Tuesday, March 10, 2015

एमालेको धनुषा अधिवेशनबाट रघुविर महासेठ पलायन हुने खतरा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नयाँ नेतृत्व चयनको लागि नेकपा एमाले धनुषाको छैठौं जिल्ला अधिवेशन २३ फागुन देखि सुरु भएको छ । ‘गुटफुटमा नअल्मलिऔं, एकताको जिल्ला अधिवेशन सफल पारौं’ नारा सहित सुरु भएको उक्त अधिवेशनले पनि एमाले धनुषामा गुट उपगुट हावी रहेको प्रष्ट पार्छ । हुन त केन्द्र मै केपी शर्मा ओली र माधव कुमार नेपाल तथा झलनाथ खनाल गरी पार्टी गुट उपगुटमा विभाजित भएपछि त्यसको असर जिल्लामा पनि पर्नु स्वाभाविक नै हो । अचम्म के छ भने देशका विभिन्न जिल्लाहरुमा रहेको विवाद साम्य भईसकेपनि धनुषामा गुट उपगुटको विवाद झन चरममा पुगेको छ । पाँचौं जिल्ला अधिवेशनबाट रघुविर महासेठका उम्मेदवार हरिनारायण महत्तो निर्वाचित भएका थिए भने रामचन्द्र झाका उम्मेदवार रामसिंह यादव पराजित भएका थिए । हुन त त्यो पाँचौं अधिवेशन हुन पनि आठ वर्ष लागेको थियो । छैठौं अधिवेशन उदघाटन गर्न आएका एमालेका महासचिव इश्वर पोखरेल पनि उदघाटन सत्रलाई सम्बोधन गर्दै भनेका थिए,‘एमालेको विधानले ३ वर्ष भित्र नयाँ नेतृत्व चुनी सक्नुपर्दछ । धेरै ढिलो भयो भनेपनि ४ वर्षमा त अधिवेशन गरिहाल्नुपर्दछ । तर, चौथो अधिवेशनबाट पाँचौं अधिवेशन सम्म आईपुग्न ८ वर्ष लाग्नुले म पनि आश्चर्य चकित छु ।’ रामचन्द्र झा पक्षधर पराजित भएपछि अग्रगामी विचार समुह भन्दै पार्टी भित्र विद्रोह गर्न थाले । ती समुह मध्येका केन्द्रमा अगुवाई गर्ने एमालेका तत्कालिन उपाध्यक्ष अशोक राई संघीय समाजवादी पार्टी नै गठन गरे भने रामचन्द्र झा पक्षधरहरु एमाओवादीमा प्रवेश गरे ।
रामचन्द्र झा पार्टी भित्र हुँदा योगनारायण यादवलाई आफ्नो पक्षमा पारेर महासेठ पक्ष धनुषामा हावी भईरहँदाको अवस्था धेरै दिन टिक्न सकेन । एकातर्फ झा पार्टीबाट बाहिरिए भने अर्को तर्फ झा बहिर्गमन पछि पार्टीमा भित्रिएका रत्नेश्वर लाल गोइत र यदुवंश झा समेत श्रीप्रसाद साह, शत्रुधन महत्तो र योगनारायण यादव सबै एकै ठाउँ गोलबन्द भएपछि महासेठ पक्षधर कमजोर हुन पुग्यो । यतिसम्मको अवस्था आयो कि पाँचौं अधिवेशनबाट चुनिएका महासेठ पक्षका धनुषाका अध्यक्ष हरिनारायण महत्तोको निर्वाचित जिल्ला कमिटि नै विघटन गरी योगनारायण यादवको संयोजकत्वमा जिल्ला कमिटि बनाइयो । जुन कि धनुषाको इतिहासमा कहिल्यै भएको थिएन । निर्वाचनबाट चुनिएको कमिटि अञ्चल कमिटिले विघटन गरेको थियो । किनभने अञ्चल कमिटिमा महासेठ पक्ष अल्पमतमा परेका थिए । हुन त झा पार्टी परित्याग गर्नुभन्दा अगाडी सम्म अञ्चल कमिटिका इन्चार्ज थिए ।तर, महासेठलाई अञ्चल इन्चार्ज नबनाई केशव देवकोटालाई इन्चार्ज बनाउनु एउटा षडयन्त्र निश्चय नै थियो जसले महासेठलाई कमजोर बाटो तिर लग्नुको साथै उनको मनोबल गिराउने काम पनि भयो । त्यसपछि नेता त्रय शत्रुधन महत्तो, योगनारायण यादव र श्रीप्रसाद साहको चलखेल बढ्नुको साथै जोडघटाउको समिकरण सुरु भयो । जुन विष महासेठले झाका विरुद्ध बमन गरेका थिए सोही विष उक्त नेता त्रयले महासेठलाई नै खुवाएपछि महासेठ गल्न पुगेका छन् । पार्टी भित्र पकड गुमाउँदै गएका रघुविर महासेठ र उनको श्रीमति जुली महत्तो संविधान सभाको चुनावमा पराजय हुुुनुको पीडा सेलाउन नपाउँदै एमालेको केन्द्रिय महाधिवेशनमा महासेठ सचिव पदमा पराजित हुन पुगे । अर्को तर्फ श्रीप्रसाद, योगनारायण र शत्रुधन केन्द्रिय कमिटिमा निर्वाचित हुनुका साथै योगनारायण र शत्रुधन बैकल्पिक पोलिट व्युरोमा समेत निर्वाचित हुन पुगे । पार्टीमा कुनै पनि हैसियत तथा जिम्मेवारी पाउनबाट बञ्चित महासेठको अन्तिम आशाको किरण भनेको आफ्नो श्रीमति जुली महत्तोलाई बैकल्पिक केन्द्रिय कमिटिमा मनोनित गराउने सम्म थियो । तर, पछिल्लो समयमा केन्द्रिय कमिटिमा २० जनालाई गरिएको मनोनयनमा जुली नअटाउँदा धनुषाको उदघाटन सत्रमा बोल्ने अवसर पाउँदा जुलीले पार्टीको असमावेशी चरित्र प्रति आक्रोश व्यक्त गरेकी थिईन ।
यति मात्र होइन आफुहरु निर्वाचन क्षेत्र नं. ३ र ५ मा झिनो मत अन्तरले मात्र पराजित भएको बताउँदै जुलीले कम्तिमा पनि महिला  वा मधेसीको नाउँमा आफ्नो केन्द्रिय कमिटिमा समावेशी जायज रहेको बताईरहँदा अधिवेशनका प्रमुख अतिथि इश्वर पोखरेलले यसरी जवाफ दिएका थिए,‘ यो कुनै जिविसको कमिटि वा उपभोक्ता समिति होइन । कम्यूनिष्ट पार्टीमा मनोनित हुनका लागि आवश्यक मापदण्ड पुरा गर्नुपर्दछ । जुली जी तपाई मनोनित हुन नसक्नुमा मलाई पनि दुःख लागेको छ । तर, मापदण्ड नपुग्दा मैले के गर्ने ?’
उदघाटन सत्रमा रघुविर महासेठ अनुपस्थित  हुनु सामान्य कुरा होइन । पर्दाको अगाडी जुली उदघाटन सत्रमा देखिएपनि महासेठ उपस्थित नहुनुले धेरै अर्थ र संकेत दिन्छ । त्यसैपनि जिल्ला देखि केन्द्रसम्म उनको पकड गुम्दै गएपछि महासेठको एमाले भित्रको राजनीतिक भविष्य अव सुरक्षित नरहेको पनि एमाले भित्रका कार्यकर्ताहरुको ठम्यिाई पाइन्छ । हुन त महासेठका जेठान उपेन्द्र महत्तो गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष हुन भने धेरै धनी उद्योगपति पनि । उपेन्द्र महत्तोका भाई विरेन्द्र कुमार महत्तो मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक तर्फ सभाषद छन् । उनी प्रत्यक्ष निर्वाचनबाट एमाओवादी अध्यक्ष प्रचण्ड विरुद्ध उम्मेदवारी दिँदा एउटा उद्योगपतिले प्रचण्डसँग दुश्मनी लिने जोखिम बेहोर्नुको साटो उम्मेदवारी फिर्ता लिएर प्रचण्डलाई चित्त नदुखाउन भुमिका खेलेका उद्योगपति उपेन्द्र महत्तोको सुझबुझ पुर्ण निर्णयका कारण आज उनका भाई सभाषद बन्न सफल भएका छन् । यसको अर्थ के हो भने कुनै पनि उद्योगपति कुनै पनि राजनीतिक दल वा दलका शिर्ष नेतालाई आफ्नो शत्रु बनाउन चाहँदैनन् । बरु राजनीतिक दलहरुमा लगानी गरेर आफु अनुकुल व्यापारीक नीति बनाउनमा लाग्दछन् । महासेठ पक्ष वर्तमान अधिवेशनबाट चुनिन नसकिएपछि के रघुविर महासेठ पार्टीबाट बाहिरिएलान् भन्ने सबालमा युवा संघ धनुषाका अध्यक्ष राजकुमार यादव भन्छन,“पराजयबाट तर्सिनु हुन्न । राजनीतिमा कहिल्यै हार हुँदैन भन्ने तथ्य महासेठजीलाई राम्ररी थाहा छ । पार्टीले उहाँको केन्द्रिय महाधिवेशनमा भएको पराजयबाट एउटा ठुलो सबक सिक्ने मौका दिएको छ । कि आम कार्यकर्ताहरु र पार्टीका वफादार सिपाहीहरु माझ सिधा सम्पर्क विस्तार गर्ने, द्रुत गतिमा संगठन निर्माण गर्ने र आउने अर्को महाधिवेशन सम्म एउटा कुशल संगठक भई स्थापित हुने । तर, यस्तो गर्नु भएन भने उहाँको अवशान वा पलायन निश्चित छ नभन्न सकिन्न ।”
यसरी हेर्ने हो भने महासेठ अब एमाले भित्रै रहने हो वा बाहिरिने हो त्यसको फैसला धनुषाको छैठौं अधिवेशनबाट निस्किने परिणामले तय गर्ने भन्ने एमाले भित्रका कतिपय नेताहरुको बुझाई छ ।
कसले मार्ला बाजी ?
एमाले धनुषाको छैठौं अधिवेशनबाट नयाँ नेतृत्वको प्रतिस्पर्धामा थुप्रै नेताहरुका नाम अगाडी आईरहेको पाइन्छ । अहिलेको समिकरण हेर्दा शत्रुधन महत्तो, योगनारायण यादव, श्रीप्रसाद साह, रत्नेश्वर लाल गोइत र यदुवंश झा एक कित्तामा छन भने अर्को तर्फको कित्ताको अगुवाई रघुविर महासेठले गरिरहेका छन् । हुन त विभिन्न स्रोतहरुबाट प्राप्त जानकारी अनुसार दुवै कित्ताका थुप्रै आकांक्षीहरु छन् । एकातर्फबाट अहिलेको जिल्ला कमिटिको सह संयोजक राजकिशोर यादव, पुर्व राष्टिूय प्रतिनिधि परिषद सदस्य अच्छेलाल महत्तो, जिल्ला कमिटि सदस्य लक्ष्मीनारायण यादवको चर्चा र भित्र भित्रै प्रचारको होड वाजी चलेको छ भने अर्को तर्फ महासेठ पक्षका पुर्व जिल्ला अध्यक्ष हरिनारायण महत्तो, पुर्व जिल्ला उपाध्यक्ष रामचन्द्र पण्डित, अहिलेको जिल्ला कमिटि सदस्य जयप्रकाश सुनरैत यादव समेत अध्यक्ष बन्नका लागि आतुर देखिन्छन् । तर, बाजी कसले मार्ने हो भन्ने कुरामा कार्यकर्ता देखि नेतासम्ममा अन्यौलको कालो बादल मडारी राखेको देखिन्छ । कत्तै नेतृत्व नै धर्मसंकट र धरापमा पर्ने हो कि भन्ने आशंका व्यक्त गर्न थालिएको छ । कुनै गुट उपगुटमा नलागेका एमालेका केही कर्मठ तथा इमान्दार कार्यकर्ताहरुका अनुसार तेस्रो धारको पनि विकल्प सिर्जना हुन सक्ने बातावरण वन्दै गईरहेको छ ।
एमालेको भातृ संगठन यूवा संघ धनुषा जिल्ला अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य समेत रहेका राजकुमार यादव भन्छन,“ धनुषा जिल्लामा रघुविर महासेठ पक्षधर कमजोर रहेको तथ्य सत्य छ । कारण पार्टीको नीति र विधान अनुसार जिल्ला भरी कार्यकर्ताहरुबाट सर्वसम्मत स्वस्थ्य प्रतिस्पर्धाको आधारमा प्रतिनिधि छनौट भएका छन् ।  जसमध्ये महासेठ पक्षका प्रतिनिधिहरु अत्यन्तै न्युन भएको देखिन्छ । तर, सहमति गर्नै पर्छ र त्यसका लागि त्याग, बलिदान र तपस्याको टडकारो देखिन्छ ।” यादव थप्छन्,“निर्वाचन प्रणालीले गुटउपगुटले जडा गाड्निुको साथै पार्टीलाई धरापमा पार्ने खतरा उत्पन्न हुन्छ । तसर्थ अल्पसंख्यक, महिला, मधेसी, मुस्लिम, दलितलाई पनि सम्मान जनक रुपले समिति भित्र समावेश गरिनु पर्छ । हामी चुनाव कुनै पनि हालतमा चाहँदैनौं ।” अधिकांश कार्यकर्ताहरु सहमतिको पक्षमा देखिन्छ । तर, नेताहरु त्यसका लागि कति इमान्दार हुने हो त्यो ठुलो शंकाको विषय रहेको यादव अनुमान गर्छन् ।
उक्त अधिवेशनबाट ७९ सदस्यीय जिल्ला कमिटि चयन गर्नका लागि ४ सय १४ जना प्रतिनिधिहरु छनौट भएका छन् । १५ जना पुरुष संगठित सदस्यहरुबाट १ जना प्रतिनिधि र ५ जना महिला संगठित सदस्यहरुबाट १ जना प्रतिनिधि गरी जिल्ला भरीबाट ४ सय १४ जना प्रतिनिधिहरु छन् । उक्त प्रतिनिधिहरु मध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र जिल्ला सदस्यहरु चयन हुनेछ । सक्दो सहमति होला भनेर हल्ला भएपनि चुनावी प्रतिस्पर्धा नै हुने सम्भावना वढ्दै गएको छ । जसबाट एक पक्षको भारी पराजयको साथै क्षति हुने सम्भावना पनि तिब्र भएको तथ्यलाई नकार्न सकिँदैन । फलस्वरुप जिल्लामै फेरी पार्टी धरापमा पर्ने हो कि भन्ने चर्चा परिचर्चा यहि अधिवेशनमा व्याप्त रहेको छ । किनभने उदघाटन सत्रमा महासचिव पोखरेलले अभिव्यक्त गरेको गुटगत विवाद मिलाउन केन्द्रबाट उपमहासचिव विष्णु पौडेल खटिनुले पनि धनुषामा एमालेको विवाद चरम अवस्थामा रहेको सहजै बुझ्न सकिन्छ । एमालेका जनकपुर अञ्चल कमिटिका पुर्व इन्चार्ज केशव देवकोटाले पनि धनुषामा व्यक्ति परस्त राजनीतिले पार्टीलाई धेरै ठुलो क्षति पुर्याइरहेको बताएका थिए ।


२०७१ फाल्गुन २४ गते आईतबार,

1 comment: