Monday, July 21, 2014

रोकिएन मानव बेचविखन तथा ओसारपसार

अजय अनुरागी
जनकपुरधाम............

    महोत्तरी धिरापुर ३ का राहुल भन्ने राजिव कुमार ठाकुरलाई धनुषा जिल्ला अदालतले मानव बेचविखन तथा ओसारपसार मुद्दाम कसुरवार ठहर गरी १० वर्ष कैद र रु. ५० हजार जरिवाना सजाय तोकेको छ । २०७१ बैशाख ३ गते न्यायाधिश कृष्ण बहादुर खड्काले उक्त कैद र जरिवाना तोक्दै महोत्तरी कारागारमा जेल चलान गर्ने आदेश दिएका छन् भने पीडित जाहेरवालीहरुलाई प्रति व्यक्ति रु. २५ हजार क्षतिपुर्ति समेत भराईदिने आदेश गरिएको छ ।
    २ बैशाख २०७० मा महोत्तरी धिरापुर ३ का राहुल भन्ने राजिवकुमार ठाकुरले महिलाहरुलाई विक्री गर्ने योेजना बनाई कार्य गरेका थिए । आफुलाई आरडिएफ भन्ने संस्थाबाट खटेको कर्मचारी बताउँदै राजिवले धनुषाको खरिहानी र इटहर्वा गाविस अन्तरगत पर्ने गाउँहरुका दलित मुसहर पासवान जातिका महिलाहरुलाई विक्री गर्न लगेका थिए । उक्त महिलाहरुलाई तालिम दिई भैसी पालन, बाख्रा पालनका लागि पैसा उपलब्ध गराईदिने र जागिर समेतको व्यवस्था गरिदिन्छु भनी ४ जना महिलाहरुलाई तालिम दिने नाउँमा काठमाण्डौ लगेका थिए । ती चारै युवतीका सोझा साझा अभिभावकहरु समेत झुटो प्रलोभनमा पारी २४ बैशाख २०७० मा गाउँबाट टूेनमा चढाई जनकपुर ल्याएका थिए ।
    राजिवले ती चार जना युवतीलाई जनकपुरको जयनेपाल गेष्टहाउसमा राखि झुठो तालिम पनि दिलाए । नाटक स्वरुप माइनुटिङ पनि गरे । थप तालिमका निम्ति बैशाख २६ गते उनीहरुलाई राति बस मार्फत काठमाण्डौ समेत लगे । काठमाण्डौको गौशाला स्थित एउटा लजमा चारै जना युवतीलाई राखेर कसैसँग बोल्न नदिई, बाहिर निस्कन नदिएपछि उनीहरुको मनमा शंका वस्यो, ट्वाइलेट जान्छु भनी जेठ १ गते भाग्न सफल भएपछि उनीहरुले धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गरे । प्रहरीले ठाकुरलाई पक्राउ गरी अनुसन्धान गर्दा बयानका क्रममा ती चारैजना युवतीहरुलाई भारतको दिल्ली विक्री गर्न लगेको स्वीकार गरेका थिए । नेपाल र भारतको बोर्डर स्थित आफ्नो घर रहेको र मामा घर गएको बखत मामाको छोराले निजकै साथी धिरेन्द्र पाण्डेसँग चिनजान गराएको तथा उक्त धिरेन्द्र पाण्डेले दिल्लीमा केटीहरु ल्याए थुप्रै पैसा दिलाउने भनेपछि प्रलोभनमा परेर ती युवतीहरुलाई ललाई फकाई प्रति युवती रु. ४० हजारमा भारतको दिल्लीमा विक्री गर्न लगिरहेको ठाकुरले स्वीकार गरेका थिए । अदालतको आदेशानुसार ठाकुर अहिले जलेश्वर कारागारमा सजाय काटिरहेका छन् ।
५० हजारमा भतिजीलाई बेश्यालयमा विक्री
नातामा पर्ने भतिजीलाई भारतको दिल्ली स्थित एउटा कोठीमा रु. ५० हजारमा विक्री गरेको अभियोगमा धनुषा इटहर्वा–५ का ३० वर्षिय रामप्रिय सिंह अहिले जलेश्वर कारागारमा थुनामा छन् । १ साउन २०७१ सम्म जलेश्वर कारागारमा जिऊ मास्ने बेच्ने मुद्दाका ७ जना अभियुक्तहरु थुनुवामा छन् ।
धनुषाको इटहर्वा गाविस ५ वस्ने सत्यनारायण सिंहको ३० वर्षिय छोरा रामप्रिय सिंह, जनकपुर १६ का श्रवण साह, सुरेश साह विरुद्ध धनुषा जिल्ला अदालतमा मानव बेचविखन तथा ओसारपसारको मुद्दा दर्ता गरिएको छ । ९ अषाढ २०७१ मा अदालतमा दिएको जाहेरी अनुसार १० अषाढमा मुद्दाको पुर्पक्ष गर्नका लागि अभियुक्त  रामप्रिय सिंहलाई अदालतलाई सिन्धुली कारागारमा थुनामा राख्न आदेश दिएको छ ।
    अदालतमा पीडित जाहेरवालीले दिएको जाहेरी अनुसार २०६६ साउन २५ गते विहान ७ बजे चन्द्रकला देवी सिंह, रामप्रिय सिंह, श्रवण साह र सुरेन्द्र साह समेतले चकलेटमा नसालु पदार्थ खुवाई बेहोस पारी जयनगरबाट दिल्ली लगि, दिल्लीको पहाडगन्जमा कोठि संचालन गरेका माया भन्ने हसमत बेगमलाई रु. ५० हजारमा विक्री गरेका थिए । नातामा भतिजी पर्ने भएपनि जग्गा विवादको कारण ती पीडित यूवतीलाई विक्री गर्ने योजना बनाएका थिए । पीडितका अनुसार कोठि संचालक माया भन्ने हसमत बेगमले रु. ५० हजारमा आफुलाई किनेको कारण विभिन्न व्यक्तिहरुसँग शारीरिक संम्बन्ध राख्न लगाउने गरेकोमा निज मायाको भतिजा नातामा पर्ने अनवर भन्ने व्यक्तिको सहायताले १० महिनापछि सो ठाउँबाट आउन सफल भएको बयान दिएका छन् । अनवरले जयनगर आई रिक्सा चढि देवधा स्थित आफ्नो घरमा लगि राखेको र घर पुरयाउनु भन्दा अनवरले आलटाल गर्न थालेपछि आफु जोडले रुन कराउन थालेपछि अनवरका घरमा आएका आइमाईहरुले थाहा पाई टोलमा हो हल्ला गर्दा टोलका मानिसहरुले उद्दार गरी आफुलाई भारत विहारको देउधा थानामा पुरयाएको पीडितको बयान छ । त्यसपछि देउधा थानाबाट धनुषाको खजुरी थाना हुँदै आमाको जिम्मा लगाइएको पीडित युवतीले बताएकी छिन ।
    होलिक्रस स्कुलमा पढन गएको बेला बोलाएर चकलेटमा नसालु पदार्थ मिलाएर बेहोस पारी जनकपुरबाट इनर्वा हुँदै जयनगरमा टे«न चढि दिल्ली लगिरहेको अवस्थामा पीडित युवतीको होस आएपछि पीडक रामप्रिय सिंहले आशवासन दिई दिल्ली लगेर रु. ५० हजारमा कोठीमा बेचेका थिए । आफु यसअघि दिल्लीमा १० वर्ष देखि काम गर्दै आएको कारण मायासँग सम्पर्क भएपछि मायाले केटी ल्याएर बेच्यौ भने मोटो रकम दिन्छु भनेका कारण एकातर्फ गाउँमा जग्गाको विवाद रहेको र अर्को तर्फ केटी बेच्यौ भने पैसा पनि पाइने प्रलोभनमा परेर योजना बनाएको तथा विक्री गरी आएको रु. ५० हजार मध्ये १० हजार विक्री कार्यमा सहयोग गर्ने श्रवण साहलाई दिएको र बाँकी रकम घर खर्चमा लगाएको १५ जेष्ठ २०७१ मा पक्राउ परेका रामप्रिय सिंहले प्रहरी समक्ष बयान कागज समेत गरेका छन् । सिंह अहिले मुद्दा पुर्पक्षको लागि जलेश्वर कारागारमा थुनामा छन् ।
एकै घरका दुई छोरी विक्री
धनुषा मिथिलेश्वर निकास हंसपुर कठपुल्ला ६ का ६५ वर्षिय उचित मण्डल पेशाले किसान हुन । मण्डलको परिवारमा उनको श्रीमति जसोदिया देवी मण्डल, जेठी छोरी २४ वर्षिया अनिता मण्डल(परिवर्तित नाउँ), २२ वर्षिया छोरा जयकृष्ण मण्डल र कान्छी छोरी १६ वर्षिया सुनिता मण्डल(परिवर्तित नाउँ) गरी ६ जना सदस्य छन् । मण्डलका छोरा भारतमा कामदारका रुपमा कार्यरत छन् । २०६९ सालमा दशैका जात्राका दिन उनको कान्छी छोरी सुनिता मण्डल एक्कासी घरबाट बेपत्ता भएकी थिइन । त्यसबेला धेरै सोधखोज गर्दा पनि उनको केही पत्तो पाएनन् । कतै खोजतलास गर्दा पनि नभेटिएकोले छोरी भेट्ने आस त्यागी उनीहरु आफ्नो जिवन निर्वाह गर्न थालेका थिए ।
    २०७१ साल बैशाख १ गते जुडसितल पर्वका दिन उनको जेठी छोरी अनिता मण्डल पनि एक्कासी घरबाट बेपत्ता भइन । जेठी छोरीको विवाह भारतको विहार राज्यको पिपरौन भन्ने ठाउँमा भएको थियो । करिब १०÷१२ वर्ष अघि भारतको विहार राज्य अन्तरगत मधुवनी जिल्लाको हरलाखी थानाको पिपरौन गाउँका रामप्रित मण्डलसँग जेठी छोरीको विवाह भएको थियो । २०७० कार्तिकमा दिपावलीका दिन उनका जेठी छोरी र ज्वाँईका बीच झगडा भएपछि जेठी छोरी माइती आएको थियो । जेठी छोरीको तीन जना बच्चाहरु पनि छन् । २०७० कार्तिक २४ गते खाना पकाउनका लागि घाँस लिन खेत गएको उनको जेठी छोरी घर फर्किनन् । जेठी छोरी पनि बेपत्ता भएपछि उनका परिवारजनले सोधखोज गर्न थाले । सोधखोज गर्ने क्रममा मिथिलेश्वर निकास वडा नं. ८ बस्ने कोशिला भन्ने महिलाले अनितासँग सोही गाविसका वडा नं. ८ बस्ने स्व. विल्टु मण्डलको छोरी संजिता मण्डलको मोवाईल नम्बर मागेका थिईन । संजिता मण्डलको विवाह भारतको विहार राज्यको सितामढी जिल्ला अन्तरगत पर्ने बृन्दावन मुसहरनीयामा भएको थियो । त्यहाँ निर स्व. विल्टु मण्डलको छोरीलाई कसैले सोही स्थानमा विक्री गरी त्यहीँ विवाह गराएका थिए । कतै छोरी उत्तै त गइनन् भन्दै विहारको सितामढी अन्तरगत पर्ने बृन्दावन मुसहरनीयातिर उचित मण्डलका श्रीमति जसोदिया देवी मण्डल जाँदा कान्छी छोरी सुनिता मण्डल फेला परिन । सुनितालाई यहाँ कसरी आईपुगिस भनेर उनको आमाले सोध्दा संजिता मण्डलको योजनाको आधारमा संजिताको भाई राधेश्याम मण्डलले फकाएर यहाँ ल्याई नेपाली ६५ हजार रुपैयाँमा बेचेको कुरा बताईन् ।
    सुनितालाई सोही स्थानमा खरिद गर्ने व्यक्तिले विवाह गरेको रहेछ । आमाले छोरीलाई हिँड भन्दा उनको छोरीका ससुरालीतर्फका व्यक्तिहरुले हामीहरुले ६५ हजारमा किनेका हौं, त्यसैले लग्न पाउँदैनौं भनि छोरी घर ल्याउन दिइएन । जेठी छोरी खोज्न जाँदा कान्छी छोरी भेट्नुले जेठी छोरी बेपत्ता हुनुको कारण थाहा भयो । त्यसपछि आमा त्यहाँबाट नेपाल फर्किइन । नेपाल फर्केपछि छोरी बेच्ने राधेश्याम मण्डल विरुद्ध मानव बेचविखन तथा ओसारपसारको २०७१ बैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गराउन उचित मण्डलले पहल गरे । सोही जाहेरीको आधारमा  बैशाख २१, २०७१ का दिन १८ वर्षिय राधेश्याम मण्डललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा अनुसन्धान सुरु ग¥यो । २२ बैशाख २०७१ मा राधेश्याम मण्डललाई २०७१ जेष्ठ ७ गतेको तारेखमा रिहा गरिएको थियो ।
मण्डललाई इन्साफको सट्टा प्रहरीद्वारा थप पीडा
२०७१ बैशाख २२ गते उचित मण्डल आफ्नो घरमा भैसी बाँधिरहेको अवस्थामा अन्दाजी बेलुका पौने ६ बजे तिर ललिया प्रहरी चौकीबाट एक जना मनोज भन्ने र अरु एक जना नाउँ नखुलेका सादा पोशाकका दुई जना प्रहरी जवान आएका थिए । उनीहरुले छिटो हिँड नत्र भने घिसारेर लग्छु भनि धम्कयाउँदै थिए । मण्डल ती प्रहरीहरुसँगै निलो रंगको पल्सर मोटरसाइकलमा गए । मण्डलका अनुसार, प्रहरी चौकीमा पुग्दा प्रहरी सहायक निरीक्षक बैजुलाल यादवले कसलाई सोधेर जिल्लामा जाहेरी दिईस, राधेश्यामलाई मैले बचाएँ, तलाई कुन बाउले बचाउँछ भन्दै रक्सी र मासु खाँदै कुटपिट गर्न थालेको उचित मण्डलले ओरेक नेपाललाई दिएको निवेदनमा उल्लेख छ । कहिले लठ्ठीले त कहिले लातीले, कहिले झापडले जथाभावी कुटपिट गरे । कहिले पैतालामा त कहिले खुट्टामा, कहिले पिठ्युँमा त कहिले कम्मरमा हाने । कुटपिटले हाथको पन्जा, खुट्टा, तिघ्रा र कम्मर सुन्नियो । जिउ भरी डाम भएको थियो ।
    मण्डललाई चौकीमा लग्दा कुनै पनि किसिमको पक्राउ पुर्जी दिइएको थिएन । गैरकानुनी रुपमा पक्राउ गरी उनलाई रातभरी हिरासतमा राखि कुटपिट गरी शारीरिक र मानसिक यातना दिइएको थियो । २०७१ बैशाख २३ गतेका दिन उनका छोरा जयकृष्ण मण्डल जिल्ला प्रहरी कार्यालय धनुषामा गई उनको बुवालाई गैरकानुनी रुपमा थुनामा राखेको र यातना दिइएको जानकारी गराएपछि प्रहरी उपरीक्षकको आदेशानुसार प्रहरी नायव निरीक्षक विश्वनाथ महत्तोले पटक पटक फोन गरी ललिया चौकीका इन्चार्ज यादवलाई मण्डललाई रिह ागर्न भन्दा पनि नछोडेको तथा रिहा गरिदिएको भनेर असई यादवले ढाँटने गरेका थिए । अन्तमा जिल्ला प्रहरीबाट कर्मचारी खटाई मण्डललाई रिहा गराइएको थियो । उक्त घटनाले आफ्नो सामाजिक प्रतिष्ठामा समेत खललपुगेको तथा मानसिक शारीरिक यातना दिएको भन्दै मण्डलले ललिया चौकीका असई यादव विरुद्ध ५ जेष्ठमा यातना तथा क्षतिपुर्ति र २६ जेष्ठमा कुटपिटको मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता गराएका छन् । उक्त घटनामा साउन ७ गते अदालतले तारेख समेत दिएको छ । यता छोरी विक्री गरिएको घटनामा जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत जिल्ला प्रहरी कार्यालयमा मानव बेचविखन तथा ओसारपोसार विरुद्ध जाहेरी दिएको भएपनि जिल्ला प्रहरीले दर्ता नगरेको पीडित मण्डलका छोरा जयकृष्ण मण्डलले बताएका छन् । विक्री भइसकेको कान्छी बहिनीलाई उपस्थित गराएर बयान दिलाए मात्र मुद्दा दर्ता हुन सक्ने प्रहरीले बताएको मण्डलको भनाई छ ।
विहे गर्छु भन्दै विक्री गर्न खोज्ने पक्राउ
दुई जना युवतीहरुलाई भारत विक्री गर्न लगिरहेको अभियोगमा ३० अषाढ २०७१ मा महोत्तरी प्रहरीले पक्राउ गरेका अभिनन्दन ठाकुर, सनी कुमार ठाकुर र सन्तोष कुमार ठाकुर ।
भारत विहार राज्य, जिल्ला मधुवनी ग्राम पञ्चायत वडा नं. २६ घर भई जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष २२ को अभिराज भन्ने अभिनन्दन ठाकुर, जनकपुर वडा नं. ४ बस्ने भरत ठाकुरको २१ वर्षिय छोरा सनी कुमार ठाकुर, सोही ठाउँका वर्ष २३ को सन्तोष र वर्ष २२ को राजु भन्ने व्यक्तिले दुई जना केटीहरुलाई भारतमा विक्री गर्न लाग्दा महोत्तरी प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको माइस्थाई ७ ढुगरेका १८ वर्षिय दुई युवतीहरुलाई विहेको प्रलोभन दिई भारतको सितामढी तर्फ विक्री गर्न लगिरहेका अभिनन्दन ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
     ३० अषाढ २०७१, दिनको ३ बजेको समयमा अभिनन्दन, सनी, सन्तोष र राजु समेतले बसमा चढाई जानकी मन्दिरमा विवाह गर्न जाऊँ भनी लगेकोमा एक्कासी भारत तर्फ लैजान भिठ्ठामोड बोर्डरमा लगेको र दुवै जना केटीहरुलाई अभिनन्दन ठाकुरले दिदीको भाई हो भनी प्रहरीलाई जानकारी गराएका थिए । बसपार्कमा उनीहरु ओर्लिरहेको अवस्थामा प्रहरीलाई शंका लागेपछि एक केटा र दुई केटी तत्कालै पक्राउ परेपनि तीन जना केटाहरु भागेका थिए । पछि बाँकी दुई जना केटाहरु पक्राउ परेपनि राजु हालसम्म फरार रहेका छन् । अभिनन्दन ठाकुरले ती युवतीलाई एक दिन रंगनम्बरमा कलगरेर कुराकानी गरेका थिए । पटक पटक मोवाइलमा कुराकानी हुनथालेपछि जनकपुरमा आफ्नो सुनको पसल रहेको भनी केटीलाई आफ्नो प्रेमजालमा पारेका थिए । वास्तवमा अभिनन्दनको सुनको पसल नरहेको तर, जनकपुरको एक सुन पसलमा उनी कालिगढ थिए ।
    केटीसँग दुई पटक वर्दिवासमा भेट भएको र विहे गर्छु भन्ने प्रलोभनमा पारेर ती युवतीहरुलाई भारतमा विक्री गर्न लगिरहेको पर्याप्त आधार देखिएकोले तिनीहरु विरुद्ध मानव बेचविखन तथा ओसारपोसार विरुद्धको मुद्दा दर्ता गरिएको महोत्तरीका नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले द एक्सक्लुसिभलाई बताएका छन् । अषाढ २९ गते बेलुका अभिनन्दन बर्दिवासमा गई ती दुई जना पीडित युवतीलाई जनकपुरको जानकी मन्दिरमा विहे गर्ने वहानामा जनकपुर ल्याई एक जना महिला रानीको घरमा वास बसाएका थिए । भोली पल्ट भिठ्ठामोड बोर्डर कटाउन लाग्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पीडित केटीहरुलाई जालमा पारेको भन्दै तिनका अभिभावकहरुले प्रहरीलाई धन्यवाद दिँदै आफ्ना छोरीहरु बुझेर घर फर्केका छन् ।
नशालु पदार्थ खुवाई विक्री गर्ने पक्राउ
२१ चैत्र २०७० मा अन्दाजी दिनको साँढे १२ बजेको समयमा कक्षा ६ मा अध्ययनरत महोत्तरी हातीलेटकी १२ बर्षिय एक छात्रा विजलपुरा स्थित जनता उमाविबाट परीक्षा दिई घर फर्किरहेकी थिईन । महोत्तरी विजलपुरा ८ बस्ने दिलबहादुर परियारको घर विद्यालय नजिकै रहेको कारण ती छात्राले परियारलाई चिनेकी थिइन । परियारले आफु काठमाण्डौबाट आएको र तिम्रो लागि चकलेट ल्याएको छु भन्दै चकलेट खान भनेका थिए । परियारले उक्त चकलेटमा नसालु पदार्थ पहिले देखि नै मिसाएको थियो । चकलेट खाने वितिकै ती छात्रा बेहोस भइसकेपछि परियारले विजलपुराबाट अर्को एक जनाको सहयोगमा छात्रालाई मोटरसाइकलमा चढाई गौशालासम्म ल्याए । गौशालाबाट थप एक मोटरसाइकल र थप एक जना गरी कुल ३ जनाको सहयोगबाट ती छात्रालाई विक्री गर्नका निम्ति भारतको समसीकन्मामा एउटा घरमा बन्धक बनाई राखेका थिए । संजोगवस उक्त घरमा कोही पनि नभएको बेलामा ती छात्रा घरबाट बाहिर भाग्न सफल भईन । अनि त्यहाँका स्थानीय वासीहरुको सहयोगले ती छात्रालाई जलेश्वर प्रहरीको जिम्मा लगाईयो । प्रहरीले घटनाको अनुसन्धान गरी परियारलाई पक्राउ गरिसकेको छ । महोत्तरी जिल्ला अदालतले उक्त घटनाका प्रमुख अभियुक्त परियारलाई जलेश्वर कारागारमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । बाँकी दुई जना अभियुक्तहरुको पहिचान भईसकेको भएपनि तिनीहरु हालसम्म फरार छन् ।
मानव बेचविखन गम्भीर समस्या
मानव बेचविखन तथा ओसारपसार एक अन्तराष्टिूय समस्या हो । मानव बेचविखन तथा ओसारपसार विश्वभर भइराख्नु मानव सभ्यता कै निम्ति कंलक हो । नेपाल मानव बेचविखन÷ओसारपसारको उच्च जोखिममा रहेको देशका रुपमा अन्तराष्टिूय स्तरमा समेत परिचित छ । संयुक्त राज्य अमेरिकाले मानव बेचविखनलाई ३ तहमा राखेर गरेको एक अध्ययनमा नेपाल मानव बेचविखनको जोखिम र समस्या रहेका मुलुकहरुको रुपमा वर्गीकरण गरिएको श्रेणी २ मा परेको छ । यसका साथै हाल नेपालबाट धेरै मानिसहरु बैदेशिक रोजगारीका लागि असुरक्षित तवरले जानु पर्ने अवस्था विद्यमान भएकोले जोखिमलाई अझै बढाएको छ ।
बेचविखन÷ओसारपसार सम्बन्धि संयुक्त राष्टू संघीय प्रोटोकल मानिसहरुको बेचविखन÷ओसारपसारको डर, त्रास, धम्की, शक्ति, छलकपट, धोका, शक्तिको दुरुपयोगका साथै जोखिमपुर्ण अवस्थाको दुरुपयोग गरी व्यक्तिहरुलाई कुनै पनि प्रकारको शोषणको लागि भर्ना गर्नु, स्थानान्तरण गर्नु, त्यस्ता कार्यहरुलाई सहयोग पु¥याउनु वा उक्त कार्यका लागि सहयोग प्राप्त गर्नु तथा बेचविखन गरिने व्यक्तिमाथि नियन्त्रण भएको व्यक्तिलाई उपरोक्त कार्यमा सहयोग प्राप्त गर्नका निमित्त रकम वा फाइदाहरु दिनु÷लिनु जस्ता कार्यलाई जनाउँदछ । मानव बेचविखन विभिन्न प्रयोजनका लागि हुने गरेको पाइएको छ । महिला तथा बालबालिकाको बेचविखनलाई  हेर्दा यो धेरै जसो व्यावसायिक यौन शोषणका लागि हुने गरेको देखिन्छ । मानवबेचविखन जुनसुकै प्रयोजनका लागि भएतापनि यो एउटा जटिल प्रकृतिको अपराध हो, जसले मानिसहरु शारीरिक, मानसिक, भावनात्मक र यौनिक रुपमा शोषित हुन्छन् ।
महिला तथा बालबालिका बेचविखनमा पर्नुको मुख्य कारकका रुपमा गरिबी हो भन्ने मानिएता पनि यसलाई मात्र प्रमुख कारण मान्न सकिन्न । मानिसलाई गरिब बनाउने तत्वहरु जस्तै समाजिक लैङ्गिक विभेद, जीविकोपार्जनको अभाव, संरचनागत विभेदहरु जस्ता कारणहरुलाई मानव बेचविखन तथा ओसारपसारको पनि प्रमुख कारक तत्वको रुपमा लिन सकिन्छ ।
    बेचविखन तथा ओसारपोसारका लागि सामाजिक लैङ्गिक विभेद, जीविकोपार्जनको अभाव, समाजमा विद्यमान संरचनागत भेदभाव, प्राकृतिक प्रकोपहरु सशस्त्र संघर्ष÷गृहयुद्धले मानव बेचविखन तथा ओसारपोसारको जोखिममा पु¥याउने प्रमुख तत्वहरुको रुपमा छन् । गरिबी र रोजगारीको अवसरको अभावमा कुनै अवसर प्राप्त हुने आशाका कारण धेरै घटनाहरुमा घरेलु हिंसा अथवा सामाजिक विभेदबाट मुक्त हुन पाउने आशामा विशेषरुपमा महिला र बालबालिकाहरुलाई आफु बसेको स्थानबाट शहरी स्थानमा स्थानान्तरण गर्न दबाब सिर्जना गर्दछ । त्यसले महिला र बालबालिकामाथि बेचविखन हुने जोखिमलाई बढाएको पाइन्छ ।
    नेपालको कानुनले मानव बेचविखन तथा ओसारपोसारलाई निम्नानुसार परिभाषित गरेको छ ः “ कसैलाई पनि कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्ज मिलाई जबरजस्ती गरी कारकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी हुने कार्यलाई बेचविखन तथा ओसारपोसार मानिएको छ ।” किनबेच वा बेश्यावृतिको उद्योग अभियोगमा नेपालमा १० वर्ष देखि १५ वर्ष सम्मको कैद र रु. ५ हजार देखि रु. १ लाख सम्म जरिवाना हुने कानुनमा व्यवस्था छ । त्यसैगरी विक्री गर्ने वा किन्ने र बेच्ने दुवै व्यक्तिलाई २० वर्षसम्मको कैद र रु. २ लाख सम्मको जरिवाना हुन सक्ने नेपालको कानुनमा व्यवस्था छ ।


२०७१ साउन ०४ गते आईतबार

No comments:

Post a Comment