Tuesday, August 1, 2017

अञ्चल अस्पतालको भद्रगोल ‘डेन्टल विभाग’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
६ अषाढ २०७४ मा जनकपुरका २५ बर्षिय आशिष साहलाई दाँतमा समस्या भएपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुगे । ओपिडीमा अस्पतालका चिकित्सक डा.अजय साहले केही औषधि लेखे । पछाडीका पाँचौ र छैठौं दाँतमा आरसिटी गर्नुपर्छ भनेर प्रेस्क्राईब पनि गरे । डा.साहले विरामी साहलाई दाँतलाई निकाल्ने वा दाँतलाई बचाउने भन्ने दुईवटा विकल्प सुझाए । दाँत जोगाउने भनेर विरामी साहले जवाफ दिए । पछाडी दाँतको आरसिटी उपचार यहाँ हुँदैन, अगाडीको दाँतको उपचार मात्र हुन्छ त्यसकारण बाहिर कतै निजी क्लिनिक वा अस्पतालमा जान भनेर डा.साहले सुझाव दिए ।
त्यसपछि ८ अषाढ २०७४ मा जनकपुर डेन्टल केयर सेन्टर प्रा.लि.मा गएर डा.कपिलदेव यादवसँग उनले उपचार गराए । आरसिटी गरियो । जम्मा खर्च १२ हजार उनले प्राईभेट क्लिनिकमा बुझाउनु पर्यो । यदि त्यो उपचार सरकारी अस्पतालको रुपमा अञ्चल अस्पतालमा भएको भए २ हजार देखि बढीमा ४ हजार रुपैयाँ सम्म खर्च लाग्थ्यो । तर, चिकित्सक भएपनि उक्त सेवा अञ्चल अस्पतालले नदिएपछि बाहिर महँगो उपचार गर्न विरामीहरु बाध्य छन् ।
दाँतको समस्या लिएर आउने विरामीलाई झुलाउने गरिएको छ । उदाहरणको लागि दाँतमा सामान्य किरा लागेको विरामी अञ्चल अस्पतालमा पुग्दा ४÷५ दिनको लागि औषधि लेखेर पठाईन्छ । त्यसपछि फेरी आउँदा एक्सरे गर्न भनिन्छ । एक्सरे गरेको भोली पल्ट दाँत उखेल्ने कि बचाउने भनेर विकल्प दिने गरिन्छ । यदि अगाडीको दाँतमा आरसिटी गर्ने परिस्थिति छ भने आरसिटी गरिदिन्छन् । यदि जडा देखि नै काम नलाग्ने दाँत भएपछि २÷३ किसिमको जाँच लेखेर अर्को दिन रिपोर्ट सहित आएपछि दाँत निकाल्ने निष्कर्षमा चिकित्सक पुग्छन् । तेस्रो दिनमा गएर मात्र दाँत जडा देखि निकाल्ने काम गर्छन । यति समय यस कारण लगाईन्छ कि विरामी दिक्क भएर बाहिर निजी क्लिनिकमा उपचार गरोस् ।
यदि पछाडीको दाँतको आरसिटीको केश छ भने यहाँ हुँदैन बाहिर कुनै क्लिनिकमा जान भन्छन । उपचारको क्रममा कोही डाक्टर नभएको अवस्थामा आफ्नै क्लिनिकमा आउन भन्छन् । र, निजी क्लिनिकमा त्यही डाक्टरले पछाडीको दाँतमा आरसिटी पनि गर्छन् । जबकी अञ्चल अस्पतालमा त्यही डाक्टरले त्यो सेवा प्रदान गर्दैन ।
जनकपुर अञ्चल अस्पतालको डेन्टल डिपार्टमेन्टमा पाँच जना चिकित्सकहरु कार्यरत छन् । डेन्टल सर्जनको रुपमा १८÷२० बर्ष देखि कार्यरत सबैभन्दा पुरानो चिकित्सक डा.शशिकुमार ठाकुर, अस्पताल विकास समितिको तर्फबाट ज्यालादारीमा डेन्टल सर्जन डा.कुन्दन मिश्रा, भोलन्टियरको रुपमा डेन्टल सर्जन डा.अजय कुमार साह कार्यरत छन् । डा.निमु यादव अनधिकृत रुपमा कार्यरत छन् । स्वास्थ्य मन्त्रालयबाट ३ बर्ष अघि करारमा नियूक्त भएका डा. यादवको करार गत पुष २०७३ मा सकियो । तत्कालिन मेडिकल सुप्रिटेन्डेन्ट डा.गौराङ्ग मिश्रको कार्यकालमा उनको करार अवधि मन्त्रालयले थप  गरेन । भोलन्टियरको रुपमा पनि उनलाई राखिएन । तर, अहिले अस्पतालका बहालबाला मेसु डा.रामपरिक्षण यादवले उनलाई विना कुनै नियूक्तिको कागजात अनधिकृत रुपमा खटाएका छन् । विभाग प्रमुख डा.शशि ठाकुर भन्छन्,“ मेसु डाक्टर यादवले डाक्टर निमु यादवलाई काम गरा उभनेर मौखिक आदेश दिएकोले काम गराएको हो । निर्वाचन आचार संहिता लागु रहेका कारण नियूक्ति पत्र दिइएको छैन ।” नवौं तहमा कार्यरत डा.निशा महतोलाई मन्त्रालयले करारमा नियूक्त गरेको थियो । यस अघिको मेसु मिश्रले बरिष्ठताको आधारमा उनलाई विभाग प्रमुखको रुपमा जिम्मेवारी प्रदान गरेको थियो । तर, ५ अषाढ देखि मेसु यादवले उनलाई उक्त जिम्मेवारीबाट मुक्त गरी कनिष्ठ डा.शशि ठाकुरलाई विभाग प्रमुखको जिम्मेवारी प्रदान गरे ।
अञ्चल अस्पतालमा दन्त परीक्षण, दाँत निकाल्ने, दाँत अस्थायी र स्थायी रुपमा भर्ने, दाँत सफ ागर्ने, अगाडीको दाँतमा आरसिटी(दाँत जडादेखि भर्ने) काम भईरहेको छ । तर, पछाडीको दाँतमा आरसिटी सेवा उपलब्ध गराइएको छैन । अस्पतालमा अधिकांश विरामीहरु पछाडीको दाँतमा आरसिटी गराउन आउँछन् । जबकी उक्त सेवा दिनका लागि त्यहाँ कार्यरत डा.निशा महतो विशेषज्ञ नै हुन । तर पनि त्यो सेवा सुरु भएको छैन । जबकी उक्त काम त्यहाँ कार्यरत चिकित्सकहरुले बाहिर आफ्नो निजी क्लिनिक र अस्पतालमा गरिरहेका छन् ।
आरसिटी सम्मको काम विडिएस गरेका चिकित्सकले गर्नुपर्ने काम हो । तर, गर्नुपर्ने काम नगरी दाँतको एक्सरे गर्ने काम चिकित्सकले अञ्चल अस्पतालमा गरिरहेका छन् । डा.कुन्दन मिश्राले त्यो काम गरिरहेका छन् । जबकी उक्त काम एक्सरे टेक्निसियनले गर्नुपर्ने हो । मेजर सर्जरीका लागि नवौ तहका चिकित्सक त्यहाँ छैन ।
जनकपुर अञ्चल अस्पतालमा पान पराग तथा सुर्ती जन्य पदार्थहरु निषेध गरिएको छ । त्यस्तो गरेको पाइएमा ५ सय ५१ रुपैयाँ जरिवाना समेत तोकिएको छ । तर, डेन्टल विभागको विभाग प्रमुख डा.शशि ठाकुर आफै पान पराग र गुटखा खाँदै विरामीहरुलाई उपचार गरिरहेको पाइन्छ । दाँतको उपचार गर्ने चिकित्सकले नै सुर्ती जन्य पदार्थ सेवन गरी उपचार गर्दा विरामीलाई अप्ठयारो समेत महसुस हुने गरेको भएपनि डा.ठाकुरलाई कुनै असर परेको छैन । उपकरणको रुपमा त्यहाँ एउटा मात्र डेन्टल चेयर छ । अर्को डेन्टल चेयर भाँचिएको छ । त्यसलाई मरम्मत गराइएको छैन । जबकी एउटा निजी क्लिनिकमा समेत डाक्टरहरुले दुईवटा डेन्टल चेयर राख्ने गरेका हुन्छन् ।


२०७४ श्रावण ०८ गते आईतबार

No comments:

Post a Comment