Monday, October 7, 2013

सत्य, धर्म र शक्तिको प्रतीक –दशै




जिवेश झा
नेपाल (लगायत हिन्दु समाज) मा आजभोली दशैको सरगर्मी चढेको छ । रावण(वध र दुर्गा पूजनका साथै विजयादशमीको रौनक हरेक घरमा सजिएको छ । दशै बच्चाहरुका लागि मेला घुम्ने पर्व हो भने रामलीलाको रौनकताले बुजुर्गलाई आकर्षित गर्छ । असत्य र पाप जति बलवान भए पनि अंत्यमा सर्वदा जीत सत्यकै हुन्छ, भन्ने शुक्तिको प्रतिक दशै हो । हिन्दु दर्शनलगायत मनुस्मृतिका अनुसार संसारमा कहि पनि असत्य र पापको साम्राज्य दिर्घायु हुँदैन, र यसको जीवनचक्र अल्पकालिन नै हुन्छ ।
दशांै दिन बिजयादशमी – यसै दिन भगवान रामले रावण बध गरेका थिए । उक्त दिनलाई असत्य माथि सत्यको विजयको रुपमा मनाईन्छ । त्यसैले यस दशमीको दिनलाई विजयादशमीको नामले जानिन्छ । दशहरा वर्षका तीन अत्यन्त शुभ तिथिहरु मध्ये एक हो, अन्य दुई –चैत्र शुक्ल एवं कार्तिक शुक्ल प्रतिपदा हो । बिजया दशमी कै दिन कुनै पनि शुभ कार्य प्रारम्भ गर्नु औचित्यपुर्ण मानिन्छ । प्राचिन कालमा राजा–महाराजाहरुले यहि दिनमा विजयको प्रार्थना गरि रणभुमी – यात्राका लागि प्रस्थान गर्दथे र वर्ष भरि कै लागि बिजयादशमीको पूजन फलदायी हुन्थ्यो । दशहरा पर्वले दश प्रकारका पापहरु –“काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी” लाई परित्याग गर्न सदप्रेरणा प्रदान गर्दछ ।
रामलीलाको आयोजन
दशहरा भन्दा दस दिन पुर्वदेखि नै हिन्दु समाजमा रामलीलाका आयोजन शुरु हुन्छन, जसमा प्रभु रामको जीवन वर्णन गरिन्छ र बिजयादशमीको दिन रावणको संहार (बध) गरी विजयोत्सव मनाईन्छ । यहि दिन विभिन्न ठाउँमा रावण, कुम्भकर्ण तथा मेघनाथका ठुल–ठुला पुतलाहरु उभ्याईन्छन र साँझ श्रीराम आफ्ना युवक सेनालाई साथमा लिएर रावण बध गर्छन । राबण बधको समय तमाम आयु, वर्ग, सम्प्रदायका लागि आकर्षणको केन्द्र हुन्छ । राम–रावण युद्धको प्रमुख कारक तत्व थिए –रावणद्धारा गरिएको सीता अपहरण एवं उनको बढदो अत्याचार । बिजयादशमीले तमाम मानव प्राणीमा एक अदभुत पुरुषोत्तम बन्न शक्ति प्रदान गर्छ र अत्याचार विरुद्ध लडने शक्ति बढाउँछ । दुर्गा पुजा हिजो पनि जनकपुरमा शक्ति पुजाको रुपमा प्रचलित थिए र आज पनि । आफ्नो सांस्कृतिक विरासतका लागि प्रसिद्ध मिथिलाको राजधानी जनकपुरमा दशहराको अर्थ हो दुर्गा पूजा । मिथिलाबासी यस पाली दसैको आठै दिन पुजा–अर्चनामा व्यस्त छन । दशैमा चार दिन क्रमशः सप्तमी, अष्टमी, नवमी र दसमीको खाश महत्व हुन्छ । मिथिलामा झिझियाको पनि खाश महत्व छ दशैमा । झिझियाको प्रकाश झै सत्यको प्रकाश पनि गली–गलीमा फैलियोस भन्ने चाहना हरेक मिथिलानीमा हुन्छ । माता दुर्गाका ठुल(ठुला प्रतिमाहरु बनाईन्छन, र माता दुर्गालाई राक्षस महिषासुर वध गरि रहेको रुपमा देखाईन्छ ।
देशका बाँकी शहरमा पनि दशहराको रमझम हेर्न मिल्छ । सदाझै यस बर्ष पनि दशैले हाम्रा तमाम आशा र उत्साहलाई पुरा गरुन । दशहरा पर्वले तपाईको जीवनमा पापको अंत्य र समाजमा नयाँ उर्जा र उत्साह थपुन भन्ने कामना गर्न चाहन्छु । समग्र हिन्दु समुदायलाई बिजयादशमीको हार्दिक मङगलमय शुभकामना ।

मिति ः २०७०÷०६÷२०

No comments:

Post a Comment