Tuesday, May 30, 2017

प्रचण्ड सरकारले गरेको प्रतिबद्धता पुरा भएन खुलेन जनकपुरमा बैदेशिक रोजगार विभागको कार्यालय

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सिरहामा गई बैदेशिक रोजगार विभागको श्रम कार्यालय जनकपुरमा संचालन गर्ने घोषणा गरेका थिए । यस क्षेत्रबाट बैदेशिक रोजगारीका लागि धेरै मानिसहरु खाडी मुलुक जानु पर्दा श्रम स्वीकृति देखि विभिन्न कामका लागि अनावश्यक रुपमा काठमाण्डौ जानुपर्ने बाध्यता अब जनकपुरमा उक्त कार्यालय संचालन भएपछि अन्त्य हुने प्रधानमन्त्री दाहालले बताएका थिए । उनले  भाषणका क्रममा घोषणा गरिरहँदा स्थानीय जनताले जोडदार थप्पडी बजाई खुशी व्यक्त गरेका थिए । अहिले प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गरिसकेपछि पनि उनको घोषणा अनुसार जनकपुरमा बैदेशिक रोजगार विभागको श्रम कार्यालय खुल्न सकेको छैन । संचालनमा त के आउनु, कार्यालय स्थापना गर्ने सन्दर्भमा पनि नेपाल सरकारले कुनै पहल कदमी अगाडी वढाएको छैन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई भन्छन,“प्रधान मन्त्रीले नै घोषणा  गरिसकेपछि उक्त कार्यालय जनकपुरमा संचालनमा त आईसक्नु पर्ने हो । तर, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट आफुलाई त्यस सम्बन्धि हालसम्म कुनै पनि किसिमको पत्राचार भएको छैन । बैदेशिक रोजगार विभागबाट पनि कुनै जानकारी दिइएको छैन ।” यस सन्दर्भमा कानुन मन्त्री अजय शंकर नायक भन्छन,“ प्रधानमन्त्रीले घोषणा गर्नु भएको कुरा सत्य हो । सिरहामा त्यो कार्यक्रममा आफु पनि सहभागी थिएँ । तर, त्यो कार्यालय जनकपुरमा संचालन हुन्छ नै । अहिले पुर्ण बजेट नआएको र नयाँ थप कार्यक्रमहरु नल्याइएकाले पछि त्यो कार्यालय संचालन सन्दर्भमा बजेटमा समावेश गरिनेछ ।”
जनकपुर अञ्चल श्रम कार्यालयका अनुसार एक महिना अघि बैशाखको पहिलो साता तिर बैदेशिक रोजगार विभागका कर्मचारीहरुको टोली जनकपुर आएर कार्यालय संचालनका लागि कोठा कहाँ उपयूक्त हुन्छ भनेर जानकारी लिएर गएको हो । तर, त्यस यता कुनै पनि काम अघि वढेको छैन । अर्को तर्फ जनकपुरमा के हल्ला पनि चलेको छ भने उक्त कार्यालय महोत्तरीको बर्दिवासमा स्थापना गरिनेछ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही लगायतका जिल्लाहरुको लागि उक्त कार्यालय जनकपुरमा खोलिने हो । उक्त कार्यालय संचालनमा आए श्रम स्वीकृति लिन, मेडिकल जाँच गराउन समेत काठमाण्डौ जान नपर्ने हुन्छ । त्यो कार्यालय संचालनमा आए जनकपुरमा दैनिक ५ सय देखि १ हजार मानिसहरुको आवागमन वढ्ने छ । विभिन्न म्यानपावर कम्पनीहरु खुल्नेछन् । धेरै मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारीको अवसर प्राप्ति गर्नेछन् ।
आर्थिक बर्ष २०६५÷०६६ मा १० हजार ९ सय ५० जना, आर्थिक बर्ष २०६६÷०६७ मा ११ हजार ९ सय ४२ जना, आर्थिक बर्ष २०६७÷०६८ मा ११ हजार ९ सय २३ जना, आर्थिक बर्ष २०६८÷०६९ मा ११ हजार ६ सय ४३ जना, आर्थिक बर्ष २०६९÷०७० मा १८ हजार ८ सय ९४, आर्थिक बर्ष २०७०÷०७१ मा २१ हजार ३ सय ५७ जना र आर्थिक २०७१÷०७२ मा २२ हजार २ सय ५९ जना गरी धनुषाबाट मात्रै पछिल्लो ७ बर्षमा १ लाख ८ हजार ९ सय ६८ जना बैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । जसमध्ये १ सय ९० जना महिला पनि छन् । सोही हाराहारीमा तराई मधेसका अन्य जिल्लाहरुबाट पनि बैदेशिक रोजगारीका लागि जाने क्रम रहेको हुँदा उक्त कार्यालय जनकपुरमा संचालन गर्नुपर्ने नितान्त आवश्यकता देखिएको स्थानीयवासीहरु बताउँछन् ।


२०७४ जेष्ठ १४ गते आईतबार

No comments:

Post a Comment