Monday, February 17, 2014

जनकपुरको गौरव ः यी दुई अम्पायर


अजय अनुरागी
जनकपुरधाम............
नेपालको क्रिकेटमा जनकपुरका यूवा क्रिकेटर अनिल मण्डलले आक्रामक ओपनिङ व्याट्सम्यानको रुपमा जनकपुरको गौरव वढाइरहेकै बेला क्रिकेट मैदानमा क्रिकेटको निर्णायकको भुमिका समेत निर्वाह गरेर जनकपुर निवासी नेपालका दुई जना अम्पायरहरु राम कैलाश यादव र विनय कुमार झाले जनकपुरको गौरव वढाइरहेका छन् । एसोसिएट राष्टूहरुका बीच हुने अन्तराष्ट्रिय क्र्रिकेट प्रतियोगितामा सफल अम्पायरको रुपमा भुमिका निर्वाह गरेका यी दुवैजनाले जनकपुरको गरिमालाई देश विदेशमा वढाइरहेका छन् । तटस्थ, निश्पक्ष र सही निर्णय दिने अम्पायरको रुपमा रहेका यी दुई जना अम्पायर नेपालकै उत्कृष्ठ अम्पायरहरु मध्ये पर्छन् ।
नेपालले बंगलादेशमा हुने टी–ट्वेन्टी वल्र्डकप खेल्ने जमर्काे गर्दैछ भने एक दिवसीय विश्वकपमा पुग्न असफल मात्र भएनन, एक दिवसीय मान्यता समेत प्राप्त गर्न सकेनन् । टेस्ट मान्यता प्राप्त गर्नु नेपालको लागि अहिले दिवास्वप्न नै देखिन्छ । यद्यपि अन्तराष्टिूय क्रिकेटको मैदान भित्र खेलाडीहरुको खेलको निर्णय दिने निर्णायक(अम्पायर) को सम्भावना पनि संगसँगै वढेको देखिन्छ । नेपालका अम्पायरहरुलाई ए, बी र सी ग्रेड गरी तीन ग्रेडहरुमा विभाजन गरिएको पाइन्छ । बुद्धि बहादुर प्रधान, राम कैलाश यादव, विनय कुमार झा, दुर्गानाथ सुवेदी, हिमाल राज गिरी, सत्यजीत सरकार, मनोहर अधिकारी, शिरिष उपाध्याय, मोहम्मद सफिक गरी कुल दश जना नेपालका ए ग्रेडका अम्पायरहरु पर्दछन् । राम कैलाश यादव र विनय कुमार झा जनकपुरबाट क्रिकेटको अम्पायरिङ करियर सुरुवात गरेका थिए । यी दुवैजनाले मैदान भित्र निर्णायकको भुमिका निर्वाह गर्दा जनकपुरवासीको गौरव वढेको छ ।
अम्पायरहरु बायाँबाट क्रमशः राम कैलाश यादव र विनय कुमार झा ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अन्तरगत टेस्ट म्याच खेल्ने कुल ९ वटा राष्ट्रहरु पुर्णकालिन सदस्यका रुपमा सहभागी छन् । भारत,पाकिस्तान, श्रीलंका, बांग्लादेश, बेलायत, अष्टे«लिया, न्यूजिलैन्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज लगायतका देशहरुले टेस्ट क्रिकेटको मान्यता पाएका छन भने जिम्वावेले टेस्टको मान्यता पाए पनि पछिल्लो समयमा मान्यता खोसिएको छ । त्यसैगरी नेपाल लगायत अन्य करिव पाँच दर्जन देशहरु आइसिसीका एसोसिएट राष्टूहरु र ४० वटा राष्ट्रहरु ऐफिलिएटेड सदस्यका रुपमा रहेका छन् । 
जिल्ला महोत्तरी अनकार गाविस –७ का राम कैलाश यादव प्रारम्भमा धनुषा र महोत्तरीका क्रिकेटमा विभिन्न टुर्नामेन्टका लागि टीम म्यानेजरको भुमिका वहन गरेका थिए । हरिनायराण यादवको जेठो छोरा रहेका यादव भौतिक शास्त्रमा स्नातकोत्तर गरेर उनी प्राध्यापन पेशामा पनि संलग्न छन् । स्थानिय र भारत विहारको केही टुर्नामेन्टहरुमा अम्पायरको भुमिका निर्वाह गर्न थालेपछि सन् १९९७ देखि उक्त अम्पायरिङको यात्रालाई काठमाण्डौको क्लव लेभेलसम्म पु¥याए । सन् २००० मा एसिसीको प्रशिक्षणमा पहिलो पटक अम्पायरिङ कोर्ष गरी सन् २००१ मा काठमाण्डौमा आयोजना भएको सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरिङका लागि छनौट भए । सन् २००५ मा काठमाण्डौमा भएको एसिसी म्याचका लागि उनी नियूक्त भएसँगै सन् २००७, २००८, २०१०,२०११ र २०१३ मा एसोशिएट राष्ट्रहरुका बीच सम्पन्न एसिसी इलाइटकप, टी–ट्वान्टी,एकदिवसीय लगायत प्रतियोगितामा अम्पायरिङ गरेका छन् ।
सन् २०१० मा एक्रिडिएटेड लेभेल टु अम्पायरको रुपमा एसियन क्रिकेट काउन्सिल (एसिसी) बाट प्रमाण पत्र प्राप्त गरेका अम्पायर यादव सन् २०११ मा मेलवर्न अष्टे«लियाबाट संचालित आइकस ग्लोबल कार्यक्रम अन्तरगत समेत एक्रिडिएटेड लेभेल २ अम्पायरको दर्जा पाउन उनी सफल भए ।  यसका साथै एसिसी डेभलप्मेन्ट प्रोग्राम अन्तरगत लेभेल २ एक्रिडिशन कोर्षको  सैद्धान्तिक परीक्षामा ९८.५ प्रतिशत अंक प्राप्त गरेका थिए ।  सन् २००१ देखि सन् २०१४ को हालसम्म निरन्तर सिनियर राष्टिूय एक दिवसिय प्रतियोगिता, ट्वेन्टी–ट्वेन्टी, अन्डर १९, अन्डर १६ आदि राष्ट्रिय प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसकेका छन् । सन् २००५ देखि नेपालमा हुने एसीसी टुर्नामेन्टमा समेत निर्णायक बनिसकेका छन् । 
क्रिकेटको नियमको संस्थापक रहेको मेरी लिबोर्न क्रिकेट क्लव ( एमसिसी) का खेलाडीहरु सन् २००७ मा नेपालमा पाहुनाका रुपमा खेल्न आउँदा, पाकिस्तानी टोलीका पाँच जना सदस्य (जो अन्तराष्ट्रिय क्रिकेट टीमका सदस्य पनि रहिसकेका छन् ) सम्मिलित टोली र नेपाली क्रिकेट टोलीसँग भएको त्रिदिवसिय म्याचमा, वल्र्ड कलेजियन्स भन्ने अष्टे«लियन भ्रमणकारी टीम र नेपाली टीमका बीच भएको म्याचमा समेत यादवले अम्पायरिङको भुमिका निर्वाह गरेका छन् । भारतका क्रिकेटरहरु मुनाफ पटेल, सिद्धेश्वर राव, अम्बति तिरुपति रायडु, भिआरभी राव आदि सम्मिलित भारतीय टोली र नेपाल टोली बीच भएको खेलमा समेत यादवले अम्पायरिङ गरेका छन् । केही महिना अघि मात्र भारतको एयर इन्डिया, डेल्ही वान्डर्रस, सिंगापुर र नेपाली राष्ट्रिय टोली बीच भएको जर्नी टु वल्र्डकप प्रतियोगितामा समेत यादव सफल अम्पायरको रुपमा भुमिका निर्वाह गरेर अन्तराष्ट्रिय स्तरमा समेत स्थापित भईसकेका छन् ।
मैदान भित्र र मैदान वाहिर पनि अम्पायरले धेरै कुरा हेर्नुपर्छ । क्रिकेटमा ४२ वटा दफा सहितको कानुन छ । त्यसपछि प्लेयिङ्ग कन्डिसन, कोड अफ कन्डक्ट(आचार संहिता), खेलको परम्परागत मूल्य, कानुनको स्प्रिट, प्रिएम्बुल (प्राक्कथन) सहितको भावनाहरुलाई समेटेर कानुन अर्थात कानुनको दायरा भित्र बसेर व्यवहारिक रुप दिँदै ४३ औं कानुन अर्थात कमन सेन्स (स्वविवेक) को प्रयोग गरी क्रिकेट मैदानमा अम्पायरले सही निर्णयहरु दिनु पर्ने हुन्छ । अम्पायर राम कैलाश यादव भन्छन,“क्रिकेटको कानुनमा नसमेटिएका कुराहरु बाहेक कमन सेन्सको प्रयोग गर्दा दुवै टीम प्रति समानता, निश्पक्षता, म्याचको नियन्त्रण र न्यायको आधारशीलामा बसेर स्वविवेक प्रयोग गरी निर्णय दिने कानुन नै ४३ औं कानुन हो ।”
क्रिकेटमा कुनै व्याट्सम्यान आउट हुने दश तरिकाहरु मात्र  होइन, वाइड बल, नो बल, अपिललाई स्वीकारने वा नकार्ने, खेलाडीको व्यवहार, फिल्ड पोजिसनिङ्, ओभर थ्रो, एक्सटूा, मैदान भित्र रहेका सहकर्मी निर्णायक बीचको सञ्चार तथा समन्वय, ओफिसियल स्कोररहरुसँगको समन्वय, खेलाडी प्रतिको आदर, खेलाडीले अम्पायरको भुमिकालाई लिएर राख्ने धारणा सबैलाई सन्तुलित बनाउने भुमिका आदि जिम्मेवारी मैदानमा रहेको निर्णायकको काँधमा रहेको हुन्छ । यी सबै कुरालाई ध्यान दिंदै क्षण (फ्रयाक्सन अफ सेकेण्ड) मै एउटा सही निर्णय गर्नु पर्ने हुन्छ । त्यसको लागि पुर्ण परिपक्वता, नियमको दायरा भित्र रहेर क्षणमै निर्णय गर्न सदैव स्पोन्टेनियस रिजल्ट को लागि तयार रहनु निश्चय पनि कम चुनौतिपुर्ण कार्य होइन । यादव थप्छन,“अम्पायरिङ् त झन ‘थ्याङ्कलेस’ जव हो । धन्यवाद पनि नपाइने जव हो । जति सुकै सही निर्णय दिए पनि धन्यवाद पाउँदैनन् , अम्पायरले । प्रश्न चिन्ह नै खडा गर्छन ।” अम्पायरले निर्णय दिंदा कहिलेकाही गलत पनि हुने गर्छ । भुल पनि मानिसको स्वभावकै दायरा भित्र पर्दछन् । तर, एउटा राम्रो अम्पायरले थोरै गल्ती गर्छन र धेरै सही निर्णय गर्छन । नियमित अभ्यास, फिजकल फिटनेश, कानुनको राम्रो ज्ञान, अनुभव र इमान्दारी छ भने एउटा अम्पायरको रुपमा धेरै कम गल्ती हुने सम्भावना रहन्छ । यादव भन्छन,“आफ्नो कुरा गर्नु पर्दा म जहिले पनि आफुले गरेको निर्णयलाई रुटिन वर्क जस्तै मूल्याङ्कन गर्ने गर्छु । कहिलेकाहीं अपवाद स्वरुप कथं कदाचित भुल हुन गएको छ भने म कुनै टीम प्रति बायस्ड नभएर कुन देश र कुन खेलाडी खेलिरहेको छ, मेरो परिवारको हो कि, मेरो देशको हो भन्ने कुरा हेर्दिन । मैदानमा मात्र हामी खेल र खेलाडी बुझ्दछौं र, कानुन अनुसार स्वविवेकको प्रयोग गरी सक्दो राम्रो निर्णय दिने कोशिस गर्छौं ।”
यी सबै म्याचका अनुभव सँगै राष्ट्रिय र अन्तरािष्ट्रय क्रिकेट जगतमा अम्पायरको भुमिका निर्वाह गरिरहेका विनय कुमार झा, यादवसँगै क्यानका बरिष्ठ अम्पायर मध्ये पर्छन् ।
अम्पायरको प्रकार
आइसीसीको फोरमेट अनुसार एउटा म्याचको लागि ४ जना अम्पायर र एउटा रेफ्री नियुक्त हुन्छन् । म्याच रेफ्री सम्पुर्ण म्याचको गभर्न गर्ने व्यक्ति हो । मैदान वाहिर, टीम वैठकको दौरान, अनुशासानात्मक कारवाही लगायतका क्रियाकलाप माथि नियन्त्रण गर्ने जिम्मेवारी समेत म्याच रेफ्रीकै हुन्छ । तर मैदान भित्र लिइने सम्पुर्ण निर्णयका उत्तराधिकारी भने म्याचको मैदान भित्रका अम्पायर नै हुन्छन् । दुईवटा अन फिल्ड अम्पायर हुन्छन् । त्यसपछि जहाँ लाइभ टेलिकास्ट म्याच हुन्छ त्यहाँ एउटा टिभी अम्पायर हुन्छ । र, चौथो स्ट्याण्डबाई अम्पायर रिजर्भड अम्पायरको रुपमा नियूक्त हुन्छन् । जव डीआरएस (डाइरेक्ट रिभ्यु सिस्टेम) को व्यवस्था हुन्छ, खास गरी आइसीसीको म्याचहरुमा, एसोसिएट राष्टूहरुका म्याचमा पनि, तव अन फिल्ड अम्पायरले लिन चाहेका सहयोगको बेलामा टीभी अम्पायरले टिभीमा रिप्ले गरी सही निर्णय लिन मद्दत गर्छन् । कहिले काँही लाइन डिसिजन वा वाउन्डूी डिसिजन का विषयमा टिभी अम्पायरले वाकीटकीमा सूचना गर्छन र अनफिल्ड अम्पायरले म्याचका बेस्ट डिसिजन दिन्छन् ।
स्टेन्डवाई अम्पायर भनेको अन फिल्ड अम्पायर घाइते (इन्ज्र्यड) भएको केशमा, विरामी भएको अवस्थामा वा विशेष परिस्थितिमा अन फिल्ड अम्पायर वदलिनु प¥यो भने टिभी अम्पायरले अन फिल्ड अम्पायरको काम गर्छ र फोर्थ अम्पायरले टिभी अम्पायरको काम गर्छ ।
कारवाहीको स्तर
आइसिसीले निर्धारण गरे अनुसार खेलाडीलाई कारवाही गर्न ४ किसिमका ‘लेभेल अफ अफेन्स’ हुन्छ । लेभेल वन, लेभेल टु, लेभेल थ्री र लेभेल फोर । 
लेभेल वान ओफेन्स भनेको सानोतिनो गल्ती हो । जो कोड अफ कन्डक्ट, प्लेयिङ्ग कन्डिसनस, गेम स्पिरिट, गेमको परम्परागत मूल्य, गेमको प्राक्कथन जस्ता कारवाहीहरु जो क्षमायोग्य हुन्छन, त्यस्तो कारवाहीहरु लेभेल वान अन्तरगत पर्दछन् । जस्तो कि कुनै गेंदवाजलाई यो कुरा थाहा छ कि व्याट्सम्यान आउट छैन तर पनि जानी जानी अपिल गर्दछ , अम्पायर तिर अलि वढी अग्रेसनमा अपील गर्दैछ, व्याट्सम्यानको मनोबल गिराउन परसिस्टेन्ट क्ल्यापिङ्ग गरिरहेको छ, त्यति बेला लेभेल वान औफेन्स ठहरिन्छ । अम्पायर यादवका अनुसार यस्तो गल्तीमा अम्पायरले म्याच रेफ्रीलाई रिपोर्ट ग¥यो भने सम्वन्धित अम्पायरको रिक्वेस्टमा सम्बन्धित टीमका व्यवस्थापक वा सम्बन्धित खेलाडीलाई बोलाई नसिहत दिइन्छ । सचेत गराउने काम गरिन्छ जसलाई अंग्रेजीमा हामी ‘प्रिमेन्ड’ भन्छौं ।
दोस्रो लेभेलको औफेन्स अन्तरगत मानौं कुनै बौलरले बौलिङ्ग गरेर कुनै व्याट्सम्यानको विकेट लियो र, उसको पवेलियन तिर औंला खडा ग¥यो भने लेभेल टु औफेन्स ठहरिन्छ । त्यो गल्तिमा आइसीसीले उक्त खेलाडीको म्याच पनि प्रतिवन्धित गर्न सक्छ, म्याच फीको २५ देखि ५० प्रतिशत रकम जरिवाना स्वरुप काट्न पनि सक्छ । तेस्रो कुरा जस्तो कि ‘रेसियल एब्युज’ को कुरा आयो । रंगभेदी कुरा भयो, अम्पायर र खेलाडी, खेलाडी खेलाडी बीच गाली गलौज र झडप भैगयो, अम्पायरको डिसिजनमा सिभर रिएक्सन देख्यो आदि भने लेभेल थ्री औफेन्स अन्तरगतको कसुर ठहरिन्छ । त्यस्तोमा म्याच फी को ५० देखि १ सय प्रतिशत सम्म जरिवाना, सिरिजका केही खास खास दुई, चार, छ म्याच सम्म पनि प्रतिबन्धित गर्न सकिन्छ ।
अम्पायर यादवका अनुसार लेभेल फोर औफेन्स अन्तरगत एन्टी डोपिङ्ग, एन्टी कोरप्सन, जस्तै कसैको हत्या गर्नु, हतियार प्रयोग गरी कसैलाई सख्त घाइते बनाउनु, म्याच फिक्सिङ, स्पोट फिक्सिङ, अन्तरगत कानुनी दण्ड वाहेक आइसीसीले खास सुनवाई गरी प्रक्रिया पुरा गरेर दोष ठहर भयो भने म्याच रेफ्री, आइसिसी एक्ज्युकिटिभ र अनुसन्धान आयोगको समक्ष सफाई दिने मौका दिइन्छ । दोषी ठहर भएमा म्याच फि को दण्ड र जरिवानाको कुरै छोडौं खेलाडी खेलबाट आजीवन पनि प्रतिवन्धित हुन सक्छ । गैरकानुनी काम गरेको  रहेछ भने कानुनले दिने दण्ड आफ्नो ठाउँमा छँदैछ ।
आइसिसीमा अम्पायरिङ गर्ने सपना
यादवको सपना भने आइसीसीको अम्पायर बन्ने रहेको भएपनि उक्त सपना साकार हुन अहिले लामो समय लाग्न सक्ने उनी बताउँछन् । आइसिसी एसोसिएट प्यानलमा नेपालबाट सिनियर अम्पायर बुद्धि बहादुर प्रधान एक जना मात्र प्रतिनिधि रहेका छन् । उक्त कार्यका लागि नेपालमा करिब एक दर्जन अम्पायरहरु योग्य रहेपनि उक्त अवसरबाट वञ्चित रहेका छन् । आइसीसी तिर नेपाली अम्पायरको पहुँचको सवालमा अम्पायर यादव भन्छन,“जहाँ सम्म ननटेस्ट प्लेइङ राष्टूहरु मध्ये नेपाली अम्पायर र स्कोररहरुको सवाल छ, आइसिसीका एक्सपर्ट प्यानलहरुले मुक्त कण्ठले प्रशंसा पनि गरिरहेका छन् । तर, अहिले जवसम्म देशले आइसीसीको यात्रा गर्दैन तवसम्म उक्त अवसर पाउन समय लाग्ने छ ।” हुन त आइसिसीका एक्सपर्ट प्यानलका पिटर म्यानुवल, के टि फरान्सीस, इंगलेन्डका जन हेमसायर र १९९२ विश्वकपका अम्पायर मेहबुब साह लगायतका टीमहरुले नेपाल भ्रमणको क्रममा नेपाली अम्पायर र स्कोररहरुको योगदानलाई उच्च कदर गरेका देखिन्छन् । तिनीहरुले नेपालका अम्पायरहरुलाई इस्टूक्सन र कोर्षहरुपनि दिइसकेका छन् । तयारी गरेर बस्न पनि भनिरहेका छन् । तर, आइसिसीको अम्पायरिङ प्यानलका प्रमुख साइमन टफेलले आइसिसी म्याचमा अम्पायरिङका लागि नन टेस्ट राष्टूहरुबाट छनौट नगर्ने मनस्थिति बनाएको हुँदा नेपालका अम्पायरहरुको उक्त यात्रा कठिन बन्दै गएको छ । तर, अम्पायर यादव भन्छन,“ नेपाल क्रिकेट टीम जति बलियो हुँदै जानेछ र आइसिसीको यात्रा जति चाँडै पार गर्ने छ, नेपालका अम्पायरहरु पनि त्यति नै चाँडै पुग्न सक्नेछ ।” यसका लागि नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालय, क्यान, राष्टिूय खेलकुद परिषद लगायतका सरोकारवाला निकायहरुले विहंगम दृष्टी राखि अवसरलाई सदुपयोग गर्ने तर्फ सचेत र अग्रसर हुनु आवश्यक छ ।

क्रिकेट खेलमा आउट हुने १० तरिका
बोल्ड आउट ः बलरले फालेको फेयर डेलिभरीले कुनै फिल्डरले छुनु अगावै उक्त बल व्याट्सम्यानको परसन वा व्याटमा छोई अथवा व्याटसम्यानलाई छकाई स्टूाइकर इन्डको विकेटलाई सहि तरिकाले उडायो भने व्याट्सम्यान बोल्ड आउट हुन्छ ।
क्याच आउट ः फेयर डेलिभरीमा व्याट्सम्यानले हिट गरेको बल भुईमा छुनु अगाडी फिल्डरले सहि तरिकाले क्याच गरेमा क्याच आउट हुन्छ । फेयर क्याच भनेको बलमाथि फिल्डरको नियन्त्रण मात्र होइन, फिल्डर स्वयमको सम्बेगमाथि पनि नियन्त्रण हो । क्याच लिने हात वा हातहरु भुईलाई छोएपनि बल भुई नछोएमा मात्र फेयर क्याच मानिन्छ ।
एलबिडब्लु आउट ः एमसीसी क्रिकेट कानुन अनुसार यो ३६ औं नियम हो । यो विवादास्पद भएपनि सरल र स्पष्ट नियम हो । यस सम्बन्धि विस्तृतमा अर्को अंकमा जानकारी गराइने छ ।
हिट विकेट आउट ः व्याट्सम्यानले बलरले फालेको फेयर डेलिभरी खेल्ने तुरुन्त पहिले वा तुरुन्त पछि वा पहिलो रनको लागि दौडदा व्याटसम्यानको व्याटले, र उसको शरीरसँग जोडिएको कुनैपनि सामग्रीले उसको विकेटमा छुँदा सहि तरिकाले विकेट वा बेल्स झर्छ भने हिट विकेट आउट हुन्छ ।
स्टम्पड आउट ः व्याट्सम्यानले फेयर डेलिभरीलाई खेल्दा उ यदि आफ्नो पपिङ्ग क्रिज वाहिर छ र विकेट किपरले फेयर तरिकाले उसको स्टम्पसलाई ढालेको छ भने उ स्टम्पड आउट हुन्छ ।
(माथिका पाँच वटै आउट बलरको खातामा जान्छ)
रन आउट ः रन लिनका लागि व्याट्सम्यानहरुले दौड्दा पपिङ्ग क्रिज भित्र पुग्न अगावै फिल्डरले सहि तरिकाबाट विकेट ढाल्छ भने व्याट्सम्यान रन आउट हुन्छ । यदि दुवै व्याट्सम्यान एकै इन्ड तिर दौडिरहेको छ भने तुलनात्मक रुपले विकेटको नजिक रहेको व्याट्सम्यान रन आउट हुन्छ ।
टाइम आउट ः वानडे प्लेयिङ कन्डिसन अनुसार एउटा व्याट्सम्यान आउट भएर तीन मिनेट भित्र र टी(ट्वेन्टी अनुसार ९० सेकेन्ड भित्र अर्को व्याट्सम्यान क्रिज भित्र नआएको खण्डमा फिल्डिङ साइडको अपिलमा टाइम आउट हुन्छ । उक्त समय नाघिसकेपछि, र म्याच खेल्न अस्विकार नगरेको खण्डमा कुनै व्याट्सम्यान मैदानमा आउदै नआएको अवस्थामा अनफिल्ड अम्पायरहरु व्याटिङ्ग साइडको पेवेलियनमा गई उक्त पक्षका कप्तानसँग कुराकानी गरी कप्तानलाई एक व्याट्सम्यानलाई टाइम आउटका लागि मनोनयन गर्न निर्देशन दिन्छन् । प्रायः कप्तानले पुछारका व्याट्सम्यान मध्ये एक जनालाई छान्छन र उक्त व्याट्सम्यान टाइम आउट हुन्छन् ।
हेन्डल द बल आउट ः फिल्डरको अनुमति वेगर फिल्डरले बललाई छुनु अगावै खेलमा रहेको बललाई ब्याट नभएको खाली हातले यदि कुनै व्याट्सम्यानले बललाई छोएको खण्डमा हेन्डल द बल आउट हुन्छ ।
हिट द बल ट्वाइस आउट ः आफ्नो विकेट सेफ गार्ड गर्ने वाहेक बलरले फालेको बलसँग यदि व्याट्सम्यान दुई पटक सम्पर्कमा आउँछन् ,अम्पायरहरुको आपसी सल्लाहमा उक्त घटना घटेको देखिँदा फिल्डरको अपिलमा व्याट्सम्यानलाई हिट द बल ट्वाइस आउट दिइन्छ ।
अवस्टूक्टिङ द फिल्ड आउट ः बलरले फालेको बललाई फिल्डरले छोईसकेपछि उसको फिल्डिङ् गर्ने प्रयासलाई बाधा पु¥याएको तथ्य अम्पायरहरुको नजरमा देखिन आएमा फिल्डरको अपिलमा बाधा पु¥याउने व्याट्सम्यानलाई अवस्टूक्टिङ द फिल्ड आउट दिइन्छ । ल ३७ को नयाँ संशोधन अनुसार अकारण दौड्ने दिशा परिवर्तन गरि फिल्डरको रन आउट गर्ने सफल वा असफल प्रयासलाई बाधा पु¥याउँदा अपिलमा उक्त बाधा पु¥याउने व्याट्सम्यान आउट हुन्छ । माथिका पाँच आउट बलरको खातामा जाँदैन ।


२०७० फागुन ०४ गते

No comments:

Post a Comment