Monday, July 21, 2014

यातनागृह बन्दै ‘जलेश्वर जेल’

जलेश्वर जेलका कैदी बन्दीहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............ 
महोत्तरीको जलेश्वर कारागारमा कैदी अटाउने क्षमता कुल २ सय जनाको छ । साविक देखि १ सय ५० र आर्थिक वर्ष २०६९÷०७० मा पक्की टहरा निर्माण भएपछि थप ५० जना कैदी बन्दी अटाउने क्षमता रहेको छ । तर १ साउन २०७१ सम्मको तथ्याङ्क अनुसार उक्त कारागारमा कुल ४ सय ७४ कैदी बन्दी थिए । जसमध्ये ३५ जना महिला, २ जना आस्रित बालक, ४ जना आस्रित बालिका र ४ सय ३३ जना पुरुष कैदी बन्दी छन् ।
कारागार प्रशासनले उपलब्ध गराएको तथ्याङ्क अनुसार कर्तव्य ज्यान मुद्दामा २६ जना कैदी र १ सय २१ जना थुनुवा, लागुऔषध मुद्दामा ५ जना कैदी र ४८ जना थुनुवा, डकैती मुद्दामा ४ जना कैदी र २६ जना थुनुवा, जिऊ मास्ने बेच्ने मुद्दामा ७ जना थुनुवा, जबरजस्ती करनी मुद्दामा २ जना कैदी र ३३ जना थुनुवा, केही सार्वजनिक अपराध मुद्दामा १ जना थुनुवा, चोरी मुद्दामा २ जना कैदी र ११ जना थुनुवा, ज्यान मार्ने उद्योगमा ३ जना कैदी र २० जना थुनुवा, हातहतियार तथा खरखजाना मुद्दामा ७ जना कैदी र ४४ जना थुनुवा, ठगी मुद्दामा १ जना कैदी र ४ जना थुनुवा, किर्ते मुद्दामा ४ जना कैदी र ५ जना थुनुवा, बनसम्बन्धी मुद्दामा ४ जना कैदी र ४ जना थुनुवा, सवारी ज्यान मुद्दामा १ जना कैदी र १ जना थुनुवा, भ्रष्टाचार मुद्दामा २ जना कैदी , खुनडाँका मुद्दामा ३ जना थुनुवा, खोटा चलन मुद्दामा १ जना कैदी र १ जना थुनुवा, अपहरण मुद्दामा ४ जना कैदी र १८ जना थुनुवा रहेका छन् । कारागारभित्र ४ सय ७४ कैदीहरु मध्ये ६६ जना मात्र कैदी बन्दीहरु छन् भने ४ सय ८ जना मुद्दाको पुर्पक्षका लागि थुनामा छन् । यसरी क्षमताभन्दा अत्यधिक कैदी बन्दीहरु जलेश्वर कारागारमा हुनाले कैदीबन्दीहरुको जीवन अत्यन्त कष्टकर बनेको पाइन्छ ।
क्षमता भन्दा अधिक कैदी बन्दी र कारागारको जिर्ण भवनका कारण जलेश्वर कारागार भित्र यातना भोग्न बाध्य पुरुष कैदी बन्दीहरु ।
सबैभन्दा समस्या भनेको लोडसेडिङको समयमा जेनेरेटरको सुविधा नभएपछि कैदी बन्दीहरु अन्धयारोमै रहने हुनाले जेलको सुरक्षा व्यवस्थाका लागि धेरै चुनौती रहेको जेलका जेलर सोभेन्द्र ठाकुरले द एक्सक्लुसिभलाई बताए । उनका अनुसार अहिले वर्षाको समयमा कोठाभित्र कैदी बन्दीहरु नअटिँदा नेपाल रेडक्रसले उपलब्ध गराएको १८ वटा त्रिपाल लगाएर राख्ने गरिएको भएपनि तल जमिनमा हिलो भएपछि समस्या आएको छ । तीन तल्ले उक्त कारागारमा पुस्तकालय समेत लगाएर १७ वटा मात्र कोठाहरु रहेका कारण एउटा कोठामा २५ देखि १ सय जना सम्म कैदी बन्दीहरु राख्ने गरिएको ठाकुरले बताए । सबैभन्दा समस्या भनेको कैदी बन्दीहरुलाई सुत्नमा, खाना पकाउनमा र शौचालय जानमा हुने गरेको छ । कोच्चिएर कैदीहरु बस्नुपर्ने बाध्यता भएका कारण कैदी बन्दीहरु विरामी समेत पर्ने गरेको छ । एक त राणाकालिन समयमा बनेको कारागारको भवन र मुल ढोका अत्यन्तै जिर्ण भईसकेका कारण कुनैपनि बेला कारागार भत्किन सकिने र त्यसकारण कैदी बन्दीहरुको जनधनमा हुनसक्ने क्षति वा तिनीहरु भाग्न सक्ने खतरा पनि रहेकोले जेलमा सुरक्षा व्यवस्था मिलाउन धेरै चुनौतिपुर्ण बन्दै गएको जेलर ठाकुरको भनाई छ । कारागार भनेको सुधारगृह हुनुपर्ने हो तर, अत्यधिक कैदी बन्दी र असुविधाका कारण जलेश्वर कारागार सुधारगृह बन्न
नसकेको जेलर ठाकुर पनि स्वीकार्छन् ।

क्षमता भन्दा अधिक कैदी बन्दी र कारागारको जिर्ण भवनका कारण जलेश्वर कारागार भित्र यातना भोग्न बाध्य  महिला कैदी बन्दीहरु ।
बढ्दै सुरक्षा खतरा
महोत्तरीको सदरमुकाम जलेश्वर स्थित कारागार अहिले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील बनेको छ । राणाकालमै स्थापना भएको उक्त कारागार भौतिक पुर्वाधारका हिसावले जोखिम हुँदा हुँदै क्षमता भन्दा थप कैदीहरुको संख्या दिन प्रति दिन वढ्दै जानुले सुरक्षा खतरा वढ्दै गएको छ । त्यसमा पनि गत १२ फागुनमा एक जना कैदी आइमाइलाई भेटन पुगेका दुईजनासँग गोली बरामद भएपछि जेल प्रशासनले सुरक्षा खतरा झनै वढेको अनुभुति गर्न थालेका छन् ।
पत्रकार उमा सिंहकी हत्याको अभियोगमा जन्मकैद सजाय भुक्तान गरिरहेकी ललिता सिंहलाई भेटन पुगेका भारत विहारको सितामढी स्थित बथनाहा थाना मौउवाहा गाउँका करिब ३० वर्षिय नविन सिंह सँगै आएका भारत विहार सितामढीको कृणानगरकी अन्दाजी २५ वर्षिय रेखा सिंहको कारागारका सुरक्षाकर्मीले सुरक्षा जाँच गर्दा महिलाको कस्मेटिक व्यागबाट २ वटा चाइनिज गोली बरामद भएको थियो । उनीहरु पत्रकार उमा सिंहको हत्या अपराधमा जन्मकैद सजायको कैदी बन्दी ललिता सिंहलाई भेट्न पुगेका थिए ।
बिआर ०६ जेड ६२५७ नम्बरको भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका ती दुवै जना मध्ये रिताको ह्याण्ड ब्यागमा लुकाइराखेको पेस्तोलमा लाग्ने ७.६५ एमएमका दुई वटा चाइनिज गोली बरामद गरिएको थियो । जलेश्वर कारागार अगाडी मोटरसाइकिल पार्किङ गरी सरासर महिला कक्ष तर्फ जान खोज्दा ड्यूटीमा रहेका प्रहरीले रोकेर चेक जाँच गर्दा गोली बरामद भएको थियो । गोली सहित पक्राउ परेकी रेखा सिंह कैदी ललिताकी भाउजु नाता की हुन् । ती दुवै जना आफुलाई भाई बहिनी रहेको बताएका थिए ।
अहिले उक्त कारागारमा सुरक्षाका लागि एक जना सईको कमाण्डमा ३५ जना सुरक्षाकर्मी मात्र परिचालन गरिएको छ । क्षमता भन्दा तीन गुणा वढी कैदी रहेको उक्त कारागारमा विभिन्न सशस्त्र समुहका नाइके लगायत ३७ जना नेता तथा कार्यकर्ताहरु रहेका कारण सुरक्षा खतरा झनै वढेको महोत्तरी कारागारका प्रमुख सोभेन्द्र ठाकुरको आँकलन छ । सशस्त्र प्रहरीको सुरक्षाकर्मी उपलब्ध गराईदिन जिल्ला सुरक्षा समिति सँगै केन्द्रिय कारागार शाखामा माग गरिसकेको उनले बताए । कैदीहरु मध्येकै ६३ जनाले कारागार भित्र चौकिदारको निगरानीमा आन्तरिक प्रशासनको रुपमा काम गरिराखेका छन् । प्रत्येक दुई घण्टामा आन्तरिक प्रशासनको ड्युटी चेन्ज हुने गर्छ । आन्तरिक प्रशासन तर्फका चौकिदारलाई रु. ३७ कैदी दाईनाइकेलाई रु. २७ र कैदी भाईनाइकेलाई रु. २१ प्रतिमहिना राज्यले उपलब्ध गराउने गरेको छ । यति कम ज्याला लिएर पनि उनीहरु आन्तरिक प्रशासनमा काम गर्नुको मुख्य कारण भनेको कैद मिनहाका लागि जेलरद्वारा सिफारिस गरिनु । सुरक्षा चुनौती बढेको कारण महोत्तरीका प्रमुख जिल्ला अधिकारी , प्रहरी उपरीक्षक दिनमा एक पटक कारागारको सर्च गर्ने गरेको र सुरक्षा अवस्था अनुगमन गर्ने गरेको जेलर ठाकुरले बताए ।
देशैभरी क्षमता भन्दा अधिक कैदी
देशैभरीको १४ वटा अञ्चल अन्तरगत रहेका जेलहरुमा साविकको क्षमता अनुसार ७ हजार ७ सय ८२ र थप पुर्वाधार निर्माण भएपछि २ हजार ६ सय ५१ गरी कुल १० हजार ४ सय ३३ कैदी बन्दीहरु मात्र अटाउने क्षमता छ । १६ वर्ष मुनिका कैदी बन्दी राख्ने बालसुधार गृहहरुको समेत जोडेर कुल १० हजार ६ सय ८ कैदी बन्दी मात्र अटाउने क्षमता रहेको छ । तर, २०७१ बैशाख महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा रहेको कुल ७४ कारागारहरुममा १५ हजार ४ सय ५ पुरुष, १ हजार २ सय १६ महिला गरी कुल १६ हजार ६ सय २१ कैदी बन्दीहरु रहेका छन् । जसमध्ये ८२ जना आश्रित बालबालिका र ९ सय २४ विदेशी कैदी बन्दीहरु छन् । ३ वटा बालसुधार गृहलाई समेत जोड्ने हो भने १५ हजार ५ सय ९१ पुरुष र १ हजार २ सय २२ महिला गरी कुल १६ हजार ८ सय १३ कैदी बन्दीहरु अहिले देशैभरीमा रहेका छन् । यसरी हेर्ने हो भने महोत्तरी कारागार मात्र होइन देशका अन्य कारागारहरुमा पनि क्षमता भन्दा अत्यधिक कैदीहरु राख्ने गरिएको छ । ३६ वटा कारागारहरुमा रहेको विदेशी कैदी बन्दीहरु मध्ये ६ सय १४ जना भारतीय, २३ जना बंगलादेशी, ३४ जना चिनीयाँ, ३२ जना पाकिस्तानी र अन्य मुलुकहरु गरी कुल ९ सय २४ जना विदेशी कैदीहरु रहेका छन् ।
माफि मिनाहामा महोत्तरी कारागार निल
कैद मुक्त पछिको आजादी ः १ साउन २०७१ मा जलेश्वर कारागारबाट सजाय भुक्तान गरी जेलबाट रिहा हुँदै महोत्तरी धमौराका कौशिन शेख । उनी हातहतियार तथा खरखजानाका मुद्दामा १९ साउन २०६९ मा जलेश्वर कारागार कैदी बन्दीका रुपमा पठाइएका थिए ।
बैशाख ११ गते लोकतन्त्र दिवस, जेष्ठ १५ गते गणतन्त्र दिवस, विजयादशमीको अवसरमा घटस्थापना दिन र फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपाल सरकारले कैदी बन्दीहरुको सजाय मिनाहा गर्ने चलन रहेको छ । तोकिएको कैद सजायको ५० प्रतिशतसम्म कैद भुक्तान गरिसकेको, कारागारभित्र असल चालचलन रहेको, आन्तरिक प्रशासन र बाह्य प्रशासनलाई सहयोग गरेको आधारमा कारागार प्रशासनले प्रमुख जिल्ला अधिकारी मार्फत कारागार विभाग हुँदै गृहमन्त्रालय सम्म सिफारिस भई मन्त्रीपरिषदको निर्णय अनुसार कैदी बन्दीहरुको सजाय माफी मिनाहा गरिने प्रचलन रहेको छ । तर, यस पटक गणतन्त्र दिवसको अवसरमा महोत्तरी कारागारबाट एउटा पनि कैदी बन्दीलाई सजाय मिनाहा गरिएन । महोत्तरी कारागारका जेलर सोभेन्द्र ठाकुरका  अनुसार माफी मिनाहाका लागि १३ जनाको नाउँ सिफारिस गरिएको भएपनि देशैभरीबाट १ सय ५५ जना कैदीको सजाय मिनाहा भएकोमा तराईका कुल कारागारहरु मध्ये ७ जना कैदीहरुको मात्र सजाय मिनाहा भएको र महोत्तरी कारागारबाट एक जनाको पनि सजाय मिनाहा भएन । जेलर ठाकुरका अनुसार विगतमा उक्त कारागारबाट प्रत्येक वर्ष कम्तिमा पनि दुई जनालाई माफी दिइने गरिन्थ्यो तर यस पटक माफी नदिईनाले कैदी बन्दीहरुमा आक्रोश बढेको पाइन्छ । उक्त कारागारबाट  कैदीहरु धनुषा उमाप्रेमपुरका विक्रु मिजार, धनुषा कपटौलका विजय पासवान, कल्हुवा बगेवाका नबल मण्डल, कल्याणी मण्डल, धनुषा पुष्पवलपुरका विरेन्द्र कुमार सिंह, रामनारायण महत्तो, मनोज ठाकुर, श्रीकृष्ण यादव, जनकपुरका सरस्वती झा, सोनीगामाका भुल्ला राय, सोनेलाल राउत, महोत्तरी धर्मपुरका रहमत कवाडी र महोत्तरी पिपराका ढोराई साह गरी कुल १३ जना कैदी बन्दीहरुको सजाय मिनाहाका लागि सिफारिस गरिएको थियो । जसमध्ये मनोज ठाकुर र श्रीकृष्ण यादवको सजाय भुक्तान गरी अहिले जेलबाट छुटिसकेका छन् ।
यसरी हुन्छ कारागारको व्यवस्थापन
खाना पकाउँदै जलेश्वर जेलका कैदी बन्दीहरु । सरकारले प्रति कैदी बन्दीलाई खाना वापत रु. ४५ र ७०० ग्राम चामल प्रतिदिन उपलब्ध गराउने गरेको छ ।
सांगठनिक संरचनाको श्रृङखलामा नेपाल सरकार गृह मन्त्रालय अन्तरगत कारागार व्यवस्थापन विभाग पर्दछ । काठमाण्डौं कालिकास्थानमा अवस्थित यस विभागको स्थापना वि.सं. २०५० सालमा भएको हो । नेपालको पहिलो कारागारका रुपमा रहेको हालको केन्द्रीय कारागारको स्थापना वि.सं. १९७१ मा भएपछि काठमाण्डौं उपत्यका वाहिरका प्रशासकीय इकाईहरु रहेका स्थानमा क्रमशः कारागारहरुको स्थापना भएको पाईन्छ । यसरी स्थापना भएका कारागारहरु प्रजातन्त्रको स्थापना पुर्व मूख्तियारको मातहतमा रहने व्यवस्था थियो ।
२००७ सालमा भएको ऐतिहासिक क्रान्ति पछि कारागार प्रशासन गृह मन्त्रालयको मातहतमा रहने व्यवस्था भयो । त्यसपछि  काठमाण्डौं उपत्यका भित्रका कारागारहरु उपत्यकाञ्चल कमिश्नर र मोफसलका कारागारहरु वडाहाकिमको निर्देशन र नियन्त्रणमा सञ्चालन हुन थाले ।
नेपाल अधिराज्यलाई वि. सं. २०१८ सालमा १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएपछि जिल्लाको प्रमुख प्रशासकीय अधिकारीकारुपमा प्रमुख जिल्ला अधिकारीको नियूक्ति भई जिल्ला स्थित प्रशासनिक काम कारवाहीहरु स्थानीय प्रशासनको नियन्त्रण र निर्देशनमा सञ्चालन हुन थाल्यो । तत्पश्चात  जिल्लामा कारागार प्रशासनसंग सम्वन्धित काम जिल्ला प्रशासन कार्यालयको मातहतमा संचालन भइरहेकोछ । त्यसरीनै केन्द्रमा गृह मन्त्रालयवाट कारागारहरुको काममा समन्वय हुने गरेकोमा कारागार व्यवस्थापन विभागको स्थापना भएपछि मुलुकका ७२ जिल्लामा रहेका ७४ वटा कारागारहरुको समग्र व्यवस्था गर्ने कार्य कारागार व्यवस्थापन विभागवाट भइरहेको छ । हाल काठमाडौंमा र दाङमा २÷२ वटा कारागारहरु सञ्चालनमा छन् । भक्तपुर, बारा र धनुषा जिल्लामा कारागारहरु  छैनन् ।
कारागार व्यवस्थापन विभागको समन्वयात्मक भुमिका र प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष रेखदेख एवं नियन्त्रण र जेलरको प्रत्यक्ष जिम्मेवारीमा कारागारहरुलाई व्यवस्थित गर्ने काम भइरहेको छ भने विभाग अन्तर्गत कारागार कार्यालयहरु रहेका छन् । त्यसरी नै बन्दी गृहको आन्तरिक प्रशासन बन्दीहरु मध्येबाटै नियुक्त गरिएका चौकिदार, नाइके, सहनाइकेको रेखदेखमा सञ्चालित छ भने सुरक्षा व्यवस्था नेपाल प्रहरी र संवेदनशील कारागारहरुमा सशस्त्र प्रहरी बलको टुकडी खटाउने परिपाटी सुरु भएको छ । कारागारहरुको संगठन संरचनाभित्र हाल विभिन्न श्रेणी र पदका कुल ६ सय ८८ कर्मचारीहरु कार्यरत रहेका छन् । त्यस्तै कारागारहरुमा बन्दी राख्ने क्षमता बारे अहिलेसम्म आधुनिक मापदण्ड तयार भएको छैन तापनि हालकै अवस्थामा ६ हजार ४ सय १६ कैदी बन्दीहरु राख्न सक्ने क्षमता कारागारहरुमा रहेको देखिन्छ ।
    नेपालभर रहेका ७४ वटा कारागारहरुलाई कर्मचारीको स्वीकृत दरबन्दी, राख्ने क्षमता र भौतिक अवस्थाका आधारमा ५ वर्गमा वर्गीकरण गरिएको छ । ‘क’ वर्ग अन्तरगत केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, काठमाण्डौ, ‘ख’ वर्ग अन्तरगत कारागार कार्यालय पर्सा, कारागार कार्यालय झुम्का सुनसरी, कारागार कार्यालय भीमफेदी मकवानपुर रहेका छन् । त्यसैगरी ‘ग’ वर्ग अन्तरगत झापा, मोरङग, महोत्तरी, बाँके, पाल्पा, डिल्लीबजार, नख्खु (ललितपुर) र रुपन्देही समेतका ८ कारागारहरु छन् । ‘घ’ वर्ग अन्तरगत बर्दिया, सप्तरी, सल्यान, सर्लाही, कपिलवस्तु, सिराहा, चितवन, कास्की, कैलाली, कञ्चनपुर र रौतहट समेतका ११ कारागारहरु पर्छन् । त्यसैगरी ‘ङ’ वर्ग अन्तरगत बाँकी सबै कारागारहरु इलाम, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, तनहुँ, लमजुङ, गोरखा, स्याङजा, नवलपरासी, गुल्मी, अर्घाखाँची, पर्वत, म्याग्दी, मुस्ताङ, बागलुङ, दाङ(घोराही, दाङ(तुल्सीपुर, रुकुम, सल्यान, प्यूठान, रोल्पा, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा, बाजुरा, डोटी, अछाम, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा समेतका ५१ कारागारहरु रहेका छन् ।
कारागारमा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय, वन कार्यालय,  भन्सार  विभाग, राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व कार्यालय र यी निकाय वाहेक अन्य प्रचलित कानून वमोजिम थुनी कारवाही गर्न पाउने निकायहरु, कारागार व्यवस्थापन विभागको आदेशवाट कारागार स्थानान्तरण गरिआएका थुनुवा(कैदीहरुलाई राख्ने गरिएको छ ।


२०७१ साउन ०४ गते आईतबार

No comments:

Post a Comment