Monday, February 20, 2017

मालपोत कार्यालय धनुषा ‘घुस्याहा कार्यालय’

घुस सहित रंगेहात पक्राउ परेका मालपोत
धनुषाका कर्मचारी राधेश्याम ठाकुर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्लाको सरकारी कार्यालयहरुमा घुसखोरी बढेको छ । जनकपुर अञ्चल यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भुमिसुधार कार्यालय, जिल्ला प्रशासन कार्यालय आदिमा वढी घुसखोरी देखिन्छ । त्यसैगरी धनुषा जिल्ला अदालत, उच्च अदालत जनकपुर, गाविसको कार्यालयहरु, नगरपालिकाको कार्यालयहरुमा काम गर्ने सरकारी कर्मचारीहरुले पनि सेवाग्राहीसँग खुलेआम घुस लिएर मात्र काम गर्ने गरेका छन् । प्रायः जसो सरकारी कार्यालयहरुमा घुस नलिई कामै नगर्ने कर्मचारीहरुमा प्रवृति बढेको छ ।
सबैभन्दा वढी घुसखोरी हुने कार्यालयको रुपमा मालपोत कार्यालय रहेको छ । मालपोत कार्यालय धनुषामा बेला बखत घुस सहित रंगेहात कर्मचारीहरु पक्राउ परिरहेका छन् । कतिपय कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटेको टोलीले घुस लिँदै गर्दा रंगेहात पक्राउ गर्न सफल पनि भएका छन् । कतिपय कर्मचारीहरुले भ्रष्टाचार गरेको अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको अवस्थामा अदालतबाट ती कर्मचारीहरु भ्रष्ट ठहर  समेत भएका छन् । यी सबै घटनाक्रमले पनि के पुष्टि गर्छ भने धनुषाको मालपोत कार्यालय र नापी कार्यालयमा सबैभन्दा वढी घुसखोरी छ ।
५ हजार घुस सहित पक्राउ
जिल्ला मालपोत कार्यालय धनुषाका नायव सुब्बा राधेश्याम ठाकुरलाई अक्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट लिएको पाँच हजार घुस सहित ९ माघमा पक्राउ गर्यो । आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट एसपी राजकुमार लम्साल नेतृत्वको नेतृत्वमा आएको  टोलीले पाँच हजार घुससहित नासु ठाकुरलाई रंगेहात पक्राउ गरेको थियो ।
धनुषा रघुनाथपुरका एक घरपरिवारका ५ जना दाजुभाईको जग्गा अंशबण्डाको काम गर्न पाँच हजार घुस लिँदै गरेको बेला नासु ठाकुरलाई पक्राउ गरेको आयोगका एसपी लम्सालले बताए । लेखापढी व्यवसायी देवेन्द्र ठाकुरले सबै प्रक्रिया पुर्याएर कागजात पेश गर्दा पनि नासु ठाकुरले पाँच हजार रुपैँया घुस दिए मात्रै काम गर्ने भने पछि सेवाग्राहीले आयोगको कार्यालयमा निवेदन दिएका थिए । जग्गाको मूल्यांकन अनुसार  राजश्व बुझाउँदा पनि अन्य पक्रिया अगाडी बढाउन पाँच हजार घुस मागेको सेवाग्राहीले आयोगमा उजुरी गरेपछि आयोगको टोली खटिएको थियो  । नासु ठाकुरर्लाइ  पक्राउ गरि नियन्त्रणमा राखेको र भ्रष्टाचार ऐन अनुसार विशेष अदालतमा मुद्दा दायर गरिने आयोगले जनाएको छ ।
लेखापढी व्यवसायीद्वारा कामकाज ठप्प
जिल्ला मालपोत कार्यालय धनुषामा काम गर्ने लेखापढी व्यवसायीहरुलाई कार्यालय परिसर भित्र प्रवेश नदिने भन्ने विषयलाई लिएर लेखापढी व्यवसायीहरुले ११ माघमा काम ठप्प पारे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका एसपी राजकुमार लम्सालले अहिले पनि तपाईको कार्यालयमा घुसखोरी भइरहेको गुनासो आएकोले त्यस्ता दलालहरुलाई कार्यालय परिसर भित्र प्रवेश निषेध गर्न भन्दै मालपोत कार्यालयका निमित कार्यालय प्रमुख गणेश चन्द्र मिश्रलाई निर्देशन दिएका थिए । त्यस पश्चात मिश्रले लेखापढी व्यवासायीका प्रतिनिधीलाई बोलाएर प्रवेश नगर्ने भनेर माईनेटमा निर्णय गराउन लाग्दा व्यवसायीहरुले विरोध जनाएका थिए । त्यसपछि उनीहरुले आफ्नो कामकाज पूर्णरुपमा ठप्प पारेका थिए ।
लेखापढी व्यवसायीका अध्यक्ष श्रीनारायण ठाकुरका अनुसार आफुहरु कार्यालय भित्र प्रवेश नगर्ने तर झ्यालमा उभिएर जनताको कामकाज गराउन कानुनले समेत अधिकार दिएकाले अफुहरुले उक्त निर्णयमा हस्ताक्षर नगरेको बताए । बरु जनताले आफै काम गराउने हो भने त्यसका लागि समेत आफुहरु तयार रहेको र लेखापढीको मात्र काम गर्ने बताए । कार्यालय बन्द होस् भन्ने आफुहरुको चाहना नरहेको तथा कार्यालयमा हुने घुसखोरी आफुहरु मार्फत नभएर बाहिरबाट आउने दलालहरु मार्फत हुने गरेको दावी गरे । उक्त कार्यालयका निमित प्रमुख मिश्रले आफु नेपाल सरकारका कर्मचारी भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको निर्देशनलाई पालना गर्दै लेखापढी व्यवसायीहरुलाई राखेर निर्णय गर्न खोजेको बताए ।
मालपोतका ८ जना कर्मचारी भ्रष्टाचारी ठहर
विशेष अदालतले धनुषा मालपोत कार्यालयका तत्कालिन शाखा अधिकृत रामनरेश राय सहित १२ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशत्रय भुपेन्द्र प्रसाद राई, पवन कुमार शर्मा र प्रभा बस्नेतको इजलासले ६ माघमा १२ जनालाई भ्रष्टाचारी ठहर गर्दै जनही ३ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
जनकपुर स्थित गिरनारी कुट्टीका तत्कालिन महन्थ रवि गिरीको मृत्यु पश्चात गुठी संस्थानको हक भोगमा आएको धनुषा जिल्ला बसहिया गाउँ विकास समिति वडा नं. ९ कित्ता नं. ३२ को १ विघा ३ कठ्ठा १५ धुर जग्गालाई नक्कली कागजात प्रमाण तयार गरी स्थानीय पंचा महतो कोइरीको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ जेष्ठ २०७२ मा मुद्दा दर्ता गरेको थियो । उल्लेखित जग्गा धनुषाको भएपनि सिरहा मालपोत कार्यालयबाट पारित गराइएको र त्यस कार्यमा दुवै जिल्लाका मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीको मिलेमतो रहेको पाइएको विशेष अदालतले जनाएको छ । भ्रष्टाचार जन्य कसुर अपराध गरेको पाइएपछि धनुषाका मालपोत अधिकृत राय तथा नायव सुब्बाहरु परमेश्वर प्रसाद साह, अरुण कुमार ठाकुर, मोहन दत्त कायस्थ र सिरहा मालपोत कार्यालयका नायव सुब्बाहरु मुकुन्द प्रसाद कोइराला, गंगा प्रसाद साह र हरिनारायण ठाकुर एवम खरिदार राजकिशोर चौधरीलाई जनही ३ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेको हो ।
त्यसैगरी मालपोत कार्यालय धनुषाकै तत्कालिन मालपोत अधिकृत मदन कुमार झा, नायव सुब्बा जिवछ यादव र सुशिल कर्ण १० अषाढ २०७२ देखि भ्रष्टाचारको मुद्दामा निलम्बन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती कर्मचारीहरु विरुद्ध पनि भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेका छन् ।
२५ वर्षदेखि नक्कली कर्मचारी कुर्सीमा
जिल्ला मालपोत कार्यालय धनुषामा कर्मचारी नै नभएका नक्कली कर्मचारी २५ वर्षदेखि घुसखाँदै काम गर्दै आईरहेका छन् । कार्यालयको तामेली फाँटमा फेला परेका कृष्ण श्रेष्ठ नामका ती कथित कर्मचारी २५ वर्षभन्दा बढी समयदेखि सरकारी कर्मचारी भएको दावी गर्दै सेवाग्राहीसंग घुस लिदै काम गर्दै आएका छन् । तर ती व्यक्ति कर्मचारी हो वा होइन यस विषयमा कायालय प्रमुखका साथै अन्य कर्मचारीहरुसमेत अनभिज्ञ छन् । 
नक्कली कर्मचारी श्रेष्ठले काम गरि दिए वापत प्रत्येक सेवाग्राहीसंग सयदेखि हाजारौ रुपैँयासम्म घुस लिने गरेका सेवाग्राहीहरु बताउँछन् । एक जना सेवाग्राही रामएकवाल महतोको काम गरि दिए वापत दुई सय रुपैँया लिएको बेला पुगेका सञ्चारकर्मीले पैसा लिएको विल खै ? प्रश्न गर्दा उनले भने “ आफु यसैबाट तलब खाने गरेको छु । ”
कुनै पदमा नभएका ती कथित कर्मचारीले आफु यस कार्यालयमा २५ वर्ष भन्दा बढी समयदेखि कार्यरत रहेको दावी गरे । उनले केहि दिनदेखि तामेली फाँटमा कर्मचारीको अभावको कारण आफुले त्यसै फाँटका नायव सुब्बा रामदेव यादवलाई सघाईरहेको बताए । उनले आफु यस कार्यालयको कुनै पदमा नरहेको तर आफुसंग लेखापढी कानुन व्यवसायीको प्रमाणपत्र रहेको प्रतिक्रिया दिए । यता सोहि फाँटमा कार्यरत्त रामदेव यादवले ती कर्मचारी पहिलादेखि नै काम गरि रहेको बताए ।  
मालपोत कार्यालय धनुषाका श्रेस्ता फाँटका नायव सुब्बा शिवशरण पंडित काम गरिदिए वापत सेवाग्राहीसँग खुलेआम घुस मागेर लिएको भिडियोसहित फेला परेका थिए । कार्यालयमा काम गरेवापत एक सेवाग्राहीसँग एक सय रुपैयाँ घुस मागेर लिईरहेको उक्त भिडियोमा स्पष्ट देखिएको थियो । घुस लिएको बेला नै कर्मचारीसँग के शिर्षकमा पैसा लिएको प्रतिक्रिया लिँदा आफुले सापटी लिएको बताए । तर उनले काम गरेवापत घुस मागेर लिएको प्रत्यक्ष रुपमा देखियो । यस सम्बन्धमा कार्यालयका तत्कालिन निमित प्रमुख मदनकुमार झाले सुब्बा पडित घुस लिएको प्रमाणित भए कारबाही गर्ने बताए । उनले यस अघि पनि घुस लिएको प्रमाणित भएपछि केहि कर्मचारी माथि  कारबाही गरिएकोेले पंडित उपर पनि कारबाही गर्ने बताए । तर, पछि कसैलाई पनि कारवाही भएन ।
यस अघि भदौ १८ गते उक्त कार्यालयका तामेली फाँटका खरिदार तृपित झा घुस लिएको भिडियो फेला परेपछि समाचार प्रकाशित भएपछि पाँच दिन मात्र अवकाश पाउन बाँकी रहेका झालाई  कारबाही गरी कामको जिम्मेवारीबाट समेत हटाईएको थियो । श्रोतका अनुसार कार्यालयको सम्पूर्ण कर्मचारीहरुले आन्तरिक रुपमा सेवाग्राहीबाट घुस लिन सहमति नै गरेका छन् । कर्मचारीहरुले सेवाग्राहीबाट लिएको घुस दैनिक ,सप्ताहिक र मासिक रुपमा कार्यालयका उच्च तहका कर्मचारी तथा यसलाई नियन्त्रण गर्ने नियकायहरुलाई समेत कमिसन दिने गरेको छ ।   
खुलेआम घुसखोरीको अड्डा मालपोत कार्यालय भएपछि सेवाग्राही दिन प्रति दिन घुस दिन बाध्य हुदै गएको प्रष्ट देखिन्छ । घुस नदिए यो पुगन, त्यो पुगेन भन्दै कर्मचारीहरुले विभिन्न बहानाबाजी गर्दै सेवाग्राहीलाई सास्ती दिने गरेको व्यापक जनगुनासो छ । तर पनि प्रशासनिक नियकाय मुकदर्शक भएकोमा सर्वसाधारणहरु पनि अश्चर्यमा परेका छन् ।  
भ्रष्टलाई छुटाउन ब्यान फेर्न फिल्मी शैलिमा पीडितलाई धम्कि दिन पुगेका बर्दिबासबाट ६ जना पक्राउ
सेवाग्राहीसंग घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका नापी कार्यालय महोत्तरीका अमिन सन्तोष कुमार महासेठलाई ब्यान फेरेर छुटाउन पीडित(सेवाग्री)लाई फिल्मी शैलिमा धम्काउन गएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एका बिहानै सोमबार बा १४ च ९६६२ नम्बरको स्कारपियो बोलेरोमा सिरहाबाट  पीडक सन्तोषका समर्थकहरु  महोत्तरीको बर्दिबास नगरपालिका (३ स्थित पीडित देवनारायण महतोको घरमा गएर धम्काउदैं गर्दा उनीहरुलाई  इलका प्रहरी कार्यालय बर्दिबासको प्रहरी टोलीले पक्राउ गरेकोहो ।
पक्राउ पर्नेमा सिरहाको मिर्चौया नगरपालिका (१ का ४२ बर्षीय वीरेन्द्र कुमार माहासेठ, ६ का ४५ बर्षीय विनोद कुमार महतो, ३७ बर्षीय अरुणकुमार सिंह, ४५ बर्षीय अशोककुमार साह,  ९ का २० बर्षीय दिनेश यादव(बोलेरो चालक) र करजनहा(६ का ४५ बर्षीय जयप्रकाश महतो रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका इस्पेक्टर बासुदेव थापाले बताए ।
सामुहिक रुपमा घरमै  गएर धम्काउदै गर्दा पीडित परिवारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबासका एसपी राजकुमार लम्साललाई बचाउन गुहार माग्दै टेलिफोनबाट जानकारी गराएका थिए । त्यस पश्चात इस्पेक्टर थापाको नेतृत्व प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पीडित देवनारायण जनता उच्च मावि बर्दिबासका विद्यालय व्यवस्थान समितिका अध्यक्ष समेत  हुन् ।
मंसिरको पहिलो साता भाई(भाईको बीचमा भएको अंश बाँडफाँटको लागि नापी कार्यालय महोत्तरीमा कित्ता काट्कोलागि पीडित देवनारायणले आवश्यक कागजात सहित निवेदन दिएका थिए । अमिन माहासेठले कागजात पुरा हुँदाहुदैं १ लाख घुस नदिए काम नहुने बताए । पीडिततले अख्यितारमा उजुरी गरे । त्यसपछी पीडित महतोले गाउँमा ऋण खोजेर अमिनले माग गरेको १ लाख दिए । घुस लिइरहेका अमिन माहासेटलाई अख्तियारको सम्पर्क कार्यालय बर्दिबासका एसपी राजकुमार लम्सालको नेतृत्व टोलीले मंसिर ६ गते नापी कार्यालय जलेश्वरबाटै घुस लिएको रकम सहित पक्राउ गरेको थियो ।
सेवाग्राहीसंग गैरकानुनी रुपमा सेवाग्राहीसंग घुस लिएर अमिन माहासेटले भष्टाचार गरेको भन्दै उनी माथि अख्यिारले बिशेष अदालतमा मुद्धा चलिरहेको छ ।  फाल्गुण १७ गते पीडितले पीडक अमिन माहासेठ विरुद्ध बकपत्र( साँचो ब्यान) दिने तालिका रहेको श्रोतले जनाएको छ । यथार्थ ब्यान फेरी झुटो ब्यान दिएर अमिन महासेठलाई मुद्धा जिताउन उनका  समर्थकहरुले पीडित देवनारायण महतोलाई उनकै घरमा जितमा पुगेर धम्काउँदै गर्दा प्रहरीले घेरा हाली उनीहरुलाई पक्राउ गरेको पीडित परिवारले बताउँछन् ।
‘अमिन सन्तोष महासेठलाई हामीले घुस सहित पक्राउ ग¥यौं । उनी माथि बिशेष अदालतमा मुद्धा चलिहरेको छ । पीडित पक्षको ब्यान दिने समय नजिकिको छ ।’ बर्दिबास अख्यिारका एसपी राजकुमार लम्सालले भने,‘आफ्नो पक्षमा ब्यान दिन पीडक सन्तोष पक्षका व्यक्तिहरुले पीडितलाई धम्की दिएको सूचना आयो । प्रहरीलाई त्यो सूचना दियौं । प्रहरी गएर ६ जनालाई पक्राउ गरेको हो ।’
यता स्थानीयले पीडित देवनारायण महतोको घरमा प्रहरी समयमा  नआएको भए जिप लिएर आएका उनीहरुले अपहरण गरेरै लाने थियो भन्दै उनीहरुलाई अपहरण मुद्धा चलाएर कडाभन्दा काडा कारवाही गर्न माग गरेका छन् ।    पक्राउ परेकाहरुलाई काडा भन्दा कडा कारवाही नगरिए बाध्य भएर कारवाहीको माग गर्दै नागरिक सडकमा आउने स्थानीयले  चेतावनी दिएका छन् ।
कार्यालयको काम ढिला भएको भन्दा नापीका कर्मचारीले सेवाग्राही कुटे
नापी कार्यालय धनुषामा काम गराउन गएका एक सेवाग्राहीलाई कर्मचारीहरुले कुटपिट गरेरर घाइते बनाएका छन् । जनकपुर उपमहानगरपालिका(१२ एयरपोर्ट एरिया बस्ने ५० वर्षका ललन साहलाई कर्मचारीहरुले कुटपिट गरेका हुन् । नक्साको कामले कार्यालयमा पुगेका साहलाई कर्मचारीहरुले एक फाँटबाट अर्को फाँटमा पठाएर काम गर्न आलटाल गरेपछि उनी कर्मचारीविरुद्ध कराएका थिए । त्यसपछि कर्मचारीहरुले सेवाग्राही साहलाई चारैतर्फबाट घेराहाली निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शी सेवाग्राहीहरुले बताएका छन् ।  एक प्रत्यक्षदर्शी सेवाग्राही  धनुषा कर्माहीका हरिनारायण रायका अनुसार कर्मचारीहरुले साहको काम गर्न ढिला गरिदिएपछि उनले कर्मचारीहरुलाई कराएका थिए । कर्मचारीहरुले आफूविरुद्ध अपशब्द बोलेको भन्दै हात, मुक्का, खुट्टा तथा जुत्ताले हिर्काएको ती प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिटमा कार्यालय प्रमुख सुरेश जोशीको पनि संलग्न रहेको उनले बताए । घाइते साहले आफू नक्साको लागि रसिद कटाउन गएपछि माथिल्लो तल्लबाट तल्लो तल्लामा र तल्लो तल्लाबाट माथिल्लो तल्लामा पठाएर आलटाल गरेर डेढ घण्टासम्म काम नगरेपछि रिसाएर कर्मचारीमाथि कराउँदा एकाएक सबै कर्मचारी बाहिर निस्केर आफूमाथि कुटपिट गरेको दुःखेसो पोखे ।  आफूले कसैलाई गाली गलौज नगरेको साहको भनाई छ । यता नापी कार्यालयका प्रमुख सुरेश जोशीले सेवाग्राही साहमाथि कुटपीट नभएको दावी गरेका छन् । सेवाग्राही साहले कर्मचारीलाई गाली गरेपछि होहल्ला हुँदा आफू तल आएर भिडलाई हटाउन खोज्दा आफ्नो हात र खुट्टामासमेत चोट लागेको प्रमुख जोशीको दुःखेसो छ ।



  २०७३ फाल्गुन ०८ गते आईतबार

No comments:

Post a Comment