Tuesday, December 23, 2014

लालकिशोर झा हत्या प्रकरणमा प्रमुख अभियुक्त महन्थ वैकुण्ठको भविष्य निर्धारण हुन सक्ने

रत्नसागर मठका महन्थ बैकुण्ठ दास वैष्णव । 
उनलाई लाल किशोर झा हत्याको मुद्दामा 
प्रमुख अभियुक्त तथा योजनाकारको 
रुपमा मुद्दा दर्ता गरिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी गोनरपुरा २ मा घर भई जनकपुर नगरपालिका वडा नं. ८ मा वस्ने लाल झा भनिने लालकिशोर झाको हत्या भएको ४ वर्ष वितिसक्दा पनि धनुषा जिल्ला अदालतमा हालसम्म उक्त हत्याकाण्डको विषयमा टुङ्गो लाग्न सकेको छैन । ११ कार्तिक २०६७ मा लाल किशोर झा जनकपुर स्थित आफ्नो घरबाट जिल्ला शिक्षा कार्यालय महोत्तरी जानको लागि हिडेर बस पार्क तर्फ गईरहेको बेलामा विहान ९ः३० बजेको समयमा अपरिचित व्यक्तिहरुले गोली प्रहार गरी घाइते बनाएका थिए । घाइते अवस्थामा झालाई तत्कालै जनकपुर अञ्चल अस्पताल पु¥याइएपनि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचारकै क्रममा सोही दिन मृत्यु भएको थियो । मृतक झाको शवको गराइएको शव परिक्षण प्रतिवेदनमा समेत झाको मृत्यु गन सट इन्जुरीको कारण भएको बताइएको छ । उक्त घटनाको प्रमुख मास्टरमाइन्ड तथा योजनाकारको रुपमा धनुषा प्रहरीले रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवलाई अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतमा उभ्यिाएको भएपनि अदालतले उनलाई तारेखमा रिहा गरेको अवस्थामा अब अदालतले गर्ने आदेशले वैकुण्ठ दास दोषी ठहर हुने वा नहुने भन्ने टुङ्गो लाग्ने छ । थुनछेक मुद्दामा वैकुण्ठले तारेख पाएर राहत पाएको भएपनि त्यसपछि राजन मुक्तिले प्रहरी समक्ष गरेको बयानमा हत्याको प्रमुख योजनाकार वैकुण्ठ दास वैष्णव नै रहेको बताएपछि अदालतले बैकुण्ठलाई दोषी ठहर गर्ने हो वा होइन, त्यसको समेत निष्कर्ष निस्किने छ । प्रस्तुत मुद्दाको पेसी २ पुषमा रहेको भएपनि अदालतले माघ १४ गतेको लागि सारेको छ ।
लालकिशोर झा गोली प्रहारबाट घाइते भई 
उपचार गराईरहेको अवस्थाको तस्वीर ।
 सोही दिन उनको मृत्यु भएको थियो ।
घटना भएपछि भुमिगत रहेका सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहले स्थानीय संचार माध्यमहरुलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।
 उक्त घटना भएकै दिन जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालिन प्रहरी नायव उपरीक्षक जगदीश पोखरेलको अध्यक्षतामा ७ सदस्यीय प्रहरी कर्मचारी समेतको अनुसन्धान टोली गठन गरिएको थियो । घटनामा संलग्न अपराधिहरुको सुराक पत्ता लगाई अनुसन्धान गर्न स्थानीय स्तरमा जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त अनुसन्धान टोली गठन गरेको थियो । यता अनुसन्धान टोलीका सदस्य समेत रहेका तत्कालिन प्रहरी निरीक्षक हरि खतिवडाले बुझाएको प्रतिवेदनमा घटनामा संलग्न अपराधिहरुको सुराक पत्ता लगाउँदै जाँदा तराई जनतान्त्रिक भुमिगत समुहमा रहेका ५÷६ जना व्यक्तिहरुको समुहले झालाई योजनावद्ध तरिकाले हत्या गरेको बताइएको छ ।
झालाई मार्नको लागि योजना बनाई झाको बारेमा सम्पुर्ण विवरण बुझी झाको निगरानी गर्दै आई मौका खोजी ३ वटा मोटरसाइकलमा चढी आएका ५–६ जनाको समुहले झा निरपुगी मोटरसाइकलबाट ओर्ली झालाई गोली प्रहार गरी सख्त घाइते पारी मोटरसाइकलमै चढी फरार भएको खतिवडाको प्रतिवेदनमा उल्लेख छ । अभियुक्तहरुको सुराक पत्ता लगाउँदै जाँदा तिनीहरु मध्येको विजुली सिंह भन्ने राकेश पाण्डे, रौकी भनिने शिवकुमार ठाकुर र सुनिल अधिकारी यादव रहेको तथा तिनीहरुलाई घटना लगतै केही दिनमा पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाको प्रतिवेदनमा उल्लेख छ ।
लालकिशोर झा हत्या अभियोगमा 
पक्राउ परेका राकेश पाण्डे र शिव कुमार ठाकुर ।
 अहिले उनीहरु लगायत सुनिल अधिकारी यादव
 जलेश्वर कारागारमा थुनामा छन् ।
पक्राउ गरिएका तिनै जना प्रतिवादीहरु सुनिल कुमार अधिकारी यादव, राकेश कुमार पाण्डे र शिवकुमार ठाकुरको हकमा घटनामा कसुरदार देखिने मनासिव आधार विद्यमान देखिँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादीहरु तिनै जनालाई धनुषा जिल्ला अदालतले १९ पुष २०६७ मा थुनुवा पुर्जी दिई थुनामा बस्न कारागार कार्यालय महोत्तरी जलेश्वरमा पठाइदिनु भन्ने व्यहोरा समेतको आदेश गरेको छ । अदालतको उक्त आदेशानुसार प्रतिवादी तिनै जना अहिले जलेश्वर कारागारमा थुनामा छन् । प्रहरी समक्ष पक्राउ परेका प्रतिवादीहरुले गरेको बयान कागज र घटनाका साक्षी बनाइएका विपलव कुमार झा समेतले गरेको विवरण कागजका अनुसार जनकपुरको रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले योजना बनाई सुपारी दिएर लाल किशोर झाको कन्टूेक्टमा हत्या गरिएको उल्लेख छ । लाल झाका बुबा पशुपति झाले जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यानमुद्दाको जाहेरी गरेको थियो । उक्त मिसिलमा साक्षीहरुले गरेको कागज अनुसार रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले मठको सम्पति हिनामिना गरी जग्गा वेच विखन गर्दै आएकोमा लाल किशोर झाले विरोध गर्दै गरेकोमा वैकुण्ठ दासले तिनै जना प्रतिवादीहरुलाई रकम दिई गोली प्रहार गरी मार्न अह्राई खटाई गोली प्रहार गरी मार्न लगाएको हो भनी किटानै गरिएको छ । 
घटना भएपछि वैकुण्ठ दास फरार भएका थिए । अचम्मको कुरा के हो भने जति बेला बैकुण्ठ फरार भएका थिए त्यतिबेला उनलाई प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको तत्कालिन जिल्ला सुरक्षा समितिले व्यक्तिगत सुरक्षा गार्ड पिएसओ समेत उपलब्ध गराएको थियो । पिएसओ हुँदा हुँदै वैकुण्ठ जनकपुरबाट कसरी फरार भए त्यसको उत्तर हालसम्म अनुत्तरित छ । करिब १० महिनासम्म फरार रहेका वैकुण्ठ दास वैष्णव अचानक २७ अषाढ २०६८ मा धनुषा जिल्ला अदालतमा हाजिर भएपछि धनुषा जिल्ला अदालतका तत्कालिन न्यायाधिश अमर राज पौडेलले बैकुण्ठलाई साधारण तारेखमा रिहा गरेका थिए । उक्त घटनाको प्रमुख योजनाकारको रुपमा प्रतिवादी बनाइएका वैकुण्ठ दासलाई अदालतले मुद्दा थुनछेकको क्रममा साधारण तारेखमा रिहा गरेपछि स्थानीय स्तरमा समेत उक्त आदेशको तिब्र आलोचना गरिएको थियो ।
घटनामा टर्निङ प्वाइन्ट तव आयो, जब घटनाको जिम्मा लिएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सर्बोच्च व्यक्ति अध्यक्ष राजन मुक्ति भनिने रंजित झाले उक्त घटनामा वैकुण्ठ दास नै प्रमुख योजनाकार रहेको प्रहरी समक्ष बयान ग¥यो । जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लाल किशोर झा हत्याको मुख्य योजनाकार रत्न सागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव नै रहेको राजन मुक्तिले खुलासा गरेपछि वैकुण्ठ झन संकटमा परेको छ । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द पुरीले गरेको अनुसन्धानको सिलसिलामा राजन मुक्ति भन्ने रंजित झाले बयानको क्रममा उक्त कुरा खुलासा गरेका हुन् । २१ मंसिर २०७० मा झा हत्या प्रकरणमा राजन मुक्तिसँग सोधिएको १७ वटा सवालहरुको जवाफका क्रममा उक्त कुरा खुलेको हो ।
रत्नसागर मठमा महामृत्युन्जय जपको
क्रममा शिव लिङ्गलाई जलाभिषेक गर्दै 
महन्थ वैकुण्ठ दास वैष्णव ।
मृतक लाल किशोर झा मटिहानीका महन्थ जगरनाथ दासको भतिजो भएकोले निज महन्थको सम्पुर्ण कारोबार निज लाल किशोर झाले नै हेर्ने गरेको र जग्गा जमिन समेत बेच विखन गर्ने गरेको थियो । झा जिल्ला शिक्षा कार्यालय महोत्तरीको शाखा अधिकृत पदमा रही आर्थिक हिनामिना, अनियमितता र भ्रष्टाचार गरी धेरै रकम  जम्मा गरेका कारण आफुले झासँग चन्दा मागेको राजन मुक्तिले बताएका छन् । चन्दाको लागि आग्रह गर्दा झाले अटेर गरेको कारण आफुले उनलाई पटक पटक धम्की समेत दिएको राजन मुक्तिले बताएका छन् । झा हाम्रो लिस्टमा थियो । त्यसताका लाल किशोर झा र रत्नसागर कुट्टिका महन्थ बैकुण्ठ दास बीच जग्गा बेच विखनका सम्बन्धमा मनमुटाव, झै झगडा समेत भएको र सोही रिसइबीका कारण  वैकुण्ठ दासले झालाई मार्न चाहेको थियो । झालाई मार्नको लागि वैकुण्ठ दासले म र भाष्कर मुक्ति भन्ने दिपक सिंह समेतलाई सम्पर्क गरी तपाईहरुलाई चन्दा दिन्छु, मेरो काम गरिदिनुहोस्  भनी प्रस्ताव राखेको थियो । त्यस पश्चात घटना वारदातको १५÷२० दिन पहिले हामीहरुसँग वैकुण्ठ दासले भारतको सितामढीमा भेट गरी लाल किशोर झाको हत्या गर्ने सहमति भई रु.७ लाख रकम वैकुण्ठले हामीलाई पेस्की समेत दिएको राजन मुक्तिले बताएका छन् । लाल किशोर झालाई मार्नका लागि वैकुण्ठ दाससँग रु.१० लाखमा डिल भई हत्या गर्ने हामीले सहमति ग¥यौं र उक्त सहमति बमोजिम वैकुण्ठ दासले आफुलाई रु.७ लाख दिएको र बाँकी रकम मेरो कार्यकर्ताहरु सुनिल कुमार अधिकारीले रु. ५० हजार, विजुली सिंह भन्ने राकेश पाण्डेले रु.२५ हजार र शिवकुमार ठाकुरले रु.१५ हजार समेत लिएको आफुले सुनेको राजन मुक्तिले बताएका छन् । आफुले हत्याको लागि लिएको रकम समुह संचालन गर्ने क्रममा खर्च भईसकेको राजन मुक्तिले बताएका छन् । 
राजनका अनुसार वैकुण्ठ दास सँगै भारतको मधुवनीका २५ वर्षिय जैसवाल भन्ने मनिष चौधरीले सबै बन्दोवस्त मिलाउने भनेर बैकुण्ठले आफुलाई मनिष सँग चिनजान गराएको थियो । त्यस पश्चात मेरो स्थानिय कार्यकर्ता शशि मुक्ति भन्ने सुनिल अधिकारीलाई जैसवालसँग भेटगराई जैसवालले नै हतियार समेत उपलब्ध गराउने र भाष्करले सुनिल अधिकारीलाई टेलिफोन सम्पर्क गरी आदेश दिएको राजन मुक्तिले बताएका छन् । 
उक्त आदेश पश्चात सुनिल अधिकारीले राकेश पाण्डे र शिवकुमार ठाकुर समेत सँग भिठ्ठामोडमा भेटघाट गरी उनीहरुलाई पैसा समेत उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । ११ कार्तिक २०६७ मा जनकपुर–७ स्थित लाल किशोर झालाई गोली हानी हत्या गरिसकेपछि सुनिल अधिकारीले आफुलाई फोन सम्पर्क गरी झालाई गोलि प्रहार गरिसकेको र उसको उपचारको लागि काठमाण्डौ लग्दा काठमाण्डौमै मृत्यु भएको भन्ने खबर पाएपछि जनकपुरका संचार माध्यमहरुमा उक्त घटनाको जिम्मेवारी टेलिफोन र एसएमएस मार्फत लिएको राजन मुक्तिले बताएका छन् । 
झालाई हत्या गर्नका लागि प्वाइन्ट ३१५ गोलि लाग्ने हतियार र गोली समेत जैसवाल भन्ने मनिष चौधरीले आफ्नो कार्यकर्ता सुनिल अधिकारीलाई उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । झा हत्यामा प्रयोग भएको हतियार र त्यसमा लाग्ने चार राउण्ड गोली भारत सितामढी वस्ने वर्ष ३८ का तुफेल खान सँग रु.२ हजारमा खरिद गरिएको कुरा राजन मुक्तिले बताएका छन् । सुनिल कुमार अधिकारी, शिवकुमार ठाकुर र राकेश पाण्डे उक्त हत्याको अभियोगमा पक्राउ परेको भन्ने कुरा थाहा पाएपनि मनिष चौधरी भन्ने व्यक्तिसँग आफ्नो सम्पर्क अहिले नरहेको र वैकुण्ठ दास अदालतको आदेशले तारेखमा रहेको भन्ने कुरा पत्र पत्रिका मार्फत थाहा पाएको राजन मुक्तिले बताएका छन् । २०६७ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका धनुषाका इन्चार्जको रुपमा भाष्कर मुक्ति भन्ने दिपक सिंह थिए । उक्त समयमा शशि मुक्ति उपनाम रहेको सुनिल अधिकारीले भाष्करलाई बचाउन आफुलाई भाष्कर मुक्तिको नाउँले चिनाएको हुन सक्ने राजन मुक्तिले बताएका छन् । भाष्कर मुक्ति भन्ने दिपक सिंह महोत्तरी साढाका कौशल किशोर सिंहको छोरा रहेको राजन मुक्तिले बताएका छन् ।
यस अघि पक्राउ परेका विजुली सिंह भन्ने राकेश पाण्डे र रौकी भन्ने शिवकुमार ठाकुरले तत्कालिन अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत तिनीहरुले झाको हत्याका मुख्य योजनाकार बैकुण्ठ दास रहेको  बताएका थिए । राकेश पाण्डेले दुई दिन सम्म लागातार भेटी जसरी पनि लाल किशोर झालाई मार्न सहयोग गरिदिनुपर्छ भनेको कारण ११ कार्तिक २०६७ मा विहान मोटर साइकलमा निजसँग भिठ्ठामोड गई लागु औषध खाई सुनिल संग परिचय गराई राकेश पाण्डेले आफुलाई रु.५ हजार दिएको शिव कुमार ठाकुरले बयानको क्रममा बताएका थिए । त्यहाँ भिठ्ठामोडमा जैसवाल पनि आइपुगेको र जैसवालले देखाएको मान्छेलाई गोली हानी मार्नुपर्छ भनि आफुलाई सुनिल समेतले भनेपछि म र राकेश एउटा मोटरसाइकलमा चढि जनकपुरको पगलाबाबा धर्मशालाको कुट्टि नजिक पुगि बसेका थियौं । सोही स्थानमा सुनिल र जैसवाल मोटरसाइकलमा आए । राकेश र सुनिलले जैसवालले देखाएको मान्छेलाई गोली हान्नु भनि आफुलाई एउटा गोली लोड गरेको एउटा कटुवा पेस्तोल र तीन वटा गोली दिए । 
जैसवाल मोटर साइकलमा अघि अघि गए र म पछि पछि गएँ । जैसवालले देखाएको लाल किशोर झाको छेउमा पुगेपछि मैले पिठ्यूमा गोली हानें । निज ढलेपछि म र जैसवाल मोटरसाइकलबाट भाग्यौं । वारदातको दुई दिन पछि मलाई रु. १० हजार राकेशले दिएको थियो । यसरी रौकी भन्ने शिवकुमार ठाकुरले प्रहरी समक्ष बयान कागज गरेका थिए । जैसवाल र सुनिलका बीचमा सहमति भई आफुले हत्या गरेपछि सुनिलले रु. २ लाख पाउने र सोही टेन्डर राकेश पाण्डेलाई कुल रु.१ लाख ६० हजारमा दिइएको राकेश पाण्डेले बताएका थिए । उनीहरुको बयान पश्चात धनुषा जिल्ला अदालतले १८ पुषमा बैकुण्ठ दासलाई पक्राउ गर्न पक्राउ आदेश जारी गरेको थियो । 

रत्नसागर मठमा महामृत्युन्जय जपको
 क्रममा शिव लिङ्गलाई जलाभिषेक गर्दै 
महन्थ वैकुण्ठ दास वैष्णव ।



२०७१ पौष ०६ गते आईतबार

No comments:

Post a Comment