Tuesday, August 1, 2017

अञ्चल अस्पतालको इमरजेन्सी कक्ष आफै ‘इमरजेन्सी अवस्थामा’ ४ बर्षमा १४ सय विरामी इमरजेन्सीबाट बाहिर रेफर

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
‘कुनैपनि अस्पतालको मुटु भनेको त्यसको इमरजेन्सी कक्ष हो । इमरजेन्सी कक्षमा भर्ना हुने गरेका रोगीहरु उपचारपछि त्यस अस्पतालको वार्डमा सारिन्छन, वा निको भएर घर फर्किन्छन, वा अन्यत्र अस्पतालमा रेफर गरिन्छन वा मृत्यु भएपछि मसानघाटको यात्रा गर्छन ।’ जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षका एक जना कर्मचारी भन्छन,“ तर, हामी कहाँ आउने प्रायः रोगीहरु वाहिर नै रेफर गरिन्छन् ।” उनको यो भनाईले पनि जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षको दुरावस्था प्रष्ट गर्छ ।
इमरजेन्सीमा भर्ना हुने प्यासेन्टहरुलाई प्राथमिक उपचार गर्ने भन्दा वढी कार्य गर्न एक किसिमले जनकपुर अञ्चल अस्पताल असमर्थ सावित भईसकेको छ । सामान्य अवस्थामा भर्ना हुने रोगीहरुको उपचार हुने गरेपनि गम्भीर अवस्थामा पुगेका रोगीहरु त्यहाँ गएर मृत्युलाई कुर्नु भन्दा आफै अन्य अस्पताललाई रोज्न बाध्य भएका छन् । एक त विशेषज्ञ चिकित्सकहरु नै छैनन्, भएका चिकित्सकहरु पनि अस्पतालमा देखिनुको साटो निजी क्लिनिक र नर्सिङग होममा व्यस्त रहन्छन् । अस्पतालमा भर्ना भएपछि घन्टौं स्लाइनको भरमा कुराइन्छ, विरामीलाई । अनि अनकलमा मात्र आउँछन विशेषज्ञ डाक्टर । त्यो पनि प्यासेन्टले धेरै पावर, सोर्स, पैरवी र पहुँच पु¥यायो भने मात्र ।
यस्तो अवस्थामा विरामीको मृत्यु हुन गएमा आक्रोशित परिवारले चिकित्सकलाई समेत हात पात गर्न बेर लगाउँदैनन् । त्यसैको फाइदा उठाई भर्ना हुने वित्तिकै विरामी पनि आफ्नो ज्यान जोगाउन त्यहाँबाट रेफर चाहन्छन् । र, चिकित्सक पनि जोखिमबाट मुक्त हुन रेफर गरिदिएर ढुक्क हुन चाहन्छन् । यही हो अञ्चल अस्पतालको आकस्मिक कक्षको नियति । उक्त कर्मचारी भन्छन,“कतिपय अवस्थामा यहाँ निको हुने संभावना रहन्छ तर, विरामी पार्टीले नै रेफर मागी रहेका हुन्छन् भने कतिपय हामीबाट नसम्हलिने अवस्थाका पनि हुन्छन् । अनि हामी पनि जोखिम उठाउन चाहँदैनौं र रेफर गरिदिन्छौं ।”
हुन त इमरजेन्सी भवन आफै इमरजेन्सी ग्रस्त छ । अस्तव्यस्त छ । १८ देखि २० वटासम्म बेड राखिएको छ । तर, ती बेडहरुमा बेड सिट भने हुँदैनन् । स्रोत साधनको कुरा गर्ने हो भने कर्मचारी र चिकित्सकलाई बस्नका लागि पर्याप्त कुर्सी समेत उपलब्ध हुँदैनन् भने विरामी र कुरुवाका लागि हुने सुविधा त परै जाओस् । आवश्यक चिकित्सकको संख्यामा पनि कमि छ । त्यसैगरी चिकित्सकले विरामी जाँच्ने उपकरण स्टेथोस्कोप (आलां) र विपी जाँच्ने मेसिन बाहेक इमरजेन्सी कक्षमा अन्य सामग्रीहरु उपलब्ध छैनन् । ती उपकरणहरु पनि कहिले कांही विग्रेकै हुन्छन् । नयाँ सामान किनेर दिँदा पनि गुणस्तर हिन भएका कारण लामो समय टिक्दैनन् । किनभने कमसल उपकरण र सामग्री खरीद गर्दा आपुर्तिकर्ताहरुबाट प्रशासनिक निकायका मान्छेले मोटो रकम कमिशन वापत पाउने गर्छन् ।
अर्को तितो सत्य के हो भने इमरजेन्सीमा पुगेका प्यासेन्टहरुलाई अस्पताल रोडका औषधि पसले, एम्बुलेन्स चालकहरुले समेत तपाईको उपचार यहाँ चिकित्सकले गर्न सक्दैन, बाहिर लग्नुस नत्र भने प्यासेन्ट मर्न पनि सक्छ भनेर तर्साउने गर्छन् ।  तिनीहरुको एम्बुलेन्स रहेका कारण एम्बुलेन्सबाट रुपैयाँ कमाउन र बाहिर पठाउने अस्पतालबाट कमिशन लिन प्यासेन्टलाई भ्रमित गरिरहेका हुन्छन् । यसरी बाहिर पठाउने काममा अस्पतालमा भोलन्टियरका रुपमा काम गर्ने कर्मचारी देखि लिएर थुप्रै दलालहरु सक्रिय हुन्छन् । जनकपुर अञ्चल अस्पताल विकास समितिका पुर्व अध्यक्ष कामेश्वर झा भन्छन,“अस्पतालका कर्मचारीले कमिशनको लागि विरामी पठाउन दलालीको काम गरिरहेको विगतमा प्रमाण फेला पारेर कतिपय दलालहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा समेत जिम्मा लगाईयो । तरपनि त्यहाँ दलाली रोकिएको छैन ।”
जनकपुर अञ्चल अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो ४ बर्षमा कुल १ लाख १ हजार २ सय ४१ जना विरामीहरु आकस्मिक कक्षमा भर्ना भएका छन् । आर्थिक बर्ष २०६९÷०७० मा २४ हजार ७ सय ८६ जना, आर्थिक बर्ष २०७०÷०७१ मा २५ हजार १ सय २ जना, आर्थिक बर्ष २०७१÷०७२ मा २६ हजार २ सय जना  र आर्थिक बर्ष २०७२÷०७३ मा २५ हजार १ सय ५३ जना गरी पछिल्लो ४ बर्षमा १ लाख १ हजार २ सय ४१ जना विरामीहरु भर्ना भएका छन् । जसमध्ये पछिल्लो ४ बर्षमा कुल ६ हजार ९ सय ९ जना बाहिरका अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट रेफर भएर अञ्चल अस्पतालमा आएका छन् भने जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षबाट पछिल्लो ४ बर्षमा कुल १ हजार ३ सय ५६ जना विरामीहरुलाई बाहिर बेटर सेन्टरमा रेफर गरिएको छ ।
आईसियू संचालनमा नभएका कारण बाहिर रेफर
जनकपुर अञ्चल अस्पतालमा पछिल्लो ४ बर्षमा ४ सय ७५ जना विरामीहरुको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो ४ बर्षमा १ हजार ३ सय ५६ जना विरामीहरुलाई बाहिरको अस्पतालमा रेफर गरिएको छ । त्यसको धेरै कारणहरु मध्ये एउटा मुख्य कारण के पनि हो भने अञ्चल अस्पतालमा आईसियू सेवा संचालनमा नआउनु पनि हो । आर्थिक बर्ष २०७२÷०७३ को महालेखा परिक्षकको प्रतिवेदनमा भनिएको छ ‘आईसियू सेवा संचालनका लागि रु.२० लाख ८५ हजार खर्च लेखेतापनि आईसियू सेवा संचालन गरेको देखिएन । आईसियू सेवा संचालन गरी ती उपकरण प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन भईनसकेकाले संचालन हुन नसकेको पाइयो ।’
अचम्म के छ भने अञ्चल अस्पतालमा आईसियू संचालनका लागि करिब ३ बर्ष अघि नै भेन्टिलेटर सहित महँगा उपकरणहरु खरिद गरेर ल्याईयो । केही चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विकास समितिको तर्फबाट करारमा नियूक्ति पनि गरियो । डा.बलराम मिश्र मेसु रहेको कार्यकालमा डा.नितु झा, डा.निरज ठाकुर, डा.सुस्मिता झा लगायत ४ जना मेडिकल अधिकृतहरुलाई करारमा नियूक्त पनि गरियो । तर, पनि आईसियू सेवा संचालनमा आउन सकेन । करारमा भर्ना भएका मेडिकल अधिकृतहरु मध्ये कोही थप अध्ययनका लागि त कोही लोक सेवा आयोग मार्फत अन्य ठाउँमा पदस्थापन भए । अहिले ती दरबन्दी खाली रहेका कारण आईसियू सेवा संचालनमा आउन सकेको छैन । अञ्चल अस्पतालका पुर्व मेसु डा.गौराङ्ग मिश्रले विकास समितिको तर्फबाट आईसियू संचालन गर्नका लागि ५ जना मेडिकल अधिकृत, ९ जना स्टाफ नर्स, ४ जना पारामेडिक्स, ४ जना स्वीपर र १ जना कम्प्यूटर अप्रेटर गरी कुल २३ वटा कर्मचारीहरुको दरबन्दी मध्ये ५ जना मेडिकल अधिकृत र ९ जना स्टाफ नर्सका लागि आवेदन फारम भर्न लगाई अन्तरवार्ता समेत लिईसकेका छन् । ११ पुष २०७३ मा स्वास्थ्य मन्त्रालयको राज्य मन्त्री स्तरीय निर्णय गरि अस्पतालमा विकास समिति अध्यक्ष मनोनयन नभएसम्म भर्ना नगर्नु भनेर निर्णय गरेपछि ती चिकित्सकहरुको नियूक्ति गर्न सकिएको थिएन । तर, अहिले जनकपुर अञ्चल अस्पतालमा अस्पतालका पुर्व मेसु डा.बलराम मिश्र विकास समितिको अध्यक्षका रुपमा मनोनयन भईसकेका छन् । अस्पतालका प्रमुख मेसु डा.रामपरिक्षण यादव भन्छन,“ विगतमा आह्वान गरिएको नियूक्ति प्रक्रिया गैरकानुनी थियो । ३० दिने सुचना हुनुपर्नेमा १५ दिने सूचना जारी गरिएको थियो, कस्तो किसिमको नियूक्ति हुने भन्ने कुरा पनि प्रष्ट थिएन । र, निर्वाचन आचार संहिता लागु भएकै अवधिमा अन्तरवार्ता लिइएको थियो । जसलाई लोक सेवा आयोगले समेत असहमति जनाउने थियो ।” यस अघिका पुर्व मेसु डा.गौराङ्ग मिश्रले आईसियू संचालनका लागि लिएको अन्तरवार्ता गैरकानुनी ढंगले गरेका कारण निर्णयार्थका लागि स्वास्थ्य मन्त्रालयमा पठाईसकिएको भन्दै मेसु यादव भन्छन,“ त्यो निर्णय बदर हुन्छ । रद्द हुन्छ । अब आगामी  ३ महिना भित्र नयाँ प्रक्रिया अपनाएर आईसियूका लागि आवश्यक दरबन्दीको पदपुर्ती गरी आईसियू सेवा संचालनमा ल्याईने छ ।”

२०७४ श्रावण ०८ गते आईतबार

No comments:

Post a Comment