Monday, December 29, 2014

धनुषाको लक्ष्मीनिवास खुल्ला दिसामुक्त घोषणा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाको लक्ष्मीनिवास गाविस शुक्रवार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । एक भव्य समारोहकाबीच लक्ष्मीनिवास गाविसलाई औपचारिक रुपमा खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।
गाविस सचिव तथा भिवाससिसिका अध्यक्ष रामलखन यादवको सभापतित्व तथा स्थानीय विकास अधिकारी झलकराम अधिकारीको प्रमुख आतिथ्यमा घोषणा सभा भएको छ । सो सभामा जिल्लाका विभिन्न विशिष्ट व्यक्ति तथा राजनीतिक दलका जिम्मेवार व्यक्तिहरुको सहभागिता रहेको थियो । सो अवसरमा हजारौंको संख्यामा गाउँबासीको सहभागिता रहेको थियो । कार्यक्रममा रंगदर्पण जनकपुरका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरी सहभागीहरुलाई झुमाएका थिए । 
यता गाविसलाई खुल्ला दिसामुक्त गर्ने प्रक्रिया र नियम पुरा नगरीकनै घोषणा गरिएको पाइएपछि घोषणासभामा सबै चकित भएका थिए । खुल्ला दिसामुक्त गर्नु भनेको तोकिएको क्षेत्र, बस्ती, टोल वा गाउँमा कुनै पनि समयमा बाहिर अर्थात खुल्ला ठाउँमा मानिसको दिसा नदेखिनु हो । तर लक्ष्मीनिवास गाविस खुदिमु घोषणासभाकै दिन विभिन्न ठाउँ र सडकमा दिसा पाइएपछि यसको व्यापक चर्चा सुरु भएको छ । अधिकांश घरमा चर्पी बनेपनि केही घरमा अहिलेपनि चर्पी निर्माणाधिन अवस्थामा नै पाइएको छ । निर्माणाधिन अवस्थामा रहेको चर्पी तयार हुन अझै दुई हप्ता लाग्ने सक्ने स्थानीयबासीले बताएका छन् ।
त्यस्तै घरमा अधिकांशले चर्पी बनाएपनि चर्पीमा मात्र दिसा गर्ने बानी व्यवहारमा उर्तान नसकेको र बाहिर खुल्ला ठाउँमा नै दिसा गर्ने गरेको प्रत्यक्ष प्रमाणहरु फेला परेको छ । एकातिर भव्य समारोहकाबीच गाविस खुदिमु घोषणासभा भइरहँदा अर्कोतिर पत्रकारहरुको एक टोली गाउँ अनुगमन गर्दा बाटोघाटोमै दिसा भेटिएको र कतिपय घरमा शौचालय बन्दै गरेको पाएको पत्रकार दिपक मिश्रले बताएका छन् । पत्रकार मिश्रका अनुसार स्थानीयहरुलाई दिसा कहाँ गर्ने गरेको प्रश्न गर्दा बाहिरै दिसा गर्ने गरेको जवाव आएको थियो । स्रोतका अनुसार गाविसका नेता र अगुवाहरुको दवावमा दोस्रो खुदिमु गाविसको दर्जा र नगद पुरस्कार पाउन प्रक्रिया पुरा नगरी घोषणा गरेको हो । गाविस खुदिमु घोषणा गर्नु पूर्व पटक(पटक जिल्ला खानेपानी र विभिन्न अनुगमन समितिहरुले अनुगमन गरेका थिए । अनुगमन पश्चात जिल्ला बैठकबाट घोषणाको मिति पौष ११ गते तय गरिएको जानकारी आएपछि अहोरात्र घोषणाको तयारी गरेर घोषणा गरिएको गाविस सचिव तथा भिवाससिसिका अध्यक्ष रामलखन यादव बताउँछन् ।
तर जम्मा ६ सय ५२ घरधुरी रहेको सो गाविसमा सबै घरमा वाटरसिल प्यानसहितको सुरक्षित चर्पी गाविसले जनाएको छ । एक घर एक चर्पी बनाइएपछि बाहिर अर्थात खुल्ला ठाउँमा दिसा गर्ने प्रवृत्ति पूर्ण रुपमा बन्द भएको गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति लक्ष्मीनिवासले जनाएको छ । गाविसमा खुल्ला दिसामुक्त अभियानलाई पूर्णत दिन जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तथा भिवाससिसिले सहकार्य गरेको थियो ।
गाविसको प्रत्येक घरमा चर्पी बनाउन गाविसले रिंग र जिल्ला खानेपानीले प्यानसिट उपलब्ध गराएको स्थानीयबासिन्दाले बताएका छन् । गाविसमा अभियान चलाउनु पूर्व १ सय ७८ घरमा मात्र चर्पीको पहुँच रहेको समितिले जनाएको छ । लक्ष्मीनिवास गाविस खुदिमु घोषणा सँगै जिल्लामा अब दुई वटा गाविस खुदिमु भएको छ । यसअघि जिल्लाको उत्तरी भेगमा पर्ने तुलसी गाविस ०७१ जेष्ठ ९ गते खुदिमु घोषणा भईसकेको छ ।

२०७१ पौष १३ गते आईतबार

No comments:

Post a Comment