Tuesday, April 29, 2014

तरुण दलमा विद्रोहको चेतावनी

नवराज श्रेष्ठ (आकाश), केन्द्रिय सदस्य तरुणदल ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाली कांग्रेसका भातृसंगठन तरुण दलमा  अध्यक्ष उदय समशेर राणा प्रति असंतुष्टि जनाउँदै २३ जना केन्द्रिय सदस्यहरुले विद्रोहको चेतावनी दिएका छन् । अध्यक्ष राणाले निर्धारित समयमा महाधिवेशन गराउन नसकेको, केन्द्रिय समितिको बैठक नडाकेको, सचिवालयको बैठक समेत नडाकेको भन्दै विभिन्न आरोप लगाउँदै विद्रोहको चेतावनी दिएका छन् ।
दलको सांगठनिक चुस्तता, नेतृत्वको हस्तान्तरण, र दलका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि पनि महाधिवेशन बाहेकको अर्को विकल्प नदेखिएकाले अगामी २०७१ जेठ मसान्त भित्र महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सहितको कार्यक्रम ७ दिन भित्र घोषणा गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनीहरुले १० बैशाखमा जारी गरेको प्रेस विज्ञप्तीमा बैशाख १७ गतेसम्म पनि मागहरु सुनवाई नभए थप शसक्त आन्दोलनको कार्यक्रमहरु घोषणा गर्न  बाध्य हुने चेतावनी दिएका छन् ।
संगठनको आधारभुत पक्ष सदस्यता वितरणमा भएको एकाधिकार र पक्षपात पुर्ण कार्य शैलीलाई तत्काल सच्याई वितरण प्रक्रिया संस्थागत र पारदर्शी गर्नुपर्ने, जिल्लाका सन्दर्भमा भएको विवादहरु समाधान गर्न भएको उदासिनता र वेवास्ता प्रति गम्भीर आपत्ति उनीहरुले जनाएका छन् । त्यसैगरी आठ महिना सम्म केन्द्रिय समितिको र लामो समयसम्म सचिवालयको बैठक नबोलाएकोले संगठनका क्रियाकलापहरु शुन्य प्रायः रहेको, केन्द्रिय समितिले विवाद समाधानको निर्णय गरिसकेका जिल्ला समितिलाई विवादित भनी कार्यान्वयनमा  बेवास्ता गरेको, नेपाली कांग्रेस त्रिवेणीधाम महासमितिको वैठक र पार्टी नेतृत्वबाट पटक पटक चाँडो महाधिवेशन गर्न भनी गरेको निर्देशन उल्लंघन गरेको र दलको संचालन, व्यवस्थापन र कार्य सम्पादन गर्दा दलको विधान र परम्परा बाहिर गएर गरेको उनीहरुले आरोप लगाएका छन् । नेपाल तरुणदलको चौथो महाधिवेशन ६ महिना भित्र सम्पन्न गर्न नेपाली कांग्रेस केन्द्रिय समितिले २०६८ साल माघ २१ गते  उदय सम्शेर राणाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।  तर दलको केन्द्रिय समिति विस्तारको २४ महिना भन्दा वढी समय वितिसक्दा पनि दलको महाधिवेशन गर्ने तिर अध्यक्ष राणा पुर्णतया उदासिन र निष्कृय देखिएकोले दलको महाधिवेशन सम्पन्न हुने कुरामा देशभरका सम्पुर्ण तरुण यूवाहरु अन्यौल र निरासमा परेको एक जना दलका केन्द्रिय सदस्य नवराज श्रेष्ठ(आकाश) ले द एक्सक्लुसिभलाई बताएका छन् ।
तरुणदल सैद्धान्तिक र वैचारिक रुपले विचार प्रधान संस्था हो संगठनलाई बलियो बनाउने हो, चुस्त दुरुस्त राख्ने हो र कार्यकर्ता उत्पादन गर्ने हो भने संगठनको आन्तरिक चुनाव हुनु जरुरी हुन्छ । तर विडम्वना नै भन्नुपर्छ १० वर्ष देखि दलको जिल्ला समितिहरुको अधिवेशन समेत हुन सकेको छैन भन्दै केन्द्रिय सदस्य आकाशले दलका अध्यक्ष संविधानसभाको सभाषद समेत भइसकेकोले एक व्यक्ति एक पदका अनुसार योग्य, क्षमतावान र जेष्ठताको आधारमा कार्यवाहक सभापति दिनुपर्ने आकाशले द एक्सक्लुसिभलाई बताएका छन् । भागवण्डाका आधारमा देउवा समुहबाट अध्यक्ष पाएका राणा अहिले महाधिवेशन गराउँदा आफ्नो गुट पराजित हुने डरका कारण महाधिवेशनबाट पन्छिन खोजेको उनले आरोप लगाए । सदस्यता वितरणमा समेत पक्षपात गरेको, जिल्ला शाखाहरुमा फर्जी अध्यक्षहरुलाई पनि मान्यता दिएको, विवादीत जिल्लाहरुमा विवाद समाधानका लागि केन्द्रबाट पठाइएको केन्द्रिय समितिका प्रतिनिधिको प्रतिवेदन पनि पेस गर्न नसकेको उनले बताए । उनका अनुसार पार्टीलाई मार्गदर्शन गर्ने व्याक बोन पार्टीको लाइनमा गएर काम गरेको कहिल्यै देख्न पाइएन, अध्यक्ष भइसकेपछि जहिले पनि राणा निष्कृय रहेको उनले बताए ।
 यसरी असंतुष्ट हुने सदस्यहरुमा रमेश प्रसाद खरेल, नारायण भट्टराई, गणेश भट्ट, राम रोकाया, मेदनी प्रसाद सिटौला, प्रमोद रिमाल, टेक राज पौडेल, जिवन डंगोल, सुदिप नरसिंह राणा, दिनेश राई, विनोद पन्त, नवराज श्रेष्ठ(आकाश), दामोदर लम्साल, सविता सिलवाल, उद्धव कोइराला, सुबोध प्रधान, गोविन्द राणाभाट, कमल पराजुली, लक्ष्मी खतिवडा, नृप सुनार, सरिता केसी, नवल किशोर यादव, मुकेश गुप्ता रहेका छन् ।


२०७१ बैशाख १४ गते आईतबार

No comments:

Post a Comment