Tuesday, August 8, 2017

प्रमुख राजनीतिक दलका शिर्षस्त नेताहरु जनकपुरमा चुनावी अभियानलाई तिब्रता दिँदै प्रतिष्ठाको विषय बनाउँदै दलहरु

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
आसन्न स्थानीय तहको चुनावलाई लिएर प्रमुख राजनीतिक दलका शिर्ष नेताहरु अहिले जनकपुर आउने क्रम पछिल्लो साता देखि तिब्र बनेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्टिूय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरुले चुनावी अभियानलाई तिब्रता दिनका लागि जनकपुरलाई केन्द्र विन्दु बनाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल, राष्टिूय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेकपा एमालेका सचिव योगेश भट्टराई जनकपुर पुगि चुनावी अभियानलाई अगाडी वढाएका छन् ।
नेपाली कांग्रेसको विशेष भेला
असोज २ गते हुने भनिएको प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको लागि पहिलो पार्टी हुने लक्ष्यका सहित नेपाली कांग्रेसले पुरै ताकत लगाएको छ । १८ साउनमा नेपाली कांग्रेस धनुषाले प्रदेश नम्बर २ को ८ वटै जिल्लाका अगुवा कार्यकर्ताहरुलाई बोलाई जनकपुरमा विशेष भेलाको आयोजन गरेको छ । उक्त भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका पुरै पार्टी पदाधिकारीहरु जनकपुर आएका थिए ।  उक्त भेलामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सिता देवी यादव, पुर्व महामन्त्रीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौला, पुर्व कोषाध्यक्ष चित्रलेखा यादव, नेता प्रदिप गिरी, कृषि मन्त्री रामकृष्ण यादव, खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव, श्रम मन्त्री फरमुल्लाह मन्सुर लगायत प्रदेश नम्बर २ का केन्द्रिय सदस्यहरु र सांसदहरु स्हभागी भई सम्बोधन गरेका थिए ।
पार्टी एकताको सन्देश दिनका लागि विमलेन्द्र निधिको अवधारणा अन्तरगत जनकपुरमा आयोजन गरिएको उक्त भेलाबाट आगामी स्थानीय तहको चुनावमा १ सय २७ सिट मध्ये १ सय सिट जसरी पनि प्रदेश नम्बर २ मा जित्ने लक्ष्यका साथ चुनावी अभियान सुरु भएको उदघोष गरिएको थियो । प्रथम चरण र दोस्रो चरणको निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेस नेकपा एमाले भन्दा ५० सिट पछाडी परेका कारण प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा १ सय सिट जितेर प्रदेश नम्बर २ को ठुलो पार्टी हुनुका साथै देशैको ठुलो पार्टीको रुपमा स्थापित हुने नेपाली कांग्रेसको लक्ष्य रहेको पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बताएका थिए । काग्रेस मधेसको पार्टी रहेकाले मधेसी जनताको सम्बैधानिक अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन विधेयक पारित गर्नुका साथै मधेसको विकासका लागि हुलाकी राजमार्ग निर्माण गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका थिए ।
माओवादी केन्द्रको विशेष प्रशिक्षण
त्यसैगरी नेकपा माओवादी केन्द्रले असोज २ गते हुने भनिएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि जनकपुरलाई केन्द्र विन्दु बनाएर आफ्नो प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । १६ साउनमा माओवादीको हाईकमाण्ड सहितको हेडक्वार्टर जनकपुरमा पुगेर प्रदेश नम्बर २ का ८ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई आगामी चुनावका लागि भन्दै विशेष प्रशिक्षण दिनुका साथसाथै रणनीतिहरु समेत तयार गरेको छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले शिर्ष नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, स्वास्थ्य मन्त्री गिरिराज मणि पोखरेल, सहरी विकास मन्त्री प्रभु साह, नेता विश्वनाथ साह, उर्मिला अर्याल लगायतको उपस्थितिमा १७ साउनमा जनकपुरमा पत्रकार सम्मेलन आयोजन गरी चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए ।
५२ कुट्टी तथा ७२ कुण्ड सहितको नामले चिनिने मिथिलाको आत्मा रहेको जनकपुर सहरको समग्र विकासका लागि माओवादी केन्द्रको केन्द्रिय कार्यालयको सचिवालयले जनकपुरमा बसेर निर्णयहरु गरेका थिए । जनकपुर एउटा सांस्कृतिक तथा धार्मिक केन्द्र स्थल भएकाले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिकाको रुपमा घोषणा  गरेर जानुपर्ने भएकाले महानगरपालिकाको अवधारणा अन्तरगत रहेर जनकपुरको समग्र विकासका लागि जनकपुरलाई महानगरपालिकाको रुपमा स्तरोन्नती गरिनुपर्ने पार्टीले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । आफु प्रधान मन्त्री रहेका बेला तराई मधेसको दुईवटा सहरहरु विराटनगर र विरगञ्जलाई महानगरपालिकाको रुपमा घोषणा गर्न सफल भएपनि जनकपुरका लागि छलफल भएपनि राजनीतिक रुपमा सहमति हुन नसकेकाले जनकपुरलाई महानगरपालिकाको रुपमा घोषणा गर्न नसकिएको दाहालले बताएका थिए । भविष्यमा नेपालकै पर्यटकिय स्थलको रुपमा जनकपुरलाई विकास गर्नका लागि जनकपुरधाममा रहेको मणिमण्डपलाई ३ बर्षे विस्तृत गुरु योजना अन्तरगत विकास गर्नका लागि दरबार, बेदी मण्डप र धर्मशाला निर्माण गरिने दाहालले योजना सुनाएका थिए । सहरी विकास मन्त्रालय आफ्नै पार्टीका नेता प्रभु साहले पाएकाले पनि जनकपुरको विकासका लागि मणिमण्डपको आफ्नो मौलिक स्वरुपलाई कायम राख्दै पुननिर्माण गरी मणिमण्डपलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने पार्टीको धारणा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताएका थिए ।
जनकपुरधामको आर्थिक रुपमा समेत समृद्ध बनाउनका निम्ति धनुषाको धनुषाधाम, जनकपुरधाम र महोत्तरीको जलेश्वरलाई सडक सञ्जालले जोडेर जनकपुरलाई पर्यटकिय हवको रुपमा विकास गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताएका थिए । जनकपुरका मठ मन्दिर, पोखरी तथा कुट्टीहरुलाई समेत एकिकृत सहरी विकास परियोजना अन्तरगत त्यसको सौन्दर्यीकरण गर्दै त्यसको संरक्षण गर्नुका साथै खुल्ला क्षेत्रहरुलाई सुन्दर बगैंचा तथा पार्कको रुपमा विकास गरिने आफ्नो पार्टीको योजना रहेको अध्यक्ष दाहालले बताएका थिए ।
जनकपुर सहरलाई महानगरपालिकाको रुपमा स्तरोन्नती गर्न सकिए ५० बर्ष पछिको जनकपुर सहरलाई सुविधा सम्पन्न सहर बनाउनुका साथसाथै जनकपुरलाई केन्द्र मानि जनकपुर वरपरको सहरहरुलाई स्याटेलाईट सिटीको रुपमा विकास गर्ने भिजन समेत आफ्नो पार्टीले राखेको उनले महत्वकांक्षी योजनाहरु सुनाएका थिए । जनकपुर विमानस्थललाई अन्तर्राष्टिूय स्तरको विमानस्थलको रुपमा विकास गर्नका निम्ति प्रधानमन्त्री सँग छलफल समेत गरिसकेकाले जनकपुरलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकिय सहरको रुपमा विकास गर्नका लागि आवश्यक पर्ने पुर्वाधार निर्माणका साथसाथै जनशक्ति उत्पादन र नीजि क्षेत्र तथा पर्यटन क्षेत्रलाई समेत जोड्ने आफुहरुको रणनीति रहेको उनले बताए ।
राप्रपाको अवधारणा
राष्टिूय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले समेत चुनावी अभियानलाई तिब्रता दिनका लागि जनकपुर आएका थिए । १५ साउन देखि १८ साउनसम्म महोत्तरी, सिरहा, सप्तरी र धनुषा जिल्लामा जिल्लास्तरीय भेला सम्पन्न गर्दै १७ साउनमा जनकपुर आएका कमल थापाले राप्रपाको लागि मधेस उर्बरा भुमि रहेको बताएका थिए । स्थानीय तहको चुनावका लागि मुख्य रुपमा ४ वटा एजेण्डा रहेको थापाले बताएका थिए । पहिलो, सर्वधर्मका बीच समानता, बराबरीको स्वतन्त्रता, नेपाललाई सनातन हिन्दु धर्म सापेक्ष राष्टू बनाउने । दोस्रो, मधेसको जनताको अधिकार र पहिचानको संरक्षण र सम्बद्र्धन गर्ने । तेस्रो, समग्र आर्थिक विकास र चौथो भ्रष्टाचार मुक्त प्रशासन गरी ४ वटा एजेण्डा लिएर प्रदेश नम्बर २ मा चुनाव लड्ने थापाले बताएका थिए ।
 अर्को तर्फ नेकपा एमाले पनि प्रदेश नम्बर २ मा पनि पहिलो पार्टी हुने लक्ष्य सहित केन्द्रका नेताहरुलाई जनकपुर केन्द्रित गरेको छ । खास गरेर एमालेका सचिव योगेश भट्टराई १८ साउन देखि नै जनकपुरमा केन्द्रित भएका छन् । जिल्लाका पदाधिकारीहरुसँगको विशेष भेला गर्नुका साथसाथै रणनीति बनाउन जनकपुर आएका एमाले नेता भट्टराई २१ साउनमा एमालेद्वारा गरिने चुनावी सभाको तयारीसमेत गरिरहेका छन् ।
समग्रमा भन्ने हो भने राष्टिूय पार्टीहरुले तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लिएर जनकपुरमा अहिले आफ्नो अभियानलाई केन्द्रित गरेका छन् । सबै पार्टीले जनकपुरको विकासका लागि आआफ्नो धारणाहरु सार्वजनिक गरिरहेका छन् ।


२०७४ श्रावण २२ गते आईतबार

No comments:

Post a Comment