Tuesday, April 29, 2014

विहारमा पनि मोदीको लहर

नरेन्द्र मोदीको मास्क लगाएका उनका एक समर्थक मधुवनीमा चुनावी सभामा जाँदै ।





अजय अनुरागी
मधुवनीबाटफर्केर जनकपुरधाम............

गत विहिबार करिब साँढे दश बजे तिर द एक्सक्लुसिभको कार्यालय आउनै लाग्दा विद्यापति चौकमा मेरा सहकर्मी मित्रहरु  जानकी एफएमका समाचार संयोजक धैर्यकान्त दत्त, तराई टाइम्सका कार्यकारी सम्पादक विरेन्द्र रमन र राष्टिूय समाचार समितिका विरेन्द्र कर्णसँग मेरो भेट भयो । उनीहरु नरेन्द्र मोदीको मधुवनीमा चुनावी सभालाई कभरेज गर्न जाँदै थिए । उनीहरुले मलाई पनि जान आग्रह गरे । र, म पनि विश्वमै उदियमान अर्थतन्त्र शक्ति बन्दै गएको छिमेकी मुलुक भारतको एक जना संभावित प्रधानमन्त्रिका उम्मेदवार नरेन्द्र मोदीको चुनावी सभालाई रिपोर्टिङ गर्न पाउने अवसरलाई गुमाउन चाहेको थिइन । अनि जाने निधो ग¥यौं ।
 दुईवटा मोटरसाइकलमा हामीहरु मधुवनीका लागि प्रस्थान ग¥यौं । धैर्यकान्त दत्त र म एउटा मोटरसाइकलमा र दुवै विरेन्द्र अर्को मोटरसाइकलमा प्रस्थान ग¥यौं । नेपालको अन्तिम सिमा जटही नाकामा विश्राम गर्दै छोटी भन्सार कार्यालयमा नेपाली रुपैयाँ भारतीय रुपैयाँ सँग साट्यौं । चिसो खाँदै गर्दा भारतबाट नेपाल तर्फ आउन सबारी साधनको छुट पुर्जी लिने दुई जना सँग कुरा भयो । उनीहरुले पनि भारतमा भैरहेको लोकसभा चुनावको चर्चा गर्दै थिए । भारतका सम्भावित प्रधानमन्त्रीका तीन जना प्रत्यासीहरु राहुल गांधी, नरेन्द्र मोदी र अरविन्द केजरीवालका विषयमा उनीहरुले टिप्पणी गर्दै थिए । मोदीको देशैभरी लहर रहेपनि प्रधानमन्त्री बनीहाल्लान भन्ने ठेगान नरहेको उनीहरुको विश्लेषण थियो । जटहीबाट भारत नाकामा प्रवेश गर्दा त्यहाँ बोर्डरमा खटेका भारतीय सुरक्षाकर्मीहरु(एसएसबी) को टोलीले हामीलाई रोक्यो । मोटरसाइकलका विल बुक र लाइसेन्स जाँच्दै तपाईहरु कहाँ जान लाग्नुभएको भन्ने प्रश्नको जवाफमा हामीहरु जनकपुरका पत्रकार हौं र मधुवनीमा मोदीजीको चुनावी सभालाई रिपोर्टिङ गर्न गइरहेको भन्दा उनीहरुले हाम्रो परिचय पत्र माग ग¥यो । हामीले परिचय पत्र देखाउँदै गर्दा बोर्डर कहिले सिल हुने भन्ने प्रश्नको जवाफमा ती सुरक्षाकर्मीहरुले २७ देखि ३० अप्रिलसम्म बोर्डर सिल हुने बताएका थिए । हुन त त्यस दिन पनि सबारी साधनको आवागमनमा अत्यधिक कमी आइसकेको थियो ।
मधुवनीमा मोदीको चुनावी सभामा सहभागी समर्थकहरु ।

त्यहाँबाट मधुवनीका लागि अगाडी वढ्दा हामीले विहारमा लोकसभाको चुनाव केही दिनमै हुन गइरहेको अनुभुति भइरहेको थिएन । कहि कत्तै पनि चुनावका पोस्टर, पर्चा, पम्पलेट वा व्यानरहरु देखिरहेका थिएनौं । त्यहाँका स्थानिय बजारहरु उभगाउँ, बासोपट्टीमा केही देखिएन । न कही कतै कुनै उम्मेदवारले भोट मागिराखेको अवस्था पाइयो । कलुवाही पुग्दा चौकमा लालु प्रसाद यादवको राष्टिूय जनता दल र केन्द्रका सत्ता पक्ष कांग्रेस आई र एनसिपीको गठबन्धनका साझा उम्मेदवार अब्दुल बारिकी सिद्दिकीको  एउटा ठुलो चुनावी होडिङ बोर्ड झुन्डयाइएको थियो । उक्त व्यानरमा उम्मेदवार सिद्दिकी, राजदका लालु यादव र रावडी देवी र कांग्रेसका अध्यक्ष सोनिया गांधी र नेता सकिल अहमदको तस्वीर राखिएको थियो । सिद्दिकी लालु यादवका पार्टी लालटेन छापमा उम्मेदवार बनेका थिए । कांग्रेस नेता सकिल अहमद विगतको लोकसभा चुनावमा मधुवनी क्षेत्रबाट विजेपी र जनता दल यूनाइटेडको गठबन्धनबाट उम्मेदवार हुक्मदेव नारायण यादवबाट पराजित भएका थिए । कांग्रेसले यस पटक अहमदलाई टिकट नदिई गठबन्धन उम्मेदवार सिद्दिकीलाई उठाएका छन् ।


कांग्रेस समर्थित लालु यादवका मधुवनी उम्मेदवार अब्दुल बारी सिद्दिकीको प्रचारका लागि कलुवाही चौकमा झुन्डियाइएको ब्यानर ।
कलुवाही चौकमा एउटा पान पसलमा चिसो पानी खाँदै गर्दा करिब १८ वर्षका उक्त पसलेलाई यहाँ चुनावको कस्तो अवस्था छ भनेर सोध्दा उनले आफुलाई राजनीतिसँग कुनै मतलव नरहेको बताएका थिए । पानी खाई जानै लाग्दा भारतीय कम्निष्टपार्टी मालेका उम्मेदवार धु्रवनारायण कर्णको प्रचार गर्दै एउटा जिप त्यहाँ आइपुग्यो । जिपबाट ओर्लेर एक जना मानिसले झण्डामा तिन तारा चुनाव चिन्ह रहेको पर्चा चौकका केही मान्छेलाई बाँड्न थाले । परिवर्तन गर नीति, परिवर्तन गर राज, संसदमा जनताको अवाज, दाम कस, काम देऊ, कामको पुरा दाम देऊ, रक्सी होइन रोजगार चाहियो , विजुली रासन आवास चाहियो भन्ने नारा उक्त पर्चामा लेखिएको थियो । यति हेरेपछि बल्ल हामीलाई लाग्यो, भारतको विहारमा पनि चुनाव भइरहेको छ ।
    १० किलोमिटर पर एउटा गाउँमा फेरी हामी मोटरसाइकल रोक्यौं । रुखको छहारीमा केही छिन ओत लाग्यौं । कलबाट हामीले पानी खायौं । त्यही रहेका एक जना करिब ६० वर्षिय वृद्धसँग यस क्षेत्रमा कसको वढी भोट छ भनेर सोध्दा हाम्रो गाउँमा चार सय केजी चामल खान्छौं र सबै जना लालु यादवलाई नै भोट दिन्छौं बताएका थिए । लालुको उक्त क्षेत्रको उम्मेदवारको नाउँ थाहा नभएपनि लालटेन छापमा नै भोट दिने आफुहरुले तय गरिसकेको उनले बताए । त्यहाँबाट हामी मधुवनी पुग्नै लाग्दा करिब ३ बजे मोदीको चुनावी सभा हुने भनिएको समय भन्दा १ घण्टा पहिले हामीहरु पुग्यौं । मधुवनी बजारमा कतिपय पसलहरु बन्द थिए । र कतिपय पसलहरु खुलेको भएपनि मान्छेको उपस्थिति पातलिएको थियो । सहरका मुख्य सडकहरुमा चुनावमा मत दिनका लागि भारतका सेलिव्रिटीहरु महेन्द्र सिंह धोनी, विराट कोहली र केही टिभी सिरियलका कलाकारहरु द्वारा अपिल गरिएको ठुलो ठुलो विज्ञापनका होडिङ बोर्डहरु देखिएपनि उम्मेदवारका प्रचार प्रसारका लागि पोस्टर पम्पलेट देखिएन ।
कलुवाही चौकमा भाकपा माले उम्मेदवार ध्रुव नारायण कर्णको गाडीमा प्रचार गर्दै ।
         नेपालमा भर्खरै केही महिना अघि सकिएको संविधानसभाको चुनावका क्रममा नेताहरुले घर घर गई घरदैलो गरी भोट मागेको र पर्चा पम्पलेटले सबैका घर पर्खालहरु तथा सार्वजनिक स्थलहरु पर्चामय भएको अवस्था भन्दा भारतको विहारमा फरक अवस्था देख्दा आफ्नो देशमा पनि चुनावमा त्यस्तो तड्क भडक नभइदिए हुन्थ्यो भन्ने जस्तो लाग्यो । मोटर साइकल पार्क कहाँ गर्ने भनेर म चढेको मोटरसाइकल चालक धैर्यकान्त लाई सोध्दा सबै व्यवस्था हुन्छ भने । मधुवनीको रेल्वे स्टेशन पुग्यौं ।
    त्यहाँ पुगेर जनकपुरका हाम्रा अर्को सहकर्मी पत्रकार शैलेन्द्र झाको भिनाजुलाई विरेन्द्र रमनले स्थानीय टेलिफोन बुथबाट फोन गर्दा लोहापट्टी आउन बताए । त्यहाँ पुगेर उनलाई खोज्दा केही समय लागेपनि हामीले खोज्यौं । उनी त्यहाँ एयरटेलका एजेन्सी लिएका रहेका छन् । त्यहाँबाट मोटरसाइकल पार्क गर्न उनीसहित हामी पाँचै जना टाउन क्लव स्थित उनको आवासमा पुग्यौं ।
 अहिले मोदी नआएको र आउन केही समय लाग्ने उनले बताए । उनको आवासमा चिसो पानी खाँदै गर्दा जनकपुरको जानकी एफएमका मधुवनी सम्वाददाता तेजनारायण ब्रम्हर्षीलाई रमनले फोन गरी बोलाए । करिव १० मिनेट भित्रै उनी आइसकेपछि हामी त्यहाँबाट मोदीको चुनावी सभा हुने भनिएको स्थान हवाई अड्डा तर्फ लाग्यौं । बाटोमा उनले एक दिन अघि नै पत्रकारहरुको प्रवेशको लागि फोटो सहितको पास वितरण गरिएको र हामीहरुको प्रवेश लगभग हुन नसक्ने बताए पछि हामी निराश भयौं । अनि त्यस पछि त्यहाँका स्थानिय पत्रकार समेत रहेका व्रम्हर्षीले मधुवनी जिल्ला परिषदमा लगि त्यहाँका सदस्य सहिदा वानुसँग हाम्रो सानो अन्तरक्रिया जुराई दिए ।उनीसँग हाम्रो परिचय पनि भयो र सिष्टाचार भेटघाट पनि भयो । उनी जनता दल यूनाइटेडमा आवद्ध भएपनि असंतुष्ट थिइन र मोदीलाई समर्थन गरिरहेकी थिईन । उक्त सभामा मोदीसँगैको मञ्चमा विजेपीमा प्रवेश गर्ने तयारी गरेपनि उनलाई अहिले नजान तथा प्राविधिक त्रुटी भएको फोन आयो । हामीले पनि त्यहाँको चुनावी प्रतिस्पर्धा र देशमा कसको सरकार बन्ने कुरा ग¥यौं । उनले भनिन देशलाई बचाउन मोदीको सरकार बन्नु आवश्यक छ । जनता दल यूनाइटेडबाट अलग्गिएपछि उक्त दल धेरै कमजोर भएको र विजेपी राम्रो अवस्थामा रहेको उनले बताइन ।      राम विलाश पासवानको विजेपीमा सामिल भएपछि विजेपीलाई खासै फाइदा नभएपनि पासवानलाई भने फाइदा पुगेको उनले बताईन ।  नेपालको सन्दर्भमा विश्वमै एक मात्र हिन्दु राष्टूको रुपमा रहेको नेपाल धर्म निरपेक्ष हुँदा उनलाई चित्त बुझेको थिएन ।  नेपाल स्वतन्त्र राष्टू रहेको र छिमेकीको नाताले पनि नेपालको विकासको लागि भारत सरकारले पनि मद्दत गर्नुपर्ने मा उनले जोड दिइन । त्यहाँ मगवाइएको चिसो हामी सबैले खाइ सकेपछि हामीलाई हवाई अड्डासम्म पु¥याइदिन उनले आफ्नो कार चालकलाई आदेश दिइन । हामी कारमा सवार भई हवाइ अड्डाको भित्रसम्म पुग्यौं । हवाई अड्डाको रनवेमा चुनावी सभा आयोजन गरिएको थियो । विमान स्थलमा चुनावी सभा आयोजन गरिएकोमा हामी झस्कियौं । हामीसँगै रहेका स्थानिय पत्रकार ब्रम्हर्षीले विमान स्थ लबनेपनि विमान सेवा संचालन नभएको जानकारी पायौं ।
यस अघिको विहारको मुझफ्फरपुरमा गरिएको मोदीको चुनावी सभामा श्रृङखलावद्ध बम विस्फोटन भएका कारण हवाई अड्डामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । करिब १ लाख भन्दा वढी मानिसहरु त्यहाँ पुगेका थिए । मोदीलाई भोट गर्न भनि लेखिएको टोपी धेरै मान्छेले लगाएका थिए । केही यूवाहरुले मोदीको मास्क लगाएका थिए ।
    हामी पनि सुरक्षा घेरा पार गर्दै आफ्नो परिचय पत्र देखाउँदै उक्त भिडलाई चिर्दै मञ्च सम्म जसो तसो पुग्यौं । त्यहाँ स्थानिय नेताहरु र प्रत्यासी उम्मेदवारहरु आफ्नो भाषणको क्रममा कांग्रेस सरकारको आलोचना र मोदीको गुनगान गाइरहेका थिए । करिव ५ बजे मोदीको हेलिकप्टर चुनावी सभामा ल्याण्ड ग¥यो । मोदीको फोटो आप्mनो क्यामरामा कैद गर्नै लाग्दा मेरो क्याम्राको लेन्स विग्रियो । म निरास भएँ । अनि मित्र धैर्यकान्तले आफुले तस्विर सेयर गर्ने बताए । मोदीले त्यहाँ सात मिनट मात्र भाषण गरे र दरभंगाका लागि फर्किए । सोही दिन उनले उत्तर प्रदेशको बनारसमा आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गरी विहारको सहर्सामा चुनावी सभालाई सम्बोधन गरी मधुवनी आएका थिए । त्यहाँबाट उनी विहारकै दरभंगामा चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टरमा चढी प्रस्थान गरेका थिए ।
    भिड सँगै हामीहरु पनि फर्किरहेको बेला भारतमा मोदी सरकार बन्ने कि नबन्ने सबैले कुरा गरिरहेका थिए । एक जना २० वर्षका यूवालाई हामीले सोध्यौं । तपाई कसलाई भोट दिनु हुन्छ ? उनले भने, ‘हुक्मदेवजी जितेर पनि विहारको लागि र हाम्रो मधुवनीको लागि केही गर्न सकेनन । उनीबाट हामी पनि खुशी छैनौं तर मोदीलाई प्रधानमन्त्री बनाउन मैले हुक्मदेवलाई नचाहेर पनि बाध्यतावस भोट दिन्छु ।’ नितिश सरकारले विहारमा थुप्रेविकास गरेको हल्ला छ तर पनि किन उनको लहर छैन विहारमा भन्ने सबालमा ती युवाले यसो भने, ‘विकास त भएकै हो तर शिक्षामा चाहि विकृति देखियो । पहिले विद्यालयमा विद्यार्थी पढनका निम्ति जान्थे तर अहिले विद्यार्थीले किताव कापी घरमै राखेर थाली लिएर खिच्डी र हलुवा खान मात्र विद्यालय जान्छन् ।” कतिपय मान्छेले विहारमा नितिशको प्रशंसा गरेपनि उनको दल जनता दल युनाइटेड विजेपीबाट अलगिएमा आक्रोशित देखिएका थिए । उनीहरुका अनुसार नितिश र विजेपीको गठबन्धन विहारमा आवश्यक थियो । कतिपयले विहारको ४० सिटमा विजेपीले अग्रता पाउने भएपनि लालु यादवको क्रज फेरी वढेको हुनाले उनको दलको पनि सिटमा व्यापक वृद्धि हुने आंकलन गरिरहेका थिए ।
विहारको लागि मोदीको प्रतिवद्धता
भारतीय जनता पार्टी विहार प्रदेशले वितरण गरेको चुनावी घोषणा पत्रमा मोदी सरकारले विहारलाई विशेष सहयोग तथा विशेष प्याकेज दिने प्रतिवद्धता व्यक्त गरिएको थियो । करिव १० हजार करोड लामो रेल परियोजनालाई पुरा गरिने, बरौनी खाद्य कारखानाको सुरुवात गर्ने तथा पेटूो केमिकल कम्पलेक्स स्थापना गरिने, नदिहरुलाई जोडेर विहारमा वाढी र सुख्खाको समाधान गरिने, घर घरमा विजुली पु¥याइने, शिक्षाको विकास गरिने, हरेक व्यक्तिलाई अधिकार दिइने, पञ्चायती संस्थाहरुलाइ सशक्तिकरण गरिने, सबै गाउँसम्म सडक पु¥याइने, विहारको समग्र विकासका लागि आवश्यक बजेट दिने र विहारका यूवाहरुको सिप विकास गरी  मोदी सरकारले रोजगारी दिने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
भारतको लागि मोदीको प्रतिवद्धता
त्यसैगरी मोदीले बेरोजगारी, गरिवी र महगाईलाई अन्तय गरी नव भारत निर्माण गर्ने उक्त पर्चामा प्रतिवद्धता व्यक्त गरिएको थियो । उक्त पर्चामा मुद्रास्फितीलाई नियन्त्रण गरी मुल्य स्थिरता कोष गठन गरी महगाई हटाइने, नदीहरुलाई जोडेर पानी पु¥याई किसान तथा कृषिको विकास गरिने, टयालेन्ट, टुरिज्म, टूेडिशन र टेक्नोलोजिको मद्दतले यूवाहरुलाई सशक्तिकरण गरी बेरोजगारीको अन्तय गरिने, एक सय स्मार्ट शहरहरुको विकास गरी भारतलाई विश्व स्तरीय बनाइने, स्वर्णीम चतुर्भुज योजना जस्तै बुलेट टूेन चतुर्भुज दिइने, हरेक प्रदेशमा आइआइटी, आइआइएम, एम्स ल्याएर देशको शिक्षालाई विश्व स्तरीय बनाइने, छोरीलाई बचाउ र छोरीलाई पढाउ योजना अन्तरगत महिलाहरुको सम्मान बढाइने तथा विदेशबाट काला धन ल्याई गरिवहरुको विकासमा लगाइने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
मोदीको छवि चित्रण
उक्त प्रतिवद्धतामा मोदीले आफुलाई  शासकको बंशको नभई गरिव आमाको छोरा रहेको,  पिछडा वर्गको गौरव जसले बालपनमा चिया बेचेर शिक्षा प्राप्त गरेको र आफ्नो संघर्षबाट अगाडी वढन चाहने करोडौ यूवाहरुको आदर्श मोदी रहेको उल्लेख गरिएको छ । ६ करोड गुजरातीहरुको जीवनलाई खुशी बनाउने व्यक्ति शासक नभई मोदी उनीहरुकै परिवारका सदस्य रहेको बताइएको छ । गुजरातमा नदीहरुलाई जोडेर किशानको खेतसम्म पानी पु¥याउने व्यक्ति, प्रत्येक घर प्रत्येक गाउँसम्म २४ घण्टा विजुली पु¥याउने व्यक्ति, औद्योगिक विकास गरी लाखौ रोजगारीको अवसर सिर्जना गर्ने व्यक्ति, महिलाहरुको सुरक्षा र सम्मान बढाउने व्यक्ति, सरकारी तन्त्र र जनता प्रति जवाफदेहि बनाउने व्यक्ति चौथो पटक जनताको कर्मठ सेवकको रुपमा मोदी रहेको उक्त प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

मधुवनीमा मोदीको सम्बोधन

    मिथिलाञ्चलमा आउँदा धेरै खुशी लागेको छ । मैथिली भाषा धेरै प्रिय भाषा हो । मैथिली भाषाको मान बढाउने काम अटलजीको सरकारले नै गरेको थियो । तपाईहरु मध्ये धेरै कमैलाई थाहा होला भोजपुरी सिनेमाको र भोजपुरी टिभी सिरियलको प्रायः जसो सुटिङ्ग गुजरातमै हुन्छ । त्यसकारण गुजरातका स(साना कलाकारहरु पनि आफ्नो भाषाका साथै भोजपुरी पनि बोल्न थालेका छन् ।
    यो चुनावले देशको भविष्य तय गर्नेछ । र, जुन प्रकारले हाल सम्मको मतदान देखिएको छ, मान्छेको जुन उत्साह देखिएको छ, यसले लागिरहेको छ कि हिन्दुस्तानमा कतिपय राज्य यस्तो होलान, जुन राज्यमा कांग्रेस पार्टी र उसको चट्टावट्टा दलहरु खाता पनि खोल्न सक्नेछैनन् । कांग्रेस र उसका सहयोगी दलहरुको खाता पनि खुल्नेवाला छैन् , यो स्थिति छ । यति मात्र होइन, एउटा पनि राज्य यस्तो हुने छैन जुन राज्यमा कांग्रेस पार्टी आफ्नो इज्जतलाई जोगाउन र लुकाउन सकोस । कांग्रेस दशौं स्थानमा झर्नेछ । अब देश कांग्रेस मुक्त हुनेवाला छ ।
    देश संकटहरुबाट मुक्त हुनेवाला छ । भारतीय जनता पार्टी तपाईहरुसँग विकासका लागि भोट मागिरहेको छ । भाजपा स्वराज्य, सुशासनको लागि तपाईसँग भोट मागिरहेको छ । सरकार धनीहरुको लागि हुनु हुँदैन । सरकार त गरिवहरुको लागि पो हुनु पर्छ । यदि धनी विरामी हुन्छ भने सयौं डाक्टरहरु हाजिर भई हाल्छन् । तर, गरिब विचराको नसिवमा त सरकारी अस्पताल नै हुन्छ । धनीका छोराछोरीलाई पढ्नु छ भने कैयौं शिक्षकहरु उसको घरमै पढाउन आइहाल्छन् ।         तर, गरिबको लागि सरकारी स्कुल नै उसको नसिवमा हुन्छ । र, सरकार यी सबै कुरालाई उपेक्षा गर्छ, लापरवाही देखाउँछ , शिक्षक हुँदैन, चिकित्सक आउँदैन भने गरिब जनता जाओस त जाओस कहाँ ? सरकार गरिवकै लागि हुनुपर्छ । सरकारको जुन तिजोरी छ, त्यस तिजोरी माथि पनि सबै भन्दा पहिले कसैको हक छ भने त्यो मेरो गरिव भाइवहिनीहरुको हो ।
    जुन मानिसले ताजमहल हेरेको हुँदैन, त्यो ताजमहल हेर्न जान्छ । क्यामेरा पनि लिएर जान्छन । ताजमहल अगाडी उभिएर फोटो खिचाउँछन् । आफ्नो साथीहरु त्यो तस्विर देखाई ताजमहल हेरेर आएको बताउँछन् । ठीक त्यसैगरी ‘राहुल भैया’ ले गरिबी कहिल्यै देखेकै छैनन् । गरिवलाई हेर्न गरिव जनताको घरमा उनी वर्षमा एक पटक जान्छन् । सम्पुर्ण टिभी क्यामेरावालाहरुलाई साथ लिएर जान्छन् । गरिव कस्तो हुन्छ ? गरिवको हात कति ओटा हुन्छ ? गरिवको खुट्टा कतिवटा हुन्छ ? गरिवको आँखा कस्तो हुन्छ ? गरिवको पेट हुन्छ कि हुँदैन ? र, गरिवको घरमा गई तस्विर खिचाउँछन् । गरिवको वच्चालाई काँख लिन्छन् । यति मात्र होइन, त्यो दिन गरिवको घरको खाना पनि खाइहाल्छन् ।
    जसलाई गरिवी भनेको के हो थाहा छैन, जो सुनको चम्चा लिएर पैदा भएका छन् । त्यसले गरिवहरुको भलो कहिल्यै गर्न सक्दैनन् । म त गरिवीमा जन्मिएको छु, गरिवीमै पालिएको छु । रेलको डिब्बामा चिया बेच्दा बेच्दै आज तपाईहरुको सामुन्ने आएको छु । त्यसैले गरिवको सुख दुख मैले भलिभाँती बुझ्न सक्छु । त्यसैले दिल्लीमा यस्तो सरकार बनाउनुछ जसले गरिवको कल्याणको लागि काम गरोस । नवयूवकहरुलाई रोजगारी दिनको लागि काम गरोस । आमा तथा वहिनीहरुलाई सम्मान दिने काम गरेको होस । किसानलाई फसल मिलोस । किसानले जिन्दगीभर सम्मानको जीवन बाँचोस ।
     त्यसको लागि भाई एवम वहिनीहरु भारतीय जनता पार्टीलाई विजयी बनाउनुस । भाजपा  र एनडिएको गठबन्धनलाई, विहारको हुक्मदेवजीलाई विजयी बनाउनुस ।


२०७१ बैशाख १४ गते आईतबार

No comments:

Post a Comment