Tuesday, March 4, 2014

जलेश्वर कारागारमा ‘सुरक्षा खतरा’


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

उमा सिंह हत्याका मुख्य योजनाकारका अभियुक्त स्वामीजी भनिने उमेश यादव पनि सोही जेलमा पुरपक्षका लागि थुनामा रहेका हुनाले ललिता र उमेशले मिलेर कुनै ठुलो षड्यन्त्र गर्न लागेको हो कि भन्ने आशंका जेलर ठाकुरको छ ।

जेलर सोभेन्द्र ठाकुर ।
महोत्तरीको सदरमुकाम जलेश्वर स्थित कारागार अहिले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील बनेको छ । राणाकालमै स्थापना भएको उक्त कारागार भौतिक पुर्वाधारका हिसावले जोखिम हुँदा हुँदै क्षमता भन्दा थप कैदीहरुको संख्या दिन प्रति दिन वढ्दै जानुले सुरक्षा खतरा वढ्दै गएको छ । त्यसमा पनि गत १२ फागुनमा एक जना कैदी आइमाइलाई भेटन पुगेका दुईजनासँग गोली बरामद भएपछि जेल प्रशासनले सुरक्षा खतरा झनै वढेको अनुभुति गर्न थालेका छन् ।
पत्रकार उमा सिंहकी हत्याको अभियोगमा जन्मकैद सजाय भुक्तान गरिरहेकी ललिता सिंहलाई भेटन पुगेका भारत विहारको सितामढी स्थित बथनाहा थाना मौउवाहा गाउँका करिब ३० वर्षिय नविन सिंह सँगै आएका भारत विहार सितामढीको कृणानगरकी अन्दाजी २५ वर्षिय रेखा सिंहको कारागारका सुरक्षाकर्मीले सुरक्षा जाँच गर्दा महिलाको कस्मेटिक व्यागबाट २ वटा चाइनिज गोली बरामद भएको थियो । उनीहरु पत्रकार उमा सिंहको हत्या अपराधमा जन्मकैद सजायको कैदी बन्दी ललिता सिंहलाई भेट्न पुगेका थिए । 
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीका अनुसार बिआर ०६ जेड ६२५७ नम्बरको भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका ती दुवै जना मध्ये रिताको ह्याण्ड ब्यागमा लुकाइराखेको पेस्तोलमा लाग्ने ७.६५ एमएमका दुई वटा चाइनिज गोली बरामद गरिएको थियो । जलेश्वर कारागार अगाडी मोटरसाइकिल पार्किङ गरी सरासर महिला कक्ष तर्फ जान खोज्दा ड्यूटीमा रहेका प्रहरीले रोकेर चेक जाँच गर्दा गोली बरामद भएको थियो । गोली सहित पक्राउ परेकी रेखा सिंह कैदी ललिताकी भाउजु नाता की हुन् । ती दुवै जना आफुलाई भाई बहिनी रहेको बताएका थिए ।  नायब उपरीक्षक रेग्मीका अनुसार हातहतियार तथा खरखजाना ऐन अन्तरगत उनीहरुमाथि मुद्दा चलाएर अनुसन्धान गर्दा उनीहरुले भारतको असममा लाइसेन्स भएको हतियार राखेको र ८ राउण्ड गोली मध्ये ६ राउण्ड गोली पडकाइसकेको र बाँकी दुई राउण्ड विर्सेर ब्यागमा सँगै आएको बयान दिएका छन् ।
तर, उक्त कारागारका जेलर सोभेन्द्र ठाकुरका अनुसार कारागारमा अपराधिक घटना गराउने मनसायले गोली भित्रियाउन खोजेको हुन सक्ने आशंका व्यक्त गरिएको छ । उनका अनुसार गोली भेट्ने वित्तिकै महिला सुरक्षाकर्मीको साथ महिला कैदीहरुको वेड देखि पुरा कक्षमा सर्च गरिएको थियो । पुरुष कैदीहरुको कोठामा पनि आन्तरिक प्रशासनको साथ लिएर सर्च अभियान चलाइएको थियो । तर, केही पनि फेला परेन । उमा सिंह हत्याका मुख्य योजनाकारका अभियुक्त स्वामीजी भनिने उमेश यादव पनि सोही जेलमा पुरपक्षका लागि थुनामा रहेका हुनाले ललिता र उमेशले मिलेर कुनै ठुलो षड्यन्त्र गर्न लागेको हो कि भन्ने आशंका जेलर ठाकुरको छ ।
गोली भित्रियाउने उदेश्य के हो प्रस्ट खुल्न नसकेपनि कारागार भित्र यस अघि नै पेस्तोल छिराइएको हुन सक्ने वा पहिले गोली छिराउने र अर्को लटमा पेस्तोल छिराउन सक्ने योजना हुन सक्ने जेलर ठाकुरको आशंका छ । उनका अनुसार ती हतियार जेल ब्रेक गरेर फरार हुनका लागि वा जेलमै कसैको हत्या गराउनका लागि भित्रियाउने योजना समेत हुनसक्ने हुनाले जेलको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील बनेको हो । अहिले उक्त कारागारमा सुरक्षाका लागि एक जना असईको कमाण्डमा २५ जना सुरक्षाकर्मी मात्र परिचालन गरिएको छ । क्षमता भन्दा तीन गुणा वढी कैदी रहेको उक्त कारागारमा विभिन्न सशस्त्र समुहका नाइके लगायत २२ जना नेता तथा कार्यकर्ताहरु रहेका कारण सुरक्षा खतरा झनै वढेको उनको आँकलन छ । सशस्त्र प्रहरीको सुरक्षाकर्मी उपलब्ध गराईदिन जिल्ला सुरक्षा समिति सँगै केन्द्रिय कारागार शाखामा माग गरिसकेको उनले बताए । कैदीहरु मध्येकै ६० जनाले कारागार भित्र चौकिदारको निगरानीमा आन्तरिक प्रशासनको रुपमा काम गरिराखेका छन् । प्रत्येक दुई घण्टामा आन्तरिक प्रशासनको ड्युटी चेन्ज हुने गर्छ । सुरक्षा चुनौती बढेको कारण महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठ दिनमा एक पटक कारागारको सर्च गर्ने गरेको र सुरक्षा अवस्था अनुगमन गर्ने गरेको जेलर ठाकुरले बताए ।
क्षमता भन्दा वढी कैदी 
जलेश्वर कारागारमा महिला र पुरुष मिलाएर १ सय ३५ जना कैदी राख्न सक्ने क्षमता छ । तर, १५ फागुन २०७० सम्म उक्त कारागारमा ३३ जना महिला, ५ वर्ष मुनिको आश्रित बालबालिका ७ जना, र ४ सय १६ जना थुनुवा तथा कैदी बन्दी गरी कुल ४ सय ५६ जना कैदीहरु उक्त कारागारमा रहेका छन् । अदालतद्वारा सजाय तोकिएको कैदीको संख्या २२ मात्र रहेको छ भने बाँकी सबै जना पुरपक्षमा थुनामा रहेको छ । अधिकांश कैदी कर्तव्य ज्यान मुद्दाका रहेका छन भने अपहरण, लागु औषध, चोरी र डाका मुद्दाका अभियूक्तहरु पुरपक्षका लागि कारागारमा राखिएका छन् । जेलर ठाकुरका अनुसार कारागारमा रहेका कैदीहरु मध्ये ७० प्रतिशत धनुषाका र ३० प्रतिशत महोत्तरीका छन् । ४ सय ५६ जना कैदीहरु मध्ये १ महिला र १७ पुरुष गरी कुल १८ जना भारतीय नागरिक लागु औषध सेवनको मुद्दामा अभियूक्त छन भने किर्ते नागरिकताको आरोपमा ८ जना बंगलादेशका नागरिकलाई सर्लाहीमा कारागार निर्माण भइरहेको कारण सर्लाहीबाट पठाइएको छ । दुई महिना भित्रमा ८५ जना कैदीहरुलाई देशको विभिन्न कारागारहरु इलाम, झुम्का, सप्तरी, सिन्धुली र विरगन्ज कारागारमा कारागार व्यवस्थापनको स्वीकृती अनुसार सरुवा गरिएको जेलर ठाकुरले बताए ।
नेपालमा रहेको कुल ७२ कारागारमा ६ हजार ७ सय १३ कैदी बन्दी अटाउन सक्ने क्षमता मात्र छ । तर, देशका सम्पुर्ण कारागारहरुमा कुल कैदी संख्या १६ हजार ७ सय ७३ पुगिसकेको छ । जसमध्ये विदेशी नागरिकहरुको संख्या ८ सय रहेका छन् । भारत बाहेक अन्य देशका १ सय ४२ जना कैदी नेपालको कारागारमा छन् । क्षमताभन्दा वढी कैदी रहेको कारागार मध्ये देशकै पहिलो स्थान जलेश्वर कारागारको रहेको छ भने दोस्रो कारागारको रुपमा काभ्रेको धुलिखेल कारागार पर्छन् ।
जलेश्वर कारागारमा क्षमता भन्दा वढी कैदी रहेकै कारण एउटै कोठामा २० देखि २५ जनासम्म रहने गरेको छ । कारागार भनेको सुधारगृह हुनुपर्ने हो तर, अत्यधिक कैदी बन्दी र असुविधाका कारण जलेश्वर कारागार सुधारगृह बन्न नसकेको जेलर ठाकुर पनि स्वीकार्छन् ।

२०७० फागुन २५ गते 

No comments:

Post a Comment