Tuesday, September 24, 2013

इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला प्रशासन कार्यालय धनुषाले अगामी संविधानसभा निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वताबरणमा सम्पन्न गर्नका लागि इजाजत प्राप्त हातहतियारहरु एक हप्ता भित्र बुझाउन सर्वसधारणमा आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले १ असोजमा  एक सूचना जारी गरी आगामी मंसीर ४ गते हुन लागेको संविधानसभाको निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखाजाना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुसंग रहेको इजाजत प्राप्त हातहतियारहरु आफूलाई पायक पर्ने स्थानिय प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउनको लागि सर्वसधारणसंग आग्रह गरेको छ ।
असोज ६ गते भित्र हातहतियार बुझाउनुपर्ने सूचनामा जनाइएको छ । सूचनाको अटेर गरी हथियार नबुझाएमा तथा पछि फेला परेको खण्डमा त्यस्ता व्यक्तिलाई कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय महोत्तरीका साथै सर्लाहीले पनि जिल्लाबासिलाई आफुहरुसँग भएको ईजाजत प्राप्त हातहतियार असोज ६ गतेभित्र स्थानिय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार बुझाउन आग्रह गरिएको कार्यालयले जनाएको छ । हातहतियार तथा खरखजनाको दफा ८ बमोजिम हातहतियार संकलन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो । प्राप्त हुन आएका हातहतियारहरू निर्वाचन परिणाम घोषणा भएको १५ दिनभित्र सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने उल्लेख गरिएको छ । हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम प्रशासनले सूचना जारी गर्दै तोकिएको समयभित्र अनिवार्यरूपमा हतियार बुझाउन भनेको छ । शनिवार समाचार तयार गर्दा सम्म कति हतियार बुझाइयो भन्ने सबालमा प्रजिअ मैनाली भन्छन,“ पायक पर्ने प्रहरी चौकीहरुमा बुझाउन भनिएको छ, अहिलेसम्म हामीले पुरा रेकर्ड पाएका छैनौं ।” धनुषामा करिब २ सय जति इजाजत प्राप्त हतियार रहेको बताइएको छ ।
उक्त ऐनले निर्वाचनका लागि उम्मेदवारको दरखास्त दिने मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको सात दिनसम्मको अवधिभर सुरक्षासम्बन्धी सरकारी कर्मचारीबाहेक अरू कसैले निर्वाचन क्षेत्रमा लाइसेन्स लिएका हतियारसमेत लिएर हिड्न नहुने व्यवस्था गरेको छ ।
हुन त यस अघि पनि नेपाल सरकारले विभिन्न मितिमा स्थानिय व्यक्तिहरुले राखेको अवैध हातहतियार बुझाउन २०६९ सालमा सार्वजनिक गरिएको सूचना अन्तरगत धनुषामा १ नाल नलकटुवा, महोत्तरीमा १ नाल भरुवा, सर्लाहीमा १ नाल भरुवा, सिन्धुलीमा ११३ नाल भरुवा, रामेछापमा ४१ नाल भरुवा, दोलखामा ११३ नाल भरुवा बुझाएपछि जनकपुर अञ्चल प्रहरी कार्यालयले ३० साउन २०७० मा मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडामा बुझाएको थियो । धनुषा ,महोत्तरी र सर्लाहीमा अवैध हातहतियारको बिगविगी रहेपनि हतियार बुझाइएनन ।
पछिल्लो ४ वर्षको तथ्याङक अनुसार धनुषामा १ सय १६ थान अवैध हतियार र १ सय ४८ जना व्यक्ति पक्राउ परेका छन । त्यसै गरी महोत्तरीमा अवैध हतियार ३८ थान अवैध हतियार र  ६७ जना व्यक्ति, सर्लाहीमा ६१ थान अवैध हतियार १ सय जना व्यक्ति पक्राउ परेको जनकपुर अञ्चल प्रहरी कार्यालयको तथ्याङक छ ।



 मिति ः २०७०÷६÷६

No comments:

Post a Comment