Tuesday, December 23, 2014

घटनालाई डाइभर्ट गर्न समेत जाहेरी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
लाल झा हत्या केशमा मान महन्थ जगन्नाथ दासको आफु चेला रहेको दावी गर्दै रविन्द्र कुमार यादव भन्ने रविन्द्र दासले हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा २९ मंसिर २०६७ मा जाहेरी पठाएका थिए । ठेरा कचुरीमा घर भई जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालिन लेखापाल नन्द कुमार झा, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जानकी मन्दिरका छोटा महन्थ रोशन कुमार झा, दिपक भन्ने सानु कुमार झालाई प्रतिवादी बनाई जाहेरी पठाएका थिए । लाल किशोर झा जिल्ला शिक्षा कार्यालय महोत्तरीमा अधिकृत पदमा कार्यरत रहेको र सोही कार्यालयमा लेखापाल पदमा कार्यरत रहेको नन्द किशोर झासँग आर्थिक लेनदेन नमिलेपछि नन्द किशोर झाले हत्या गराएको भन्ने आरोप लगाइएको थियो । उक्त कार्यालयको जिल्ला शिक्षा अधिकारी अधिकांश बाहिर नै रहने गरेको कारण निजको जिम्मेवारी समेत लाल झा नै बहन गर्ने गरेको तथा लाल झा र नन्द किशोर झाले एक आपसमा मिलोमतो गरी उक्त कार्यालय र उक्त कार्यालय अन्तरगतका विभिन्न विद्यालय तथा शिक्षक शिक्षिका नियूक्ती, सरुवा, राहत कोटा दरबन्दी समेत सम्बन्धि काम काज गरी गराइदिए बापत दुवै जनाले गैरकानुनी रुपमा मोटो रकम लाल झाले नन्द कुमार झा मार्फत लिएको आरोप लगाइएको थियो । 
जसबाट लाल झाले ८५ लाख रुपैयाँ आफ्नो हिस्सा नन्द कुमार झा मार्फत पाउने भई आफ्नो हिस्साको सो रकम लाल झाले नन्द झा सँग माग्दा नन्द झाले उक्त रकम आनाकानी गरेकोमा लाल झा भनिने लाल किशोर झाले केही समय पुर्व नन्द झालाई हप्काई डर धाक देखाई देखाउन लगाई सो रकम दिन कर गरेको उक्त जाहेरीमा आरोप लगाइएको थियो । तत्पश्चात रकम बन्दोवस्त गरेर चाँडै दिउँला भनि लाल झालाई भाखा कागज गरिदिएकोमा सो भाखा कागज अनुसार आफ्नो हिस्साको सो रकम दिन लाल झाले नन्द झालाई बारम्बार ताकेता गर्दै आएको थियो । 
बारबारको ताकेता पछि दिक्क भएका नन्द झाले लाल झालाई यत्रो ठुलो रकम दिनुको साटो केही रकम खर्चेर यसलाई नै तह लगाउनु पर्छ भनि नन्द कुमार झाले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई भेट्न पुग्दा रामतपेश्वरले मलाई रु. १० लाख दिनुस, मेरो भानिज जनतान्त्रिकमा लागेका छन्, उसलाई बोलाउँछु र जानकी मन्दिरमा सबै अपराधिहरुलाई एक जुट बोलाई नन्द झालाई मार्न लगाउछु भनेर बचन दिएको र सोही बचन अनुसार लाल झाको हत्या गराएको उक्त जाहेरीमा उल्लेख छ । हुलाक मार्फत जाहेरी पठाएपछि जिल्ला प्रशासन कार्यालयमा सनाखत गर्नुपर्ने हुन्छ तर, निवेदक रविन्द्र दासले सनाखत पनि गर्न गएका थिएनन् । अनि जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता नगरी संलग्न प्रतिवादीहरुलाई पक्राउ गरि कारवाही नगरिएको भन्दै निवेदकले पुनरावेदन अदालत जनकपुरमा ३ मंसिर २०६७ मा परमादेशको लागि मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दामा पुनरावेदन अदालतले धनुषा जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दामा गलत प्रभाव पार्न झुठा व्यहोराको जाहेरी हुलाक मार्फत पठाएको तथा अभियुक्तहरुको मिलोमतोमा झुठो कपोलकल्पित मुद्दा  दर्ता गराएको हुनाले उक्त मुद्दा खारेजी गरिएको छ भनेर ३१ जेष्ठ २०६८ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधिशद्वय टिकाबहादुर हमाल र राजकुमार वनको संयुक्त इजलासले आदेश गरेको थियो ।

२०७१ पौष ०६ गते आईतबार

No comments:

Post a Comment