Monday, October 7, 2013

जसरी पनि संविधानसभाको चुनाव विथोल्छौं– मनोज मुक्ति




मधेसको मुद्दा तथा मुक्तिका लागि  भन्दै मधेसमा सशस्त्र विद्रोह गर्दै आएका तराई कम्यूनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष मनोज मुक्ति विवेक भनिने मनोज झासँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले टेलिफोन मार्फत गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ।

तपाईहरुले संविधानसभा चुनावको विरोध गर्दा गर्दै पनि उम्मेदवारी मनोनयन दर्ताका क्रममा जिल्ला जिल्लामा उपस्थिति भएको लाखौं जनताहरुले त संविधानसभा चुनाव जनताका पक्षमा हुन भनेर त पुष्टि गर्यो नि हैन ?
 त्यो त हेर्ने आ–आफ्नो दृष्टिकोण हुन्छ । जनता आफै स्वस्फुर्त रुपले आएका होइनन । आम जनताको उपस्थिति थिएन । हामी पनि नजिकबाट नियालीरहेका छौं । केही दलका कार्यकर्ताहरु मात्र छन । दल भित्र नै मतान्तर छन ।
टिकट प्राप्तिका लागि मतान्तर त भइहाल्छ नि । जुनसुकै चुनावमा टिकट नपाउनेहरु असन्तुष्ट हुने, बागी बन्ने स्वतन्त्र उम्मेदवारी दिने त आज मात्र होइन हरेक चुनावमा भईरहन्छन ।
धेरै जनमानसमा अहिले पनि के छ भने यो संविधानसभाको चुनाव धोका हो । हरेक दलका दोस्रो र तेस्रो तत्काका कार्यकर्ताहरु पनि खुसी छैनन । हिजो ९० सभासद भएका राजनीतिक शक्ति मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले नै संविधानसभा चुनावको विरोध गर्नुले पनि के प्रमाणित गरिराखेको छ भने चुनावको पक्षमा सम्पुर्ण जनता छैनन ।
मोहन वैद्यको विरोधका पक्षमा पनि त जनता देखिएनन । पुतला दहनकै कार्यक्रममा पनि संख्यात्मक उपस्थिति त थिएन ।
एउटा पार्टीको लोगो लागेको कार्यकर्ता उपस्थिति हुनुलाई तपाई आम जनता भन्न सक्नु हुन्न ।
पार्टी कार्यकर्ता पनि त नेपाली जनता नै हुन नि, होइन र ?
मुक्ति कामी जनताको लागि  यो चुनावको त मतलव नै छैन ।
बाजागाजा, तामझाम र हर्षोउल्लासका साथ देशैभरी जनता चुनावको पक्षमा उभिएका छन के तिनी मुक्ति कामी जनता होइन र ?
 विभिन्न पार्टीहरुले आकर्षक नारा दिएर, आर्थिक प्रलोभनमा पारेर आफ्ना कार्यकर्तालाई ल्याउँदैमा आम जनता आएको मानिदैन । चुनाव हुनु पर्छ । तर विदेशी दलालहरुको इसारामा चुनाव गराउनु कति को उपयूक्त कुरा हो ?
तपाईहरु नै भन्नुस् मधेसमा हामीहरु १० वर्ष देखि संघर्ष गरिराखेका छौं , त्यसलाई सम्बोधन नै नगर्ने, विरोधमा रहेका ३३ राजनीतिक दलको मागलाई सम्बोधन नै नगरी हुने संविधानसभाको चुनावको के अर्थ रहन्छ ।
मधेसी लगायत तमाम उत्पिडित जनताको अधिकार स्थापित गराउन कै लागि चुनाव चाहिएको हो नि त ?
जनताको लागि चुनाव चाहनु हुन्छ भने केही राजनीतिक शक्तिलाई बाहिर राखेर, सेना परिचालन गरेर वर्तमान कठपुतली सरकार र चार राजनीतिक शक्तिले यो देशलाई तिब्बतीकरण गर्न खोजिराखेको छ ।
चुनावमा मतदाताका सुरक्षाका लागि सेना परिचालन गरिदैमा के आपत्ति भयो र ?
सुरक्षाको सवाल नै होइन । विगत संविधानसभाको चुनावमा झन जंगलबाट जनयूद्ध लडेर आएका माओवादी नै सहभागी हुँदा, शान्ति प्रकृया टुंगोमा नलागेकै अवस्थामा सुरक्षा देखिएन । त्यतिबेला त झन देशमा धेरै संख्यामा शसस्त्र संगठनहरु थिए । त्यतिबेला किन सेना परिचालन भएन ? सेना परिचालन भनेको जनता र मतदाताको सुरक्षाको लागि होइन, मधेसलाई अल्पमतमा पार्न, मधेसी जनतालाई दमन गर्न, मुठ्ठी भरका शासकहरुको स्वार्थ पुर्ती र विदेशी दलालहरुको सुरक्षाका लागि गरिएको हो ।
अव सशस्त्र समुहहरुले के गर्ने हो ?
सशस्त्र समुहहरुको काम कर्तव्य र दायित्व जनता प्रति जे हुनु पर्ने हो त्यो भई नै रहन्छ । चुनावलाई जसरी पनि हामीहरु विथोल्छौं । आम जनतालाई पनि हामी सचेत गराउन चाहन्छौं ।
निर्वाचन वहिष्कार गर्ने कसैको अधिकार होला तर कसैले विथोल्न खोज्यो भने जनताको सुरक्षाका लागि पनि राज्यले त बल प्रयोग गरेर भएपनि चुनाव गराउनु त उसको कर्तव्य हो ।
होइन, जनतासँग त हाम्रो लडाई नै होइन । सशस्त्र प्रहरी, जनपथ प्रहरी जनताको सुरक्षाका लागि खटेकै होइनन । यिनीहरुलाई नेपालका सामन्ती शासकहरुको सुरक्षाका लागि खटाईएको हो । शासकहरु डराएका छन त्यसैले सेना पनि परिचालन गरेका छन । जनता हामीहरु हौं । जनताका विरुद्धमा हाम्रो कुनै पनि गतिविधि हुँदैन तर जुन जनता शासक वर्गहरुको लठैतका रुपमा प्रयोग हुन्छ भने त्यसका विरुद्धमा हामीहरु सम्पुर्ण शक्ति लगाउँछौं । जसरी पनि चुनाव विथोल्छौं ।
के धेरै ठुलो हिंसात्मक घटनालाई अन्जाम दिने हो तपाईहरुले ?
हिंसात्मक घटना नभनौं मुक्तिको लागि वलिदान भनौं यसलाई ।
तर प्रहरीका अनुसार सशस्त्र समुहहरुसँग अव त्यो तागत नै रहेन, एक्का दुक्का सशस्त्र समुहहरु छन, तिनीहरुसँग अव न त मान्छे छन न त हतियार नै । त्यसो हो भने प्रहरीले भने झै तपाईहरुको कुरा हावादारी मात्रै हो नि, हैन र ?
राज्य पक्ष र विद्रोही पक्षमा जहिले पनि दुई फाटो हुन्छ । हामीले उनीहरुलाई र उनीहरुले हामीहरुलाई कमजोर ठान्नु स्वभाविकै हो । तिनीहरुले हामीलाई शक्तिशाली भन्यो भने तिनीहरुको जागिरै जान सक्छ । हिजो माओवादीको जनयूद्धकालमा पनि नेपाल प्रहरी सशस्त्र प्रहरी माओवादीसँग हारेकै हुन । हिजो मधेस आन्दोलनका क्रममा हामी माथि हदैसम्मको बल प्रयोग गरेकै हुन तर हामी र हाम्रो संगठन कमजोर हुन सकेन । कतिपय हाम्रा क्रान्तिकारी साथीहरुलाई उनीहरुले शहिद बनाए ।
प्रहरी कै भनाईलाई पनि मान्ने हो भने तपाईहरु राजनीतिक आवरणमा अपराध गर्ने विसुद्ध अपराधिक संगठन वा गिरोह हो ।
होइन, नेपाल सरकारको लोगो चाहिएन हामीलाई । राज्यले हामीलाई राजनीतिक चरित्र भन्दैमा हामी राजनीतिक हुने र नहुने, तिनीहरुले हामीलाई चोर,डाँका, फटहा भन्दैमा हुने होइन नि । जतिबेला हामीलाई नेपाल सरकारले बार्तामा बोलाएको थियो त्यतिबेला हामी राजनीतिक थियौं र अहिले अपराधिक चरित्रको भयौं ? वार्तामा आएकै बेला हामीले जनकपुर, राजविराज, सिरहा,विराटनगर लगायत १५ वटा जिल्लामा संगठन निर्माण गर्दै कार्यालय खोल्यौं, ठाउँ ठाउँमा आम सभा गरेर हामीसँग जनता छन भनेर देखाएकै हो नि ! त्यहाँ हामीलाई हजारौं जनताले फुलमाला लगाएर स्वागत गरेकै हो र आउने दिनमा पनि ठुलो संख्यामा रहेको मुक्तिकामी जनता हामीहरु सित छ भनेर देखाउने छौं ।
मुक्तिकामी जनताकै अधिकारका लागि बन्दुक होइन व्यालेट बोकेर संविधानसभाको चुनावमा जानु पथर््यो । आखिरकार १० वर्षे जनयूद्ध लडेका माओवादी पनि व्यालेटमै आए, होइन ?
बन्दुकले संविधान नआउने कुरा हामी पनि स्वीकार गछौं तर मधेसको मुद्दामा जवसम्म राज्य पक्षबाट उचित सम्बोधन हुँदैन तव सम्म व्यालेटमा आउने कुरै भएन ।
मधेसका नेताहरु मधेसी मुद्दाको संवैधानिक सुनिश्चितताका लागि संविधानसभामा सहभागी हुनु के त्यसो भए गलत हो ? मधेसी जनतालाई आवश्यक रहेको संविधानसभाको चुनाव विथोलेर तपाईहरु मधेसी जनताको पक्षमा नभएर प्रतिगामी शक्तिको पक्षमा सहयोग पु¥याइरहनु भएको त छैन भन्ने आशंका पनि गर्न सकिन्छ नि, होइन र ?
तपाईहरु मधेसी नेताहरु भनेर कसलाई भनिरहनु भएको छ । विगतमा मधेस आन्दोलन पछि मधेसी जनतालाई यिनीहरुले धोका नै दिएका हुन । तर यिनीहरुले संविधानसभाबाट मधेसी जनताको पक्षमा संविधान दिलाउन सकेनन । यिनीहरु अइसमौज तथा आर्थिक संञ्चिती गर्नू बाहेक के गरे ?मधेसको मुक्तिको लागि यिनीहरुले एउटा पनि काम गरेको छ ?
तपाई सशस्त्र समुहहरु पनि त एकिकृत हुनु हुन्न नि ?
अहिले जम्मा जम्मी ४(५ वटा सशस्त्र समुहहरु छन मधेसमा तर मधेसमा खुल्ला संगठन त ४० भन्दा वढी छन । खोई यिनीहरु एकिकृत भएका ? छोरा छोरीलाई विदेशमा पढाउने, आर्जित पैसा विदेशमा जम्मा गर्ने वाहेक मधेसी जनताका लागि के नै गरे यिनीहरुले ? अर्बौ रुपैयाँ खर्च गरेर दुई वर्षको साटो चार वर्षमा पनि खोई त संविधान दिएको ? मधेसका मुद्दामा यिनीहरु सम्झौता पनि गर्दैनन र मधेसका पक्षमा यिनीहरु संविधान पनि दिन सक्दैन यो ठोकुवा कुरा हो ।
संविधानसभाबाट संविधान नआई कहाँबाट आउने हो ? के हो विकल्प ?
विकल्प भनेको जनविद्रोह हो । संविधानसभा होइन गोलमेच सम्मेलन हाम्रो एउटै माँग हो । खुल्ला पार्टी र सशस्त्र संगठनहरु सम्मिलित गोलमेच सम्मेलन होस । राज्य पक्षबाट मधेसको सम्बोधन होस ।
राज्यले तपाईहरुलाई अपराधिक संगठन मानेका छन नि ?
राज्यले मान्दैमा के फरक पर्छ र । हामीलाई राजनीतिक संगठनको रुपमा अन्तराष्ट्रिय निकायले हेरिराखेका छन ।
सशस्त्र समुहमै पनि अलग देश हुनुपर्छ र स्वायत मधेस प्रदेश हुनुपर्छ भन्ने दुई धार देखिएका छन । तपाईहरुमा पनि त एक मत छैन नि ?
लोकतन्त्रमा सबैको आ–आफ्नो विचारहरु हुन्छन ।
बिचारको राजनीति गर्न मुलधारमा आउनु पर्यो नि ?
त्यसको लागि राज्यले पो पहल गर्नुपर्छ । हाम्रो मुद्दालाई सम्मानजनक सम्बोधन गर्ने प्रतिबद्धता आउनु पर्यो । हामीले आफ्नो मुद्दालाई संयुक्त राष्टूसंघमा पनि पठाइसकेका छौं । निकट भविष्यमै मधेसको मुद्दामा संयूक्त राष्टूसंघले हस्तक्षेप गर्ने छ । नेपाल सरकारले मधेसको मुद्दालाई सम्बोधन गरेन भने संयुक्त राष्टूसंघलाई हस्तक्षेप गर्न हामी विवस पाछौं ।
जनयूद्ध गरेको माओवादीलाई मुलधारमा ल्याउन त संयूक्त राष्ट्रसंघको आवश्यकता परेन भने तपाईहरुलाई किन आवश्यक परेको हो ?
माओवादीको जनयूद्ध कुनै एउटा व्यक्ति र शासन सत्ताको विरुद्धमा थियो र हाम्रो लडाई स्वतन्त्रताको हो । हाम्रो मुद्दा भनेको मधेस एउटा राष्ट्र हो जसको ऐतिहासिक, सैद्धान्तिक, सांस्कृतिक, भाषिक, धार्मिक र भौगोलिक आधार पनि छ ।
नेपालको नक्सा भित्र वा बाहिर ?
नेपाल भन्दा पुरानो इतिहास रहेको मधेस स्वतन्त्र राष्ट्र हुनुपर्छ । नेपालको जन्म २०० वर्ष अघि भएको हो भने मधेसको जन्म १००० वर्ष पुरानो हो ।
मंसिर ४ मा चुनाव भईहाल्यो भने के गर्नु हुन्छ ?
संविधानसभाको चुनाव मंसिर ४ गते कुनै पनि हालतमा हुँदैन । उम्मेदवारी दर्ता भएपनि तपाई नै विचार गर्नूस जुन राजनीतिक दलले चुनावको हावा फैलाइराखेको छ , तिनीहरुकै कतिपय केन्द्रिय नेताहरुको मतदाता नामावलीमा नाउँ छैन । किनभने तिनीहरु नै चुनाव प्रति विस्वस्त छैनन । मधेसलाई तिब्बतीकरण गर्ने गुरु योजनाको तहत यो सबै कुरा भईराखेको छ । शासकलाई मधेस मात्र चाहिएको छ, मधेसी जनता होइन । यदि कुनै कारण वस वलजफ्ती चुनाव भई नै हाल्यो भने पनि यिनीहरुले संविधानसभाबाट संविधान लेख्दैन । त्यो ठोकुवा ग्यारेन्टेड कुरा हो ।
तपाईहरु संग  मधेसवादी नेताहरु किन कन्भीन्स हुन सकेका छैनन ?
मधेसी नेताहरु मधेस र मधेसी जनता प्रति समर्पित छैनन ।
उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो र विजय गच्छदार जस्ता नेताहरुलाई मधेसी जनताले त मधेसको मसिहा कै संज्ञा त दिएकै हो नि ? 
ती नेताहरु भनेको शासक वर्ग र वैदेशिक शक्ति केन्द्रहरुबाट आयातित , प्रायोजित र संचालित व्यक्ति हुन । तिनीहरु आफ्नो व्यक्तिगत पहिचान र स्वार्थ पुर्तिका लागि मात्र मधेसको मुद्दा उठाएका हुन । तिनीहरुमा क्रान्तिकारी चरित्र छैनन । मधेसी जनतालाई दिग्भ्रमित गर्ने लक्ष्य भन्दा अरु केही छैन ।
अन्तिममा भन्नुस, सशस्त्र समुहहरुले अव के गर्छन ?
अब हामी सशस्त्र समुहहरु घोषित रुपमा पनि कार्यगत एकता गरेर जादैछौं । अहिले पनि अघोषित रुपमा कार्यगत एकता छदैछ । यति मात्र होइन विभिन्न क्रान्तिकारी र राजनीतिक शक्तिहरु बीच एकिकरण पनि हुन सक्छ । हामी चुनाव विरोधी शक्तिहरु एक ढिक्का भएर विद्रोहको योजना बनाईराखेका छौ । मधेसमा ठुलै घटना हुनेछ । जसलाई मुक्तिकामी जनताहरुको समर्थन छ । मंसिर ४ गते हुने भनिएको कथित संविधानसभाको चुनाव र राजनीतिक दल तथा केही उम्मेदवार,नेपाल सेना र सुरक्षा निकायलाई लक्षित गरेर हाम्रो कारवाहीको गतिविधि अगाडी वढने छ । निकट भविष्यमै हामी सम्पुर्ण सशस्त्र समुहहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कार्यगत एकता गर्दै ठुलै अन्जामलाई परिणाम दिने छौं । जसरी पनि संविधानसभाको चुनाव विथोलेरै छाड्छौं ।

मिति ः २०७०÷०६÷२०

No comments:

Post a Comment