Tuesday, August 8, 2017

सन्दर्भ प्रदेश नम्बर २ चुनाव पुरा होला विमलेन्द्र निधिको ‘मिशन एक सय’ ?

१९ साउनमा जनकपुरमा नेपाली कांग्रेस धनुषाद्वारा
आयोजित प्रदेश नम्बर २ को विशेष कार्यकर्ता भेलालाई
सम्बोधन गर्दै कांग्रेसका शिर्ष नेताहरु ।
अजय अनुरागी
जनकपुरधाम............
संविधान जारी हुनु अघि मधेसमा आन्दोलन चलिरहँदा जनकपुरमा आन्दोलनकारीहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका थिए । आन्दोलनको रापताप यति थियो कि धनुषाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरु गृहजिल्ला आउन सकिरहेका थिएनन् । दशैं, तिहार र छठ जस्तो महत्वपुर्ण पर्वहरुको अवसरमा समेत ती सांसद र केन्द्रिय नेताहरु आआफ्नो गृहजिल्लामा आउन सकेका थिएनन् । यति मात्र होइन मधेस आन्दोलनलाई समर्थन गर्दै धनुषामा कांग्रेस सभापति राम सरोज यादवले समेत जुलुस प्रदर्शनको कार्यक्रम तय गरेका थिए । तर, पार्टीको झण्डा नराखि कालो झण्डा लिएर मात्र आन्दोलनमा जुलुस निकाल्न दिने भनेर आन्दोलनको नेतृत्व गरिरहेका संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले सर्त राखेपछि कांग्रेस धनुषा आफ्नै पार्टीको झण्डा लिएर जुलुस निकाल्ने निर्णय गरे । जुलुस निकाल्ने कोशिष पनि गरे । तर, धनुषाको कांग्रेसी जन भने जुलुस निकाल्न असफल रहे । आफुहरुले आन्दोलनकारीहरुसँग कुनै पनि किसिमको मुठभेड नचाहेको कारण घोषित कार्यक्रमलाई स्थगित गरेको भनेर कांग्रेस धनुषाका सभापति राम सरोज यादवले  त्यतिबेला प्रतिक्रिया दिएका थिए ।
१९ साउनमा जनकपुरमा नेपाली कांग्रेस धनुषाद्वारा
आयोजित प्रदेश नम्बर २ को विशेष कार्यकर्ता भेलामा
कार्यकर्ता भेलामा उपस्थित कार्यकर्ताहरु । ।
 धनुषा त्यो जिल्ला हो जहाँबाट दोस्रो संविधान सभाको चुनावमा ७ सिट मध्ये ५ सिट नेपाली कांग्रेसले जितेको थियो भने एउटा सिट नेकपा एमाले र एउटा सिट सदभावना पार्टीले जितेको थियो । चुनावी परिणामले पनि धनुषा नेपाली कांग्रेसको गढ रहेको प्रमाणित गरेको थियो । तर, मधेस आन्दोलन चलिरहँदा कांग्रेस धनुषाले गरेको घोषित निर्णय अनुसार कार्यक्रम समेत गर्न सकेनन् । अर्थात निर्वाचनमा मत कांग्रेसले पाएपनि आन्दोलनमा धनुषाका जनताको भावना आन्दोलनरत मधेसी मोर्चासँग जोडिएको थियो ।
नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोईराला संविधान जारी गर्नु पुर्व प्रधानमन्त्रीको हैसियतमा जनकपुरमा राम यूवा क्लवले निर्माण गरेको राम टावरको उदघाटन गर्न आउँदा गैर राजनीतिक संगठन मधेस अधिकार संघर्ष समिति (मास)का यूवाहरुले प्रधानमन्त्री कोइरालालाई कडा सुरक्षा तैनाथीका बावजुद काला झण्डा देखाएका थिए । संविधानको प्रारम्भिक मस्यौदा लिएर जनकपुरमा राय सुझाव लिन आएका सांसदहरुको टोली धनुषामा त्यही मासको विरोध प्रदर्शनका कारण राय सुझाव संकलन नै नगरी फर्कनु परेको थियो । जबकी त्यो टोलीमा नेपाली कांग्रेसका सांसदहरु मिनाक्षी झा, प्रमिला दास लगायतका स्थानीय सांसदहरु थिए ।
संविधान जारी गरेपछि प्रमुख राजनीतिक दलहरुले काठमाण्डौमा दिपावली मनाएका थिए । तर, मधेसमा आन्दोलनरत मधेसी मोर्चाले व्लयाक आउटको निर्णय गरेपछि धनुषा मात्र होइन मधेसैभरी कांग्रेसका नेता तथा कार्यकर्ताहरु वा भनौं संविधान जारी गर्ने ती सांसदहरुको गृहजिल्ला स्थित घरमा समेत दिपावली मनाउन सकिएन । व्ल्याक आउट नै गरियो । यी सबै परिस्थितिहरुले के बताउँछ भने निर्वाचनमा मत कांग्रेस, एमाले वा अन्य पार्टीहरुलाई मधेसका जनताले दिएपनि जब जब आन्दोलनको परिस्थिति हुन्छ तब तब मधेसका जनता आन्दोलनकारीको साथ रहेको हुन्छ ।
एकातर्फ संविधान संशोधन नगरे प्रदेश नम्बर २ मा निर्वाचन हुन नदिने आन्दोलनको नेतृत्व गरिरहेको राष्टिूय जनता पार्टी (राजपा) नेपालले बताईरहेको छ । काठमाण्डौमा राजपाका नेताहरुले त्यस सन्दर्भमा विस्तारित बैठकबाट चुनावमा जाने वा नजाने भन्ने निर्णय गर्नेछ । तर, २ असोजमा निर्धारण गरिएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि मधेसको ठुलो शक्ति नेपाली कांग्रेसले चुनावी अभियानको शंखघोष १९ साउनमा जनकपुरबाट गरिसकेको छ । संविधान संशोधन कुनै पनि हालतमा गराएरै छाड्ने, व्यवस्थापिका संसदमा दर्ता भएको संशोधन विधेयक निर्णयार्थ पेश गरी पारित गराएरै छाड्ने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ का आठै जिल्लाका कांग्रेसी अगुवा नेता कार्यकर्ता समक्ष प्रतिबद्धता दोहोर्याएका थिए ।
प्रदेश नम्बर २ मा १ सय २७ वटा स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदैछ । यहि निर्वाचनलाई नेपाली कांग्रेसले प्रतिष्ठा मात्र होइन जीवन मरणको सवाल बनाएका छन् । पहिलो र दोस्रो चरणको निर्वाचन पश्चात ५० सिट पछाडी परेको कांग्रेसलाई प्रदेश नम्बर २ को निर्वाचनबाट अगाडी लग्ने जिम्मेवारी लिएका छन् विमलेन्द्र निधिले । धनुषा गृह जिल्ला भएको नेपाली कांग्रेसका प्रभावशाली नेता निधिले कांग्रेसलाई प्रदेश नम्बर २ र पुरै देशैमा ठुलो पार्टी बनाउनका लागि १ सय सिट प्रदेश नम्बर २ मा जसरी पनि जित्नै पर्ने लक्ष्य लिएका छन् ।
१९ साउनमा प्रदेश नम्बर २ का आठ वटै जिल्लाका कार्यकर्ताहरुलाई जनकपुरमा सम्बोधन गर्दै नेता निधिले १ सय सिट जित्ने लक्ष्य लिएको बताएका थिए । उनले कांग्रेसका कार्यकर्ताहरुलाई त्यसरी उत्प्रेरित गरिरहँदा निधिमा पनि आत्म विश्वासको अभाव देखिएको थियो । त्यो किनभने उनले नै भनेको सम्बोधनमा लक्ष्य लिनै पर्दा नेपालका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ‘लक्ष्य लिनु नै छ भने उडिछुनु चन्द्र एक’ जस्तै विशाल लक्ष्य लिए मात्र कम लक्ष्य पनि प्राप्ति हुने बताईरहेका थिए । उनले त झन् उदाहरण दिँदै के भनेका थिए भने एसएलसी परीक्षामा विद्यार्थीले डिस्टिङ्क्सनको लक्ष्य लिए प्रथम श्रेणी त कम से कम हुन्छ नै । यसरी हेर्ने हो भने स्थानीय तहको चुनावी प्रतिस्पर्धामा क्वार्टर फाईनल र सेमी फाईनलको खेलमा कांग्रेस पछाडी परेपनि फाईनल राउण्डमा खेल कांग्रेसले जसरी पनि जित्नै पर्छ भन्ने उद्देश्यका साथ कांग्रेस अगाडी वढेको सोही कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका थिए ।
पार्टी एकताको सन्देश
पछिल्लो २ तहको चुनावमा नेपाली कांग्रेस एमालेबाट हार्नुको कारण आफ्नै पार्टीमा भईरहेको अन्तरघात महत्वपुर्ण कारण रहेको कांग्रेसका शिर्ष नेताहरुको ठहर रहेको थियो । समयमा उम्मेदवारीको चयन गर्न नसक्नु, विभिन्न गुटमा विभाजित कांग्रेसका नेताहरुद्वारा नै आआप्mनो मान्छेलाई उम्मेदवार बनाउन खोज्नु, चुनावमा अन्तरघात हुनु, एक जुट भएर प्रचार प्रसारमा जान नसक्नु, जित्ने मान्छेलाई चयन गर्न नसक्नु आदि कारणहरुले गर्दा स्थानीय तहको चुनावमा कांग्रेस पछि परेपनि प्रदेश नम्बर २ को चुनावबाट नेपाली कांग्रेस फेरी ठुलो शक्ति हुने पार्टी सभापति देउवाले विश्वास व्यक्त गरेका थिए । जब जब मधेसले कांग्रेसलाई भोट दिएको छ, कांग्रेस यो देशको ठुलो पार्टी भई सरकारमा समेत नेतृत्व गरेको विगत कोट्याउँदै प्रधान मन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले मधेस भनेको कांग्रेस हो र कांग्रेस भनेको मधेस हो भन्दै असोज २ गतेको चुनावमा मधेसी जनताले फेरी आआफ्नो पालिकाहरुमा कांग्रेसकै सरकार निर्माण गर्ने आशा गरेका थिए ।
पार्टीमा कुनै पनि विभाजन छैन, केन्द्रका सबै गुटका नेताहरु यो चुनावका लागि एक जुट भएका छौं भन्ने सन्देश दिनका लागि नै पार्टी सभापति देउवाले आफ्नो प्रतिस्पर्धी बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सिता देवी यादव, पुर्व महामन्त्री प्रकाशमान सिंह र अर्को गुटका नेता कृष्ण प्रसाद सिटौला लगायत प्रदेश नम्बर २ का सबै सांसदहरु, केन्द्रिय सदस्यहरु र मन्त्रीहरु समेतलाई लिएर आएका थिए ।
उक्त भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले के भनेका थिए  भने नेपाली कांग्रेसलाई यदि कसैले हराउँछ भने त्यो अरु कुनै पार्टीले नभएर नेपाली कांग्रेसले नै हराउँछ । नेपाली कांग्रेसलाई हराउन गिरिजा प्रसाद कोइरालाको भनाई स्मरण गर्दै नेपाली कांग्रेसलाई नेपाली कांग्रेसको छायासँग नै डर रहेको कुरा स्मरण गर्दै पार्टीमा विभाजन र अन्तरघात ठुलो रोगको रुपमा रहेकाले अब ती सबै कुराहरु विर्सेर यो चुनावमा एक भई अगाडी वढ्नुपर्ने धारणा सुनाएका थिए ।
प्रदिप गिरीले सुनाए महाभारतको कथा
पार्टी एकतालाई लिएर नेपाली कांग्रेसका नेता प्रदिप गिरीले पार्टीका पदाधिकारीहरु मञ्चमा बसेको बेला महाभारतको एउटा कथा सुनाए । पाण्डवहरु पाँचै बनवासको क्रममा जंगलमा थिए । लगभग यहाँ पनि मञ्चमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौला पाँचै पाण्डवको रुपमा हुनुहुन्छ । त्यसबेला पाण्डवहरुको बेइज्जती र अपमान दुर्योधनलाई हेर्ने मन भयो । दुर्योधन जंगलमा गएपनि तर जंगलमा घात गरेर बसेका कुनै बनवासी राजा यक्ष राजले पासो हालेर दुर्योधनलाई गिरफ्तार गरे । दुर्योधनलाई भयंकरै बेईज्जती भयो । दुर्योधनको मुख देखाउने लायक थिएन । दुर्योधनलाई हेर्दै भिमले भने खुच्चिङ्ग । अर्जुनले भन्यो ठिक्क पर्यो । हाम्रो बेइज्जती हेर्न आएको अहिले आफै बेइज्जत भएका छन् भन्दै पाण्डवहरु खुशी भईरहेका थिए । तर, युधिष्ठीरलाई भने दुर्योधनको अपमान राम्रो लागेन । उनले आफ्ना भाईहरुलाई भने दुनियाँको नजरमा पाण्डव र कौरवहरुको बीच झगडा भएको छ । तर, यो झगडा आन्तरिक झगडा हो । हामी दुनियाँसँग लड्दा १ सय ५ छौं तर आपसमा लड्दा मात्रै १७ सय वा १८ सय छौं । अहिले महाधिवेशनमा शेरबहादुरले पाएको भोट र रामचन्द्रले पाएको भोट जेजति छ त्यो आपसी लडाईको भोट भएपनि ती दुई मध्ये यूधिष्ठीर को हुन । आपसमा हाम्रो जेजति झगडा भएपनि अब लडाई एमालेसँग लड्दा हामी ३५ सय साथमा छौं । त्यसैले रामचन्द्रजी र देउवाजी बीच आपसमा झगडा भएपनि अब यूधिष्ठीरको भुमिका रामचन्द्रजीले देखाउनु पर्दछ । शेरबहादुरजीले अर्जुनको भुमिका निर्वाह गर्नुपर्दछ ।
प्रदिप गिरीले के पनि भने भने गिरिजा प्रसाद कोइराला र सुशिल कोइराला प्रधानमन्त्री हुँदा एक दिन पनि बालुवाटार गईन । तर, बालुवाटार नगएपनि सिडियो र एसपीले भने हामीलाई टेरेकै थियो । त्यो किनभने हामी सरकारमा थियौं । अहिले जब अब एमालेले सरकार बनाउँछ भने कुनै पनि जिल्लामा सिडियो र एसपीले कांग्रेसीलाई टेर्ने छैनन् । त्यसैले एक भएर जानु पर्यो । सहमतिका साथ उम्मेदवार चयन गर्नुपर्यो । यदि त्यसो हुन सकेन भने उम्मेदवारले नै असंतुष्टलाई खिलाएर हुन्छ कि पिलाएर मनाउनु पर्दछ ।
नेपाली काँग्रेसको चुनाव जित्नका लागि रणनीति तथा एजेण्डा
काँग्रेसका नेताहरु मधेश पस्ने बित्तिकै विगतमा मधेशसँग भएको सम्बन्धलाई खोतल्न बिर्सिदैन । उनीहरुले आजसम्म मधेशले काँग्रेसलाई साथ दिएको कारणले नै पार्टी ठूलो भएको हो । काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरको कार्यक्रममा भनेका थिए, पहिलो संविधानसभा चुनावमा मधेश आन्दोलनको प्रभावका कारण काँग्रेस दोस्रो ठूलो दल भएको थियो तर दोस्रो संविधानसभा चुनावमा आन्दोलनको प्रभाव नदेखिएका कारण काँग्रेस एक नम्बरको पार्टी बनेको छ । यो स्थानीय तहको चुनावमा पनि मधेशी जनताले काँग्रेसलाई नै साथ दिन्छ र एक नम्बरको पार्टी बन्छ ।’ 
    मधेशी जनतालाई फकाउनका लागि काँग्रेसका नेताहरुले अझै पनि संविधान संशोधन गराउने आश्वासन बाँड्दै हिँडेका छन् । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जसरी पनि संविधान संशोधन गराई छाड्छन् भनि आश्वासन जनकपुरमा दिएर आज काठमाडौ फर्केका छन् । उनीहरुको भाषणमा विकासको एजेण्डा खासै हुँदैन तैपनि साउन पाँच गते काठमाडौमा भएको दुई नम्बर प्रदेशको भेलाले दुई नम्बर प्रदेशमा चुनाव जित्नका लागि रणनीति बनाएका थिए ।
कांग्रेसको चुनाव जित्ने रणनीति
स्थानीय तहमा १ सय सिट जित्नका लागि कांग्रेसका केन्द्रिय नेताहरु परिचालित हुनेछन् । यसका अतिरिक्त प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु कृषि मन्त्री रामकृष्ण यादव, खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव र श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर परिचालित हुनेछन् । चुनावमा लडाई एमालेसँग भएकाले मधेसको समस्या समाधान गर्न एमाले बाधक रहेको भन्दै प्रचार प्रसार गर्ने तथा मधेसमा जे जति विकास भएका छन् त्यो नेपाली कांग्रेसले नै गरेको भनेर प्रचार प्रसार गर्ने रणनीति बनाएको छ ।
संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव पारित गराउने,  संविधान संशोधनको प्रस्तावमा नेकपा (एमाले) लाई पनि समर्थन गराउन लगाउने, स्थानीय तहको निर्वाचनमा राष्टिूय जनता पार्टी नेपाल एवं सबै राजनीतिक दललाई सहभागिताका लागि आह्वान गर्ने, सरकारबाट बढाइएको स्थानीय तहको संख्या तत्काल कार्यान्वयन गर्ने,  राजर्षि जनक विश्वविद्यालय जनकपुर एवं वीरगञ्ज विश्वविद्यालय विरगञ्जलाई तत्काल स्वीकृति गराउने रणनीतिका साथ नेपाली कांग्रेस चुनावमा होमिएको छ ।
त्यसैगरी सुनकोशी कमला डाइभर्सनको डिपिआर तयार गरी पाँच वर्षभित्र मधेशमा सिँचाईको व्यवस्था गर्ने, कमला(वाग्मती एवं नारायणी सिंचाई आयोजनाको उन्नतस्तर बढाउने,  हुलाकी राजमार्ग पाँच वर्षभित्र सरकारले आफ्नै स्रोतबाट निर्माण गर्ने,  राष्टिूयस्तरको मेडिकल कलेज तीन वर्षभित्र संचालनमा ल्याउने, धनुषा जिल्लाको नाकटाझिज कृषि फारममा कृषि क्याम्पसको स्वीकृति तत्काल दिने,  इन्जिनियरिङ्ग क्याम्पस स्थापना गर्ने,  भारतको जयनगर ( जनकपुर(विजलपुरा(बर्दिवाससम्मको ब्रोडगेज रेल्वे एका वर्षभित्रमा सञ्चालन गर्ने अवधारणाहरु अगाडी ल्याएका छन् ।
त्यसैगरी पूर्व(पश्चिम रेलमार्ग तत्कालका लागि बर्दिवासदेखि पथलैयासम्म सुरु भइसकेको कार्यलाई तत्काल तदारुकताको साथ सम्पन्न गर्ने, प्रधानमन्त्री कृषि कार्यक्रम २ नं. प्रदेशमा तत्काल संचालन गर्ने, जनता आवास कार्यक्रमका लागि प्रयाप्त वजेटको व्यवस्था गर्ने,  कृषि उत्पादनको उचित मूल्य दिलाउनका लागि सरकारले बजार व्यवस्थापन अनिवार्य गर्ने , बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिने,  मानव सूचांकमा पछाडी परेको २ नं. प्रदेशलाई शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अतिआवश्यक वस्तुहरु उपलब्ध गराउने, सिरहाको लहानमा रहेको भोकेसनल शिक्षालयलाई स्तरोन्नति गराउने र प्रदेश नम्बर २ को आठै जिल्लामा स्टेडियम तयार गरी आधुनिक खेलकुदको व्यवस्थापनका गराउने महत्वकांक्षी योजनाहरुका साथ नेपाली कांग्रेस प्रदेश नम्बर २ को चुनावी अभियानमा होमिएको छ ।
नेपाली कांग्रेसले दावी गरेझैं प्रदेश नम्बर २ मा १ सय २५ सिट मध्ये १ सय सिट ल्याउँलान वा नल्याउँलान त्यो भने हेर्न बाँकी नै छ । यद्यपि प्रदेश नम्बर २लाई नेपाली कांग्रेसको गोरहा खेत भनेर भन्ने गरिन्छ ।

२०७४ श्रावण २२ गते आईतबार

No comments:

Post a Comment