Tuesday, August 1, 2017

जागिर अञ्चल अस्पतालमा, काम निजी प्याथोलोजीमा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

 जनकपुर अञ्चल अस्पतालका प्याथोलोजी विभागका कर्मचारीहरूले निजी प्याथोलोजिहरुमा काम गरेको फेला परेको छ । अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरु झैं जागिर अस्पतालमा भएपनि काम निजी प्याथोलोजीमा उनीहरुले काम गर्छन् । अस्पतालमै काम गर्ने समय अवधिमा उनीहरुले बाहिर काम गर्ने गरेका छन् ।

अञ्चल अस्पतालको प्याथोलोजी विभागका इन्चार्ज मेडिकल ल्याव टेक्नोलोजिष्ट अरुण कुमार मल्लिक, राम विनय साह, रामसुफल यादव, राम उदगार यादव र युगल यादव ल्याव टेक्नोलोजिष्टको रुपमा निजी प्याथोलोजीहरूमा काम गर्छन् । त्यसैगरी मनमोहन मिश्र, अजित तिवारी र दुई जना भोलन्टियर सुन्दरकुमारी र रामउदगारलाई ल्याव असिस्टेन्टको रुपमा नियुक्त गरिएको भएपनि उनीहरुले समेत बाहिर काम गर्छन् । ती कर्मचारीहरुको काम विहान ८ बजे देखि २ बजेसम्म कार्यकाल निर्धारण गरिएको छ ।

बेलुका र रातिको सिफ्टका लागि गुनानन्द साह, सन्तोष ठाकुर, रामउदय यादव, राजिशरण ठाकुर लगायतका ल्याव टेक्निसियनहरु कार्यरत छन् । तर, अञ्चल अस्पतालको प्याथोलोजिमा काम गर्ने ती कर्मचारीहरुको तलब अञ्चल अस्पतालबाट लिने गरेको भएपनि काम भने बाहिरको निजी प्याथोलोजिहरुमा गर्ने गरेका छन् ।

विभाग प्रमुख नै हाजिर गरेर टाप हुने हुँदा अन्य कर्मचारीहरुले बाहिर काम गर्नु स्वभाविक रहेको प्याथोलोजी विभागकै एक कर्मचारीले बताए । ‘सबै सिनियर कर्मचारीहरू विहान आएर हाजिर गर्छन् र टाप कँस्छन्,’ उनले भने, ‘कलेक्सन गरिएको स्याम्पल भोलन्टियर भई काम गर्ने जुनियरहरुले परिक्षण गर्छन् । र, रिपोर्टमा हस्ताक्षर पनि ती जुनियरहरुकै हुन्छ । जुन गैरकानूनी हो ।’

विभाग प्रमुख मल्लिकको ‘मल्लिक प्याथोलोजि’, राम विनय साहको ‘विनय डायग्नोस्टिक सेन्टर’, ल्याव टेक्निशियन ओम यादवको ‘ओम प्याथोलोजि’, राम सुफल यादवको ‘पवन प्याथोलोजि’, सन्तोष ठाकुरको मेडिकल एउटा प्याथोलोजि, गुनानन्द साहको पेठिया रोडमा एउटा निजी प्याथोलोजी सञ्चालनमा छ ।

त्यसैगरी ल्याव असिस्टेन्ट वसन्त मेहताको डा। सुर्यनारायण यादवको क्लिनिक नजिक ‘मेहता ल्याव’ सञ्चालन छ । सबै कर्मचारीहरु अञ्चल अस्पतालको समयमा पनि आफ्नो निजी क्लिनिकमा बस्ने गरेका छन् । प्याथोलोजि विभागका प्रमुख मल्लिक विभिन्न कलेजका नर्सिङ्ग होमहरुमा समेत पढाउने काम गरिरहेका छन् । ती सबै कलेजहरुमा उनको ड्यूटि अञ्चल अस्पतालकै ड्यूटिको समयमा रहने गरेको छ ।

जनकपुर अञ्चल अस्पतालको नियम अनुसार प्याथोलोजि विभागमा काम गर्ने कर्मचारीहरुले विहानको ९ बजेदेखि दिउँसो २ बजे सम्म काम गर्नुपर्ने हो तर, त्यहाँ कार्यरत कर्मचारीहरु १० बजे आउने र हाजिरी गरेर ११ बजे बाहिरीने गरेका छन् । ११ बजे देखि १ बजे सम्म ती कर्मचारीहरु आफ्नै लगानीमा सञ्चालन गरेका निजी प्याथोलोजिहरुमा काम गर्ने गर्छन् । एक बजे अञ्चल अस्पतालमा आएर दुई बजे फेरी बाहिरिन्छन् । यसरी दुई घण्टा पनि अञ्चल अस्पतालमा काम गर्दैनन्, प्याथोलोजिका कर्मचारीहरु । कर्मचारीहरुको गैरअनुसासनात्मक कार्य रोक्नको लागि मेडिकल सुप्रिटेन्डेन्ट डा।रामपरिक्षण यादवको कुनै चासो देखिँदैन ।

मेसु यादवको पनि आफ्नो निजी अबैध नर्सिङ होम रहेको छ । जनकपुर अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष कुमार कान्त झा भन्छन्, ‘अस्पतालको ओपिडी नै पुरा समय चल्दैन, चिकित्सकहरु नै बस्दैनन् भने प्याथोलोजिका कर्मचारी बस्ने कुरै आउँदैन । अस्पताल विकास समितिका अध्यक्ष र मेसु त्यसका लागि सबैभन्दा वढी जिम्मेवार व्यक्ति हुन ।’

अञ्चल अस्पतालमा बाहिरको तुलनामा प्याथोलोजि टेस्ट अलि सस्तो छ । प्याथोलोजिस्ट, मेडिकल टेक्नोलोजिस्ट, ल्याव निरीक्षक, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट र कार्यालय सहयोगी गरी कुल १५ जना जनशक्ति कार्यरत छन् । उपकरण पनि पर्याप्त छ । तर पनि त्यहाँ जाँच गराउन ओपिडीमा काम गर्ने चिकित्सकहरु डायग्नोसिस लेख्दैनन् । अस्पताल स्रोतका अनुसार चिकित्सक र प्याथोलोजि दुवैको मिलेमतोमा डायग्नोसिस गर्न अञ्चल अस्पतालको ल्यावमा नपठाई कार्यरत कर्मचारीहरुका निजी प्याथोलोजिमा पठाउने गरिन्छ ।

त्यस वापत प्याथोलोजिका कर्मचारीहरुले चिकित्सकहरुलाई ५० प्रतिशत सम्म कमिशन दिने गर्छन् । जनकपुर अञ्चल अस्पताल अहिले ५ सय बेडको लागि मन्त्रालयमा प्रस्तावित छ । जनकपुरको ल्यावलाइ क्षेत्रिय ल्याव बनाइने कुरा चलिरहेको छ । तर अस्पतालको प्याथोलोजिबाट एउटा गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा पाइने सुविधा पनि भेटिंदैन ।

२०७४ श्रावण ०८ गते आईतबार

No comments:

Post a Comment