Tuesday, September 24, 2013

पुनर्जिवन माग्दै नेपालको एकमात्र रेल्वे



पुरन साह (रौनियार)

छिमेकी मुलुक भारत रेल्वेसेवाकै कारण दिनानुदिन आर्थिक उन्नती गरिरहेको परिपेक्षमा नेपालमा नौ दशक लामो इतिहास बोकेको देशको एक मात्र जनकपुर–जयनगर एउटा मात्र रेल्वे सेवा धरापमा पर्नु लज्जास्पद हो । सरकारी पक्षको उदासीनता तथा अध्यक्ष एवं महाप्रबन्धक चयनमा हुने चरम राजनीतिकरणका कारण जनकपुर रेल्वेको अवस्था निरन्तर खस्कँदै गएको हो । 

जनकपुर–जयनगर रेल्वे दगुरिन्छ भन्दा हाँसो उठछ । त्यो त घिस्रने रेल पो हो त ! यहाँको मान्छेले नेपाल रेल्बेको वारेमा बोल्ने शब्द हुन यि । नेपालको एकमात्र एतिहाँसिक धरोहर नेपाल रेल्वे पुर्नजिवनको खोजिमा छ । सरकारले विभिन्न रोगले ग्रसित रेल्वेको न उपचार गर्न सकेको छ न त त्यसै छाड्न सकेको छ । धुकधुकी चलेको छ, अंग क्रियाशील छैन । मुलुककै एक मात्र रेल्वे सेवा जनकपुर(जयनगर रेल्वे) न चल्न सकेको छ न त बन्द नै भएको छ । चार वटै इन्जिन कामै नलाग्ने गरी बिग्रेका छन् । यात्रु वाहक डिब्बाको छाना चुहिन्छ । रेल टूयाक जर्जर छ । दिनको तिन चार पटक ओहोर दोहोर गर्ने रेल भरसक चल्दै चल्दैन । चलिहाले पनि दुई घन्टाको बाटो दुई दिन लगाएर हिँड्छ ।
नौ दशक लामो इतिहास बोकेको देशको एक मात्र जनकपुर(जयनगर रेल्वे सेवाको अवस्था दिनानुदिन बिग्रिँदै गएको छ । राज्यको उदासीनता, कर्मचारीको गुटबन्दी तथा राजनीतिक दलहरूको कार्यकर्ता पाल्ने थलोको रूपमा परिणत रेल सेवा वर्तमान अवस्थामा पुगेको हो । केहिदिन अघिमात्र जयनगरबाट जनकपुर तर्फ आइरहेको रेल महुवा गाउँ नजिक पछाडीको तीन वटा डब्बा लिकबाट झरेर दुर्घटनामा परेको थियो । धेरै पुरानो भएर जर्जर अवस्थामा पुगेको लिकबाट महुवा मोडमा मालसमान लोड भएको रेलका डब्बा चिप्लेर तल झरेको घटना लगत्तै पुगेको प्रहरीले जनाएको थियो ।
प्रत्येक हप्तामा दुई–तीन पटक समान्य दुर्घटनामा पर्ने यो रेलसेवा भरपर्दो यात्रा बन्न सकिरहेको छैन । अन्य इन्जिनहरु बिग्रेर पछिल्लो एक वर्षदेखि दैनिक एउटा रेल मात्र सञ्चालन भइरहेको अवस्थामा यो दुर्घटनाले रेल्वे सेवा प्रभावित हुँदा पुर्वी धनुषाको आवतजावत ठप्प भएको छ । धनुषाको पुर्वी(दक्षिणी क्षेत्रका दुई दर्जन भन्दा बढी गाविस र भारत विहारको जयनगरलाई सदरमुकाम जनकपुर जोडने एकमात्र यातायातको साधन रेलसेवा हो । औसत रूपमा वाषिर्क दुई सयभन्दा बढीपटक रेलको लिक तल झर्ने र बोगी तथा इन्जिनको समयमा मर्मतसम्भार नहँुदा रेल जीर्ण अवस्थाबाट गुज्रिरहेको छ । सुरुमा ५२ किलोमिटरसम्म सञ्चालन भएको रेल ०५८ मा महोत्तरीको बिग्ही नदीको पुल बाढीले भत्काएपछि २९ किलोमिटरमा सीमित भएको छ ।
दुरी घटे पनि कर्मचारीको संख्या नघटाएका कारण नेपाल रेल्वेलाई थप आर्थिक भार परेको हो । कर्मचारीको भारी बोकेको रेल्वेमा दक्ष कर्मचारी भने न्यून संख्यामा मात्र भएको एक कर्मचारीले बताए । ती कर्मचारीले भने, सयजना कर्मचारी पर्याप्त हुन्छ । तर, रोगी रेलले एक सय ७० जना कर्मचारीलाई पालनपोषण गर्नु परेको छ । रेल्वेमा मासिक कर्मचारीको तलबमा मात्र करिब १७ लाख रुपैयाँ खर्च हुने गरेको लेखामा रेकर्ड छ । महाप्रबन्धकको नियुक्ति राजनीतिक भागबन्डाको हिसाबले हुन थालेपछि उनीहरूले रेल्वेको विकास तथा मर्मतसम्भारभन्दा आफ्नो स्वार्थ र कार्यकर्ता पालनमा ध्यान दिए । राजनितिक खिचातानिका कारण प्रायः ३ र ४ महिनामै महाप्रबन्धक परिवर्तन हुने गरेकाले कसैले पनि राम्रो काम गर्न नसकेको कर्मचारी बताउँछन ।
रेल घटामा जानुको अर्को कारण डिजेललगायत पेटूोलियम पदार्थको मुल्य पटक÷पटक बढनु तर भाडादर वृद्धि नहुनु पनि एक हो । १ असोज ०६५ मा वृद्धि भएको भाडादर हालसम्म पनि कायम रहेको देखिन्छ । कर्मचारीका अनुसार सञ्चालन समिति नै नभएका कारण भाडादर बढाउन नसकिएको हो । दैनिक चारपटक जनकपुर(जयनगर ओहोरदोहोर गर्ने रेलका इन्जिन बिग्रिएपछि  एकपटक मात्र जाने÷आउने गर्छ । इन्जिनको पार्टपुर्जा भारतको कोलकातास्थित एक कम्पनीमै गएर अडर दिनुपर्ने हुनाले समयमा मर्मत गर्न गाह्रो हुनेगरेको प्राविधिकहरु बताउछन् । रेलको आवत÷जावत घटेपछि आय पनि घटनु स्वभाविक हो ।
सरकारले पूर्व÷पश्चिम र मध्य क्षेत्रलाई रेलमार्गले जोड्ने आयोजनालाई राष्टिूय प्राथमिकतामा राखेर काम गर्दै छ । तर दुई देशको सेतु बन्दै ७६ वर्षदेखि सञ्चालनमा रहेको यो रेल्वे परियोजनालाई भने दशकौंदेखि सरकारले बेवास्ता गर्दै आएको छ । भारत सरकारको सहयोगमा निर्माण हुने भनिएको जयनगर(जनकपुर(बिजुलपुरा(बर्दीवास ब्रोडगेजको निर्माण कार्य सुरु हुन सकेको छैन । कार्यरत कर्मचारीले समयमा तलब पाएका छैनन । कर्मचारीहरूबीचको चरम गुटबन्दी तथा राजनीतिकरणका कारण योग्य व्यवस्थाकहरूलाई काम गर्ने वातावरण छैन ।
नेपाल रेल्वेको इतिहाँस
१९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट साँखुको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सम्म सञ्चालनमा रहेको थियो । तर २०५९ मा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटर मा सीमित हुन पुगेको छ । जनकपुर(जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे औपचारिक रूपमा अचेल एक सेवामा सीमित भएको छ । त्यो पनि नियमित भने छैन । सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल २०१८ देखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो । पछि ०५१ मा भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको हो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ मा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो । पछि २०२५ मा सरकारले यसको नाम  जनकपुर(जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । ०६१ मा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्टूारको कार्यालयमा दर्ता गरिपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ । श्रम तथा यतायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई  भौतिक योजना निर्माण तथा यतायात मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।
जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू शीर्षकमा सरकारलाई रिपोर्ट बुझाएको थियो । जसमा ७५ प्रतिशत रेल्वे स्लिपर जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेसनको व्यवस्था नभएकाले सूचना आदान प्रदान गर्न कठिनाई हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो । समयमै मर्मत सम्भार नगरिए यात्रु तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि उक्त प्रतिवेदनमा दिइएको थियो । रेल्वे व्यवस्थापनले सरकारलाई लिखित रूपमा बुझाएका यी सुझाव सरकारले  थन्क्याएर राखेको छ । हालसम्म सुधारको कुनै चासो देखाएको छैन । यात्रुहरू जोखिमपूर्ण यात्रा तथा माल सामान ढुवानी गर्न बाध्य छन्न ।
सरकारी पक्षको उदासीनता तथा अध्यक्ष एवं महाप्रबन्धक चयनमा हुने चरम राजनीतिकरणका कारण जनकपुर रेल्वेको अवस्था निरन्तर खस्कँदै गएको बुझाई स्थानीयवासीको छ । रेल्वे जस्तो प्राविधिक निकायमा विषयवस्तु बुझ्ने प्राविधिकलाई नियुक्ति गर्नुपर्नेमा राजनितिक दलका कार्यक्रता भर्तीहुनु नै वर्तमान समस्याको जडो भएको जनकपुर(१ का युवा समाजसेवी कमलेश मण्डल बताउछन् । भारतले जयनगरदेखि बर्दीवाससम्म ६९ किलोमिटरमा ब्रोडगेज निर्माण गर्न आर्थिक सहयोग गर्ने नीतिगत सहमति गरिसकेको छ । यो टूयाक र विराटनगर(जोगबनीको २२ किलोमिटर ब्रोडगेज निर्माण गर्न भारत सरकारले झन्डै ११ अर्ब रुपैयाँ सहयोग गर्ने योजना छ । सहमति अनुसार नेपालले जग्गा उपलब्ध गराउने तथा भारतले रेल टूयाक, पुल लगायत अन्य पूर्वाधार निर्माण गर्ने छ तर उक्त निर्माण कार्य हालसम्म सुरु हुन सकेको छैन ।
सरकारको त्यो योजनामा कुल ६९ किलोमिटर रेल टूयाकमध्ये ३ किलोमिटर भारतीय भूमिमा पर्छ । जहाँ जग्गा अधिग्रहणसँगै माटो सम्याउनेलगायत कार्य भइसकेको छ । नेपाली भूमिमा भने कुनै काम हुन सकेको छैन । भारत सरकारले यसअघि पटक÷पटक टेन्डर गरिसकेको छ तर हालसम्म कुनै ठेकेदारले नेपालमा काम गर्न मानेका छैनन । सरकारले जनकपुर रेल्वेको प्रशासनिक स्वरूपमा जतिसुकै परिवर्तन गरे पनि सेवा विस्तार तथा विश्वासिलो हुन सकेको छैन ।
रेल्वेले धानेको जीवन
नेपाल रेल्वेले यस क्षेत्रको व्यापारमा ठूलो योगदान दिएको छ । व्यापारीहरुका लागि भारतीय बजार जयनगरबाट जनकपुर सामान ल्याउन सबैभन्दा सुविधाजनक बाटो रेलमार्ग नै हो । महिनामा करोडौँ मूल्यबराबरको सामान रेलमार्फत ढुवानी हुने गरेको छ । धनुषा भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने गरेको भन्सारकै तथ्याङ्कमा उल्लेख छ ।
जनकपुरदेखि जयनगरसम्म रेल्वे लिकको छेउमा तथा होटेलमा हजारौँले पसल खोलेका छन । रेलमार्फत भारतीय बजारबाट सामान ल्याउने दलालको पनि रोजीरोटी रेल्वेसँगै जोडिएको छ ।
जनकपुरमा मात्र दुई दर्जनभन्दा बढी दलालले रेलमार्गको प्रयोग गरी भारतीय बजारबाट नेपाली व्यापारीलाई सामान उपलब्ध गराउँदै आएका छन् । जनकपुरको रेल्वे स्टेशनमा मात्र दर्जनौ किराना पसल, फलफुल पसल सहितका व्यवसायी रेल्वे तथा त्यसमा यात्रा गर्ने यात्रुकै भरपर्छ । देशको अर्थतन्त्र, दैनिक हजारौको रोजिरोटी र सैयौं कर्मचारीको भविष्य सहित जनकपुर र नेपालकै प्रतिष्ठा संग जोडीएको नेपाल रेल्वे समाप्त भए देशको प्रतिष्ठामा आँच आउने बुद्धिजिविको भनाई छ । छिमेकी मुलुक भारत रेल्वेसेवाकै कारण दिनानुदिन आर्थिक उन्नती गरिरहेको परिपेक्षमा नेपालमा एउटा मात्र रेल्वे सेवा धरापमा पर्नु लज्जास्पद रहेको उनीहरु टिप्पणी गर्छन्  ।


मिति ः २०७०÷६÷६

No comments:

Post a Comment