरेका छन् । हुन त त्यो योजना पछि आएर उक्त समितिले परिवर्तन गरेको  हो । त्यसअघि सुगा निकास बजार देखि टिल्ही, रुधौली, चक्करसम्मको योजना राखिएको थियो तर, उक्त योजना सडक विभागले पहिले नै छनौट गरिसकेका कारण उक्त योजना फेरिएको हो । त्यसैगरी ठाढी, मुरिवा, नेमुवाटोल, धबौली मावि हुँदै तारा टोलसम्मको ग्राभल, पौडेश्वर ४ देखि मानसिंह पट्टी, मझौरा, बघचौडा, तारापट्टीसम्मको सडक ग्राभलका लागि र हडवारा देखि बफैसम्मको बाँकी ग्राभल कार्य बाँकी सडक गरी कुल ४ वटा सडकको योजना प्रस्तुत गरेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा निर्वाचित सभाषद विमलेन्द्र निधिको संयोजकत्वमा कांग्रेसकै समानुपातिक सभाषद लक्ष्मीदेवी भण्डारी, रश्मी ठाकुर र मालेका सभाषद शिवचन्द्र चौधरी सम्मिलित समितिले एउटा मात्र योजनामा १ करोड रुपैयाँको योजना प्रस्तुत गरेका छन् । झोझी कटैया गाविस अन्तरगतका सडकहरुमा पक्की नाला र पिसिसि ढलान कार्य गर्ने योजना उक्त समितिले प्रस्तुत गरेका छन् । निधि संविधानसभा चुनावका दौरान प्रचार प्रसार गर्ने क्रममा जुन गाविसबाट आफुलाई सबै भन्दा वढी मत आउँछ उक्त गाविसलाई विकास गर्नको लागि रु. १ करोड दिलाउने प्रतिवद्धता गरेका थिए । निर्वाचनमा झोझी कटैयाबाट उनलाई सर्वाधिक मत आएका कारण उनले उक्त रकम सोही गाउँमा खर्चने भएका छन् । ७ वटा निर्वाचन क्षेत्रहरु मध्ये तीन नम्बर क्षेत्रमा मात्र एउटा योजना प्रस्तुत गरिएको छ । र, उक्त गाउँमा मात्र पक्की सडक र पक्की नाला निर्माणको योजना प्रस्तुत गरिएको छ ।
धनुषाको क्षेत्र नं.४ का निर्वाचित सभाषद संजय कुमार साह अहिले निलम्बनमा परी ज्यान मुद्दामा अभियुक्त भई अहिले सिरहा कारागारमा थुनामा छन् । त्यसकारण उक्त क्षेत्रमा जेष्ठ सभाषदको हैसियतमा नेपाली कांग्रेसका समानुपातिक सभाषद लिला कोइरालाको संयोजकत्वमा सभाषदहरु मिनाक्षी झा, प्रमिला दास, रामसपाका सभाषद दिनेश प्रसाद साह र सदभावनाका सभाषद माधवी रानी साह सम्मिलित समितिले कुल २ वटा योजना प्रस्तुत गरेका छन् । गंगा सागर, धनुष सागर लगायत जानकी मन्दिर वरपर सौर्य बत्ती जडान र जनकपुर उपमहानगरपालिका वडा नं. १० स्थित जानकी मन्दिर भन्दा उत्तर, अरगज्जा पोखरी भन्दा पुर्व शौचालय निर्माण गर्न जिविसले उपमहानगरपालिका सँग समनव्य गरी कार्य प्रक्रिया अघि बढाउने गरी कुल २ वटा योजनामा रु.१ करोडको योजना प्रस्तुत गरेको छ ।
     त्यसैगरी निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका निर्वाचित सभाषद डा.चन्द्रमोहन यादवको संयोजकत्वमा महेन्द्र यादव, एमाओवादीका प्रतिक्षा तिवारी मुखिया र तमलोपाका इन्दिरा झा समितिले कुल ६ वटा योजना प्रस्तुत गरेको छ ।
    मानसिंह पट्टी, ननुपट्टी, भगवानपट्टी, अन्दुपट्टी कटरैत, ठेरा, बगेवा, लक्ष्मीनिया सडकका लागि रु. २५ लाख, ठेरा, चौहवा, प्रस्टोकी, चन्द्रपुर सम्म सडकका लागि रु.१० लाख, एभरेष्ट पेपर फेक्टूी महेन्द्रनगर देखि रमेशपुरसम्म सडकका लागि रु.१५ लाख, परशुराम तलाउको पर्यटकीय तथा सांस्कृतिक पुर्वाधार विकासका लागि रु.१० लाख, मिथिला विहारी प्रवेशद्वार कचुरीका लागि रु. १५ लाख र लक्ष्मीनिया बजारमा प्रहरी चौकी निर्माणका लागि रु. २५ लाख गरी कुल ६ वटा योजनामा कुल १ करोड रुपैयाँ उक्त समितिले खर्चिने भएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका निर्वाचित सभाषद प्रेमकिशोर साहको संयोजकत्वमा एमाओवादीका समानुपातिक सभाषद रामसिंह यादव र नेपाल परिवार दलका समानुपातिक सभाषद एकनाथ ढकाल सम्मिलित समितिले कुल ८ वटा योजना प्रस्तुत गरेका छन् । एकनाथ ढकाल धनुषाका सभाषद नरहेपनि उनी उक्त समितिमा रहेका छन् । उक्त समितिले प्रस्तुत गरेको ८ वटा योजनाहरु मध्ये गणेशमान चारनाथ नगरपालिकामा करिब धर्मशाला निर्माणका लागि रु.१० लाख छुट्याएको भएपनि बाँकी योजनाहरुका लागि रकम छुट्याएको छैन । धनुषाधाम देखि मौङराहा हुँदै सिकियाहा हनुमान चौकसम्म सडक, सबैला बजार भित्र सडक ढलान, विद्यालय ठिल्लामा भवन निर्माण, नागेन्द्र स्मारक हुँदै भागरथ टोल, शेषटोल हुँदै थानासम्म सडक, रघुनाथपुर ढोलबाजा सहिद पार्कदेखि नहरसम्म सडक, झटियाही ६ मा सामुदायिक भवन र बरमझियामा सामुहिक सहिद स्मृति भवन गरी बाँकी ७ वटा योजना छुट्याइएको छ ।
त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नं. ७ मा एमालेका निर्वाचित सभाषद शत्रुधन महत्तोको संयोजकत्वमा नेपाली कांग्रेसका समानुपातिक सभाषदद्वय आनन्द प्रसाद ढुङ्गाना र पुष्पलत्ता लामा, एमालेका सभाषद ज्ञानबहादुर भुजेल र दलित जनजाती पार्टी यशोदा कुमारी लामा सम्मिलित समितिले कुल १० वटा योजना प्रस्तुत गरेको छ ।
    बेंगाडावर १ देखि ढल्केवर बजारसम्म सडक, उमाप्रेमपुर, मालटोल, पर्वता हुँदै भुतही पटेर्वा, पुरनदाहासम्म सडक, पुष्पवलपुर, दिगम्बरपुर, इच्छापुर, औरहासम्म सडक, उमाप्रेमपुर ४ किसानपुर हुँदै केशरकुट्टी, आनन्द चौकसम्म सडक, ढल्केवर ३ सडक विभाग हुँदै केमलीपुर, बसैखोलामा कजबे निर्माण, तुल्सी ७ मा सामुदायिक भवन (उपस्वास्थ्य चौकी) निर्माण, बेंगाडावर ७ मा सामुदायिक भवन निर्माण, ढल्केवर ३ मा राधाकृष्ण सामुदायिक भवन निर्माण, दिगम्बरपुर ६ मा सामुदायिक भवन निर्माण र यज्ञभुमि भिमानमा बौद्ध गुम्बाको गेट निर्माण गरी कुल १० वटा योजनामा रु. १ करोड उक्त समितिले खर्चिने भएको छ ।
सत्ता पक्ष र प्रतिपक्ष एकै ठाउँ
संविधानसभामा रहेका दलहरु बीच संविधानका अन्तरवस्तुहरुमा विवाद रहेपनि निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमका लागि धनुषाका सभाषदहरु मिलेरै योजनाको भागवन्डा तथा छनौट गरेका छन् । सत्ता पक्ष र प्रतिपक्ष बीच केन्द्र देखि जिल्लासम्म विवाद रहेको भएपनि धनुषाका स्थानीय विकास अधिकारी झलक राम अधिकारी, जिल्ला प्राविधिक कार्यालयका प्रमुख राजकिशोर प्रसाद साह र खानेपानीका डिई धर्मेन्द्र कुमार केसरीको प्रयासका कारण सभाषदहरु बीच सहमती कायम हुन सकेको सदस्य सचिव विजय यादव बताउँछन् । कतिपय निर्वाचन क्षेत्रहरुमा सभाषदहरु बीच समन्वय हुन नसकिरहेको अवस्थामा ६÷६ घण्टासम्म सभाषदहरुलाई राखेर बैठक गरी विकासका लागि सहमति गराउन सकिएको यादव बताउँछन् । अषाढ महिनासम्म विकास निर्माणको कार्य सम्पन्न गरिसक्नु पर्ने भएकाले क्षेत्र नं. ६ र ७ मा उपभोक्ता समिति मार्फत र क्षेत्र १ देखि ५ सम्म ठेक्का लगाई कार्य सम्पन्न गरिने सदस्य सचिव यादव बताउँछन् । ठेक्का प्रक्रिया र उपभोक्ता समिति गठनको प्रक्रिया सुरु भईसकेको उनी बताउँछन् ।
    यसका अतिरिक्त संसदीय विकास क्षेत्रका लागि यो सरकारले १० लाख बाट रकम बृद्धि गरी १५ लाख रुपैयाँ पु¥याएको छ । त्यसका लागि पनि धनुषामा सभाषदहरुले धमाधम योजनाहरु पेश गर्न थालिसकेका छन् । यसका अतिरिक्त यसपटक प्रत्येक निर्वाचित सभाषदले आफ्नो निर्वाचन क्षेत्रमा एउटा पुल समेत निर्माण गर्न पाउने छन् ।


२०७१ फाल्गुन २४ गते आईतबार,

No comments:

Post a Comment